जो नेपालका सच्चा मित्र थिए

हरि रोका

‘डीपीटी से मिलो’, वह तुम्हे कुछ रास्ता बत्ला देंगे’ प्राध्यापक आनन्द कुमारले भनेको यो वाक्य मेरो कानमा आज पनि घरिघरि घुमिरहन्छ । एउटा अटो (टेम्पो) पक्रेर म वसन्तकुञ्जको उनको डेरामा पुगेको थिएँ । यो नोभेम्बर २००२ को कुनै दिन थियो ।

जो नेपालका सच्चा मित्र थिए

उनी घरमा मलाई नै पर्खिरहेका रहेछन् । मैले नमस्कार भनेँ । उनले हातमात्र मिलाएनन्, मलाई अंकमाल गरे । मैले उनको अनुहार हेरेँ, चेहरा कठोर लागेन । उनको अनुहार हिस्सी परेको थिएन । उनका आँखा कमजोर लाग्थे । मैले उनलाई पहिलोपटक सर्वोच्च नेता गणेशमान सिंहको प्राङ्गणमा अलि टाढैबाट देखेको मात्रै थिएँ । त्यो पहिलो साक्षात्कार थियो । उनले विना औपचारिकता, ‘कुछ लियोगे’ भनेर सोधे । मैले ‘एक कप चाय’ भनेँ । उनको कोही सहयोगीले हामी दुवैका लागि चिया ल्याइदिए ।


‘आपके बारेमा आनन्द साहव ने सब कुछ बतादिया हैं,’ मैले मेरो राजनीतिक पृष्ठभूमिबारे भन्नुपरेन । आनन्द सरले भनिसक्नुभएको रहेछ । उनले नेपालको राजनीतिक परिस्थितिबारे बताए । कसरी संवैधानिक राजतन्त्र सहितको संसदीय व्यवस्थाको ताला–साँचो तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई किस्तीमा हालेर बुझाए । किन २००२ को अक्टोबरमा राजा ज्ञानेन्द्रले शेरबहादुरलाई सत्ताबाट फाल्दिए र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए । त्यो किन अस्थायी प्रबन्ध हो ? कसरी निरंकुशता लाद्न ज्ञानेन्द्र एकपछि अर्को मौकापरस्त दक्षिणपन्थी कट्टरपन्थी पार्टीहरूभित्रै सिकार खोज्न व्यस्त छन् ? कसरी राजनीतिक ‘सत्व’ गुमाएका राजनीतिक दलहरूको आन्दोलन ‘सडकछाप नौटंकी’ जस्तो लागिरहेका छन् ? उनले प्रश्न गरे र मैले आफूले जानेजति विस्तारमा बताएँ । कुरा गर्दै जाँदा दुई घन्टा बितेछ । उनलाई कतै जान थियो । उनले मेरो होस्टलको रुम नम्बर सोधे र भने, ‘अच्छा बात अधुरी रही । हम जल्दी मिलेंगे’, उनले मलाई जेएनयु गेटमा छोडिदिए । एक हप्तापछिको आइतबार होस्टलमा फोन आयो । आनन्द सरले आउन खबर छोड्नुभएको रहेछ । पूर्वाञ्चल होस्टल पछाडि आनन्द सरको क्वार्टरको अगाडिको आँगनमा डीपीटी अर्थात राजनीतिज्ञ डी.पी. त्रिपाठी, आनन्द सर र विजय प्रतापसँग गफिँदै रहेछन् ।


भेट हुनासाथ उनले सोधे, ‘के हुँदैछ नेपालमा ? सुन्नलायक कुरा केही छन् ?’


‘खास त्यस्तो नयाँ केही छैन ।’ मैले प्रत्युत्तरमा भनेँ । उनी केही क्षण गम्भीर भए । अनि सरको मुखतिर हेरर भने, ‘त्यत्रो लडाइँ लडेर ल्याएको प्रजातन्त्र मासिँदा पनि मानिस प्रतिकारमा किन ओर्लिएनन् ?’


