३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मार्क्सवाद मात्र उत्तर होइन

समाजमा ‘रिभोलुसन’ मात्र हुँदैन, ‘इभोलुसन’ पनि हुन्छ ।
पृथ्वीनारायण शाहले राष्ट्र निर्माण गरेदेखि नेपाली समाजमा ‘इभोलुसन’ आफ्नै ढङ्गले भैरहको छ ।
रमेश के.सी.

विश्वभर साम्यवादी सत्ता लुप्त भइरहेको र मार्क्सवाद समकालीन पुँजीवादको आलोचना गर्न प्राज्ञिक क्षेत्रमा सीमित हुँदै गएको छ । यस सन्दर्भमा चिरपरिचित समाजशास्त्री चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको मार्क्सवाद’ले नयाँ बहस सिर्जना गरेको छ । के मार्क्सवाद सान्दर्भिक छ ?

मार्क्सवाद मात्र उत्तर होइन

के सम्पूर्ण समाज मार्क्सवादी हुनसक्छ ? नेपालको अविकासको रोग मार्क्सवादले निको पार्छ ? केही अन्तर्राष्ट्रिय र केही घरेलु साम्यवादी आन्दोलनलाई केन्द्रमा राखेर लिइएका अन्तर्वार्ता र लेखहरूको सँगालो यो पुस्तकको महत्त्व यसकारणले पनि छ कि अहिले नेपालमा मार्क्सवादी–लेनिनवादी र माओवादीहरूको निर्वाचित सरकार छ ।


विश्वभर मात्र होइन, छिमेकी भारतको हालैको निर्वाचनमा नराम्ररी पराजित कम्युनिष्टहरूको सन्दर्भमा नेपाली साम्यवादीहरूको सत्तारोहण उनीहरूका लागि उत्साहजनक नै छ । तर के उनीहरू मार्क्सवाद अनुसार शासन गरिरहेका छन् ? उदारवादीहरू मार्क्सवादी साम्यवादी शासन प्रणाली जगैदेखि अधिनायकवादी भएको बताउँछन् । तर सन् ९० को उथल–पुथलपछि नेकपा एमालेका तत्कालीन नेता मदन भण्डारीको बहुदलीय जनवादमार्फत फुकुयामावादी वामपन्थी बनेका एमालेहरू निर्वाचनमा नै रमाए । सर्वहारा वर्गको अधिनायकत्व परित्याग गरे । वर्गको होइन, सम्पूर्ण जनताको राजनीति गरे । तर सन् ९० भन्दा अघिका साम्यवादी सत्ताहरू सोभियत संघ र पूर्वी युरोपबाट तासको पत्ता ढलेझैं ढलेपछि साम्यवादीहरूमा उदार दर्शनप्रति सकारात्मक भाव उत्पन्न भयो । त्यही भाव एमालेमा पनि देखियो ।


मार्क्सवादलाई मानव समाजको अन्तिम वैज्ञानिक दर्शन र विश्व श्रमजीवीको जीवन दर्शन बनाउने उनीहरूको उद्देश्य असफल भैसकेको छ । वर्गको राजनीतिमा जोडदिने उनीहरूको समाजवाद वर्ग उन्मूलन भई सबै अन्तरविरोधहरूको अन्त्यसँगै पृथ्वी मानवजातिको भूस्वर्ग हुने दाबी पनि असफल भयो । उदारवादीहरूको प्रजातन्त्र र बजार अर्थतन्त्रको अन्तिम विजय भनिएको इतिहासको अन्त्य पनि असफल सावित भएको छ । लाग्छ, विश्वका जनता दुवै खाले अन्त्यवादमा विश्वास गर्दैनन् ।


नेपालको साम्यवादी आन्दोलनको जग सन् १९१७ को अक्टोबर क्रान्ति र १९४९ को चिनियाँ क्रान्तिबाट प्रभावित युवाहरूले बसालेका हुन् । साम्यवादको एउटा मात्र हाँगा थिएन । शीतयुद्ध कालभरि सोभियत र चीनको धुरीमा नेपाली साम्यवादीहरू विभाजित भए । चीनको माओ विचारधाराबाट प्रभावितहरूले १० वर्षे विद्रोह गरे । जुन २०६२/६३ को जनआन्दोलनसँगै टुंगियो । जसले राजतन्त्रको उन्मूलन गर्दै राष्ट्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख गरायो । यिनै घटनाक्रमहरूको समाजशास्त्री मिश्रले मिहिन अध्ययन गरेका छन् । नेपालमा पुँजीवादले पारेको प्रभाव, लोकतन्त्रको वैचारिकी, लेनिनले गलत बुझेका मार्क्स र मार्क्स नभएको वर्तमान समाजको सघन विश्लेषण गरिएको छ ।


