हिमालयमा ‘महाखेल’

रमेश के.सी.

दलाई लामा अहिले भारतको अरुणाचल प्रदेशदेखि कश्मीरसम्म मुख्य रूपमा फैलिएको हिमालय ग्रेट गेम अर्थात महाखेलका मुख्य खेलाडी हुन् । लामा सन् १९५९ मा तिब्बत छोडेपछि यस खेलको केन्द्रमा रहे । विशेष गरेर चीन, भारत र अमेरिकाबीच चलिरहेको यस खेलमा तिब्बती मूलका मानिसहरू बसोबास गर्ने भूटान, नेपाल, सिक्किम र स्वयं तिब्बत पर्छन् ।

ZenTravel

तिब्बतका राजा तथा गेलुक्पा समुदायका धार्मिक नेताका रूपमा उनी अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा भारतको असम राज्यको तेजपुरमा शरणार्थीको रूपमा आएका थिए । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई शरण दिए, जसबाट चीन रिसायो ।

यस अघि दलाई लामाले सन् १९५१ मा बेइजिङमा तिब्बतको शान्तिपूर्ण भूमिकाका लागि चिनियाँ सरकारसँग सम्झौता गरेका थिए, जसबाट तिब्बतमाथि चीनको सम्प्रभुता कायम छ भन्ने देखिन्छ । तत्कालीन भारतका लागि अमेरिकी राजदूतले सो सम्झौता दबाबमा भएको भन्ने वक्तव्य दिए मात्र दलाई लामालाई भाग्न सहयोग गर्ने बताएको कुरा भारतीय विदेश मामलाका जानकार तथा कूटनीतिज्ञ फुन्चोक स्टोबडानले बताएका छन् । उनको हालै प्रकाशित पुस्तक ‘दि ग्रेट गेम इन द बुद्धिष्ट हिमालय’ मा विशेष गरेर तिब्बत मामलामा भारत, चीन र अमेरिकाबीच रणनीतिक प्रभुत्वका लागि हुने प्रतिस्पर्धाको चित्रण गरिएको छ । दलाई लामालाई भारतले शरण दिए पनि नेहरूले एक चीनको नीति अँंगाले भने अमेरिकाले पनि औपचारिक रूपमा एक चीनकै नीति अँगालेको छ ।

आखिरमा तिब्बत प्रश्न के हो ? यो यति पेचिलो छ कि जसका बारे चीन अत्यन्त संवेदनशील छ । भारतमा दलाई लामालाई धार्मिक गतिविधिमात्र गर्न दिने सर्तमा राखिएको छ । तर दलाई लामाले निर्वासित सरकार चलाइराखेका छन् । अमेरिकाले तिब्बत मामला विशेष गरेर धार्मिक स्वतन्त्रता र मानव अधिकारको प्रश्न उठाउने गरेको छ । नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो सपथ ग्रहण समारोहमा निर्वासित सरकारका प्रधानमन्त्री लोभसाङ साङ्गेलाई बोलाए, चीनसँग सीमा विवाद रहेको अरुणाचल प्रदेशको थवाङमा दलाई लामालाई भ्रमण गराए ।

दलाई लामामात्र होइन, १७ औं कर्मापा उर्गेन थिन्ले दोर्जीले पनि थवाङ भ्रमण गरे । छैटौं दलाई लामा जन्मिएको अरुणाचल प्रदेश सम्पूर्णलाई चीनले दक्षिण तिब्बत भनी आफ्नो दाबी गर्दै आएको छ । तर भारतले ब्रिटिस इन्डियाले कोरेको सीमा म्याकमोहन लाइनलाई नै दाबी गर्दै आएको छ । यसरी हिमालयको महाखेल भारत–चीन सीमा विवादसम्म तानिन्छ । अरुणाचल प्रदेशमा भारतले केही छुट दिए अक्साई चीनको सीमा विवादमा चिनले सोच्ने कुरा प्रकाशमा आइसकेको छ । तर दुई वर्षअघि चीनको उहानमा नरेन्द्र मोदी र सी चिनफिङ बीचको वार्तापछि भारत तिब्बत कार्ड खेल्नबाट पछि हटेको छ । यस बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई आफ्नो कार्यालयमा बोलाएर सम्झाएको थिए । जसबाट दलाई लामा गम्भीर र विचलित भएको उनका भाइ नेग्री रिम्पोचेले बताएको कुरा यस पुस्तकमा उल्लेख छ ।

