कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पितृसत्ताको जन्म र विस्तार

मधु राई

काठमाडौँ — पितृसत्तात्मक सोच र व्यवहारले पितृ, पिता, पुत्र अर्थात् पुरुषजातिको उन्नति र उन्नयनको मात्र सपना देख्छ । यस्तो सपना देख्ने पुरुषहरूले आफू र आफ्नो सपना पूरा गर्न जस्तोसुकै निर्णय लिने गर्छन् ।

उनीहरूको यस्तो निर्णयले विपरीत लिङ्ग अर्थात् महिलाको क्षमता, योग्यता र दक्षतालाई सधैं नकार्छ । कथंकदाचित अवसर दिइहाले पनि पहिले आफ्नै आमा, सासु, श्रीमती, छोरी, बुहारी लगायत नातागोताभित्रका महिलालाई प्राथमिकतामा पार्छन् । यसो हुँदा फेरि पनि फरक जाति, वर्ग र समुदायका महिलाहरू सधैं सिमान्तीकृत हुन्छन् ।


पितृसत्तात्मक सोच कुनै निश्चित वर्ग, जाति र समुदायमा जन्मने होइन । विशेषगरी मानवको रूपमा महिलाले जन्म दिए पनि उसले आफू हुर्कने वातावरण कस्तो पाउँछ, त्यसैमा निर्भर गर्छ, उसको सोच र व्यक्तिगत व्यवहार । यस अर्थमा पितृसत्तात्मक सोच भएका अभिभावकहरूबीच हुर्कने कतिपय बालबालिका कालान्तरमा आफ्नै अभिभावकको सिको गर्छन् र उनीहरूमा पितृसत्तात्मक सोचको विकास हुन्छ र सोही अनुरुपको व्यवहार गर्छन् । नेपाली समाजमा पितृसत्तात्मक सोचको विकास र यसको विस्तार कसरी भइरहेको छ भन्ने अदृश्य कारणहरू थुप्रै हुन सक्छन् ।


हुँदाखाने मात्र हैन, अधिकांश पढेलेखेका हुनेखाने घरपरिवारमा पनि पितृसत्तात्मक सोच नराम्ररी झाङ्गिएको देखिन्छ । अधिकांश हुँदाखाने परिवारमा गरिबी र अशिक्षाका कारण छोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको कमी छँदैछ । छोरालाई पढाइहाले पनि ‘अर्काको घरजाने छोरीलाई किन पढाउने ?’ भन्ने पितृसत्तात्मक सोच व्यवहारगत रूपमा परिलक्षित हुन्छ । छोरालाई चिकित्सक र इञ्जिनियर बनाउन चाहने कतिपय शिक्षित अभिभावकसमेत छोरीलाई चाँडै ज्वाइँको जिम्मा लगाउन खोज्छन् । यी र यस्ता पितृसत्तात्मक सोचले गर्दा कतिपय छोरीको भविष्य दुःखदायीमात्र बनेको छैन, माइतीघरले नै भरथेग गर्नुपरेको छ ।


तुलनात्मक रूपमा नेपाली समाजमा आर्य समुदायभन्दा जनजाति समुदाय बढी प्रजातान्त्रिक देखिन्छ । तथापि जनजाति समुदायभित्र पनि पितृसत्ताले नराम्ररी जरा गाडेको पाइन्छ । घरपरिवारभित्र पितृसत्ताको विस्तार र प्रभाव थाहा पाउन त्यस परिवारका महिला सदस्यले पाउने अवसर र शिक्षाबाट परिलक्षित हुन्छ । किनभने कतिपय जनजाति घरपरिवारका पुरुषहरूमा पनि ‘पुरुष भनेको सर्वेसर्वा हुन्, उनीहरूले भनेका हरेक आदेश महिलाले शिरोधार्य गर्नुपर्छ’ भन्ने सोच नराम्ररी झाङ्गिएको छ । अझ दुःखलाग्दो कुरा त कतिपय देश/विदेश घुम्ने अवसर पाएका जनजाति परिवारका पुरुषहरू बाहिर आधुनिक देखिए पनि उनीहरूको सोच र जीवनशैली परम्परागत नै छ ।


