मार्क्सवाद मात्र उत्तर होइन

समाजमा ‘रिभोलुसन’ मात्र हुँदैन, ‘इभोलुसन’ पनि हुन्छ ।
पृथ्वीनारायण शाहले राष्ट्र निर्माण गरेदेखि नेपाली समाजमा ‘इभोलुसन’ आफ्नै ढङ्गले भैरहको छ ।
रमेश के.सी.

विश्वभर साम्यवादी सत्ता लुप्त भइरहेको र मार्क्सवाद समकालीन पुँजीवादको आलोचना गर्न प्राज्ञिक क्षेत्रमा सीमित हुँदै गएको छ । यस सन्दर्भमा चिरपरिचित समाजशास्त्री चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको मार्क्सवाद’ले नयाँ बहस सिर्जना गरेको छ । के मार्क्सवाद सान्दर्भिक छ ?

के सम्पूर्ण समाज मार्क्सवादी हुनसक्छ ? नेपालको अविकासको रोग मार्क्सवादले निको पार्छ ? केही अन्तर्राष्ट्रिय र केही घरेलु साम्यवादी आन्दोलनलाई केन्द्रमा राखेर लिइएका अन्तर्वार्ता र लेखहरूको सँगालो यो पुस्तकको महत्त्व यसकारणले पनि छ कि अहिले नेपालमा मार्क्सवादी–लेनिनवादी र माओवादीहरूको निर्वाचित सरकार छ ।


विश्वभर मात्र होइन, छिमेकी भारतको हालैको निर्वाचनमा नराम्ररी पराजित कम्युनिष्टहरूको सन्दर्भमा नेपाली साम्यवादीहरूको सत्तारोहण उनीहरूका लागि उत्साहजनक नै छ । तर के उनीहरू मार्क्सवाद अनुसार शासन गरिरहेका छन् ? उदारवादीहरू मार्क्सवादी साम्यवादी शासन प्रणाली जगैदेखि अधिनायकवादी भएको बताउँछन् । तर सन् ९० को उथल–पुथलपछि नेकपा एमालेका तत्कालीन नेता मदन भण्डारीको बहुदलीय जनवादमार्फत फुकुयामावादी वामपन्थी बनेका एमालेहरू निर्वाचनमा नै रमाए । सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरे । वर्गको होइन, सम्पूर्ण जनताको राजनीति गरे । तर सन् ९० भन्दा अघिका साम्यवादी सत्ताहरू सोभियत संघ र पूर्वी युरोपबाट तासको पत्ता ढलेझैं ढलेपछि साम्यवादीहरूमा उदार दर्शनप्रति सकारात्मक भाव उत्पन्न भयो । त्यही भाव एमालेमा पनि देखियो ।


मार्क्सवादलाई मानव समाजको अन्तिम वैज्ञानिक दर्शन र विश्व श्रमजीवीको जीवन दर्शन बनाउने उनीहरूको उद्देश्य असफल भैसकेको छ । वर्गको राजनीतिमा जोडदिने उनीहरूको समाजवाद वर्ग उन्मूलन भई सबै अन्तरविरोधहरूको अन्त्यसँगै पृथ्वी मानवजातिको भूस्वर्ग हुने दाबी पनि असफल भयो । उदारवादीहरूको प्रजातन्त्र र बजार अर्थतन्त्रको अन्तिम विजय भनिएको इतिहासको अन्त्य पनि असफल सावित भएको छ । लाग्छ, विश्वका जनता दुवै खाले अन्त्यवादमा विश्वास गर्दैनन् ।


