पुस्तकमा नलेखिएको चरा पर्यटन- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तकमा नलेखिएको चरा पर्यटन

कमल मादेन

प्रत्येक हिउँदमा २ दर्जनभन्दा बढी पानीहाँस आगन्तुक पन्क्षीका प्रजाति नेपाल आउँछन् । प्रत्येक वर्ष गरिने आगन्तुक पन्क्षी गणना अनुसार तिनीहरू कोशीटप्पु, मोरङको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, कैलालीको घोडाघोडी ताल, काठमाडौंको टौदह लगायत सिमसार क्षेत्रमा विचरण गर्छन् । जाडो याममा हाम्रा सिमसार क्षेत्रमा मात्रै विचरण गर्न आउने सबैजसो आगन्तुक पन्क्षीहरू साइबेरियाका हुन् ।

युरोपको उत्तर र उत्तरपूर्व लगायत एसियाको उत्तरी भूभाग साइबेरिया हो । साइबेरियाको फैलावट युरोप र अष्ट्रेलिया महादेशको क्षेत्रफलभन्दा बढी छ ।


हिउँदमा साइबेरियाका धेरैजसो ताल, पोखरी, खोला जमेर बरफ बन्छ । त्यहाँको कतिपय ठाउँको तापमान माइनस ४५ डिग्री सेन्टिग्रेटसम्म पुग्ने भएकाले त्यस क्षेत्रका विशेषत: जलचर पन्क्षी बासस्थान र आहाराका निम्ति आवधिक रूपमा दक्षिणी गोलार्धतिर बसाइँ सर्छन् । पूर्वी साइबेरिया क्षेत्रका जलचर पन्क्षी भने दक्षिणपूर्व तथा दक्षिण एसिया लगायत अष्ट्रेलिया, न्युजिल्यान्डसम्म पुग्छन् । तिनीहरूमध्ये केही हाम्रा पहाड र तराईका सिमसार क्षेत्रमा आवधिक रूपमा विचरण गर्छन् । माथि उल्लिखित तालहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि आगन्तुक पन्क्षीहरू अवलोकन गर्ने गन्तव्य हुन् । यो लेखमा साइबेरियाबाट आउने एक आगन्तुक चरा प्रजाति र पर्यटन प्रबर्द्धनबारे चर्चा गरिनेछ ।


मालार्ड डक

साइबेरियाबाट नेपाल आउने आगन्तुक पन्क्षीमध्ये मालार्ड डक एक हो । जीवविज्ञानमा यसको नामकरण एनस प्लेटिरिन्कोस भनी गरिएको छ । यो प्रजातिको पानीहाँस विशेषत: तलाउ प्रकृतिको सिमसार क्षेत्रमा विचरण गर्छ । यसले साना माछा, भ्यागुता, किरादेखि हरिया वनस्पतिसमेत खाने गर्छ । हुन त यो प्रजातिको पन्क्षी अमेरिकी महादेशमा पनि पाइन्छ । नेपालमा आउने मालार्ड भने साइबेरियाका हुन् ।


५०–६० सेन्टिमिटरसम्म लामो भाले मालार्डको टाउको बर्खामा बाहेक अन्य मौसममा हरियो हुन्छ । यसैले यसलाई हरियो टाउके हाँस पनि भनिन्छ । यसको घाँटीमा वरिपरि सेतो कण्ठ, छाती कटुस रंगको र पुच्छरको प्वाँख टाउकोतर्फ फर्किएको घुङरिङजस्तो देखिन्छ । पोथी फिक्का खैरो र मोटो गाढा बुट्टा भएको हुन्छ ।


भाले मालार्डले पोथीलाई संसर्ग कालभन्दा केही महिनाअघि नै छनोटगरी सँगै विचरण गर्छ । सामान्यत: एउटा पोथीले एउटै भालेसँग संसर्ग गर्छे । पोथीको तुलनामा भालेको संख्या कम हुने भएकाले एक भालेले एकभन्दा बढी पोथीसँग संसर्ग गर्छ । यसले अन्य प्रजाति पोथी हाँसलाई पनि संसर्ग गर्न रुचाउँछ ।


यसको उडान क्षमता सबैभन्दा बढी प्रतिघन्टा ८८ किलोमिटरसम्म मापन गरिएको छ । नेपालबाट साइबेरियाको दक्षिण र उत्तरी सिमाना क्रमश: २५ र ४५ सय किलोमिटर हवाई दूरी टाढा छ । यस आधारमा मालार्ड डक साइबेरियाबाट नेपाल केही दिनमै आइपुग्न सक्छ । तर ठ्याक्कै कति दिनमा आइपुग्छ भन्ने अध्ययन भने भएको छैन ।


