३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

म किन नबोल्ने ?

सविता विमली

२०५० भदौको कुनै दिन । विद्यालयमा हामी केही थान विद्यार्थीमात्र उपस्थित भयौं । शिक्षक पनि कोही थिएनन् । फर्किंदा बाटोमा पर्ने घरहरूमा पनि ढोका लागेका थिए । सिंगो गाउँ चकमन्न थियो । गाउँबाट मानिस गए कहाँ ?

म किन नबोल्ने ?

ती सबै मानिस नजिकैको गौरादह बहुमुखी क्याम्पसको प्रांगणमा पुगेका रहेछन् । तत्कालीन एमालेका महासचिव मदन भण्डारीको मृत्युपछि उनकी पत्नी विद्यादेवी भण्डारी पहिलोपटक आएकी रहिछन् । मेरो गाउँबाट एक्कासी मानिस हराउनुको कारण यही रहेछ । ‘स्वर्गीय भण्डारीको हत्यारा तत्कालीन सरकार नै भएको, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यस हत्याकाण्डको नाइके भएको’ जस्ता ‘खबर’ कानसम्म आइपुगे । यी चर्चा सेलाउन वर्षौं लाग्यो, हामीले थुप्रै कथा–उपकथा सुनिरह्यौं । भण्डारीको हत्यारा पत्ता लाग्ने दिनको प्रतीक्षा मेरो कलिलो मनमस्तिष्कले लामो कालखण्डसम्म गरिरह्यो । खैर ! कसैलाई चासो नरहेको यस्तो प्रतीक्षा मैमात्र किन गरिरहुँ ? मैले पनि भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लागेको समाचार सुन्ने दिनको प्रतीक्षा गर्न छाडिदिएँ ।


श्रीमती भण्डारीको यो आगमनले मलाई पहिलोपटक के सिकायो भने, बोल्न त पाइँदो रहेछ ! सिंगो सत्तालाई खबरदारी गरेको उक्त सभाका भाषणका तरंगले मेरो गाउँ लामो समयसम्म गर्माइरह्यो ।


२०५६ को आमनिर्वाचनका समयमा विद्यालयबाट फर्किरहेका हामीलाई तत्कालीन मालेका उम्मेदवार देवी ओझाको भाषण सुन्न लगियो । ओझालाई सुनिसकेपछि त म उनको ‘फ्यान’ नै भइगएँ । महाकाली सन्धिमा भएका राष्ट्रघातका फेहरिस्त सुनाएर उनले मोहनी नै लगाइदिए । एक भारी उनका तस्बिर अंकित पर्चा बोकेर ल्याएँ र घरभरि टाँस्ने काम गरें । भित्ताभरि पर्चा टाँसेको देखेपछि बुबाले कसको काम भनेर खोज्नुभयो । म हाजिर भएँ । बुबालाई मेरो काम मनपरेन । मैले आफूलाई मनपरेका उम्मेदवारको सरनी गरेंँ । उनले गरेका कुरा सुनाएँ र पर्चा टाँस्नुको औचित्य पुष्टि गरेँ । बुबाले अपनाएको राजनीतिक धारभन्दा फरक धारको वकालतमा पहिलोपटक कोही देखियो, जुन सामान्यत: अपेक्षित थिएन । स्कुले शिक्षा नसकेकी, बालिग पनि नभएकी कान्छी छोरीसँग बुबा त्यसपछिका तीन दिन बोल्नुभएन ।


लगत्तैको उपनिर्वाचनमा स्कुले लुगामै चुनावी सभामा पुगेंँ । नेपाल विद्यार्थी संघका नेता विश्वप्रकाश शर्माले बडो तातो भाषण गरे— २०४८ सालको लालकिल्ला २०५१ मा दुलो पार्‍यौं । २०५६ मा आधा भाँच्यौं । अब अझै लालकिल्ला भत्किँदै जानेछन् ...। अहो ! कत्रो तेज बोलीमा । सानो काँटको उक्त मानिसले बोलेरै आगो बालिदियो ।


वाह ! कसैलाई गाली नगरी पनि बोल्न सकिने रहेछ भन्ने लाग्यो ।


तत्कालीन झापा क्षेत्र नं. ६ हाल ५ नं. का चिर जनप्रतिनिधि मेरो देशका वर्तमान कार्यकारी प्रमुख खड्गप्रसाद ओलीको त के कुरा गरौं ! उनका बोली, भाषण, आलोचना र व्यंग्यका सम्झना मेरो क्षेत्रका कुनचाहिँ बासिन्दाले नगर्ला ?


निर्वाध रूपमा आलोचना गरेको देखेर/सुनेर हुर्किएकी मैले कहिलेदेखि बोल्न थालेंँ, यकिन थाहा छैन । जे होस्, मैले बोल्न सुरु गरेंँ । कक्षा आठमा जिल्लास्तरीय परीक्षाको शुल्क अघिल्लो सालको भन्दा बढेर आयो ।


प्रधानाध्यापकको झ्यालमा उभिएर मैले प्रश्न गरेंँ । अतिरिक्त क्रियाकलापका खेलकुदका सामग्री छात्राहरूका लागि थिएनन् । विद्यालयले छात्राहरूका लागि भाग नलगाएको र छात्रहरूले एकलौटी बनाएका खेलकुद सामग्रीमाथि छात्राहरूको हक दाबी गरेंँ । हातमा परेको भकुन्डो खेल्न कोही छात्रा साथी आइदिएनन् । म एक्लै परें ।


