कोशी टप्पुमा रानीचरा

कमल मादेन

वाइल्डलाइफ फोटोग्राफर संजय था श्रेष्ठ कोशी टप्पु वन्यजन्तु आरक्ष र यसको आसपासको क्षेत्रमा ५ वर्षदेखि तस्बिर खिच्दैछन् । उनको क्यामेरामा त्यहाँ पाइने सबैजसो दुर्लभ पन्क्षीको तस्बिर कैद भइसकेको छ । वन्यजन्तु पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठले २३ जनवरी २०२० मा एक अर्को दुर्लभ पन्क्षीको तस्बिर खिचे ।

कोशी टप्पुमा रानीचरा

तर उनले त्यो कुन प्रजातिको हो भनेर खुट्याउन सकेनन् । पहिचानका निम्ति चराविज्ञ तथा जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल शाखा प्रमुख डा. हेमसागर बराललाई तस्बिर पठाए । डा. बरालले उक्त पन्छी ‘पेरिक्रोकोटस् क्यान्टोनेन्सिस’को भएको उल्लेख गरे । नेपालमा यसअघि यसको तस्बिर कसैले खिचेको थिएन । अहिलेसम्म यसको तस्बिर नेपालको चरा सम्बन्धी पुस्तक तथा जर्नलमा छापिएको पाइन्न ।


बेलायतका जीव वैज्ञानिक रोबर्ट स्विन्होले ‘पेरिक्रोकोटस् क्यान्टोनेन्सिस’लाई सर्वप्रथम विश्वसामु चिनाएका हुन् । स्विन्हो सन् १८५४ मा एक कर्मचारीका रूपमा चीन गएका र पन्क्षीहरूको अध्ययन गर्ने क्रममा ताइवान पनि पुगेका थिए । त्यहीँको एक क्यान्टोनमा पेरिक्रोकोटस् जाति अन्तर्गतको एक नयाँ प्रजाति फेला पारे । क्यान्टोन शब्दलाई ल्याटिनीकरण गरी उनले उक्त पन्क्षीको वैज्ञानिक नाम पेरिक्रोकोटस् क्यान्टोनेन्सिस नामकरण गरे । यो जानकारी सन् १८६१ मा लन्डनबाट प्रकाशित द आएबिस, अ म्यागेजिन अफ जेनेरल अर्निथोलोजी भोलम–३ मा समावेश छ । स्वन्होले लेखेका छन्, ‘ताइवानको क्यान्टोनमा उक्त पन्क्षी उल्लेख्य मात्रामा पाइन्छ ।’


ट्याक्सोनोमी अफ द बर्डस् अफ द वर्ल्ड (सन् २०१८) पुस्तक अनुसार संसारभर पेरिक्रोकोटस् जाति (जिनस) अन्तर्गत २६ प्रजाति सूचीकृत छन् । नेपालमा भने यो प्रजातिका पन्क्षीलाई ‘रानीचरा’ भनिन्छ । हामीकहाँ रानीचराको ८ प्रजाति पाइन्छ । तिनै ८ मध्ये १ थियो संजय था श्रेष्ठले खिचेको तस्बिर । यो प्रजातिका पन्क्षीलाई तिनका वैज्ञानिक नामका अतिरिक्त समग्र रूपमा मिनिभेट भनिन्छ । बेलायतका चरा विज्ञहरूले रोबर्ट स्विन्होबाट पत्ता लगाइएको पेरिक्रोकोटस् क्यान्टोनेन्सिस्लाई उनैको नामसँग जोडेर स्विन्होज मिनिभेट भन्ने गर्छन् ।


यो पन्क्षीको ढाड र विशेषतः छाती अनि पेटमा हल्का ब्राउन हुन्छ । यसैको आधारमा यसले एक अर्को उपनाम ब्राउन–रम्पड मिनिभेट पनि पाएको छ । चीन लगायत दक्षिणपूर्वको चरा सम्बन्धी लेखिएका पुस्तकमा उक्त पन्क्षीको नाम ब्राउन–रम्पड मिनिभेट लेख्ने गरिएको पाइन्छ । समग्र पन्क्षीको रूपरंगका आधारमा यसलाई स्विन्होज मिनिभेट भन्नुभन्दा ब्राउन–रम्पड मिनिभेट भन्नु पन्क्षी पहिचानका निम्ति सजिलो हुन्छ । यद्यपि पन्क्षी अध्येयता तथा बर्ड वाचरहरू यो पन्क्षीलाई झन्डै यस्तै आकृति र रूपरंग भएको एसी मिनिभेट भन्ठानी झुक्किन्छन् । एसी मिनिभेट पनि दक्षिण एसियाको एक दुर्लभ पन्क्षी प्रजाति हो ।