म केही भनौं भन्दाभन्दै आनन्द सरले उछिन्नुभो, ‘प्रजातन्त्र संस्थागत हुनसकेन, आम जनपक्षीय आर्थिक सुधारका कार्यक्रमहरू लागू गरिएनन् । त्यसैले दलहरूले यो दुई दशकमा जनताको आस्था गुमाएछन् भन्ने देखियो ।’


डीपीटीले मेरो मुखमा हेरे । मैले थपेँ, ‘मुलुक अप्ठेरोमा धकेलिँदैछ । आम मानिसको संसदवादी दलमाथि भरोसा रहेन । सेना सहितको राजतन्त्रले जनअपेक्षा अनुसारको सुधार गर्छ भन्नेभन्दा पनि निरंकुशता नै लाद्छ भन्ने लाग्छ । अर्कोतर्फ लडाइँ लडिरहेको माओवादीमाथि भारत, युरोपेली संघ र संयुक्त राज्य अमेरिका भरोसा गर्दैनन् । यसले हाम्रो प्रजातन्त्रको भविष्यको के कुरा अस्तित्वकै अप्ठ्यारो आउने आशंका देखिन्छ ।’ उनी मेरो कुरा सुनेर झन् बढी दुःखीजस्ता देखिन्थे र सोधे, यसको अर्थ ‘त्रिपक्षीय शक्ति सन्तुलन हो ?’ मैले हाँमा मुन्टो हल्लाएँ ।

भारतमै पनि गुजरातमा मोदीको आगमनपछि हिन्दु राष्ट्रवाद अर्थात मेजोरोटरियन राज्यको अवधारणा बलवत रूपमा उठ्नथालेको थियो । दक्षिणपन्थीहरू सशक्त हुँदै गइरहेका थिए । २००३ को फेब्रुअरीको जाडोमा डीपीटीसँग जेएनयुमा नै अकस्मात भेट भयो । उनले मलाई फेरि पनि हालखबर सोधे । मैले दलहरूले चलाउन खोजिरहेको घिसेपिटे आन्दोलनबारे बताएँ । आन्दोलनले न जनतालाई छोइरहेको छ ? न त सत्ताकब्जा गरेका राजा र तिनका भारदारहरूमा कुनै त्रास उत्पन्न गरेको छ । प्रेस–जगत लगभग ‘सेल्फ सेन्सर्ड’ छन् । आम मानिसमा डर ब्याप्त हुँदै गइरहेको छ । सेना सहर र सडकमा व्याप्त थिए र माओवादी गाउँ र जंगलमा । राजनीतिप्रति आममानिसमा घोर नैराश्यता उत्पन्न भएको कुरा मैले उनलाई संक्षिप्तमा बताएँ । उनी फेरि पनि हतारमा थिए । फेरि एकपटक छिट्ट्र भेट्ने वाचा गरेर उनी विदा भए ।


डीपी त्रिपाठी उत्तर प्रदेश शुल्तानपुरका रहेछन् । नेपालमा औपचारिक, अनौपचारिक आवत–जावत गर्दारहेछन् । जेएनयुको राजनीतिशास्त्र विभागमा अध्ययन गर्दाताका उनी प्रदिप (गिरि) दाइसँग अन्तरंग सरसंगतमा रहेछन् । एकदिन उनले मलाई कुरैकुरामा भनेका थिए, ‘व मेरा जिगरी हैं, लेकिन अक्सर उससे मेरा बहुत सारी मतभेद रहती हैं ।’


राजनीतिक रूपमा त्यतिबेला उनी शरद पवार नेतृत्वका नेसनलिष्ट कंग्रेस पार्टीका महासचिव थिए । शरद पवार, पूर्व लोकसभाका सभमुख पी.ए. संग्मा र उनी मिलेर भारतीय राष्ट्रिय कांग्रेस फुटाएर पार्टी गठन गरेका थिए । राजीव गान्धीको हत्यापछि पीभी नरसिंह राव पार्टी तथा राज्य सत्ताको नेतृत्वमा आए । त्यतिबेला भारतीय कांग्रेसका महाराष्ट्रका प्रभावशाली नेता शरद पवार नरसिंह रावका प्रतिस्पर्धी र उत्तराधिकारी मानिन्थे । तर रावको समाप्तिपछि कांग्रेसभित्रका परिवारवादीहरूले पवार विरुद्ध गान्धी परिवार अर्थात सोनियालाई च्यापे । परिवारवाद वास्तवमा अर्को राजतन्त्रको सुरुवात हो भन्ने बुझ्नेहरूका लागि कांग्रेसमा रहिरहनुको कुनै अर्थ थिएन ।


