१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पितृसत्ताको जन्म र विस्तार

मधु राई

काठमाडौँ — पितृसत्तात्मक सोच र व्यवहारले पितृ, पिता, पुत्र अर्थात् पुरुषजातिको उन्नति र उन्नयनको मात्र सपना देख्छ । यस्तो सपना देख्ने पुरुषहरूले आफू र आफ्नो सपना पूरा गर्न जस्तोसुकै निर्णय लिने गर्छन् ।

उनीहरूको यस्तो निर्णयले विपरीत लिङ्ग अर्थात् महिलाको क्षमता, योग्यता र दक्षतालाई सधैं नकार्छ । कथंकदाचित अवसर दिइहाले पनि पहिले आफ्नै आमा, सासु, श्रीमती, छोरी, बुहारी लगायत नातागोताभित्रका महिलालाई प्राथमिकतामा पार्छन् । यसो हुँदा फेरि पनि फरक जाति, वर्ग र समुदायका महिलाहरू सधैं सिमान्तीकृत हुन्छन् ।


पितृसत्तात्मक सोच कुनै निश्चित वर्ग, जाति र समुदायमा जन्मने होइन । विशेषगरी मानवको रूपमा महिलाले जन्म दिए पनि उसले आफू हुर्कने वातावरण कस्तो पाउँछ, त्यसैमा निर्भर गर्छ, उसको सोच र व्यक्तिगत व्यवहार । यस अर्थमा पितृसत्तात्मक सोच भएका अभिभावकहरूबीच हुर्कने कतिपय बालबालिका कालान्तरमा आफ्नै अभिभावकको सिको गर्छन् र उनीहरूमा पितृसत्तात्मक सोचको विकास हुन्छ र सोही अनुरुपको व्यवहार गर्छन् । नेपाली समाजमा पितृसत्तात्मक सोचको विकास र यसको विस्तार कसरी भइरहेको छ भन्ने अदृश्य कारणहरू थुप्रै हुन सक्छन् ।


हुँदाखाने मात्र हैन, अधिकांश पढेलेखेका हुनेखाने घरपरिवारमा पनि पितृसत्तात्मक सोच नराम्ररी झाङ्गिएको देखिन्छ । अधिकांश हुँदाखाने परिवारमा गरिबी र अशिक्षाका कारण छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको कमी छँदैछ । छोरालाई पढाइहाले पनि ‘अर्काको घरजाने छोरीलाई किन पढाउने ?’ भन्ने पितृसत्तात्मक सोच व्यवहारगत रूपमा परिलक्षित हुन्छ । छोरालाई चिकित्सक र इञ्जिनियर बनाउन चाहने कतिपय शिक्षित अभिभावकसमेत छोरीलाई चाँडै ज्वाइँको जिम्मा लगाउन खोज्छन् । यी र यस्ता पितृसत्तात्मक सोचले गर्दा कतिपय छोरीको भविष्य दुःखदायीमात्र बनेको छैन, माइतीघरले नै भरथेग गर्नुपरेको छ ।


तुलनात्मक रूपमा नेपाली समाजमा आर्य समुदायभन्दा जनजाति समुदाय बढी प्रजातान्त्रिक देखिन्छ । तथापि जनजाति समुदायभित्र पनि पितृसत्ताले नराम्ररी जरा गाडेको पाइन्छ । घरपरिवारभित्र पितृसत्ताको विस्तार र प्रभाव थाहा पाउन त्यस परिवारका महिला सदस्यले पाउने अवसर र शिक्षाबाट परिलक्षित हुन्छ । किनभने कतिपय जनजाति घरपरिवारका पुरुषहरूमा पनि ‘पुरुष भनेको सर्वेसर्वा हुन्, उनीहरूले भनेका हरेक आदेश महिलाले शिरोधार्य गर्नुपर्छ’ भन्ने सोच नराम्ररी झाङ्गिएको छ । अझ दुःखलाग्दो कुरा त कतिपय देश/विदेश घुम्ने अवसर पाएका जनजाति परिवारका पुरुषहरू बाहिर आधुनिक देखिए पनि उनीहरूको सोच र जीवनशैली परम्परागत नै छ ।