डुलुवा अर्थात् ‘भेग्रेन्ट’

अंग्रेजी शब्दकोश अनुसार घरमा नबसेको व्यक्ति वा भिक्षाको लागि ठाउँ–ठाउँ चहार्नेलाई ‘भेग्रेन्ट’ भनिन्छ । यो शब्द चरा अध्ययन, अनुसन्धानमा पनि प्रयोग हुन्छ । कुनै ठाउँमा कुनै पन्क्षी प्रजाति नियमित होइन, वर्ष बिराएर वा अहिलेसम्म केही पटकमात्र देखिए, त्यस्ता पन्क्षीलाई त्यस ठाउँका निम्ति डुलुवा अर्थात् ‘भेग्रेन्ट’ भनिन्छ । द स्टेटस् अफ नेपाल्स बर्डस् ः द नेसनल रेड लिस्ट सिरिज (सन् २०१६) भोलम–१ पुस्तकमा नेपालमा पाइएका कुल पन्क्षीमध्ये ७४ प्रजाति भेग्रेन्ट हुन् भनिएको छ । तिनीहरू अहिलेसम्म १० वा त्यसभन्दा कम पटकमात्र देखिएको उल्खे छ । त्यो सूचीमा स्विन्होज मिनिभेट पनि परेको छ । तर क–कसले कहाँ, कतिपटक देखेका थिए भन्ने जानकारी छैन ।


सन् २०११ मा प्रकाशित ‘भारतीय उपमहाद्वीपका चराहरू’ पुस्तकमा स्विन्होज मिनिभेटलाई भेग्रेन्ट मानिएको छ । सुमन्त राजगुरु र पञ्चमी मनु उकिल लिखित ‘साइटिङ अफ भेग्रेन्ट स्पेसिस् एट बर्बेरा, उडिसा’ लेखमा उक्त पन्क्षी उडिसामा पहिलोपटक सन् २०१६ मा देखिएको थियो । लेख इन्डियन बर्डस् जर्नलको भोलम–११ नम्बर ४ मे २०१६ संस्करणमा छापिएको हो । लेखमा जनाइए अनुसार त्यो पन्क्षीको तस्बिर २७ फेब्रुअरी २०१६ मा उडिसा राज्य अन्तर्गत खोर्धा जिल्लाको बर्बेरा–धुनाली रिजर्भ फरेष्टमा खिचिएको थियो । यसैगरी सन् २०१६ मै यो पन्क्षी कर्नाटकमा पनि देखिएको जानकारी ‘न्यु रेकर्ड अफ स्विन्होज मिनिभेट इन बेंगलुरु, कर्नाटक’ एक अर्को लेखमा छ । भानुश्रीधन र अरुहरू लिखित उक्त लेख इन्डियन बर्डस् जर्नलको भोलम–१२ नम्बर २ र ३ अक्टोबर २०१६ संस्करणमा छापिएको छ । यसैगरी त्यो पन्क्षी गुजरातमा पनि देखिएको जानकारी इन्डियन बर्डस् जर्नलकै भोलम–१४ नम्बर ५, नोभेम्बर २०१८ संस्करणमा छ ।


अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २०१६ मा प्रकाशन गरेको एक जानकारी अनुसार स्विन्होज मिनिभेट कम्बोडिया, चीन, हङकङ, लाओस पिपल्स डेमोक्रेटिक रिपब्लिक, म्यान्मार, थाइल्यान्ड र भियतनाममा पाइन्छ । लेख अनुसार यो पन्क्षी ती देशहरूमा धेरै संख्यामा पाइएकाले यसलाई लिस्ट कन्सर्न समूहमा राखिएको छ । यसको अर्थ यो पन्क्षी प्रजातिलाई प्राथमिकतामा राखेर संरक्षण गर्न आवश्यक ठानिन्न । जोन म्याक्किनन र क्यारेन फिलिप्स लिखित ‘अ फिल्ड गाइड टु द बर्डस अफ चाइना (सन् २०००’ पुस्तकमा यो पन्क्षीले चीनको मध्य, दक्षिण र पूर्वमा बचेरा हुर्काउँछ र हिउँदमा दक्षिणपूर्व एसियातर्फ बसाइँ सर्छ भनिएको छ ।