समुदाय चाहे जुनसुकै होस्, महिलाप्रतिको पुरातन दृष्टिकोण र व्यवहारले पितृसत्तात्मक सोच जन्मने गर्छ । यस्तो सोचलाई विस्तार गर्ने कार्यमा पुरुषहरूलाई महिलाले परोक्ष र प्रत्यक्ष रूपमा सहयोग गर्दै आएको देखिन्छ । उनीहरूको मुख्य भूमिका भनेको परिवारका पुरुषहरूको दैनिकी र जीवनशैली सहज बनाउनु हो । समयमा खाना खुवाउनुपर्ने मुख्य भूमिका बाहेक घरपरिवारभित्रको अरु सहायक काम गर्दर् ैऊर्जाशील उमेर खर्चेका अधिकांश गृहिणी महिलाहरू आज कोही वृद्धाश्रम पुगेका छन् भने कोही घरपरिवारभित्रै एक्लिएका छन् । यसरी जीवनभरि पुरुषको हरेक आदेश शिरोधार्य गर्दै आफ्नो ऊर्जाशील उमेर खर्चेका महिलाहरूले पितृसत्ता सोच र व्यवहारलाई पिढीदर–पिढी सार्न र विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिन्छ ।


आफ्नै घरभित्रका महिलाहरूको निष्क्रिय जीवनशैली देख्दै हुर्केका पुरुषहरूले बाहिरका महिला जतिसुकै शिक्षित र योग्य किन नहोऊन्, उनीहरूको नजरमा ती तिनीहरूलाई पनि आफ्नै घरका सरह सोझा सम्झने र सोही अनुरुपको व्यवहार गर्ने गर्छन् । यस्ता पुरुषहरूको महिलाप्रतिको पुरातन दृष्टिकोण र व्यवहारले आज योग्य र दक्ष महिलाहरू सिमान्तीकृत गरिँंदैछन् ।


सामाजिक क्षेत्रको के कुरा गर्ने, राजनीतिमा लामो समय आफ्नो ऊर्जाशील समय खर्च गरेकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे लगायतका महिला नेतृहरू राजनीतिभित्र मौलाउँदै गएको पितृसत्तात्मक सोच र व्यवहारको सिकार बन्दैछन् । नेतृत्व तहले गर्ने हरेक निर्णयलाई दलको नीति भन्दै शिरोधार्य गर्ने अधिकांश नेतृ मूकदर्शक बन्न बाध्य छन् । उनीहरूको यस्तो प्रवृत्तिले अन्ततः राजनीतिमा पितृसत्ता हावी हुँदै गएको देखिन्छ । नेतृत्व तहमा अन्य समुदायभन्दा खस–आर्य समुदायका पुरुषहरूको बाहुल्यता देखिन्छ । यसो हुँदा पितृसत्तात्मक समाजले हुर्काएको पितृसत्तात्मक सोचको संवाहक उनै पुरुषहरू बन्न पुगेका छन् भने नेतृहरू जतिसुकै क्षमतावान र योग्य भए पनि प्रत्यक्ष र परोक्ष रूपमा पितृसत्तालाई मलजल गर्न बाध्य छन् ।


राजनीतिभित्र मौलाइरहेको पितृसत्तात्मक सोचलाई निर्मलीकरण गर्न आचारसंहिता मात्रै पर्याप्त हुँदैन भन्ने नेतृत्व तहले मनन गर्न जरुरी छ । नेकपाको संगठन विभागले माघ ५ गते ११ बुँदे आचारसंहिता जनसमक्ष ल्याएको छ । बुँदा ५ मा भनिएको छ, ‘समाजमा रहेका कुरीति, रुढिवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैं प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूत व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।’ तर तिनले आचारसंहिता बनाएर मात्र हुँदैन, नेतृत्वमा झांगिएको पितृसत्तात्मक सोच र व्यवहार नसुध्रिएसम्म अरुलाई सुधार्न गाह्रो छ । प्रकाशित : माघ २५, २०७६ ०८:०१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पूर्वाधार उपयोगको चिन्ता