समाजमा ‘रिभोलुसन’ मात्र हुँदैन, ‘इभोलुसन’ पनि हुन्छ । पृथ्वीनारायण शाहले राष्ट्र निर्माण गरेदेखि नेपाली समाजमा ‘इभोलुसन’ आफ्नै ढङ्गले भैरहको छ । यिनै ‘इभोलुसन’लाई मार्क्सवादी दृष्टिकोणबाट मिश्रले सैद्धान्तीकरण गरेका छन् । नेपाल सामन्तवादबाट पुँजीवादतर्फ उन्मुख समाज हो । यो अन्धविश्वासी र अवैज्ञानिक पनि छ । तर पुँजीवादका झिल्काहरू देखिएको नेपाली समाजको विकास पुँजीवादतर्फ नै हुने हो । स्वयं मार्क्सले सामन्तवादभन्दा पुँजीवाद प्रगतिशील व्यवस्था भनेका थिए । तर समाजशास्त्री मिश्र सामाजिक लोकतन्त्रको वकालत गर्छन् । जुन न्यायमूलक समावेशी, प्रजातान्त्रिक र समतामूलक हुन्छ । यदि यो उद्देश्य नेपालका सत्तासीन साम्यवादीहरूले पूरा गरे भने धन्यवाद दिनैपर्ने हुन्छ । तर दुई वर्षको सत्ता सञ्चालनले त्यस्तो छाँट देखिएको छैन ।


मार्क्सवादप्रति उनीहरू आदर्श त देखाउँछन्, तर उनीहरू वर्तमान विश्व व्यवस्थाभित्रै नवउदारवादी अर्थसंरचना भित्रबाट सञ्चालित छन् । राष्ट्रिय राजनीतिमा तब सामन्तवाद कमिसन र भ्रष्टाचारको संरक्षक बनेर देखिरहेका छन् । राष्ट्रवादी देखिएको वर्तमान नेकपाको नेतृत्व लोकप्रियतावाद र कतिपय गैरप्रजातान्त्रिक कार्यको अगुवा देखापरेको छ । के यस्तोमा लोकतन्त्र फस्टाउँछ ? त्यसैले आजको मार्क्सवादलाई वर्तमान सरकारको क्रियाकलापले खण्डन गर्छ । विश्वमा नवउदारवादी पुँजीवाद मात्र होइन कि ‘टेक’ कम्पनीहरूमार्फत आएको जासुसी पुँजीवादको जगजगी भएको बेला यो सरकार नाम मात्रको मार्क्सवादी बनेको छ । मार्क्सवादको कुरा गर्ने हो भने आजसम्मको मानव अनुभवले के देखाएको छ भने जीवन, समाज र प्रकृतिको फेनोमेनाहरू एउटै वादभित्र कहिल्यै अटाउँदैन । त्यो समय–सापेक्ष मात्र हुन्छ । यसर्थ समाजशास्त्री मिश्रले यही परिवर्तनकारी चक्रलाई बुझे र शास्त्रीय मार्क्सवाद नभनी आजको मार्क्सवाद भनेका हुन् ।


अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा ‘दि राइज एन्ड फल अफ कम्युनिजम’ का लेखक आर्ची ब्राउनले नेपालमा साम्यवादीहरूप्रति जनताको आकर्षणको मुख्य कारण गरिबी भएको उल्लेख गरेका छन् । गरिबी, विभेद, शोषण र दमनले गर्दा नेपालका जनता साम्यवादप्रति आकर्षित हुनुले मात्रै होइन कि ती कुराको अन्त्यले साम्यवादी राजनीतिको औचित्य पुष्टि हुन्छ । त्यसैले साम्यवादी राजनीति पनि नेपालमा परीक्षणकालमा रहेको स्पष्ट हुन्छ ।


२०४६ सालको परिवर्तनपछि आधा दर्जन साम्यवादीहरू प्रधानमन्त्री भए, तर जनताले भनेजस्तो परिवर्तन भएन । अझै पनि दलित, मजदुर, किसान, जनजाति र सीमान्तीकृत जनता न्याय पाउनसकेको अनुभूत गर्दैनन् । यसले आजको मार्क्सवाद भने पनि नेपाली साम्यवादीहरू दिशाहीन र सिद्धान्तलाई लागू गर्न नसक्ने अवस्थामा पुगेका छन् भन्ने थाहा हुन्छ । उदारवादी भनिएको नेपाली कांग्रेस पनि सिद्धान्तविहीन र शक्तिका लागि राजनीति गर्नेहरूको दल बनेको छ । विगत ३० वर्ष शासन गरेको कांग्रेसले किन समाजलाई परिवर्तन गर्न सकेन ? राजनीतिक परिवर्तनमात्र सबै थोक होइन, सम्पूर्ण सामाजिक अवयवहरूको परिवर्तनमात्र साँचो परिवर्तन हो ।