डीपीटी जो भाकपामा मार्क्सवादीबाट आएका थिए, उनका लागि परिवारवादको पछ्यौरी समातेर हिँड्नु साँच्चिकै आत्मस्वाभिमानमै ठेस लाग्ने कुरा थियो । नेसनलिष्ट पार्टी गठन गरेपछि महासचिवका साथै उनी पार्टी प्रवक्ता पनि बनेका थिए । पत्रकारहरूले उनलाई पुरानो पार्टी फुटाएर किन नयाँ भन्ने प्रश्नको जवाफमा भनेका थिए, ‘हम लय चाहते हें, विलय नहीं, वी आर देअर टु इमर्ज एन्ड कोअर्डिनेसन नट मर्ज एन्ड मर्जर ।’ हिन्दी, उर्दु, अंग्रेजी, भोजपुरी, मैथिल, बंगाली लगायत कैयन भाषामाथि पकड भएका त्रिपाठी साँच्चिकै विद्वान राजनीतिज्ञ थिए ।


आनन्द कुमार सरकै सौजन्यमा म डीपी त्रिपाठीको संगतमा पुगेको थिएँ । उनलाई सबैल डीपीटीे भनेर चिन्दारहेछन् । मलाई भने एकदिनभरि नामको गुत्थी फुकाउन समय लाग्यो । उनी भाकपा (मार्क्सवादी) सँग आबद्ध स्टुडेन्ट फेडरेसन अफ इन्डिया (एसएफआई) का तर्फबाट निर्वाचित विश्वविद्यालय युनियन (जेएनयुएसयु) का सभापति थिए । भाकपा (मा) का प्रकाश करातपछि उनी प्रेसिडेन्ट चुनिएका थिए । उनीपछि लगत्तै भाकपा (मा) का वर्तमान महासचिव सीताराम यचुरी । उनी सभापति भएकै बेला २५ जून १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले इमरजेन्सी लगाएर सत्ता आफ्नो हातमा लिएकी थिइन् । इमरजेन्सीको विरोध सुरु भए पनि राजधानी घोर निद्रामा सुतेझैं लाग्थ्यो ।


डीपीटीको नेतृत्वमा जेएनयुले इमरजेन्सी विरुद्ध मसाल बाल्यो । आनन्द सरले एकदिन सुनाउनुभो, ‘डीपीटीले आन्दोलनको यस्तो आगो बाल्यो, क्लासहरू हडतालमा थिए । उसले जर्मन भाषा पढिरहेकी प्रधानमन्त्रीकी बुहारी मेनका गान्धीलाई समेत कक्षामा पढ्न नसक्ने वातावरण बनायो र सफल भयो । पुलिसले राँको बालेर खोज्न थालेपछि डीपीटी भूमिगत भएर आन्दोलनमा डटिरहे । आफ्नै गाउँबाट दिल्लीको बाह्र खम्बामा आएर लुगा धुने पेसामा रहेका धोवीहरूकहाँ उनले सेल्टर बनाएका रहेछन् । उनी नोभेम्बरको अन्त्यमा मात्र पक्राउ परे । जुनबेला जयप्रकाश नारायणको आन्दोलनले देशव्यापी माहोल तताउन थालेको थियो ।’