नेपालको साम्यवादी आन्दोलनको जग सन् १९१७ को अक्टोबर क्रान्ति र १९४९ को चिनियाँ क्रान्तिबाट प्रभावित युवाहरूले बसालेका हुन् । साम्यवादको एउटा मात्र हाँगा थिएन । शीतयुद्ध कालभरि सोभियत र चीनको धुरीमा नेपाली साम्यवादीहरू विभाजित भए । चीनको माओ विचारधाराबाट प्रभावितहरूले १० वर्षे विद्रोह गरे । जुन २०६२/६३ को जनआन्दोलनसँगै टुंगियो । जसले राजतन्त्रको उन्मूलन गर्दै राष्ट्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख गरायो । यिनै घटनाक्रमहरूको समाजशास्त्री मिश्रले मिहिन अध्ययन गरेका छन् । नेपालमा पुँजीवादले पारेको प्रभाव, लोकतन्त्रको वैचारिकी, लेनिनले गलत बुझेका मार्क्स र मार्क्स नभएको वर्तमान समाजको सघन विश्लेषण गरिएको छ ।


समाजमा ‘रिभोलुसन’ मात्र हुँदैन, ‘इभोलुसन’ पनि हुन्छ । पृथ्वीनारायण शाहले राष्ट्र निर्माण गरेदेखि नेपाली समाजमा ‘इभोलुसन’ आफ्नै ढङ्गले भैरहको छ । यिनै ‘इभोलुसन’लाई मार्क्सवादी दृष्टिकोणबाट मिश्रले सैद्धान्तीकरण गरेका छन् । नेपाल सामन्तवादबाट पुँजीवादतर्फ उन्मुख समाज हो । यो अन्धविश्वासी र अवैज्ञानिक पनि छ । तर पुँजीवादका झिल्काहरू देखिएको नेपाली समाजको विकास पुँजीवादतर्फ नै हुने हो । स्वयं मार्क्सले सामन्तवादभन्दा पुँजीवाद प्रगतिशील व्यवस्था भनेका थिए । तर समाजशास्त्री मिश्र सामाजिक लोकतन्त्रको वकालत गर्छन् । जुन न्यायमूलक समावेशी, प्रजातान्त्रिक र समतामूलक हुन्छ । यदि यो उद्देश्य नेपालका सत्तासीन साम्यवादीहरूले पूरा गरे भने धन्यवाद दिनैपर्ने हुन्छ । तर दुई वर्षको सत्ता सञ्चालनले त्यस्तो छाँट देखिएको छैन ।


मार्क्सवादप्रति उनीहरू आदर्श त देखाउँछन्, तर उनीहरू वर्तमान विश्व व्यवस्थाभित्रै नवउदारवादी अर्थसंरचना भित्रबाट सञ्चालित छन् । राष्ट्रिय राजनीतिमा तब सामन्तवाद कमिसन र भ्रष्टाचारको संरक्षक बनेर देखिरहेका छन् । राष्ट्रवादी देखिएको वर्तमान नेकपाको नेतृत्व लोकप्रियतावाद र कतिपय गैरप्रजातान्त्रिक कार्यको अगुवा देखापरेको छ । के यस्तोमा लोकतन्त्र फस्टाउँछ ? त्यसैले आजको मार्क्सवादलाई वर्तमान सरकारको क्रियाकलापले खण्डन गर्छ । विश्वमा नवउदारवादी पुँजीवाद मात्र होइन कि ‘टेक’ कम्पनीहरूमार्फत आएको जासुसी पुँजीवादको जगजगी भएको बेला यो सरकार नाम मात्रको मार्क्सवादी बनेको छ । मार्क्सवादको कुरा गर्ने हो भने आजसम्मको मानव अनुभवले के देखाएको छ भने जीवन, समाज र प्रकृतिको फेनोमेनाहरू एउटै वादभित्र कहिल्यै अटाउँदैन । त्यो समय–सापेक्ष मात्र हुन्छ । यसर्थ समाजशास्त्री मिश्रले यही परिवर्तनकारी चक्रलाई बुझे र शास्त्रीय मार्क्सवाद नभनी आजको मार्क्सवाद भनेका हुन् ।


अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा ‘दि राइज एन्ड फल अफ कम्युनिजम’ का लेखक आर्ची ब्राउनले नेपालमा साम्यवादीहरूप्रति जनताको आकर्षणको मुख्य कारण गरिबी भएको उल्लेख गरेका छन् । गरिबी, विभेद, शोषण र दमनले गर्दा नेपालका जनता साम्यवादप्रति आकर्षित हुनुले मात्रै होइन कि ती कुराको अन्त्यले साम्यवादी राजनीतिको औचित्य पुष्टि हुन्छ । त्यसैले साम्यवादी राजनीति पनि नेपालमा परीक्षणकालमा रहेको स्पष्ट हुन्छ ।


२०४६ सालको परिवर्तनपछि आधा दर्जन साम्यवादीहरू प्रधानमन्त्री भए, तर जनताले भनेजस्तो परिवर्तन भएन । अझै पनि दलित, मजदुर, किसान, जनजाति र सीमान्तीकृत जनता न्याय पाउनसकेको अनुभूत गर्दैनन् । यसले आजको मार्क्सवाद भने पनि नेपाली साम्यवादीहरू दिशाहीन र सिद्धान्तलाई लागू गर्न नसक्ने अवस्थामा पुगेका छन् भन्ने थाहा हुन्छ । उदारवादी भनिएको नेपाली कांग्रेस पनि सिद्धान्तविहीन र शक्तिका लागि राजनीति गर्नेहरूको दल बनेको छ । विगत ३० वर्ष शासन गरेको कांग्रेसले किन समाजलाई परिवर्तन गर्न सकेन ? राजनीतिक परिवर्तनमात्र सबै थोक होइन, सम्पूर्ण सामाजिक अवयवहरूको परिवर्तनमात्र साँचो परिवर्तन हो ।


अहिले हामी उत्तर विचारधाराको युगमा छौं । यो युग व्यवहारवादको युग हो । कुनै निश्चित विचार र आदर्शले मात्र समाजलाई हाँक्न सक्दैन भन्ने कुरा माओले क्रान्ति गरेकै देश चीनको उदयबाट प्रस्ट हुन्छ । उसले ल्याटिन अमेरिकी कर्पोरेटवाद, पूर्वी एसियाली एकाधिकारवाद र कल्याणकारी राज्यका उपायहरूलाई गुपचुप प्रयोग गरिराखेको छ । कम्युनिस्ट पार्टीको शासन भए पनि उनीहरू मार्क्सवादी नभएका कुरा हङकङका पूर्वगभर्नर र अर्क्सफोर्ड विश्वविद्यालयका पूर्वचान्सलर क्रिस प्याटन बताउँछन् । साँचो अर्थमा संसारमा मार्क्सवादी शासन छैन । वर्तमान विश्वलाई बुझ्न मार्क्सवाद अपर्याप्त हुन्छ । किनभने मार्क्स १९ औं शताब्दीका विश्व दृष्टिकोणका कैदी थिए । यसर्थ नेपालमा फुकुयामावादी वामपन्थीको बर्चस्व भयो भन्दैमा सबै कुरो मार्क्सवादी ढर्रामा भइराखेको छ भन्ने हुँदैन ।


निरंकुश राजतन्त्रलाई फ्याँकेपछि नेपालमा दलतन्त्र हावी भयो । विधिको शासन र पारदर्शिताभन्दा दलहरूको मनपरीतन्त्रले गर्दा कुशासनले दह्रोगरी जरा गाडेर बसेको छ । असल शासकले आफ्नो समाजको आद्यस्वरुप चिनेको हुनुपर्छ, अनिमात्र उसले परिवर्तन ल्याउन सक्छ । जस्तो कि सिंगापुरका ली क्वान युले चिनेका थिए । उनले तपाईं केमा विश्वास गर्नुहुन्छ भनी सोध्दा भनेका थिए, ‘म सामाजिक डार्बिनवादी हुँ । यस वादअनुसार जसले प्रतिस्पर्धा गर्न सक्छ वा समाजको गतिमा मिल्न सक्छ, त्यो मात्र सफल हुन्छ ।’ यसर्थ जनतालाई प्रतिनिधि र योग्य बनाइराख्न सक्नु नै नेतृत्वको गुण हो ।


