कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

टिप्पणी : बहिष्कृत सहिदको सम्झनामा

उज्ज्वल प्रसाई

काठमाडौँ — आजको स्वतन्त्रता हिजो गरिएका श्रम र संघर्षको प्रतिफल हो । अहिले उपभोग गरिरहेको स्वतन्त्रताका लागि हिजो कस्ता बौद्धिक एवं शारीरिक श्रम र संघर्ष भए ? त्यसो गर्ने को– को थिए ?

टिप्पणी : बहिष्कृत सहिदको सम्झनामा

इतिहासका पत्र उजागर गर्ने प्रयत्नमा लागेका अन्वेषकहरुले यस्ता प्रश्नलाई गम्भीर मान्छन् । यसैसँग जोडिएर आउने अर्को सवाल हो, सामूहिक जीवनलाई सहज एवं प्रगतीन्मूख बनाउन मान्छेले कस्ता त्याग गरे ?

समाज परिवर्तनका निम्ति उठाउनुपर्ने जोखिमको अन्दाज भएरै खतरा मोल्नेहरुले जीवन अर्पण गरे । ठूलो खतराको अन्दाज नगरी संघर्षमा होमिएका सयौंले जीवन आहुति दिए । त्यस्ता सबै मानिसलाई सम्मान गर्न, उनीहरुले गरेका संघर्ष, श्रम र त्यागप्रति संवेदनशील हुन र अहिले उपभोग गरेको स्वतन्त्रता सहजै प्राप्त भएको होइन भनेर बुझ्नका लागि सहिदको अवधारणा सृजना गरिएको हो । सहिदको सम्मान गर्नु भनेको कुनै व्यक्ति विशेषको पूजा–अर्चना गर्नु होइन, बरु विगतमा भएका समग्र संघर्षप्रति संवेदनशील हुनु हो ।

सामाजिक, साँस्कृतिक र राजनीतिक आन्दोलनहरुको समष्टिले नै लोकतन्त्र सम्भव तुल्याउने हो । आवधिक निर्वाचनजस्ता प्रक्रिया सञ्चालन गर्ने, शक्ति सन्तुलनका लागि विभिन्न संस्था एवं व्यक्तिमा शक्तिको औपचारिक बाँडफाँड गर्ने जस्ता कार्यले मात्र सिंगो समाज लोकतान्त्रिक बन्न सक्दैन । मूलतः सबै नागरिकले समताको अनुभूति गरेको एवं आधारभूत आवश्यकता पूरा गरेर इज्जतिलो ढंगले जीवनयापन गरेको अवस्थालाई लोकतन्त्रको उच्चतम अभ्यास मान्न सकिन्छ । यस्तो अवस्था निर्माणका लागि मान्छेले अद्यापि संघर्ष गरिरहेका छन् । जारी संघर्षप्रति संवेदनशील बन्नका लागि पनि सहिदको स्मरण आवश्यक हुन्छ ।

स्वतन्त्रता हनन गर्ने हरेक कोशिस विगतका ती श्रम र संघर्षलाई अवमूल्यन गर्ने र अपमान गर्ने प्रयत्न हुन् । सामूहिक जीवनलाई न्यायपूर्ण बनाउन बोल्ने, लेख्ने, विचार अभिव्यक्त गर्ने, श्रम र सृजना गर्ने अधिकार सुनिश्चित गरिएको हो । लामो संघर्षपश्चात हासिल भएको लोकतान्त्रिक स्वतन्त्रतामाथि आघात पुर्‍याउने कसरत भईरहेको समयमा विगतका संघर्ष र त्यागको स्मरण गर्नु जरुरी छ । साथै, अब गर्नुपर्ने संघर्षका लागि तयार हुन पनि उत्तिकै आवश्यक ।

अहिले उठाउनै पर्ने अर्को एउटा महत्वपूर्ण सवाल छ । सहिदको स्मृतिमा गरिने अनेक अनुष्ठानले वरण गरेको मर्म र त्यहाँ व्यक्त हुने भाष्यमा संघर्ष र त्यागको समष्टि परावर्तित भएको छ वा छैन ? खास खास आन्दोलनका नामहरु, ती आन्दोलनसँग जोडिएका निश्चित अनुहारहरु एवं समाज परिवर्तनको कुनै एक वा दुई घुम्तीको मात्रै स्मरण गर्नुलाई कसरी बुझ्ने ?

वि.सं २००७ को क्रान्तिको महत्वलाई समेत नजरअन्दाज गर्ने वा त्यसको मूल्यलाई अस्वीकार गर्ने प्रयत्न थालिएका बेला उक्त क्रान्तिको स्मरण जरुरी छ । तर, त्यसअघि र त्यसपछि भएका अनेक आन्दोलन, बलिदानी र त्यागको महत्ता स्मरण नगरी आजको लोकतन्त्रलाई समग्रतामा बुझ्न सकिँदैन । साथै, सहिदको पहिचानसँग जोडिएर आउने केही परिचित अनुहारको स्मरण गर्दैगर्दा अन्य सयौं मानिसले गरेका त्यागलाई सम्झने यत्न नगर्दा हाम्रो संवेदनशीलता कमजोर हुन्छ । साथै, सहिदको स्मरण गर्ने र त्यसका नाममा अनेक अनुष्ठान आयोजना गर्ने काम निरस औपचारिकतामा सिमित हुन्छ । वर्षेनी एकपटक एकै ढप ढाँचाका मान्छेले सधौ उस्तै सुनिने भाषण टिभी र रेडीयोमा सुनाएर मनाइने सहिद दिवसको कुनै अर्थ छैन ।