समुदाय चाहे जुनसुकै होस्, महिलाप्रतिको पुरातन दृष्टिकोण र व्यवहारले पितृसत्तात्मक सोच जन्मने गर्छ । यस्तो सोचलाई विस्तार गर्ने कार्यमा पुरुषहरूलाई महिलाले परोक्ष र प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको देखिन्छ । उनीहरूको मुख्य भूमिका भनेको परिवारका पुरुषहरूको दैनिकी र जीवनशैली सहज बनाउनु हो । समयमा खाना खुवाउनुपर्ने मुख्य भूमिका बाहेक घरपरिवारभित्रको अरु सहायक काम गर्दर् ैऊर्जाशील उमेर खर्चेका अधिकांश गृहिणी महिलाहरू आज कोही वृद्धाश्रम पुगेका छन् भने कोही घरपरिवारभित्रै एक्लिएका छन् । यसरी जीवनभरि पुरुषको हरेक आदेश शिरोधार्य गर्दै आफ्नो ऊर्जाशील उमेर खर्चेका महिलाहरूले पितृसत्ता सोच र व्यवहारलाई पिढीदर–पिढी सार्न र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिन्छ ।


आफ्नै घरभित्रका महिलाहरूको निष्क्रिय जीवनशैली देख्दै हुर्केका पुरुषहरूले बाहिरका महिला जतिसुकै शिक्षित र योग्य किन नहोऊन्, उनीहरूको नजरमा ती तिनीहरूलाई पनि आफ्नै घरका सरह सोझा सम्झने र सोही अनुरुपको व्यवहार गर्ने गर्छन् । यस्ता पुरुषहरूको महिलाप्रतिको पुरातन दृष्टिकोण र व्यवहारले आज योग्य र दक्ष महिलाहरू सिमान्तीकृत गरिँंदैछन् ।


सामाजिक क्षेत्रको के कुरा गर्ने, राजनीतिमा लामो समय आफ्नो ऊर्जाशील समय खर्च गरेकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे लगायतका महिला नेतृहरू राजनीतिभित्र मौलाउँदै गएको पितृसत्तात्मक सोच र व्यवहारको सिकार बन्दैछन् । नेतृत्व तहले गर्ने हरेक निर्णयलाई दलको नीति भन्दै शिरोधार्य गर्ने अधिकांश नेतृ मूकदर्शक बन्न बाध्य छन् । उनीहरूको यस्तो प्रवृत्तिले अन्ततः राजनीतिमा पितृसत्ता हावी हुँदै गएको देखिन्छ । नेतृत्व तहमा अन्य समुदायभन्दा खस–आर्य समुदायका पुरुषहरूको बाहुल्यता देखिन्छ । यसो हुँदा पितृसत्तात्मक समाजले हुर्काएको पितृसत्तात्मक सोचको संवाहक उनै पुरुषहरू बन्न पुगेका छन् भने नेतृहरू जतिसुकै क्षमतावान र योग्य भए पनि प्रत्यक्ष र परोक्ष रूपमा पितृसत्तालाई मलजल गर्न बाध्य छन् ।


राजनीतिभित्र मौलाइरहेको पितृसत्तात्मक सोचलाई निर्मलीकरण गर्न आचारसंहिता मात्रै पर्याप्त हुँदैन भन्ने नेतृत्व तहले मनन गर्न जरुरी छ । नेकपाको संगठन विभागले माघ ५ गते ११ बुँदे आचारसंहिता जनसमक्ष ल्याएको छ । बुँदा ५ मा भनिएको छ, ‘समाजमा रहेका कुरीति, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैं प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूत व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।’ तर तिनले आचारसंहिता बनाएर मात्र हुँदैन, नेतृत्वमा झांगिएको पितृसत्तात्मक सोच र व्यवहार नसुध्रिएसम्म अरुलाई सुधार्न गाह्रो छ ।

प्रकाशित : माघ २५, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?