हामी सिद्धान्तमा जेसुकै भनौं, नेपाली जनताको उन्नति, समृद्धि जेले गर्न सक्छ, त्यो नै उचित उपाय हो । साम्यवाद बिसौं शताब्दीको घटना हो । एक्काइसौं शताब्दीमा यसले आफूलाई सान्दर्भिक बनाउन सक्ने आधारहरू हुनुपर्छ । यसर्थ एउटा कालखण्डको सत्य राजनीति र समाज विज्ञानमा सधैंभरि सत्य रहिरहँदैन । पुँजीवादलाई वर्तमानमा निषेध गर्न नसकिने निष्कर्षमा पुगेका मिश्रका लागि पुस्तकभर मार्क्सवादको समकालीन सन्दर्भमा औचित्य पुष्टि गर्नमा रहेको छ ।


मार्क्सवादको बिसौं शताब्दीको प्रयोग र सिद्धान्तमा असहमत उनी चाहिँदैन कम्युनिष्ट पार्टी भन्दै सामाजिक प्रजातन्त्रको वकालत गर्छन् । हामीलाई लोककल्याणकारी र क्षमतामूलक राज्यको खाँचो भएको औंल्याउँछन् । १० वर्षे माओवादी विद्रोहको अर्थराजनीति केलाउँछन् । नेपाली साम्यवादीहरूको रूपान्तरणको विवरण पनि दिन्छन् । तर उत्तर–मानववाद, जासुसी पुँजीवाद र टेक्नो सभ्यतातर्फ उन्मुख विश्व समाजका समस्याहरूलाई मार्क्सवादले कसरी सम्बोधन गर्छ र दानवीय पुँजीवादका अन्त्यका उपायहरूबारे उनी स्पष्ट छैनन् ।


स्वयं अमेरिकाका प्रख्यात अर्थशास्त्रीहरू समकालीन पुँजीवादले असमानता, विभाजन र जातिवाद फैलाएको बताइरहेछन् । पुँजीवादसँग पनि सम्पूर्ण समाजको हल छैन, तर यो जिउँदोजाग्दो यथार्थ हो । जसबाटभाग्न नहुने उनको तर्क छ । तर मार्क्सवाद मात्र पनि सम्पूर्ण प्रश्नहरूको उत्तर होइन । यसर्थ एउटामार्क्सवादी अध्येताको आँखाबाट निकट इतिहासको विश्लेषण र भविष्यको केही खाकाको जानकारी पाठकले पुस्तकबाट पाउँछन् । प्रकाशित : पुस १९, २०७६ ११:२१

प्रतिक्रिया
पठाउनुहोस्

चिनियाँ विश्व व्यवस्थाको प्रश्न

रमेश के.सी.

अमेरिकी जनतालाई चुनावमा भोट कसरी हाल्ने थाहा छ । चिनियाँ जनतालाई चुनावमा भोट हाल्न आउँदैन । अमेरिकी जनता आफ्नो संविधानको व्यक्तिगत स्वतन्त्रताको बखान गरेर थाक्दैनन् । चिनियाँ जनतालाई व्यक्तिभन्दा परिवार ठूलो, परिवारभन्दा समाज र समाजभन्दा राष्ट्र ठूलो भन्ने कन्फुसियाली मन्त्र थाहा छ ।

दुई भिन्न राजनीतिक र सांस्कृतिक पद्धति भएका यी दुई मुलुकहरू अहिले प्रतिस्पर्धी भएका छन् । अमेरिकी संस्थापन पक्षका चिन्तक तथा रणनीतिकारहरू चीनको उदय अमेरिकालाई विस्थापित गरेर विश्व व्यवस्था हात पार्न खेल भएको दाबी गर्छन् ।

राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले त्यही भनिरहेका छन् । चीन खतरा हो, चीन चुनौती हो । यही क्रममा बीबीसी टेलिभिजनले ‘राइभल्स’ नामक कार्यक्रम बनायो भने अलजजिराले दुई भागमा दुई घन्टाको ‘द विग पिक्चर’ डकुमेन्ट्री प्रसारण गर्‍यो । एक्काइसौं शताब्दीको विश्व राजनीतिको रङ्गमञ्च अमेरिका र चीनको शक्ति अभियानले भरिनेछ । जसरी कि बिसौं शताब्दीको राजनीतिक रङ्गमञ्च अमेरिका र सोभियत संघको शक्ति अभियानले भरिएको थियो । अमेरिकाको क्षय सुरु भइसकेको छ । तर चीनका सर्वोच्य नेता देङ सियाओ पिङका सहयोगी तथा दोभाषे भिक्टर गाओ चीनको उदय कुनै पनि राष्ट्रलाई विस्थापित गरेर बढ्ने नभई विश्व शान्ति र स्थायित्वका लागि भएको बताउँछन् ।

के चीन सन् ५० पछि विश्व व्यवस्थाको दाबेदार हो ? घटनाक्रमले त्यस्तै देखाउँछ । सन् २२१ मा पहिलोपल्ट एकीकरण भएको चीन बिसौं शताब्दीको मध्यमा कम्युनिष्ट हुँदै अहिले कन्फुसियाली महाशक्ति बनेको छ । चीनका सामन्त शासकहरूको मस्तिष्कमा चिनियाँ विश्व व्यवस्थाको अवधारण ‘चीन केन्द्रित विश्व’को नाममा जरो गाडेर बसेको छ । एसियामा रहेको भारतीय र जापानी विश्व व्यवस्थाको अवधारणाभन्दा चिनियाँ विश्व व्यवस्थाको अवधारणा बलियो छ । चीनको उदयले पनि त्यसको पुष्टि गर्छ । चिङ वंशले पहिलोपल्ट साम्राज्यको स्थापना गरेपछि कानुनवादको धारणा लागू गर्‍यो । जुन अहिलेसम्म जीवितै छ ।

चिङ वंशले स्थायित्व र सामाजिक संगतिमा जोड दियो । जसलाई वर्तमान चीनका शासकहरूले पनि जोड दिइरहेका छन् । कानुनवादको आवधारणा राज्यमा बस्नेले शासकप्रति वफादार भई नियम पालना गर्नुपर्ने हुन्छ । जसलाई चीनका शासकले वर्तमानमा सिनजियाङ र तिब्बतका अल्पसंख्यक मुस्लिम र बौद्धहरूलाई पालना गर्न बल प्रयोग गरिरहेका छन् । हङकङका जनताको प्रजातान्त्रिक आन्दोलन पनि बेजिइङका सम्राटहरूको सम्पूर्ण स्वर्गमुनि छ भन्ने धारणालाई चुनौती हो । अमेरिकाले हालै हङकङ र सिनजियाङका नागरिकको मानव अधिकारका लागि विधेयकहरू कंग्रेसबाट पारित गरेको छ । तर चीनका नेता देङले पश्चिमाहरूले मानव अधिकारको प्रश्न विकासशील देशहरूलाई कमजोर पार्न रणनीतिक रूपमा प्रयोग गरेको बताएको थिए । अमेरिकाले मानव अधिकार आफ्नो आन्तरिक मामलामा हस्तक्षेप गर्न प्रयोग गरेको आरोप चीनले लगाएको छ ।

चिनियाँ समाज पश्चिमाहरूको जस्तो मिसनरी होइन । उन्नाइसौं शताब्दीको मध्यसम्म चीनको आधुनिक विदेश मन्त्रालय नै थिएन । शासकहरूले आन्तरिक मामलामा ध्यान केन्द्रित गरेका थिए । सन् १९११ मा सन्यात्सेनले गणतान्त्रिक चीन बनाएपछि वेष्टफेलियन संरचनामा चीनले आफ्नो विदेश नीति सञ्चालन गर्न थालेको हो । सन् १६४८ मा जर्मनको वेष्टफेलियामा ३० वर्षसम्म संघर्षरत युरोपका राज्यहरू सम्झौतामा पुगेपछि त्यहाँ शान्ति र स्थायित्व आएको थियो । वेष्टफेलियन विश्व व्यवस्थाले अरुको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने र शक्ति सन्तुलनमा जोड दिन्छ । वर्तमान विश्व त्यही विश्व व्यवस्थामार्फत चलेको छ । एउटा विश्व व्यवस्था अर्कोमा सदा ठूलो युद्ध वा उथल–पुथल हुने गर्छ ।

