कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विज्ञानको सहज सिकाइ

मधु राई

‘रातो बत्ती भन्छ– रोक्, रोक्, रोक्

पहेंलो बत्ती भन्छ– पर्ख, पर्ख, पर्ख

हरियो बत्ती भन्छ– जाऊ, तिमी जाऊ ।’


युकेजीका विद्यार्थीलाई सडक बत्तीबारे पढाउँदा म पहिले नेपालीमा अभिनय गर्दै उक्त गीत गाउन सिकाउँछु । यसरी गीत गाउन सिकेपछि बल्ल अंग्रेजी शब्द राखी उही लयमा गीत गाउन सिकाउँछु । यस्तो अभ्यासले उनीहरूले सहजै शब्द उच्चारण गर्न सिक्छन् भने विषय–वस्तु बुझाउन पनि सहज हुन्छ । यसरी सिकाउँदा विद्यार्थी थप सिक्न उत्साहित हुन्छन्, शिक्षण सिकाइ प्रभावकारी र जीवन्त हुन्छ ।


पूर्व प्राविका विद्यार्थीलाई यसै पनि अंग्रेजी भाषाका नयाँ–नयाँ शब्द सिकाउन र त्यसको अर्थ बुझाउन गाह्रो हुन्छ । विज्ञान शिक्षकले विद्यार्थीको उमेर र रुचिलाई ध्यानमा राखी यस्तो शिक्षणविधि अपनाउने हो भने विज्ञानप्रति उनीहरूको सिक्ने अभिरुचि बढ्दै जान्छ । माथिल्ला कक्षामा पनि शिक्षकहरूले माथिको विधि अपनाई शिक्षण सिकाइ गर्ने हो भने विद्यार्थीमा घोकेर होइन, बुझेर पढ्ने बानीको विकास गराउन सकिन्छ ।


विज्ञान सिकाइलाई प्रभावकारी, रमाइलो र जीवन्त बनाउने अभिभारा शिक्षककै हो । तर अपसोच, बहुसंख्यक शिक्षकलाई शिक्षण सिकाइ प्रभावकारी र जीवन्त बनाउनेभन्दा पनि ‘कोर्स’ सक्नै हतारो हुन्छ, उनीहरू व्यावहारिक कक्षाबारे कल्पनै गर्दैनन् । विज्ञान विषयको सैद्धान्तिक ज्ञान, व्यावहारिक ज्ञानबिना अपुरो र अधुरो नै हुन्छ ।


विज्ञानका अधिकांश शिक्षकले आफ्ना शिक्षकबाट जसरी हतारोमा सिके, त्यसरी नै विद्यार्थीलाई हतारोमै ‘कोर्स’ पूरा गराउन सैद्धान्तिक शिक्षामात्रै बाँडिरहेका छन् । यस्ता शिक्षकले विद्यार्थीमा आफूले पाएको सूचना र जानकारीमात्र हस्तानान्तरण गरिरहेको अनुसन्धानले देखाएको छ । हिजो आफू विद्यार्थी छँदा किन र केका लागि विज्ञान पढेँ भन्ने आधारभूत कुरा थाहा नपाएका यस्ता शिक्षकले आज आफ्ना विद्यार्थीले किन विज्ञान पढ्ने भन्नेबारे बुझाउन सकेको देखिँंदैन । यसैकारण विज्ञान विषय बहुुसंख्यक विद्यार्थीका लागि हाउगुजी बनेको छ ।


विज्ञान विषयलाई हाउगुजी बनाउने पहिलो काम शिक्षकले गर्दै आएका छन् । आफूले पाएको ज्ञानलाई जीवन र जगतसँग जोड्न बिर्सेका कतिपय शिक्षकले आफ्नो विषयभन्दा फरक र भिन्न विषय र कार्यक्रमहरूमा बढी ऊर्जा र समय खर्चने गरेको देखिन्छ । यसमा विज्ञान मात्र होइन, फरक विषय लिएर उच्चशिक्षा हासिल गरेका प्रधानाध्यापक र प्राचार्य लगायत व्यवस्थापन पक्ष पनि दोषी छन् । विज्ञान विषय पढाउने शिक्षकलाई जीवन्त र प्रभावकारी शिक्षण सिकाइका लागि विद्यालय व्यवस्थापनले सोही अनुरुपको शैक्षिक सामग्री जुटाइदिनुपर्ने हुन्छ, विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान दिनका लागि । जस्तो—वनस्पतिबारे पढाउँदा विद्याथीलाई बोटबिरुवा देखाउँदै, छुवाउँदै पढाउनुपर्ने हुन्छ ।


वनस्पति विज्ञान पूर्वप्रावि तथा प्रावि तहमा पढ्ने विद्यार्थीका लागि बोटबिरुवा सबैभन्दा उत्कृष्ट र जीवन्त शैक्षिक सामग्री हुन् । यसो गर्नाले बोटबिरुवाको जीवनचक्रबारे बुझ्न र बुझाउन उनीहरूलाई थप मद्दत पुग्छ । विद्यालय परिसरमा भएको बगैंचा वा करेसाबारी अवलोकन गर्दै विउबाट कसरी बिरुवा निस्कन्छ भन्ने थाहा पाउँदा विद्यार्थी पक्कै उत्साहित हुन्छन् । उनीहरू स्वयम्लाई विउ रोप्न लगाई बिरुवा स्याहार्ने परियोजना काम दिने हो भने उनीहरूमा बोटबिरुवाप्रतिको कौतुहल बढ्दै जान्छ । आफैले विउ रोपी उम्रेका बिरुवा ठूलो भएर त्यसमा तरकारी र फलफूलको चिचिला लागेको देख्दाको क्षण विद्यार्थीका लागि पक्कै पनि अविस्मरणीय र रमाइलो हुन्छ ।


विज्ञानलाई विकसित मुलुकहरूले विकास र समृद्धिको मुख्य आधार बनाउँदै आएको वर्षौं बितिसक्दा पनि हामीकहाँ सैद्धान्तिक शिक्षाको निष्क्रिय शिक्षण सिकाइले न त शिक्षकलाई अध्ययन–अनुसन्धान गर्न प्रेरित गर्‍यो, न विद्यार्थीमा विज्ञान विषयले कौतुहलता नै जगाउन सक्यो । आफ्ना विद्यार्थीलाई वैज्ञानिक बन्नुपर्छ भनेर अभिप्रेरणा दिने पहिलो गुरु भनेकै शिक्षक हो । यस्ता गुरुकै अभावमा अहिले वैज्ञानिक बन्न सक्ने हाम्रा कतिपय शिक्षित युवा कोही पलायन भएका छन् भने कोही जागिरे जीवन बिताउन बाध्य छन् ।


विज्ञानलाई प्राविधिक विषय मान्नुको सट्टा मानव उद्यम र मानवीय भावनाहरूको उत्कृष्ट अभिव्यक्ति मान्नुपर्छ भन्ने भारतका आधुनिक विज्ञानका प्रोफेसर भीभी रमणको भनाइ छ । त्यसैले विज्ञानका शिक्षकहरूले पनि यस्तो दृष्टिकोण अपनाई आधुनिक विज्ञानलाई कसरी जीवन र जगतसँग जोड्न सकिन्छ भनी चिन्तन गर्नुपर्छ ।

प्रकाशित : माघ ४, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?