कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठाना फिर्ता

विमल निभा

ज्ञातव्य के छ भने आठाना फिर्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हालका महासचिव कमरेड विष्णुप्रसाद पौडेलले सहर्ष (?) आफ्नो बालुवाटारको आठाना जमिन फिर्ता गरेका छन् । 

महासचिव कमरेड विष्णुप्रसाद पौडेलले आठाना फिर्ता गरेकोमा प्रथमतः मलाई विश्वासै भएन । यसको कारण के भने सरकारी पार्टीका एकमात्र महासचिवसँग त यस्तो चानचुन आना–पैसाको साटो रुपियाँ नै हुनुपर्ने होइन र ? यही सिलसिलामा कतिपय त संयुक्त राज्य अमेरिकाको हरियो–हरियो डलर नै भन्छन् । तर यस्तो केही नभएर आठाना मात्र हो । अर्थात् आठाना जमिन । अझ प्रस्टाप्रस्टीसँग भन्ने हो भने बालुवाटारको आठाना जमिन । हो, त्यही बालुवाटारको आठाना जमिन कमरेड महासचिव पौडेलले फिर्ता गरेका हुन् । कदाचित आठानाको स्थानमा दस आना अथवा बाह्र आना अथवा चौध आना अथवा सोह्र आना भएको भए के हुन्थ्यो ? यो मूलभूत प्रश्न अनुत्तरित भएकोले मैले बढ्ता बुझक्कड भएर केही बोल्नु त्यति मुनासिब छैन ।


वास्तवमा बालुवाटारको जमिन सस्तो नभएर ज्यास्ती नै महँगो रहेको छ । यो कतिसम्म महँगो छ भने आनाकै झन्डै करोड पर्छ । यस्तै जग्गा–जमिनका आधिकारिक दलालहरू निर्धक्कसँग भनिरहेका छन् । मलाई कुनै पनि खालका दलालहरूको बोली–वचनमा त्यति पत्यार लाग्दैन । चाहे त्यो जमिनको दलाल होस् अथवा राजनीतिकै । मेरो भन्नु के हो भने नेपालको राजनीतिको शीर्ष ओहदामा रहेका सम्माननीय प्रधानमन्त्री नै बसोबास गर्ने ठाउँको जमिन भएकोले अरु बेसी महँगो हुनुपर्ने होइन र ? मेरो हिसाबमा त बालुवाटारको आनाको मूल्य करोडभन्दा माथि नै हुनुपर्छ । र बालुवाटारको जमिनको सस्तो–महँगोको विषयमा सरकारी पार्टीका महासचिव कमरेड पौडेल जत्तिको जानकार अरु को हुनसक्छ ? त्यसैले मलाई त के लागिरहेको छ भने आनाकै करोड–करोड पर्ने जमिन महासचिव कमरेड पौडेलले फिर्ता नगरेको भए हुन्थ्यो । यसले मेरै आफ्नो चित्त बुझेको छैन ।


अब उनको पर्सनल चित्तको के अवस्था होला ? मेरो विचारमा त महासचिव कमरेड पौडेलले आठानाको बदलामा तीन आना फिर्ता गरेको भए पनि हुन्थ्यो । हेर्नोस्, उनले जमिन हातलागी गरेको बखतको आनाको मूल्यको हिसाब गर्ने हो भने तीन आना पनि बढ्तै हुन्छ । त्यसबेला जमिन असाध्यै सस्तो थियो । र अहिलेको चलनचल्तीमा रहेको तीन आनाको पैसाले आठ आना नै आउँथ्यो । अझ साँचो भन्ने हो भने केवल दुई आनाले नै राम्ररी काम चल्थ्यो । त्यसकारण मेरो महासचिव कमरेड पौडेलसँग के जिकिर हो भने सिंगो आठाना किन फिर्ता गरिएको हो ? वस्तुतः तीन आनाले पनि कुरा मिल्थ्यो नि ! यसको परिणामस्वरुप चोखै पाँच आनाको बचत हुन सक्थ्यो । र पाँच आना भनेको पुराकापुरा पाँच करोड हो । याने पाँच करोड नगद । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णुप्रसाद नगदको मामलामा यति कमजोर हिसाबी–किताबी हुनै सक्दैनन् । त्यसउसले मेरो अनुमान के हो भने असली हिसाब–हिताब कुनै अर्थोक नै हो कि ? जे भए पनि त्यसो मेरो व्यक्तिगत जानकारीको पहुँचमा नभएकोले मैले केही भन्ने स्थिति छैन ।