सन् १९४५ बाट अमेरिकाले बेलायतबाट शान्तिपूर्ण ढङ्गबाट विश्व व्यवस्था आफ्नो हातमा लियो । उसले संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार संगठन र अन्तर्राष्ट्रिय अपराध अदालतजस्तो बहुपक्षीय संगठनहरूको निर्माण गर्‍यो । अहिलेका विश्वका शासक तिनीहरू नै हुन् । शीतयुद्ध कालमा सोभियत संघले पुँजीवादी विश्व व्यवस्थालाई चुनौती दिएको थियो । अहिले त्यो चुनौती चीनले बेल्ट र रोड अभियानमार्फत एसिया, युरोप, अफ्रिकासम्म सञ्जालहरू बनाएर चुनौती दिएको छ । चीनले एसिया इन्फ्रारट्रक्चर डेभलपमेन्ट बैंकमार्फत विश्व बैंकको विकल्प सारेको छ । संघाई कोअपरेसनमार्फत सुरक्षाका लागि क्षेत्रीय मञ्च गठन गरेको छ र तर यतिले मात्र पुग्दैन । पश्चिमाहरू मान्छन् कि चीनको एकदलीय कन्फुसियाली समाज अरु विश्वका लागि अनुकरणीय छैन । राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा भविष्यमा चीन केही मौलिक र केही पश्चिमा हुने बताउँछन् ।

उनी चिनियाँ मोडल पश्चिमा मोडलजस्तो वैश्विक नहुने दाबी गर्छन् । किनभने चीन वेष्टफेलियन मोडलमार्फत नै उदाएको हो । चीनको इतिहासमा उसको अन्तर्राष्ट्रिय सम्बन्ध वेष्टफेलियन हैन । तर आधुनिक कालमा चीन वेष्टफेलियन पद्धतिमा गए पनि उसको धारणा मध्यअधिराज्य ग्रन्थि जो आफूलाई विश्वको केन्द्र ठान्छ, त्यो जीवित नै छ । ओलम्पिक खेलको आयोजना राष्ट्रपति हु जिनताओको पालोमा गरेर विश्वमा देङले भनेजस्तो क्षमता लुकाउने होइन, प्रदर्शन गर्नका लागि सी चिनफिङको कार्यकाल झन् आक्रामक बनेर देखापरेको छ । चीनका सैनिक जर्नेल र रणनीतिकारहरू उग्रराष्ट्रवादी मुद्रामा प्रस्तुत हुन्छन् । अझ एकथरी त चीनको कन्फुसियाली सभ्यता विश्व व्यवस्थाको लागि उचित नै भएको दाबी गर्छन् । जसलाई लेखक मार्टिन ज्याक्सले विश्वको चिनियाँकरण भनेका छन् । एकथरी पश्चिमाहरू चीनको नेतृत्वलाई असल–खराब सम्राटको रूपमा तुलना गर्छन् । नेतृत्वमा असल सम्राट रहुन्जेल त ठिक हुन्छ, तर खराब सभ्राट भए कुरा बिग्रन्छ । वर्तमान राष्ट्रपति सी चिङफिङले आफ्नो दुई पदावधिको कार्यकाल असीमित पारेपछि उनलाई सम्राटको रूपमा हेर्ने पनि छन् ।