अहिले हामी उत्तर विचारधाराको युगमा छौं । यो युग व्यवहारवादको युग हो । कुनै निश्चित विचार र आदर्शले मात्र समाजलाई हाँक्न सक्दैन भन्ने कुरा माओले क्रान्ति गरेकै देश चीनको उदयबाट प्रस्ट हुन्छ । उसले ल्याटिन अमेरिकी कर्पोरेटवाद, पूर्वी एसियाली एकाधिकारवाद र कल्याणकारी राज्यका उपायहरूलाई गुपचुप प्रयोग गरिराखेको छ । कम्युनिस्ट पार्टीको शासन भए पनि उनीहरू मार्क्सवादी नभएका कुरा हङकङका पूर्वगभर्नर र अर्क्सफोर्ड विश्वविद्यालयका पूर्वचान्सलर क्रिस प्याटन बताउँछन् । साँचो अर्थमा संसारमा मार्क्सवादी शासन छैन । वर्तमान विश्वलाई बुझ्न मार्क्सवाद अपर्याप्त हुन्छ । किनभने मार्क्स १९ औं शताब्दीका विश्व दृष्टिकोणका कैदी थिए । यसर्थ नेपालमा फुकुयामावादी वामपन्थीको बर्चस्व भयो भन्दैमा सबै कुरो मार्क्सवादी ढर्रामा भइराखेको छ भन्ने हुँदैन ।


निरंकुश राजतन्त्रलाई फ्याँकेपछि नेपालमा दलतन्त्र हावी भयो । विधिको शासन र पारदर्शिताभन्दा दलहरूको मनपरीतन्त्रले गर्दा कुशासनले दह्रोगरी जरा गाडेर बसेको छ । असल शासकले आफ्नो समाजको आद्यस्वरुप चिनेको हुनुपर्छ, अनिमात्र उसले परिवर्तन ल्याउन सक्छ । जस्तो कि सिंगापुरका ली क्वान युले चिनेका थिए । उनले तपाईं केमा विश्वास गर्नुहुन्छ भनी सोध्दा भनेका थिए, ‘म सामाजिक डार्बिनवादी हुँ । यस वादअनुसार जसले प्रतिस्पर्धा गर्न सक्छ वा समाजको गतिमा मिल्न सक्छ, त्यो मात्र सफल हुन्छ ।’ यसर्थ जनतालाई प्रतिनिधि र योग्य बनाइराख्न सक्नु नै नेतृत्वको गुण हो ।


हामी सिद्धान्तमा जेसुकै भनौं, नेपाली जनताको उन्नति, समृद्धि जेले गर्न सक्छ, त्यो नै उचित उपाय हो । साम्यवाद बिसौं शताब्दीको घटना हो । एक्काइसौं शताब्दीमा यसले आफूलाई सान्दर्भिक बनाउन सक्ने आधारहरू हुनुपर्छ । यसर्थ एउटा कालखण्डको सत्य राजनीति र समाज विज्ञानमा सधैंभरि सत्य रहिरहँदैन । पुँजीवादलाई वर्तमानमा निषेध गर्न नसकिने निष्कर्षमा पुगेका मिश्रका लागि पुस्तकभर मार्क्सवादको समकालीन सन्दर्भमा औचित्य पुष्टि गर्नमा रहेको छ ।


मार्क्सवादको बिसौं शताब्दीको प्रयोग र सिद्धान्तमा असहमत उनी चाहिँदैन कम्युनिष्ट पार्टी भन्दै सामाजिक प्रजातन्त्रको वकालत गर्छन् । हामीलाई लोककल्याणकारी र क्षमतामूलक राज्यको खाँचो भएको औंल्याउँछन् । १० वर्षे माओवादी विद्रोहको अर्थराजनीति केलाउँछन् । नेपाली साम्यवादीहरूको रूपान्तरणको विवरण पनि दिन्छन् । तर उत्तर–मानववाद, जासुसी पुँजीवाद र टेक्नो सभ्यतातर्फ उन्मुख विश्व समाजका समस्याहरूलाई मार्क्सवादले कसरी सम्बोधन गर्छ र दानवीय पुँजीवादका अन्त्यका उपायहरूबारे उनी स्पष्ट छैनन् ।


स्वयं अमेरिकाका प्रख्यात अर्थशास्त्रीहरू समकालीन पुँजीवादले असमानता, विभाजन र जातिवाद फैलाएको बताइरहेछन् । पुँजीवादसँग पनि सम्पूर्ण समाजको हल छैन, तर यो जिउँदोजाग्दो यथार्थ हो । जसबाट भाग्न नहुने उनको तर्क छ । तर मार्क्सवाद मात्र पनि सम्पूर्ण प्रश्नहरूको उत्तर होइन । यसर्थ एउटा मार्क्सवादी अध्येताको आँखाबाट निकट इतिहासको विश्लेषण र भविष्यको केही खाकाको जानकारी पाठकले पुस्तकबाट पाउँछन् ।

प्रकाशित : पुस १९, २०७६ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?