हाँस

घरपालुवा हाँसमध्ये सर्वत्र पालिने हाँस पनि मालार्डजस्तै देखिन्छ । घरपालुवा प्रजाति हाँसको पूर्वज मालार्ड नै हो भन्ने पुष्टि भइसकेको छ । चीनमा करिब ४ हजार वर्ष पहिलेबाट मालार्ड डक पाल्न सुरु गरिएको पाइन्छ । घरमा पालिएको हाँसले जंगली अवस्थामा भन्दा भिन्न वातावरण पायो । लामो दूरी उडान भर्न परेन । हिँडडुल गर्ने मात्रै अवस्था रह्यो । फलस्वरुप, जंगली हाँसभन्दा घरपालुवा हाँसको पखेटाको हाडको तौल तुलनात्मक रूपमा कम र खुट्टाका हाडको तौल बढी हुनथाल्यो । खानेकुरा जंगली अवस्थामा भन्दा बढी पाएकाले ओजन वृद्धि पनि हुने नै भयो । बचेरा कोरल्न खास स्थानमा पुग्नैपर्ने र बचेरालाई आहारा जुटाउन खास मौसम पर्खनैपर्ने भएन । बासस्थान लगायत आहारा नियमित र अन्य जनावरको सिकार हुने डर कम हुँदा यसको प्रजनन क्षमता वृद्धि भयो ।


जंगली हाँसले वर्षमा एकपटक फुल पार्छ भने घरपालुवाले निरन्तरजसो फुल पार्ने गर्छ । वैज्ञानिकहरूले मालार्डजस्तै देखिने घरपालुवा हाँसलाई मालार्डकै एक उपप्रजाति एनस प्लेटिरिन्कोस डोमेस्टिक्स मानेका छन् । यसर्थ घरपालुवा हाँसको पूर्वज मालार्ड डक हो भन्ने पुष्टि हुन्छ । चार्ल्स डार्विनले जातिहरूको उत्पत्ति (सन् १८५९) पुस्तकमा जंगली अवस्थामा रहेको जीवभन्दा तिनका घरपालुवा वंशजको रूप रंगमा बढी विविधता हुन्छ र यसो हुनुको कारण घरपालुवाको बासस्थान पूर्वजको भन्दा भिन्न, जलवायु र परिस्थितिहरू फरक भएकाले हो । यसैले तिनमा परिवर्तित स्वरुप उत्पन्न हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेका छन् ।


उनका अनुसार जीवको विकासमा प्राकृतिक छनोट निकै महत्त्वपूर्ण हुन्छ । प्रकृतिले छनोट गर्ने क्रममा हावापानी र वातावरण अनुकूल आफूलाई परिवर्तित गर्ने प्राणीको ज्यादा विकास हुने गर्छ भने अनुकूल हुन नसक्ने प्राणी लोप भएर जान्छन् । मालार्डलाई घरपालुवा बनाउँदा यसले नयाँ वातावरण अनुसार परिवर्तित गर्ने सक्षमता प्रकट गर्‍यो । अत: यसको विकास धेरै भयो । संसारभर यसलाई अनगिन्ती स्वरुपमा देखिन्छ ।

बचेरा कोरल्ने स्थान

आम रूपमा मालार्ड हिउँदमा जाडो छल्नमात्र साइबेरिया बाहिर जान्छ र गर्मीमा विचरण गर्न र बचेरा कोरल्न त्यहीं पुग्छ । यहाँका सदावहार चराले मात्र यतै बचेरा कोरल्छन् । मालार्डले अछामको रामारोशन गाउँपालिकास्थित रामारोशन ताल (भू–सतह उचाइ २,४२५ मिटर) मा बच्चा कोरल्ने गरेको छ । नेपालको नैनीताल भनिने रामारोशन क्षेत्रमा १२ वटा ताल र १८ वटा पाटन छन् । त्यसैले रामारोशनलाई १२ पन्ड १८ खण्ड पनि भनिन्छ । मुस्ताङको टिटी ताल (भू–सतह उचाइ २,६८० मिटर) मा मालार्डले बच्चा कोरल्दै आएको छ ।