मेन्टेनेन्स अफ इन्टरनल सेक्युरिटी एक्ट (मिसा) अन्तर्गत जेल परेका डीपीटीको बीजेपीका अरुण जेट्लीसँग त्यही जेलमा भेट भएको थियो । तर आश्चर्यजनक ढंगले सन् १९८० को दशकमा उनले इन्दिरा गान्धीले नेतृत्व गरेकै भारतीय कांग्रेस प्रवेश गरे र पछि प्रधानमन्त्री राजीव गान्धीका विश्वासपात्र रानीतिज्ञ । तिनै डीपीटी सरद पवारसँगै सन् १९९९ मा भारतीय राष्ट्रिय कांग्रेसबाट बाहिरिए र नेसनलिष्ट बने ।


सन् २००२ को जून–जुलाईमा बिदा मनाउन म दिल्लीबाट काठमाडौं फर्किएको थिएँ । देउवाले किस्ती बुझाएपछिको काठमाडौंमा मुर्दातुल्य शान्ति थियो । हाम्रा लागि प्रजातन्त्रको अपहरण अपाच्य थियो ।


शेर बहादुर देउवालाई अक्षमको आरोप लगाएर राजाले सडकमा हुत्याउँदा पनि कोही एकजना प्रतिकारमा उत्रिएन । यो अस्वाभाविक थिएन । मुख्य ठूला दलहरूले जनताको पक्षमा देखिने, सुनिने र बुझिनेगरी दिगो र भरपर्दो कुनै उल्लेख्य काम गरेका थिएनन् । न आममानिसको जनजीविकामा सुधार, न कुनै औद्योगिक रूपान्तरण, न कुनै सामाजिक सुरक्षाको प्रत्याभूति । दलहरूमाथि जनताको राजनीतिक भरोसा लगभग सकिएको थियो । हाम्रो राजनीतिक आस्था र इमानदारीलाई नजिकबाट छामेका, हाम्रो नैराश्यलाई नजिकबाट हेरिरहेका गुरुबा, गुरुमा, पत्रकार मित्रहरू, सहरिया बुद्धिजीवीहरू सबैले केही गर्नुपर्छ, हाम्रो ऐक्यबद्धता रहनेछ भनेर उक्साइरहेका थिए । डीपीटीको लगन, साहस र आन्दोलन हाँक्ने सीप र मित्रहरूप्रतिको उनको लगाव र सहृदयता वा ऐक्यबद्धता थाहा पाएकाहरूले नै हामी नेपाली विद्यार्थीहरूलाई डीपीटी छेउमा पुर्‍याएका थिए ।


२००५ को फेब्रुअरी १ अर्थात माघ १९ आयो । देउवा–ओली गठबन्धनको सरकार भंग गरेर राजा आफै मन्त्रिपरिषद अध्यक्ष भए । संवैधानिक राजतन्त्र सहितको संसदीय प्रजातन्त्रको सारा पर्दाहरू च्यातिए । हामीले आन्दोलन थाल्यौं । जेएनयुस्थित मै बस्ने सतलज होस्टलको भान्सा मिटिङमा डीपीटी आमन्त्रित्र गरिए । उनले हाम्रो आन्दोलनमा ऐक्यबद्धता मात्र जनाएनन् । उनले दिल्लीमा नेपालको लोकतान्त्रिक आन्दोलनको ऐक्यबद्धताका लागि सहकार्य गर्न राजनीतिक दलहरूबीच सञ्जाल तयार पार्ने वचनबद्धता दिए । झन्डै ३ महिनाको अथक प्रयत्नपछि भाकपा (मा) का महासचिव हरकिशन सिंह सुरजित अध्यक्ष र उनी महासचिव रहेको १८ पार्टीको सञ्जाल रहेको कार्यसमिति बन्यो ।


भारतीय कांग्रेसका दक्षिणपन्थीहरूलाई हाम्रो आन्दोलन नभाँड्न चेतावनी दिइरहे । सहजतापूर्वक विचार–विमर्श र ऐक्यबद्धता जनाइरहे । साँचो अर्थमा उनी लोकतान्त्रिक समाजवादी थिए । सबैका प्यारा । सबैका साथी । जनवरी २ मा दिल्लीमा नेपालका एक सच्चा मित्र तथा लोकतान्त्रिक समाजवादी नेता डीपीटीको निधन भयो ।

प्रकाशित : पुस १९, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?