वास्तवमा हिमालयमा महाखेल ब्रिटिस इन्डियाले तत्कालीन रूस विरुद्ध खेलेको थियो । ब्रिटिस इन्डिया हिमालय बारेमा पनि खेल खेल्न सकिन्छ भन्ने विश्वास गर्थ्यो । जसका लागि सन् १९०१ मा उसले ब्रिटिस अधिकारी योङ हसब्यान्डको नेतृत्वमा तिब्बत मिसन पठाएको थियो, जहाँ युद्ध भयो । यही ब्रिटिस इन्डियाको खेललाई सन् १९४७ पछि भारतले उत्तराधिकारीका रूपमा लिएको हो । जुन अहिले वर्तमान दलाई लामाको निधनपछि हुने १५ औं दलाई लामाको चयनमा केन्द्रित देखिन्छ । वर्तमान दलाई लामाले आफ्नो पुनर्जन्म वर्तमान चीनको भूभागभन्दा बाहिर हुने बताएका छन् । यसर्थ हिमालय क्षेत्रमा उनको पुनर्जन्म हुनसक्छ । अमेरिका तिब्बत प्रश्नलाई जीवितै राख्न चाहन्छ ।

हुन त डोनाल्ड ट्रम्प राष्ट्रपति बनेदेखि दलाई लामाले भेट्ने कार्यक्रम रोकिएको छ । उनी अमेरिकी विदेश नीतिको प्रजातन्त्र र मानव अधिकारको प्रश्नबारे रुचि त्यति नराख्ने भएकोले तिब्बत मामलामा अमेरिकी प्रशासनले केही गर्नसकेको छैन । तिब्बतको स्वतन्त्रताको प्रश्नलाई लिएर ७० को दशकमा अमेरिकाले तिब्बती गुरिल्लाहरूलाई प्रशिक्षण र हातहतियार उपलब्ध गराएको थियो । नेपालको मुस्ताङ पनि यो गुरिल्ला द्वन्द्वको चपेटामा पर्‍यो । तर १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँग सम्बन्ध सुधारेपछि यो क्रम रोकियो । तर अमेरिका अझ पनि तिब्बत र ताइवान जस्ता समस्याहरूबाट चीनलाई सताउन सकिन्छ भन्ने विश्वासमा छ । तिब्बत प्रश्न हिमालयमा कसको रणनीतिक प्रभुत्व हुने हो भन्ने विषय हो ।

चीन दलाई लामाको निधनपछि आफ्नो दलाई लामाको आविष्कार गर्न चाहन्छ । दलाई लामाले तिब्बतको स्वतन्त्रताभन्दा स्वायत्तताको कुरा उठाइरहेका छन् । तर चीन भने दलाई लामासँग वार्ताभन्दा उनको मृत्युलाई कुरेर बसिरहेको छ । यदि वर्तमान दलाई लामाको निधनपश्चात तिब्बत प्रश्नमा अरु दलाई लामाहरू प्रभावकारी हुन सक्दैनन् । वर्तमान दलाई लामा इतिहासका साक्षी हुन् । बाहिरी संसारमा आएर नोबेल शान्ति पुरस्कारसम्म पाए ।

एक अमेरिकी लेखकका अनुसार वर्तमान दलाई लामाले संसारलाई जिते, तर चीनसँग हारिरहेका छन् । हिमालयमा दलाई लामा गेलुक्पा सम्प्रदायका नेता हुन् । तर यहाँ प्रभावशाली ङिङमापा, कर्ग्युपा र साक्यपा सम्प्रदायहरू पनि छन् । यही क्रममा १६ औं कर्मपाको दुइटा पुनर्जन्म भएपछि १७ औं दुई कर्मापा थाए दोर्जी र उर्गेन दोर्जीको धार्मिक राजनीति पनि हिमालय महाखेलसँग जोडिन्छ । दुवै कर्मापाले फ्रान्समा भेटी आ–आफ्नो प्रतिस्पर्धाभन्दा पनि सम्प्रदायको बारेमा सोच्नुपर्ने बताउँदै आएका छन् । तिब्बतबाट भागेर आएका उर्गेनलाई चिनियाँ सरकार र दलाई लामाको समर्थन छ । दलाई लामाले निधनपछि कर्मापाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन् ।