चराविज्ञ डा. हेमसागर बरालका अनुसार रामारोशन र टिटी तालमा वर्षेनि करिब ५० जोडीजति मालार्डले बच्चा कोरल्दै आएका छन् । यसले करिब १ सयजति मालार्ड नेपालमा वर्षैभरि रहने गरेको बुझिन्छ । यस आधारमा नेपालमा देखिने सबै मालार्ड साइबेरियन होइनन् । हाम्रा तालहरूको उचित संरक्षण र व्यवस्थापन हुनसके साइबेरिया फर्कने पन्क्षीहरूमध्ये केही प्रजातिको उल्लेख्य संख्या यतै अडिन सक्छन । ती क्षेत्र चरा पर्यटनका निम्ति महत्त्वपूर्ण गन्तव्य बनाउन सक्नुपर्छ । टिटी र रामारोशन जस्ता अन्य कति तालहरू छन्, तिनीहरूको अध्ययन/अनुसन्धान गरी चरा पर्यटननिम्ति विकास गर्न जरुरी छ ।


घातक पुस्तक

नेपालका चराबारे निकैवटा पुस्तक लेखिएका छन् । तर अहिलेसम्म चरालाई पर्यटनसँग जोड्नसकेको पुस्तक एउटै छैन । चरा अवलोकन क्षेत्रलाई ‘टुरिष्ट फिल्ड गाइड’मा जोड्न सक्नुपर्छ । नेपालमा पाइएका झन्डै ९ सय प्रजाति चराहरू क–कहाँ छन् ? तिनीहरू अवलोकन गर्न कुन मौसममा कसरी जाने ? त्यहाँसम्म कसरी पुग्ने, दूरी कति छ ? अवलोकन गर्न समय कति लाग्छ, खर्च कति लाग्छ, बास बस्ने ठाउँ कस्ता छन् ? चरा अवलोकनका निम्ति गाइडहरूसँग कसरी सम्पर्क गर्ने भन्ने जानकारी समेटिएको चरा सम्बन्धी पुस्तक लेख्न जरुरी छ ।


नेपाल भ्रमण वर्ष २०२० सुरु भइसकेको छ । नेपाल भ्रमण गर्नेमध्ये कोही त चरा अवलोकन गर्न मनपराउने पनि होलान् । अहिलेसम्म चरा अध्ययन/अनुसन्धान गर्ने संघ/संस्था तथा चरा पर्यटन व्यवसायीले ‘अ फोटोग्राफिक फिल्ड गाइड टु द बर्डस् अफ नेपाल’ (सन् २०१७) पुस्तकमा ध्यान दिएको पाइँदैन । पुस्तक भारतका विक्रम ग्रेवाल, सुमित सेन, सरवान्डिप सिं, निखिल देवसर र गरिमा भट्टले लेखेका हुन् । ३५४ पृष्ठको पुस्तकमा ७५० प्रजाति चराका २ हजारभन्दा बढी रंगिन तस्बिर समावेश छन् ।


सम्भवत: हिजोआज नेपालको चरा सम्बन्धी लेखिएको सबैभन्दा बढी बिक्री हुने पुस्तक पनि यही हो । पुस्तकमा नेपालको संरक्षित क्षेत्र चरा अवलोकन गर्ने ठाउँ हुन् भन्ने सामान्य जानकारी प्रस्तुत गरिएको छ । तर पुस्तकमा प्रस्तुत ७५० प्रजाति चरा पाइने ठाउँचाहिँ सबैजसो भारत भन्ने लेखिएको छ । उल्लिखित पुस्तकमा मालार्ड डक हिउँदमा उत्तर र मध्य भारतका तालहरूमा पाइन्छ भन्ने लेखिएको छ । नेपालको नामसम्म उल्लेख गरिएको छैन । मालार्डको अत्यन्त थोरै संख्याले कश्मीरका तालहरूमा बचेरा कोरल्छन् भन्ने बताइएको छ । त्यो पुस्तक पढ्नेले मालार्ड र यसले बचेरा कोरलेको दृश्य हेर्न कश्मीर नै जानुपर्ने हुन्छ । यसैले नेपालको चरा पर्यटनको निम्ति ‘अ फोटोग्राफिक फिल्ड गाइड टुद बर्डस् अफ नेपाल’ घातक छ । यसमा पर्यटनसँग सम्बन्धित संघ/संस्था, चरा अध्ययन/अनुसन्धानकर्ता तथा पर्यटन बोर्डको ध्यानाकर्षण जरुरी छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

