२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

समावेशी समाज बनाउने काम अझै अपुरो छ

काठमाडौँ — मानवशास्त्री विहारीकृष्ण श्रेष्ठले डोरबहादुर विष्टको ९३ औं जन्मजयन्ती र ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’ पुस्तकको नेपाली अनुवाद सार्वजनिक कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश :

समावेशी समाज बनाउने काम अझै अपुरो छ

२०२७ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको टोली जुम्ला गएको थियो । सत्यमोहन जाशीले यस टोलीको नेतृत्व गर्नुभएको थियो । टोलीमा स्थिर जंगबहादुर सिंह, चूडामणि बन्धु, प्रदीप रिमाल र म थियौं ।


सत्यमोहन जोशीको टोलीमा भाषाशास्त्री, भूगोलशास्त्री र संस्कृतिविद् त हुनुहुन्थ्यो । मानवशानस्त्री थिएनन् । मानवशास्त्री खोज्दै उहाँ डोरबहादुर विष्ट कहाँ पुग्नुभएछ । डोरबहादुरले सत्यमोहन जोशीलाई गृह मन्त्रालय पठाइदिनुभयो । म त्यसबेला गृह मन्त्रालयमा काम गर्थें । भर्खरै अमेरिकाबाट एन्थ्रोपोलजी पढेर आएको थिएँ। मलाई लेखपढमा रुचि थियो । जोशीको पछि लागेर म पनि जुम्ला पुगेँ ।


सामान्यतय मानवशास्त्रीको धर्म भनेको ३६५ दिन नै फिल्डमा बसेर एकवर्षको लाइफ साइकल पूरा हुनुपर्ने हो । तर, जुम्लाको बसाइँ २–३ महिनाको मात्र थियो । अमेरिका पढ्दाको सौद्धान्तिक ज्ञान र त्यसभन्दा अगाडिको मेरो फिल्ड अनुभव यसबेला काम लाग्यो । मैले आफ्नो अनुभव र अध्ययनका आधारमा २–३ महिनाको समयमा राम्रो रिपोर्ट तयार पारें । अहिले फर्केर हेर्दा त्यसबेलाको कामले सन्तोषजनक नै लाग्छ ।


जुम्लाको दियार गाउँका ठकुरीहरुको अध्ययन गरेर हामीले कणार्लीको इतिहास, भूगोल, जनजीवन, साहित्य, संगीत–कला विषयमा छुट्टाछुट्टै पाँच पुस्तक तयार पार्‍यौं।


अमेरिकाको पढाइदेखि मानवशास्त्रीका रुपमा काम गर्दासम्म डोरबहादुर विष्टको सहयोग मलाई रह्यो ।


म पछि नियमित सरकारी जागिरबाट राजीनामा दिएर विश्वविद्यालय पुगें । त्यतिबेला विश्वविद्यालयको अध्ययन केन्द्र ‘सिनास’का हाकिम डोरबहादुर विष्ट नै हनुहुन्थ्यो । उहाँले मलाई तुरुन्तै रिडरको कन्ट्रयाक्ट दिनुभयो ।

सन् १९९१ ठिक ३० वर्ष अघि उहाँको पुस्तक ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’ निस्केको थियो । उक्त किताब त्यसबेला निकै चर्चित भयो । नेपाली पाठकभन्दा बढी विदेशी पाठकमा पपुलर भयो । यसो हुनुको कारण छ । त्यसबेला उक्त पुस्तक पढ्दा मलाई के लेख्या होला भनेर रिस उठेको थियो ।


अब विदेशीमाझ पपुलर हुनाको कारण खोतल्छु ।


सन् १९९१ सम्म आइपुग्दा विदेशी डोनरका बथान थिए नेपालमा । डोनरले आ–आफ्नो खुसीले आ–आफ्नो काम गर्थे अर्थात काम गरेर पैसा खर्च गर्थे । काम होस्, न होस्, तर रिपोर्टमा राम्रो काम गरेको देखाउँथे ।