हिमालय क्षेत्रमा तिब्बती बौद्धहरूका अन्तरसामुदायिक द्वन्द्व पनि छ । भूटान कर्ग्युपा साम्प्रदायलाई मान्ने राज्य हो । लेखकले हिमालयको महाखेलमा सन् १९९० मा भूटानबाट खेदिएका १ लाख नेपाली मूलका मानिसका बारेमा केही उल्लेख गरेका छैनन् । जुन हिमालय भित्रकै राजनीति थियो । दलाई लामालाई चिनियाँ सम्राटहरूको स्वीकृति र संरक्षणमा तिब्बतमा शासनको प्राधिकार दिएको कुरा उल्लेख गर्दै लेखकले तिब्बत प्रश्नमा दलाई लामा संस्थामात्र पूर्ण नहुने बताउँछन् । भारतको समकालीन तिब्बत नीति अमेरिकाहरूले ‘हाइज्याक’ गरेको बताउँछन् ।

वर्तमानमा तिब्बत प्रश्नमा अमेरिकी संलग्नता बढ्दै गएको तर भारतसँग ब्रिटिस इन्डिया जत्तिको हिमालय रणनीति नभएको टिप्पणी गर्छन् । सन् ९० मा सोभियत संघको विघटनबाट त्यस्तै परिवर्तन चीनमा आउने आशा राखेका थिए, दलाई लामाले । जुन तिब्बत मामिलामा आफ्नो अनुकूल हुनसक्ने अनुमान थियो । अमेरिकी प्रशासनले मानव अधिकार र प्रजातन्त्रमा जोड दिएकोले पनि उनी उत्साहित थिए । तर त्यस्तो भएन । तिब्बत प्र्रश्न ऐतिहासिक सम्बन्ध, दलाई लामा संस्थाको चीनसँगको अन्योन्याश्रित सम्बन्ध र भूरणनीतिक हिसाबले मंगोलियाको बौद्ध धर्मसँग दलाई लामाको सम्बन्धसँग पनि जोडिएको छ । यसर्थ आज हिमालयमा व्यापक परिवर्तन आएको छ । यो विशेष गरेर चीन र भारत बीचको सीमा विवाद, व्यापार सम्बन्ध र सुरक्षाको प्रश्नसँग जोडिएको छ । ७० वर्षअघि हिमालयमा चार राजतन्त्रहरू थिए ।

तिब्बत, नेपाल, सिक्किम र भूटान, सबैमा धर्मलाई पहिचान बनाउने राजाहरू थिए । तिब्बत १९५९ मा चीनमा समाहित भयो । सिक्किम जनमत संग्रहमार्फत सन् १९७५ मा भारतमा गाभियो । नेपाल हिन्दु राजाको शासन अन्त्य गरेर गणतन्त्रमा प्रवेश गर्‍यो । आज भूटानमात्र हिमाली तिब्बती बौद्ध धर्ममा आधारित राजतन्त्र छ । यी मध्ये एक दलाई लामाको शासन तिब्बतमा फर्कन कुनै सम्भावना अहिले देखा पर्दैन । शक्तिशाली हुँदै गएको चीन यो प्रश्नलाई आफ्नै ढङ्गले व्यवहार गर्न चाहन्छ ।

आज चीन र भारत मिलेर बौद्ध धर्मको संरक्षण विस्तारको योजना ल्याइरहँदा पनि हिमालयमा महाखेल अझै सकिएको छैन । ब्रिटिस इन्डिया सम्पूर्ण हिमालयलाई बफर भूमि सम्झन्थ्यो । तर सन् १९६२ को भारत–चीन युद्धपछि हिमालय क्षेत्र तनावग्रस्त बन्यो । अहिले भारत र चीन सम्बन्ध सुधारको क्रममा रहे पनि हिमालय क्षेत्र दुवै राष्ट्रको राष्ट्रिय सुरक्षा र भू–राजनीतिमा प्रमुख रूपले खेल मैदान भने बनेकै छ ।

प्रकाशित : माघ ११, २०७६ ०८:२१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना भाइरस संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाइँदै

एजेन्सी

बेइजिङ — चीनले नयाँ कोरोना भाइरस प्रभावितको उपचारका लागि तीव्र गतिमा छुट्टै अस्पताल बनाइरहेको छ । भाइरस उत्पत्ति भएको वुहानमा एक हजार शय्याको अस्पताल भवन निर्माण भइरहेको हो । आउँदो सोमबारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अत्याधुनिक मेसिनहरूको प्रयोग गरिएको चिनियाँ पक्षले जनाएको छ ।

अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित ‘होलिडे कम्प्लेक्स’ मा निर्माण भइरहेको स्थानीय ‘चाङझियाङ दैनिक पत्रिका’ ले शुक्रबार लेखेको छ । अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवनहुने उसले जनाएको छ । २५ हजार वर्गमिटरमा भवन निर्माण हुनेछ ।

३५ डिगर र १० बुलडोजरसहित भवन निर्माण गर्ने अन्य सयौं मेसिन बिहीबार राति नै अस्पताल निर्माणस्थलमा पुगेको सो पत्रिकाले लेखेको छ । ‘विद्यमान मेडिकल स्रोतको अभावबाट आउन सक्ने समस्या समाधानका लागि यो अस्पताल निर्माण गर्न लागिएको हो,’ चाङझियाङले लेखेको छ, ‘प्रिफ्याबरिकेटेड भवन हुने हुँदा यो चाँडो निर्माण मात्रै हुँदैन खर्च पनि कम लाग्छ ।’

निर्माणस्थलमा आफ्ना सयभन्दा बढी कामदार खटिरहेको अस्पताल निर्माण गरिरहेकामध्येको एक कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले शुक्रबार बताएको छ । आफूले सक्दो गरिरहेको र सरकारले तोकेको मितिभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उसले जनाएको छ।

भवन निर्माणका लागि आधार बनाउन हिलाम्मे माटोमा विभिन्न रंग लगाएका दर्जनौं डिगर र निर्माण सामग्री व्यवस्थापनमा कैयौं ट्रकले हतारमा काम गरिरहेको दृश्य राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको छ ।

चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए । नयाँ अस्पतालले सार्स प्रकोपसँग लड्दाको अनुभवलाई प्रयोग गर्ने उद्देश्य लिएको छ । त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।

शनिबार बिहानसम्म नयाँ भाइरसका कारण ४१ जनाको मृत्यु भएको र एक हजार २ सयबढी संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । अधिकांश संक्रमित चीनको हुबेई प्रान्तस्थित वुहान सहरकै भएको सरकारी अधिकारीहरूले बताएका छन् । यसैबीच, पहिलोपटक हुबेई प्रान्तबाहिर पनि दुईजनाको मृत्यु भएको जनाइएको छ ।

नयाँ भाइरसबाट बच्न चीनले यसअघि मानिसको आवतजावात बढी हुने केही सहरमा यातायात, सपिङ मल, मनोरञ्जन स्थललगायत ठाउँलाई बन्द गर्न आदेश दिएको थियो । बन्दको दोस्रो दिन शुक्रबार वुहानका अधिकांश सार्वजनिकस्थलमा मानिसको उपस्थिति अत्यन्तै न्यून रहेको छ । सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । घरमै बस्नुपर्दा अत्यावश्यक सामग्री चाहिने भन्दै ती सहरका मानिसले धेरै उपभोग्य सामान किनेपछि पसल र मलका र्‍याकहरू खाली भएको तस्बिर पनि सार्वजनिक भएका छन् । विमानस्थल, रेल स्टेसन र सबवे सबै बन्द गरिएका छन् भने प्रहरीले सहर भित्रने सवारीसाधानलाई जाँच गरिरहेका छन् । यद्यपि सडक सञ्जाल भने पूर्ण रूपमा बन्द गरिएका छैनन् । विद्यालयमा पनि विद्यार्थीको भेला नगर्न र बिदा दिन भनिएको छ ।

यसैबीच, भाइरसको उद्गमस्थल वुहानका अस्पतालमा बिरामीको घुइँचो लागेका कारण त्यहाँ औषधिको अभाव भएको छ । क्षमताभन्दा धेरै बिरामी रहेको भन्दै अस्पतालले फर्काएको केहीले सामाजिक सञ्जालमा लेखेका छन् । चीन सरकारले कति दिनसम्म सहर बन्द हुनेछ भन्नेबारे भने केही बताएको छैन । उता, एक महिनाकै अवधिमा विश्वका लगभगदर्जन देशमा संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले पनि आपत्काल घोषणा गरेको छ । यद्यपि यसलाई अन्तर्राष्ट्रिय तहको महामारी नै भने उसले भनिहालेको छैन ।

प्रकाशित : माघ ११, २०७६ ०८:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×