अष्ट्रेलियामा डढेलोको प्रभाव

जुद्धबहादुर गुरुङ

सुख्खा तथा गर्मीयाममा अष्ट्रेलियाली वन क्षेत्रमा वर्षेनि डढेलो लागिरहन्छ । यसको व्यवस्थापनका लागि विगतमा झैं सरकारले यस वर्ष २ अर्ब अष्ट्रेलियाली डलर बजेटमा छुट्याएको छ । यस पटकको डढेलो विगतको भन्दा भिन्न रह्यो । यसको प्रमुख कारण जलवायु परिवर्तन हुनसक्ने अनुमान गर्न सकिन्छ ।

प्रशान्त महासागरको पश्चिमी किनारमा रहेको अष्ट्रेलियाको पूर्वी क्षेत्र खासगरी न्यु साउथ वेल्स र भिक्टोरिया राज्यहरूमा तीव्र गतिमा हावा चल्ने गर्छ । साथै यो क्षेत्र दक्षिण गोलार्धमा पर्ने भएकाले सूर्य दक्षिणायान भई नोभेम्बर र डिसेम्बरमा बढी गर्मी हुने गर्छ । गत डिसेम्बर १७ मा तापक्रम औसतभन्दा १ डिग्री सेल्सियस बढेर ४१.९ डिग्री सेल्सियस पुगेको थियो ।

चट्टानी तथा मरुभूमि क्षेत्र बढी भएकाले अष्ट्रेलियामा सुख्खा तथा गर्मी भइरहन्छ । यस बाहेक अष्ट्रेलिया हरितगृह ग्यास खासगरी कार्बनडाइ अक्साइड बढी उत्सर्जन गर्ने देशमा पर्छ, वार्षिक रूपमा विश्व हरितगृह उत्सर्जनको १३ प्रतिशत । यिनै परिवेशले वातावरण तताउन सहयोग गर्छन् । जलवायु परिवर्तनका कारण जमिन सुख्खा भई वनका रुख, बुट्यान, घांँस, झारपात सुकेर झुरिला हुन्छन् । यसमा सामान्य मानवीय गतिविधिले उत्पन्न आगोको सानो झिल्को डढेलोमा परिणत हुनसक्छ । गत सेप्टेम्बरबाट त्यहाँको वनमा आगो सल्कियो । लगभग १०० भन्दा बढी स्थानमा आगलागी भएको थियो । समयमै निभाउन सकिएन र झन् वन डढेलोको प्रभाव बढ्दै गयो । नोभेम्बर ८ मा सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्‍यो । सरकारले नागरिकहरूलाई सुरक्षित स्थानमा जान आह्वान गर्‍यो । यो डढेलो अष्ट्रेलियाको इतिहासमा अहिलेसम्मकै खतरनाक मानिएको छ ।

पूर्वी सामुद्रिक तटीय क्षेत्रका प्रमुख सहरहरू सिड्नी, मेलबर्न र क्यानबेरा क्षेत्रको वन, बुट्यान वा झाडीमा लागेको आगो वा वन डढेलोबाट त्यहाँका मानिस त्रसित छन् । वनक्षेत्र वा झाडीबाट हावाको झोँक्कासँगै आगोको लप्का वा ज्वालाहरू मानव बस्तीतर्फ तीव्र गतिमा बढिरहेको छ । आगोका लप्काहरूलाई प्रशान्त महासागरबाट उत्पन्न हावाले झन् ऊर्जा दिएको छ । आगोको लप्काहरू सामान्य मानिसको गतिभन्दा केही बढी ११ किलोमिटर प्रतिघन्टाका दरले बढेको छ । यो दर घाँंसे मैदानको क्षेत्रमा लगभग २२ किमि प्रतिघन्टाका दरले बढ्छ । सन् २०२० जनवरी ८ सम्म डढेलोले लगभग १ लाख ७ हजार वर्गकिलोमिटर क्षेत्रफल फैलिएको छ । यस क्षेत्रका ५,९०० भवन नष्ट भएका छन्, २८ जना मानिसले ज्यान गुमाइसकेका छन् । ५० करोड वन्यजन्तु आगोले डढेर मरिसकेको समाचार छ । बोलीचालीमा ‘वुस फाएर’ अर्थात् झाडी/वन डढेलो भनिने यो आगलागी क्रमश: मानव बस्तीतर्फ बढिरहेको छ । आगो निभाउन न्युजिल्यान्डले समेत अग्नि नियन्त्रक दस्ता पठाएको छ । भर्खरैको भारी वर्षाले डढेलोको गति वा आगो नियन्त्रणमा केही राहत पुगेको छ ।