विदेशी सहायता नेपालमा प्रभावकारी भएन भनेर सन् १९८३ तिर देवेन्द्रराज पाण्डेले ‘फरेन एड एन्ड डिभलप्मेन्ट’ विषयमा सेमिनार आयोजना गरेका थिए । मैले यही सेमिनारमा कुनैपनि शब्द नलुकाइकन डोनरहरुको तात्विक आलोचना गर्दै शोधपत्र प्रस्तुत गरेको थिएँ ।

डोनरको चौतर्फी आलोचना भइरहेको समयमा डोरबहादुरको किताब निस्कियो । ‘फ्याटलिज्म एन्ड डेभलपमेन्ट : नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’ ।

यसमा के लेखिएको छ भने, नेपालमा विदशी सहायता प्रभावकारी नहुनुको कारण, नेपाली समाज विद्यमान भाग्यवादी चरित्र हो । भाग्यवादमा पैसाले केही फरक पर्दैन भन्ने उनको तर्क थियो । यसो भनेपछि विदेशी डोनरहरुको जागिर जोगियो । र, विदेशीमाझ पुस्तक चर्चित भयो ।


मैले जागिरमा छँदा एकखालको समाज देखेँ । जागिरबाट बाहिर निस्केपछि अर्को । जागिरबाट बाहिर आएपछि मैले धुमधामले कन्सलटेन्सी पाएँ ।

विडम्बना के भयो भने जब म जागिरमा थिएँ त्यसबेला गरेको अध्ययन सरकारको नीति बन्थ्यो । सन्तोष धुमधाम थियो तर पैसा थिएन । जागिर खोसिएर कन्सल्ट्यान्सीमा गइसकेपछि एकैचोटि चाङकाचाङ पैसा हुनथाल्यो । तर, चाङकाचाङ रिपोर्ट त्यसै कुहिए । सन्तोष तल झर्‍यो।


डोरबहादुरले पुस्तकमा उठाएको आफ्नो मान्छे, भाग्यवाद, बाहुनवादको मुद्दा आज पनि सान्दर्भीक छ । तर, पुस्तक पढ्दा उनको सबै तर्कसँग सहमत हुनुपर्छ भन्ने पनि छैन । उनको तर्कसँगसँगै मेरो अर्को पनि अनुभव छ जुन आज प्रस्तुत गर्दैछु ।

जब म जुम्ला गएर अध्ययन गरें । मैले अर्को पक्षपनि सँगै देखेँ । २०२७ सालतिर सत्यमोहन जोशीसँग जुम्लाको अध्ययन गरिसकेको थिएँ । त्यसको ठीक बीस वर्षपछि म फेरि त्यही गाउँमा अध्ययन गर्न गएँ । बीस वर्षपछि जुम्लाको दियार गाउँ पुग्दा पहिलेका धनी ठुकरीहरु झन्झन् धनी भइरहेको र पहिलेको गरिब परिवार झन् गरिब भइरहेको देखेँ ।


दियार गाउँका बासिन्दाले धान खेतमा कुलो लगाएको तरिकाको अध्ययन मैले गरें । पानीको बाँडफाँड र व्यवस्थापन निकै मजबुत पाएँ ।

पानीको व्यवस्थापन यसरी गरिएको थियो कि यहाँका ठालुहरुको केही नलाग्ने । राति कसैले आफ्नो पालोभन्दा अगडि पानी लगाए त्यो सहजै देखिन्थ्यो । यदि ठालुले पनि पालोभन्दा अगाडि पानी लगाए त्यो चोरी गरेको ठहर्थ्यो । पानी लगाइसकेपछिको आलो खेत गाउँका सबैले देखिहाल्थे ।