चीन अहिले अमेरिकाको छेउछाउमा नरहेका राष्ट्रहरूसंँग सम्बन्ध बढाइरहेछ । एसिया प्रशान्त क्षेत्रमा जापान, अष्ट्रेलिया, रूस र भारत पनि आ–आफ्ना भूमिकामा छन् । एसियाका सम्पूर्ण जनसंख्यामा १ अर्ब ४० करोडमात्रै चीनको हो । सन् ३० सम्म एसिया प्रशान्त क्षेत्रबाट अमेरिकालाई पछाडि धकेल्न चाहन्छ भने सन् ५० सम्म विश्व व्यवस्थाको दाबेदार बन्छ । अहिले चीनले अमेरिकासँग खोजेको भनेको मुख्य शक्तिराष्ट्रको सम्बन्ध मात्र हो । अहिले नयाँ शीतयुद्धको हल्ला सोभियत संघसँग चीनको तुलना गरेर अमेरिकीहरूले गरिरहेका छन् । तर चीन र अमेरिका बीचको द्वन्द्व मुख्य रूपमा व्यापार र प्रविधिमा केन्द्रित छ । चीनले बजार र अर्थतन्त्र र विज्ञान प्रविधि पश्चिमबाट लिएको हो ।

उदार विश्वको एजेन्डालाई नमान्ने चीनले पक्कै पनि अहिले विश्वमा उदार प्रजातन्त्रको क्षयबाट सन्तुष्टि लिएको हुनसक्छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको उदयपछि स्वकेन्द्रित र रैथाने अमेरिका बनेपछि चीनले भूमण्डलीकरणको वकालत गरेको छ । पश्चिमी सभ्यताको स्रोत ग्रीक दर्शन, युरोपको प्रबोधन क्रान्ति र पुनर्जागरणको काल हो । जसका वैश्विक मान्यता र संस्कृति छन् । तर चीन एसियामा केन्द्रित शास्त्रीय कन्फुसियाली चिन्तनको राष्ट्र हो । विश्वमा अरु इस्लाम, हिन्दु र अफ्रिकी सभ्यता पनि छन्, तसर्थ चीनको उदयको नाममा दुवै पक्षबाट अतिशयोक्ति विचारहरू प्रकट हुँदै आएका छन् । सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनका बेइजिङ भ्रमणका योजनाकार हेनरी किसिन्जरले भने अनुसार चीन र अमेरिका दुवै विश्व व्यवस्थाका दाबेदार देखापर्छन् ।

संसारभर अहिले उदारवादीहरू रक्षात्मक अवस्थामा पुगेका छन् । अमेरिका र बेलायतमा लोकप्रियतावादको उदयले युरोप, ल्याटिन अमेरिकाको ब्राजिल र दक्षिण एसियाको भारतमा प्रभाव पारेको छ । करिब ४० वर्ष अघिको नवउदारवादीको विजयले स्थापित गरेका राजनीतिक, आर्थिक पद्धति विरुद्ध जनमत तयार भएको छ । युरोपीय युनियन ब्रेक्जिटसँगै धरापमा परेको छ । यस्तो अवस्थामा सभ्यतागत राष्ट्रको हवाला दिने चीनको मोलतोलबढिरहेको छ । उदार विश्वको सैनिक गठबन्धन नेटोको सान्दर्भिकतामाथि प्रश्न उठेको छ । फ्रान्सका राष्ट्रपति इम्यानियोल म्याक्रोनले हालै नेटोलाई ब्रेन्डेड भने ।

नेटोको स्थापनाको ७० वर्षको सम्मेलन भर्खरै सकियो । उक्त सम्मेलनले चीन नयाँ खतरा र चुनौती रहेको निष्कर्ष निकाल्यो । ट्रम्प विश्व मामलामा पछाडि फर्किरहेका छन्, सायद यसैकारणले होला, वर्तमानलाई इतिहासकारहरूले अनिश्चयको युग भनेका छन् । पश्चिमी मान्यता अनुरुपको भन्दा सभ्यतागत राष्ट्र भन्ने चीनको के वैश्विक अपिल छ ? वा त्यो चीन विशेषलाई मात्रै हो । यसले नै चिनियाँ विश्व व्यवस्थाको भविष्य तय गर्नेछ ।

प्रकाशित : पुस ५, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×