मीना सञ्चार अभियान विद्यालयसम्म आइपुग्यो । कथा सुन्ने–सुनाउने काम भयो । यस अभियानमा के कति रकम आयो, थाहा थिएन । यसका संयोजक शिक्षकले केही रकम उब्रिएको र उक्त रकम शिक्षक र मीना सञ्चार अभियानका कार्यसमितिका सदस्य विद्यार्थीलाई बाँड्न चाहेको कुरा गरे । यसरी आपसमै पैसा बाँड्न नहुने बरु नजिकैको बजारमा खाली खुट्टा हिँंड्ने बालबालिकाका लागि चप्पल किनिदिउँ भनेर बोलें ।


यसरी बोल्नुपर्छ भन्ने सिकाउने मेरो थातथलो कम्युनिस्ट बहुल क्षेत्र हो । मेरा जनप्रतिनिधि हाल मेरो देशका प्रधानमन्त्री भएको समय हो यो । सिंगो सत्तालाई संगीन आरोप लगाउन र आलोचना गर्न सक्ने व्यक्ति राष्ट्रपतिका रूपमा पाएको यो समयले भन्दैछ कि अब तँ नबोल् । नहेर् । नसुन् । दस वर्षको सशस्त्र द्वन्द्वको चपेटामा परेको मेरो पुस्ता चुपचाप रहन जन्मिएको हो त ?

अहँ होइन । हुँदै होइन ।


मेरो देशको सत्ता बोल्नैपर्ने काम गर्छ र नबोल भन्छ । ऊ गर्नैपर्ने काम गर्दैन र नबोल भन्छ । ऊ जे गर्दा शान्ति बिथोलिन्छ, त्यही गर्छ र नबोल भन्छ । ऊ जे गर्दा विवाद सुल्झन्छ, त्यही गर्दैन र नबोल भन्छ । मेरो देशको सत्ता स्वयम् जनतालाई बोल्ने खजाना दिइरहन्छ र नबोल भन्छ ।


जब सत्ता स्वार्थहरूको पूर्तिमा मात्र लिप्त हुन्छ, म किन नबोल्ने ?


देशमा काम होइन, काण्डैकाण्ड मात्र भइरहेछन् । धमिजा, लाउडा, लडाकुका रासन, चिनियाँ व्यापारीसँगको फोन, सुडान घोटाला, वाइड बडी, सुन तस्करी, बालुवाटार, यति–गोकर्ण, एनसेल कर छली, आईजीपी, प्रधानन्यायाधीशलाई महाअभियोग, छोरी निर्वाचन, बुहारी थमौती...। काण्डैकाण्डको सहर... काण्डैकाण्डको देश । सत्ता स्वयम् काण्डमा लिप्त छ र जनतालाई नबोल भन्छ ।


र यी काण्ड अहिले गाउँ पनि पुगेका छन् । वडामा पुगेका छन् । कागजमै मात्र काम गरिरहेको छ कि साँच्चै काम भएको छ भन्ने हेर्ने कसले ? वडाध्यक्षभन्दा माथिको निकाय कति स्वच्छ छ ? संघीय नेपालको संघको कार्यपालिका तथा सिंगो संसद नै निश्चित व्यक्ति तथा समूहको स्वार्थ पूरा गर्न लागेको छ । कानुन बनाएरै स्वार्थ समूहका स्वार्थ पूरा गर्न भ्याइ–नभ्याइ छ र यसमा खबरदारी गर्नेलाई पाँच वर्ष थुन्ने र १५ लाख जरिवाना गर्ने कानुन बन्नलागेको अवस्था छ ।


र मेरा लागि सर्वाधिक दुर्भाग्यको कुराचाहिँ मेरो जनप्रतिनिधिको नेतृत्वमा यी सबै भइरहेका छन् । जसले बोलेको देखेरै मैले बोल्न सिकेंँ, उनैले मेरो अभिव्यक्तिलाई कोर्रा लगाउँछु भनिरहेछन् । र यो कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन ।


चुनावमा गरेको सहयोग विधेयकका कतै दफा हटाएर, कतै थपेर फिर्ता गरिँदैछ । कसैका घरमा बसेबापत ठेक्का मिलाइएको छ । कसैले दिएको सापटी (?) तिर्न सिंगो संस्थाको संरचना ध्वस्त पारिँदैछ । छोरीलाई जिताउन राष्ट्रको कानुन पाइतालामुनि राखिएको छ । बुहारीलाई थमौती गर्न कार्यक्षमतामाथि आँखा चिम्लिइएको छ । र मेरो देशको सत्ता मलाई नबोल भन्छ ।

म किन नबोल्ने ?


आलंकारिक पद राजनीतिक नियुक्तिमा भाग खोज्छ ! पार्टीको बैठकबाट नेता झिकाउँछ र बहस गर्छ । ३३ होइन ५० प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउँछौं भन्ने पार्टीको सरकारमा दुईजना मन्त्री महिला छन् । ४४५ सदस्यीय केन्द्रीय समितिको १७ प्रतिशत, स्थायी समितिमा दुईजना, सचिवालयमा शून्य सहभागिता छ ।


सरकारी जमिनमा आफ्नो नाम लेखाएकाहरू निर्धक्क राजनीति गरिरहेछन् । आफ्नै इतिहासका कारण प्रतिपक्ष चुपचाप खुम्चिएको छ । यस्तो अवस्थामा बोल्ने को हो ? म किन नबोल्ने ?

प्रकाशित : पुस २६, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?