यसरी कुलो व्यवस्थापनमा प्रयोग भएको गाउँलेहरुको समूहलाई ‘पिपुल्स कोर्ट’ भन्न मिल्छ । सबै ठूला सानो जातका खेतका मालिकहरु मिलेर कुलोको व्यवस्थापन गरिरहेका थिए । यसले के देखायो भने जुम्लाको समाजमा एकातिर शोषण छ अर्कोतिर समावेशी समाज । यही व्यवस्था र समावेशी चरित्रलाई मैले टिपेर उपोभक्ता समूहहरुको नीतिगत आधार बनाएँ । मेरो यही अध्ययन नै पञ्चायत सरकारको नीति बनेको हो ।

यही नीति अन्तर्गत वन उपभोक्ता समूह र आमा समूह देशै भरी बनाइयो ।

डोरबहादुरले भनेको जस्तो तहगत जातीय विभेद एकातिर छ । अर्कोतर्फ समावेशी चरित्रको व्यवस्थापन पनि समाज भित्रै भइरहेको छ । उनको अंग्रेजी संस्करण तीसवर्षपछि नेपालीमा आयो । सन् १९९१ मा हाम्रो मुलुक जुन अवस्थामा थियो । त्यही अवस्थामा अहिले छ जस्तो लाग्छ मलाई ।


उदाहरणमा यो कुरा हेरौं । तंथ्याङ विभागले पछिल्लोपटक सन् २०११ मा ‘लिभिङ स्ट्याण्डर्ड सर्भे’ गरेको थियो । उक्त सर्भेको तथ्यांकले नेवार १०, बाहुन १०, जनजाति २८ र दलित ४२ प्रतिशत गरिबीको रेखामुनी देखाउँछ ।


मैले गरेको कुलोको अध्ययनका आधारमा विकेन्द्रिकरणको नीति बन्यो । यसैको आधारमा वन उपभोक्ता र आमा समूहहरु बने । सन् १९८८ सम्म पहाडमा उजाड भएका वनहरुको अवस्था त्यसपछि गठन भएका वन उपभोक्ता समूहहरुले बदलिदिए । गाउँको वन गाउँलेको हातमा पुगेपछि संरक्षण हुन थाल्यो ।


यसै उदाहरणलाई देखाएर मैले के भन्न थालेको छु भने वन बिगार्नलाई तीस वर्ष लगाइयो । तर, त्यसलाई फेरि हुर्काउन १० वर्षमात्र लाग्यो । सन् २००० को आसपासमा हाम्रो वन फर्किसकेको थियो । अहिलेपनि हामी वन व्यवस्थापनको मामिलामा संसारमै अगाडि छौं ।


त्यसपछि लगत्तै नेपालमा ५२ हजार आमा समूह बने । यस समूहले स्वास्थ स्वयंसेविकाको अवधारणामार्फत प्रत्यक घरको दैलोमा स्वास्थ्य सेवा पुर्‍याउन मदत गर्‍यो। फलस्वरुप सन् २०१५ सम्म आइपुग्दा मातृ मृत्यु दर र बाल मृत्यु दर निकै घट्यो ।


यी दुई क्षेत्रमा राम्रो काम भयो । श्री ५ को सरकार र पञ्चायत व्यवस्थाको पालामा भएको नीतिले नै अहिलेपनि रिजल्ट दिइरहेको छ । हामीसँग उपभोक्ता र आमासमूहबाट पाएको अनुकुल अनुभव पनि छ । अर्थात विकासको संरचना समावेशी तरिकाले प्रयोग भए स्थितिमा सुधार ल्याउन सकिँदोरहेछ भन्ने पाठ यसले दिन्छ ।


हामीले ३० वर्षदेखि लोकतान्त्रिक व्यवस्था भन्यौं । तर, लोकतन्त्र अनुरुप समाज चलिरहेको छैन । तहगत समाजिक विभेद र समावेशी समाजको परिकल्पनाका धेरै काम अझै अपुरो नै छ ।


डोरबहादुरको किताब अनुवाद गरेर बजारमा अहिले आयो । स्थिति जस्ताको त्यस्तै छ ।



प्रकाशित : माघ ६, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?