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुदका महत्त्वपूर्ण खेलहरू दाङमा हुने भएपछि हतारहतार संरचना बने । महिला फुटबल र एथलेटिक्स खेलका लागि बेलझुन्डी रंगशाला रातारात निर्माण भयो । निर्माण पूरा नहुँदै खेलकुद प्रतियोगिता सकियो । अहिले पनि रंगशालाको निर्माण जारी छ ।


गत वैशाखमा भएको राष्ट्रिय खेलकुदले जिल्लामा खेलको माहोल नै बेग्लै बनायो । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरू दाङमा जुटे । खेलकुद संरचना निर्माणमा करोडौं लगानी भयो । ती संरचना अब कसरी उपयोग र संरक्षण गर्ने भन्ने चिन्ता बढेको छ । बेलझुन्डीमा सिन्थेटिक प्यारापिटसहितको रंगशाला बनेपछि जिल्लामा खेलकुदको छुट्टै रौनक छाएको छ । रंगशाला निर्माणको काम नसकिए पनि अहिले निरन्तर विभिन्न खेलकुदहरू भइरहेका छन् ।

राष्ट्रिय खेलकुदको समयमा फुटबल मैदान, नाली, साधारण प्यारापिट र सेन्थेटिक एथलेटिक्स ट्र्याक निर्माण गरिएको थियो । भीआईपी प्यारापिट, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भीआईपी तथा मिडिया घर र मैदानवरिपरि घेराबार निर्माणको काम अहिले चलिरहेको छ । गत असार ७ मा सम्झौता भएको रंगशाला निर्माणको समय गत मंसिर ८ मा सकिएको थियो । फेरि समय थप गरी जेठ मसान्तसम्म लम्ब्याइएको थियो । त्यतिबेलासम्म पनि काम नसकिएपछि अहिले फेरि चैतसम्म म्याद थपिएको छ । २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको छ । बेलझुन्डीको रंगशाला काठमाडौंको दशरथ रंगशालापछि सिन्थेटिक रनिङ ट्र्याक भएको दोस्रो ठूलो हो । सिन्थेटिक ट्र्याकमा लचकदार रबर हुने भएकाले खेलाडीलाई दौडन सजिलो हुन्छ । सिन्थेटिक ट्र्याक चार सय रनिङ मिटरको छ, जसमा एकसाथ आठ खेलाडी दौडन मिल्छ । रनिङ ट्र्याकभित्र १ सय ६ मिटर लम्बाइ र ६८ मिटर चौडाइको खेलकुद मैदान छ ।

आठौं खेलकुदका क्रममा यो रंगशालासहित जिल्लामा पहिलोपटक खेलकुदका धेरै ठूला संरचना निर्माण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । ‘एकसाथ धेरै संरचना तयार भएका छन् । यसले खेल गतिविधिलाई धेरै सहयोग पुगेको छ,’ उनले भने, ‘जिल्लामा खेलका लागि पर्याप्त संरचना भइसकेका छन् । यसले खेलाडीलाई पनि उत्साह पुगेको छ ।’ संरचना बन्दै गर्दा दाङमा सात राष्ट्रिय खेल, आठ क्षेत्रीय खेल र पाँचवटा प्रदेश स्तरीय खेल भएको डाँगीले बताए । दाङले मध्यपश्चिम स्तरीय खेलमा प्रथम र प्रदेश स्तरीयमा दोस्रो स्थान हासिल गरेको उनले बताए । पछिल्लो चार वर्षमा मात्रै दाङमा खेलकुद संरचनाका लागि करोडौं लगानी भएको उनले बताए । विभिन्न ठाउँमा साना खेलकुद मैदान पनि बनेको डाँगीले जानकारी दिए । विभिन्न गाउँ र विद्यालयमा ५ देखि २५ लाखसम्मको लगानीमा खेलमैदान बनेको उनले बताए ।