सहिद दिवसको औपचारिक निरसतालाई प्रश्न गर्ने हेतु सानो जमर्को गर्नु पनि प्रशंसनीय हुन्छ । सात सालदेखिका अनेक राजनीतिक एवं सामाजिक आन्दोलनमा लागेर जीवन उत्सर्ग गरेका व्यक्तिहरुको खोजी गर्ने एउटा सामान्य प्रयत्नले पनि हाम्रो संवेदना झन्‍कृत तुल्याउन सक्दो रहेछ । विस्मृत सहिदको खोजी गर्न कोशिस गर्दा आममानिसले थाहा नपाएका वा थाहा पाएकाहरुको समेत विस्मृतिमा पुगिसकेका केही संघर्षशील योद्धाका कथा बाहिर ल्याउनु आवश्यक छ ।

जहानीयाँ राणा शासनविरुद्ध भएका संघर्षको अगुवाई गर्ने नेता एवं जीवन आहुति दिने केही खास मानिसको स्मरण सहिद दिवसमा मात्रै गरिँदैन । आजभोली इतिहासबारे लामा आलेख प्रकाशन गर्नेले ती नामहरु सधैं स्मरण गरिरहेका हुन्छन् । तर, तुलाराम तामाङजस्ता संघर्षशील योद्धाको स्मरण गर्नेहरु कति होलान् ? राणाविरुद्ध सशत्र संघर्ष गर्ने जनमुक्ति सेनाबाट पहिलो सहिद हुने तुलारामको स्मृतिलाई आफ्नो मस्तिष्कमा अझै ताजा राखेका उनका सहयोद्धा श्यामकुमार तामाङको भनाई मर्मस्पर्शी छ । विगत ७० वर्षमा कसैले नसम्झेका तुलारामबारे एक्कासी आज आएर एक पत्रकारले प्रश्न गर्दा उनले ‘सपनामै छु कि जस्तो लाग्यो’ भनेका छन् ।

थारु समुदायले पहिलो महिला सहिदको रुपमा स्मरण गर्ने कोईली थारु खलिहान आन्दोलनमा मारिएकी संघर्षशील योद्धा थिइन् । तर कोइलीबारे जानकारी राख्ने मान्छे भेट्न अब हम्मे छ । उनले भोगेको जीन्दगी र गरेका संघर्षबारे कुनै गतिलो लिखत फेला पार्न उति नै मुस्किल छ । कोइली थारुहरुको संघर्षलाई फुटनोटसम्म पनि नबनाई गरिने सहिदको स्मरण होस् वा नेपाली समाजको गौरवशाली विगतको महिमागान, त्यो अपूर्ण हुन्छ । साथै, बहादुर सदा, किसन दुसाध र कृष्णवीर कामीहरुको योगदानबारे कुनै खोजबिन नहुनुले हाम्रो असंवेदनशीलता नै दर्शाउँछ ।

कुनै एक समयका शासक र तिनको शासनलाई वैध ठहर्‍याउन खटिएका बुद्धिजीविद्वारा रचित इतिहासका कथ्य सधैं दोहोर्‍याउनुको अर्थ हुँदैन । ती कथ्यमा सत्यका जलप हुनसक्छन्, ऐतिहासिक दस्तावेजका रुपमा ती अध्ययनयोग्य पनि हुनसक्छन् । तर थप अध्ययन र खोजीको उपक्रमलाई निस्तेज तुल्याउने हदमा तीनको महिमा प्रत्युत्पादक हुन्छ । बरु शक्ति र सत्ताले विस्मृतिमा धकेलेका वा बहिष्कृत तुल्याएका पात्रहरु र तिनले गरेका संघर्षका कथा उधिन्न सके नेपाली समाजको इतिहास समृद्ध हुनसक्छ । तुलाराम, कोइली र बहादुरहरुको कथाले हाम्रै गौरवशाली चित्र उजिल्याउँछ ।

सहिदका नाममा पुराना टेप पटकपटक बजाउनु र एउटै मुर्तीलाई हरेक वर्ष चिसो पानीले धोईरहनुले समग्र विगतको स्मरण गर्ने सिँगो प्रक्रियाकै मूल्यवेत्ता कमजोर तुल्याएको छ ।

कोइली र किसनहरुको छोटो चर्चाले नै पनि सहिद दिवसको निरस औपचारिकता भङ्ग गर्ने काम गरेको छ । यस्तै स–साना तर जरुरी कामले सहिदको सच्चा सम्मान हुन्छ, आफ्नै विगतको मनासिव स्मरण पनि ।

याे पनि पढ्नुहाेस् :

गुमनाम सहिद तुलाराम अर्थात् गोले काइँला

थारु महिलाको नलेखिएको इतिहास

सहिद बहादुर सदाको बहादुरी बिर्सेको मधेस


प्रकाशित : माघ १६, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?