कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिरियस प्रधानमन्त्री

विमल निभा

एकाएक प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली सिरियस भएका छन् । 

हामीलाई यस्तो सिरियस प्रधानमन्त्री कमरेड खड्गप्रसाद ओलीको कुनै बानी छैन । मेरा लागि त त्यही पुराना उखान–टुक्कावाल कमरेड प्रधानमन्त्री ओली नै प्रिय छन् । पहिलेका हाम्रा प्यारा–प्यारा प्रधानमन्त्री कमरेड बात–बातमा हाँसोको बातचित गर्ने गर्थे, जस्तो केराको पात–पातमा पात, त्यस्तै प्रधानमन्त्री कमरेड ओलीको बात–बातमा बात ! समग्रमा भन्ने हो भने क्याबात ! उनी आफ्नो मौलिक मुडमा आएर कहिले रसिलो उखान–टुक्काको प्रयोग गर्थे भने कहिले गजब–गजबका चुट्कुला सुनाएर सबैलाई मरी–मरी हँसाउँथे । म पनि मजैले हाँस्थेँ । हो, कहिलेकाहीँ मलाई झनक्क रिस पनि उठ्ने गर्थ्यो ।


हेर्नोस्, दुनियाँसामु म एक हाँस्ने–हँसाउने लेखकको रूपमा परिचित थिएँ । तर दुनियाँलाई बेस्सरी हँसाउने काम भने प्रधानमन्त्री कमरेड ओली सहजतापूर्वक गरिरहेका थिए । यसले ममा एक प्रकारको गाढा फ्रस्टेसन पैदा भइरहेको थियो । (पूरै हीनभावना पनि) । तर विस्तारै मलाई के आत्मबोध भयो भने उनी त सबैका प्रधानमन्त्री हुन् नि ! अर्थात म जस्ता तमाम हाँस्ने–हँसाउने कार्यमा लागेका हास्यकारका पनि प्रधानमन्त्री । त्यसकारण अन्ततः हीनभावबाट निस्केर प्रधानमन्त्री कमरेड ओलीलाई अरु ज्यास्ती मनपराउन थालें ।


प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीका त्यसबखतका बहुचर्चित ‘जोक्स’को के कुरा गर्ने ? मलाई त अहिलेसम्म सबै कण्ठस्तै छ । याद गर्नोस्, उनको सार्वजनिक समारोहमा पटक–पटक उद्घोषित एक सुप्रसिद्ध कथन– ‘म सबैका घर–घरमा पाइप लाइनमार्फत भात पकाउने ग्यास पुर्‍याइदिन्छु ।’ यो सुनेर जुम्लादेखि जनकपुरसम्मका सबै गृहिणी आनन्दित नहुने कुरै थिएन । अब आफ्नो घरको चुल्होमा डाइरेक्ट ग्यासको बन्दोबस्ती भएमा अरु के चाहियो त ? मेरो छिमेकी सीतारामजीले त अति उत्साहमा भान्साबाट ग्यास सिलेन्डर हटाएर दुई–चार थान जगेडा पाइप राखेका थिए । उनको तर्क के थियो भने कदाचित प्रधानमन्त्री कमरेड ओलीद्वारा भान्साकोठामा ग्यास वितरण भइरहेको बखत पाइप बिग्रन गए के गर्ने ? ठिकै हो ।


वास्तवमा मेरो छिमेकी सीतारामजी एक सफल गृहस्थ हुन् । उनको जगेडा पाइपको आइडियाले भाउजु पनि अति प्रसन्न ! र यसको एकमात्र जश कमरेड प्रधानमन्त्रीको वाणीलाई जान्छ । र यही स्तरको प्रधानमन्त्री कमरेड ओलीको अर्को वजनदार कथन– ‘म चाँडै नै मुलुकमा रेलगाडी ल्याउनेछु ।’ यसको लगत्तै जोशका साथ आएको उनको अर्को भनाइ पनि उत्तिकै चर्चित भएको थियो– ‘म रेलगाडी मात्र नभएर पानीगाडी पनि नल्याई छाड्दिन ।’ र पानीगाडी भनेको हामी सबैलाई अवगत भएकै कुरो हो । वस्तुतः हामी प्रशस्त पानी भएको मुलुकको वासी हौं ।