खेलाडी उत्साहित
बेलझुन्डी रंगशाला बनेपछि एथलेटिक्स र फुटबल खेलमा धेरै नै सहजता भएको छ । नियमितजसो खेल खेल्न र विभिन्न प्रतियोगिता सञ्चालन गर्न रंगशालाले सहज बनाएको तुलसीपुरका एथलेटिक्स खेलाडी सिमान पाण्डेले बताए । १३ औं सागमा सहभागी पाण्डे आठौं राष्ट्रिय खेलकुदमा चार सय मिटरको रिलेमा प्रथम भएका थिए । नियमित अभ्यास र खेलकुद प्रतियोगिताका क्रममा रंगशाला उपयोग भइरहेको उनले बताए । ‘प्रतियोगिताहरू नियमित भइरहन सकेमा खेलाडीलाई थप हौसला हुने थियो । पहिले खेलमैदान थिएन । अहिले यस्तो व्यवस्थित रंगशाला बनेको छ,’ उनले भने, ‘यसले खेलकुदका लागि उत्साहजनक वातावरण निर्माण गरेको छ । नियमित खेलहरू हुन सकेनन् भने रंगशालाको प्रयोग हुन सक्दैन ।’

रंगशालालाई नियमित अभ्यास गर्नेभन्दा खेलकुद प्रतियोगिताका लागि मात्रै प्रयोग गर्नुपर्ने फुटबल संघका जिल्ला अध्यक्ष सुशील श्रेष्ठले बताए । ‘रंगशालामा नियमित प्रशिक्षण गर्दा दूबो मर्ने र अन्य संरचना बिग्रने समस्या हुन्छ । सधैँ प्रयोग गर्न सकिँदैन,’ उनले भने, ‘अभ्यास गर्ने अन्य मैदान हुनुपर्छ । यसका लागि हामीले आवाज पनि उठाइरहेका छौं ।’ रंगशाला भएपछि खेलाडीको मनोबल बढिरहेको श्रेष्ठले बताए । ‘खेलकुद संरचना हाम्रा गहना हुन् । यिनलाई कसरी बचाउने भन्ने चिन्ता हो,’ उनले भने, ‘जिल्लामा ठूला प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । खेलका टिम बलिया हुँदै जान्छन् ।’ खेलकुद संघका कार्यालय पनि रंगशालामा राख्न सकेमा थप संरचना बन्ने र नियमित खेलका गतिविधि हुन सक्ने उनले बताए । ‘जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न खेलकुदको नियमित प्रशिक्षणको वातावरण हुनुपर्छ,’ उनले भने, ‘गाउँगाउँमा सानातिना मैदानमा खेल्ने गरिएको छ । त्यस्ता मैदानमा उपयुक्त संरचना नहुँदा समस्या छ ।’ ग्रामीण भेगबाट कसरी खेलाडी तयार पार्ने भन्नेमा ध्यान दिइरहेको उनले बताए । यसका लागि हरेक स्थानीय तहमा खेलकुदका संरचना तयार हुनुपर्ने श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको वर्गीकरणमा दाङ क श्रेणीमा परे पनि खेलकुद संरचना र गतिविधिहरू सन्तोषजनक नभएको खेलाडी तथा खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष लक्ष्मण बस्नेतले बताए । ‘आठौं राष्ट्रिय खेलकुदका क्रममा लमही, घोराही र तुलसीपुरको सहरी क्षेत्रमा केही संरचना बने पनि अधिकांश स्थानीय तहमा मापदण्डअनुसारका संरचना छैनन्,’ उनले भने, ‘खेलकुद विकासमा खेल संरचनाको ठूलो भूमिका हुन्छ तर बनेका संरचना पनि संरक्षणको पर्खाइमा छन् ।’ खेलाडीहरूको उत्साह बढाउन स्थानीय तहले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बस्नेतले बताए । स्थायी तथा स्वयंसेवी प्रशिक्षकहरूको खोजी गरी नियमित प्रशिक्षण सञ्चालन हुनुपर्नेमा यसतर्फ कसैको चासो नगएको उनले बताए । ‘खेलका संरचनाले खेलाडीलाई उत्साहित बनायो तर खेलकुदका गतिविधि नै छैनन्,’ उनले भने, ‘बनेका संरचना पनि प्रयोगमा आउन नसक्नु विडम्बना हो ।’ खेलकुदको दीर्घकालीन योजना बनाएर काम गर्ने र खेलाडीको मनोबल उच्च राख्ने गरी नियमित खेल गतिविधि सञ्चालन गर्न सक्ने नेतृत्वको अभाव खड्किरहेको उनले बताए ।