प्रकाशपुर डुल्दै गर्दा जे देखियो

संजय था श्रेष्ठ, सुवास भुजेल, राम श्रेष्ठ र उज्ज्वल जिम्मा कोशी टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रस्थित कोशी गाउँपालिका र बराह नगरपालिकाको सीमावर्ती भूभागमा जनवरी २३ तारिख चरा अवलोकननिम्ति मध्यदिनमा हिँड्दै थिए । त्यहाँ १ः३० बजे २०/२५ वटा टाढैबाट एसी मिनिभेटको बथान देखे । उनीहरू अलि नजिक गए । संजय था श्रेष्ठलाई केही पन्क्षी एसी मिनिभेटभन्दा अलि भिन्नजस्तो लाग्यो । उनले टेली लेन्सबाट तुरुन्तै केही तस्बिर खिचे । कतै बाज कराएको सुनियो, अनि ती बथान पन्छी एकाएक हराए । त्यसपछि कतै देखिएनन् । कराएको आवाज पनि सुनिएन । त्यो एसी मिनिभेटभन्दा अलि भिन्न पन्क्षी कुन होला भन्ने खुल्दुली उब्जियो, संजयको मनमा ।


त्यो पन्क्षीको चुच्चो पछाडि टाउकोमा सेतो सतह एसी मिनिभेटको भन्दा अलि बढी थियो । चुच्चोको माथिल्लो भागबाट आँखा हुँदै कन्चटतर्फ गएको कालो रंगको सोती आँखाको चौडाभन्दा थोरै कम थियो । यसको ढाड र छातीतर्फ हल्का ब्राउन रंग स्पष्ट देखियो । एसी मिनिभेटभन्दा थप फरकचाहिँ यसको खुट्टाको रंग अलि कालो थियो । यसको चुच्चो अर्थात ठुँडो पनि एसी मिनिभेटको भन्दा बढी कालो थियो । रोबर्ट स्विन्होले सन् १८६३ मा पेरिक्रोकोटस् क्यान्टोनेन्सिस्बारे लेख्दा उक्त चराको खुट्टा र ठुँडो कालो हुन्छ भन्ने विवरण खुलाएका थिए । यसलाई ब्राउन–रम्पड मिनिभेट भनिने भएकाले यो थोरै ब्राउन त हुने नै भयो । जबकि एसी मिनिभेट हल्का, सेतो खरानी रंगको हुन्छ । उपरोक्त लक्षणका आधारमा संजय था श्रेष्ठले जनवरी २३, २०२० मा खिचेको तस्बिर स्विन्होज मिनिभेट अर्थात पेरिक्रोकोटस् क्यान्टोनेन्सिस्कै हो भन्ने पुष्टि हुन्छ ।


सुनसरी प्रकाशपुरका अनिस तिम्सिना सन् २०११ ताका कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा एसी मिनिभेट पहिलोपटक देखिएको बताउँछन् । उसबेला पनि स्विन्होज मिनिभेट देखिएको उनको ठम्याइ छ । यसैको आधारमा बर्डस् अफ नेपाल (सन् २०१६) र द स्टेटस् अफ नेपाल्स बर्डस् ः द नेसनल रेड लिस्ट सेरिज (सन् २०१६) पुस्तकमा स्विन्होज मिनिभेट भेग्रेन्ट समूहमा राखिएको हुनुपर्छ । सुनसरी मधुवनका बद्री चौधरी एसी मिनिभेटको बथानमा स्विन्होज मिनिभेट देखेको जिकिर गर्छन् । पोखराका मनशान्त घिमिरे पनि कोशी टप्पुमा सन् २०१७ मा एसी मिनिभेट २०/२५ वटा देखेको बताउँछन् । यस्तै भनाइ झापाका देवेन खरेलको पनि छ ।


‘अ फिल्ड गाइड टु द बर्डस् अफ चाइना’मा लेखिए अनुसार चीनमा स्विन्होज मिनिभेट पतझड तथा सदावहार जंगलमा समुद्री सतहबाट १५ सय मिटर उचाइसम्म विचरण गर्छन् । हिउँदमा यो पन्क्षी दक्षिणपूर्व तथा दक्षिण एसियामा बसाइँ सर्छ । यसैक्रममा यो पन्क्षी कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतका ठाउँमा आइपुग्दो रहेछ । यो पन्क्षी सन् २०११ देखि मात्र नेपाल आउन थालेको भनै होइन । यसकारण यो पन्क्षीलाई भेग्रेन्टको सूचीमा सूचीकृत गर्न मनासिव हुन्न । यो पन्क्षी नेपालको निम्ति हिउँदमा आउने एक आगन्तुक प्रजाति नै हुनुपर्छ ।


वाइल्डलाइफ फोटोग्राफर तथा वर्ड वाचर गाइडहरूले केही वर्षयता नेपालका नयाँ पन्क्षी प्रजातिका तथ्यांक विज्ञको सहकार्यमा अध्यावधिक गरिरहेका छन् । यसक्रममा संजय था श्रेष्ठले स्विन्होज मिनिभेटको तस्बिर खिचेर नेपालको पन्क्षी तथ्यांक दुरुस्त गर्ने काममा सघाउ पुर्‍याएका छन् ।

प्रकाशित : माघ १८, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?