पानीगाडी याने खोला, खोल्सा, पोखरी, नाला, तलाउ, नदी, समुद्र आदिमा चल्ने गाडी । यसलाई अर्को शब्दमा पानीजहाज पनि भन्ने गरिन्छ । एकसाथ दुई–दुई प्रकारका गाडी (रेलगाडी र पानीगाडी) सहजताका साथ आउने भए को हर्षित हुँदैन ? यिनीहरूमध्ये रेलगाडी अन्य मुलुक चीन (अथवा भारत) बाट ल्याउनुपर्ने भएकाले केही टाइम लाग्नु स्वाभाविक हो । तर पानीगाडीका निम्ति आफ्नै मुलुकमा जति पनि नदी–नाला उपलब्ध हुने भएकोले कुनै झन्झट थिएन ।


अतः म बहुतै उत्साहित थिएँ । र मेरो अभिन्न मित्र हरेरामको उत्साहको त कुनै सीमा नै थिएन । हाम्रो नगर वीरगन्जको सिर्सिया नदीमा सरर पानीगाडी चलाएर ऊ पारिको गाउँमा सुविधासँग जाने कल्पना गरिरहेको थियो । त्यो पारि उसको ससुराली गाउँ बगही । जे होस्, मलाई प्रधानमन्त्री कमरेड ओलीको सबभन्दा मनपर्ने उक्ति थियो– ‘म हावाबाट बिजुली निकाल्नेछु ।’ यसले सारा नेपाली एकमुष्ठ ढंगले खुसी भएका थिए । म त पहिलेदेखि खुसी थिएँ । त्यसैले मेरो साविक बमोजिमको खुसी डबल भयो । हेर्नोस्, हामीकहाँ हावाको कुनै अभाव छैन । मेरो टोलमा त चौतर्फी हावा बहिरहन्छ ।


यहाँदेखि त्यहाँसम्म हावा नै हावा । कहाँ हावा छैन ? केही गरी हावा नभएको खण्डमा पनि फरक पर्दैन । किनभने सरलतापूर्वक वैकल्पिक व्यवस्था हुनसक्छ । मेरो तात्पर्य के भने हामी घरको बिजुलीपंखाबाट जति पनि हावा निकाल्न सक्छौं । खास गरेर गर्मीको बेलामा तराई–मधेसको घर–घरमा बिजुलीपंखाबाट हावा निकाल्ने गरिन्छ । हेर्नोस् त क्या मोज ! एकातिर हाम्रो प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली हावाबाट बिजुली निकाल्नमा व्यस्त भने अर्कोतिर नेपाली जनता उनीबाट प्रभावित भएर बिजुली (पंखा) बाट हावा निकाल्नमा मस्त !


यस्तो हावामय वातावरणमा हाम्रो प्रधामन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली एकाएक सिरियस भएर भन्न थालेका छन्— एमसीसी, एमसीसी, एमसीसी । (मिलेनियम च्यालेन्ज कर्पोरेसन) । र केही पछि अरु सिरियस भई अमेरिकन टोनमा आईपीएस पनि । अर्थात इन्डो प्यासिफिक स्ट्राटेजी । यसले मलाई पनि सिरियस बनाएको छ । र मलाई के लाग्न थालेको छ भने कमरेड प्रधानमन्त्री ओली वास्तवमा सिरियस छैनन् । होइन, कतै उनी आफ्नो बानी बमोजिम सारा नेपाली जनतासँग कुनै खतरनाक ‘जोक’ गर्ने सिरियस तयारी त गरिरहेका छैनन् ?

प्रकाशित : माघ १८, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?