संरक्षणको चिन्ता
राष्ट्रिय खेलकुदकै क्रममा लमहीस्थित क्रिकेट मैदानमा १ करोड लगानीमा दूबो रोप्ने, नाला बनाउने, प्यारापिट र चेन्जिङ रुम बनाउने काम भयो । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्बाट एक करोड बजेट परेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । आठौं खेलकुदमा लमही क्रिकेट मैदानमा महिला क्रिकेट भएको थियो । पहिले मेला महोत्सव लाग्ने क्रिकेट मैदान खेल्नयोग्य भएको थियो । राष्ट्रिय खेलकुदका कारण पहिलोपटक जिल्लामा खेलकुद संरचना व्यवस्थित बनाउने अवसर मिले पनि यसको संरक्षणमा भने समस्या रहेको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । ‘वर्षौंदेखि अलपत्र परेका खेल मैदान खेल्नलायक भएका थिए तर यसको संरक्षणमा कसैको चासो भएन । संरचना संरक्षण गर्ने जिम्मेवार निकाय कोही भएन,’ उनले भने, ‘स्थानीय तहले पनि ध्यान दिएन । अन्य कुनै निकायले पनि चासो लिएको छैन । लमही क्रिकेट मैदानमा बनेका पिचहरू खेल्न नमिल्ने भइसकेका छन् ।’

एकैपटक ठूलो लगानी गर्ने, त्यसपछि कसैले चासो नदिने समस्या रहेको मजगैयाले बताए । ‘बनेका संरचना संरक्षणमा तत्कालै जिम्मेवार निकायले चासो दिनुपर्छ । खेलाडीहरूले मात्रै चासो दिएर भएन, संस्थागत संरक्षणको आवश्यकता छ,’ उनले भने, ‘बनेका संरचना संरक्षण हुन सकेनन् भने लगानी खेर जान्छ । त्यतिबेला बनेका सबै संरचना कसले संरक्षण गर्ने भन्ने अन्योल देखिन्छ ।’ राष्ट्रिय खेलकुदका क्रममा विभिन्न कभर्ड हल पनि बने । ५० लाखमा घोराहीको नवलपुरमा बास्केटबल कोर्ट बन्यो । १ करोड ८८ लाख रुपैयाँमा तुलसीपुरमा कराँते कभर्डहल तथा प्रशिक्षण भवन तयार भयो ।

तुलसीपुरको कभर्ड हल बन्दाबन्दै कराँते खेल भएको थियो । अहिले कभर्ड हलको अन्तिम काम सम्पन्न भइसकेको छ । अझै कम्पाउण्ड र प्यारापिट बनाउन बाँकी रहेको छ ।
आठौं खेलकुदमा घोराहीको कभर्ड हलमा टेबुलटेनिस र व्याडमिन्टन तथा घोराहीकै बास्केटबल कोर्टमा पुरुष र महिला बास्केटबल खेलहरू भएका थिए । संरचनाहरू तयार भए पनि नियमिति प्रतियोगिताहरू हुन नसकेको कराँते संघका जिल्ला अध्यक्ष हरि घर्तीले बताए । ‘संरचना बनेका छन् तर यति नै पर्याप्त छैनन् । भएका पनि राम्रोसँग उपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘नियमित प्रतियोगिता नभएकाले भएका संरचनाले पनि उमंग थप्न सकेका छैनन् । प्रतियोगिताहरू भइरहन सकेमा मात्रै खेल संरचनाकोउचित प्रयोग हुन्छ ।’

प्रकाशित : माघ २५, २०७६ ०७:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×