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णुप्रसाद पौडेलले बालुवाटारको आठाना जमिन फिर्ता गरेकै समयमा बालुवाटारमा पार्टीका वरिष्ठ नेता कमरेडहरूका एक तस्बिर सोसल मिडियामा भाइरल बन्यो । त्यसमा वर्तमान अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओली तन्मयतापूर्वक मुरली बजाइरहेका छन् भने दुई भूतपूर्व अध्यक्षहरू कमरेड झलनाथ खनाल र कमरेड माधवकुमार नेपालचाहिँं घनघोर सहयोगी मुद्रामा सारंगी । कुन्नि, अर्का दुई नम्बरका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ तस्बिरमा किन नदेखिएका हुन् ! सम्भवतः उनी नेपथ्यमा उपस्थित भएर र्‍याइँ–र्‍याइँ गरिरहेका थिए । जे भए पनि अत्यधिक भाइरल तस्बिरमा भूतपूर्व एवं वर्तमान अध्यक्ष कमरेडहरू प्रशस्त खुसी देखिन्छन् । यिनीहरू मध्ये अध्यक्ष कमरेड ओली अहिलेका प्रधानमन्त्री भएकाले गदगद हुनु स्वाभाविकै छ ।


एक प्रकारले उनी पदेन पुलकितावस्थामा विराजमान छन् । तर अन्य दुई भूतपूर्व अध्यक्ष कमरेडहरूचाहिंँ के कुरामा यति प्रसन्न देखिएका हुन् ? यसमा पनि आठानाको व्यापक भूमिका हुनसक्छ । कुनै बेला कमरेड माधवकुमार नेपाल र कमरेड झलनाथ खनालमा तीव्र संघर्ष चलेको थियो । यसलाई पुरानो एमाले पार्टीको इतिहासमा ‘आठानाको संघर्ष’ नामले स्मरण गरिन्छ । दुवै कमरेडहरू एकातिर पञ्चायती व्यवस्थासँग जोडदार लडाइँ गरिरहेका थिए भने अर्कोतिर आठानाको संघर्ष पनि चालु थियो । यसको कारण राजधानी, काठमाडौंको आठाना थियो । अर्थात् कोटेश्वरस्थित जम्माजम्मी आठाना जमिन । (पढ्नोस्, २०६७ सालको चैत २६ गते प्रकाशित मेरो ‘सिउँडी’) को रचना– आठानाको सिद्धान्त) । हँ, के त्यो वरिष्ठ कमरेडहरूबीच आफैं–आफैंमा भएको आठानाको विवाद मिलिसक्यो ? तर वर्तमान महासचिव कमरेड विष्णुप्रसाद पौडेलले चाहिँं आफ्नो आठानालाई मिलाउन सकेनन् । अतएव अघि बढेर फिर्ता गर्नुपर्नेसम्मको अवस्था आयो । यहींनेर मेरो मनमा एउटा उत्सुक्ता जन्मिएको छ– केही गरी आफ्नो आठाना फिर्ता गरेका कमरेड महासचिव पौडेलको मन एकाएक परिवर्तित भएर उनले फिर्ता गरेको आठानालाई फिर्ता मागे के हुन्छ ?


कमरेड महासचिव विष्णुप्रसाद पौडेलको आठाना फिर्ता गराइको मौलिक स्टाइलले म बहुतै प्रभावित भएको छु । र मलाई पनि केही फिर्ता गरुँ भन्ने लागिरहेको छ । के फिर्ता गरुँ म ? एक मन त आफ्नै घरको जमिन फिर्ता गरुँ भन्ने भयो । तर यो त आठाना जमिनमा छैन । अब एकाध आफ्ना फिर्ता गरेर के हुन्छ ? त्यसमाथि मैले आफ्नो घरको जमिन कुनै भूमाफियाको बरदहस्तबाट प्राप्त गरेको पनि होइन । यो मेरो विशुद्ध परिश्रमको आर्जन हो । मैले महासचिव कमरेड विष्णुप्रसाद जसरी किन फिर्ता गर्ने ? तसर्थ म आफ्नो फिर्ता गर्ने विचारलाई नै अविलम्ब फिर्ता लिन्छु ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?