आगोबाट निस्केको धुवाँको मुस्लोले वायुमण्डल पूरै ढाकेको छ । निलो आकाशको रङ बदलिएर रातो भएको छ । खरानीको धुलो र धुवाँले वायुमण्डल छेकेर आधा किलोमिटरभन्दा टाढाको दृश्य देखिँदैन । विमान उडानमा बाधा पुगेको छ । स्थानीय वायुको गुणस्तरमा ह्रास आएको छ । मानव स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । यस किसिमको प्रदूषित वायुमा लामो समयसम्म रहँदा समाजमा दीर्घरोग बढ्न सक्छ । गतसाल तास्मानिया राज्य सरकारले डढेलोका कारण मानव स्वास्थ्यमा देख परेको समस्या समाधानका लागि २५ मिलियन अष्ट्रेलियन डलर छुट्याएको थियो । यस वर्षको डढेलो विगतको भन्दा बढी तेजिलो र लामो समयसम्म लागेको छ । अझ वन डढेलो क्षेत्रमा तापक्रम वृद्धि हुन्छ र स्थानीय वायुमण्डलमा थप नकारात्मक प्रभाव पर्छ ।

वनक्षेत्र एक किसिमको प्राकृतिक रूपमा सञ्चालित पारिस्थितिक प्रणाली हो । अष्ट्रेलियाको वन कोला, कङ्गारुजस्ता दुर्लभ प्रजातिका स्तनधारी, किवीजस्ता पन्छी लगायत अनेकौं प्रजातिका सरिसर्प वा गोही, उभयचर, माछा र अन्य जलीय प्रजातिको प्रमुख वासस्थान हो । यी प्रजातिहरू विश्वमा अनौठा र आकर्षक वन्यजन्तु हुन् । तर डढेलोले लगभग ५० करोड जीवजन्तु नष्ट भएकाले तिनको वंशाणु मासिन पुगेको छ । घाइतेको त लेखाजोखा नै छैन । यी प्रजातिको वासस्थान समेत नष्ट भएको छ । यिनको अस्तित्व नै संकटमा परेकाले दीर्घकालीन वातावरणीय समस्या निम्तिन सक्छ । डढेलोले यस क्षेत्रको जैविक पारिस्थितिक प्रणालीलाई नै परिवर्तन गरिदिएको छ ।

आगोले खाएको वन क्षेत्रमा पारिस्थितिक प्रणाली ध्वस्त भई नयांँ पारिस्थितिक प्रणाली सिर्जना भएको हुन्छ । डढेलोको तापक्रमले वरपरको वनस्पति लगायत सजीवहरू नष्ट भएको छ । वायुमण्डल प्रदूषित भई सजीवहरूको लागि आवश्यक अक्सिजनको उपलब्धतामा समेत प्रभाव पर्छ । डढेलोले खाएको जमिनको सतह वा भुइँमा खरानीले नयांँ वनस्पतिको लागि पोषणको भूमिका खेले पनि यो वर्षाको पानीसित घुलिन्छ । वर्षाले सतहको पानीको प्राकृतिक शुद्धतामा पनि प्रदूषित पारिदिन्छ । पानी धमिलिने मात्र नभई अम्लियपन बढी हुन्छ । जसले पानीको तथस्टताको गुण गुमाउँछ र परिणामस्वरुप पानीको पीएच असन्तुलित भई जलिया सजीवहरू फटाफट मर्न थाल्छन् । खासगरी माछा प्रजातिका सजीवलाई बढी असर पर्छ । यस डढेलोले जल, जमिन र वायुमण्डलमा परेको प्रभाव आजै आँकलन गर्न हतारो हुन्छ ।

यसरी डढेलोले अष्ट्रेलियाको आर्थिक विकासको भौतिक पाटोमा ठूलो प्रभाव पारेको छ । प्रभावित समाजका वासिन्दामा नियमित काममा जान मनमा त्रास र भय सिर्जना हुन्छ । त्यसले उत्पादनमा ह्रास आउँछ । डढेलोले मानव निर्मित भवन, सडक, सवारीका साधन, भौतिक संरचनाहरूलाई नष्ट पुर्‍याएको छ । पर्यटनमा पनि प्रत्यक्ष असर परेको छ । सरकारले डढेलोलाई प्राकृतिक प्रकोपका रूपमा घोषणा गरेपछि ४,३०० जनाले २९७ मिलियन अष्ट्रेलियन डलरको बिमा दाबी गरेका छन् । यसरी, विश्व समुदायकै ध्यान तानेको डढेलोले समाजका सबै पक्षमा प्रभाव पारेको छ ।

प्रकाशित : पुस २६, २०७६ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×