कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इति शुभम्

विमल निभा

कुनै पनि समाचारपत्र हेर्नासाथ घोटालाको खबरसँग थोक रूपमा साक्षात्कार हुने गर्छ । यता पनि घोटाला, उता पनि घोटाला । सर्वत्र घोटाला–घोटाला । यस्तो घोटालामय खबरहरू धैर्यतापूर्वक कति पढिरहन सकिन्छ ? अचेल म घोटालाका खबरहरू पढ्नुको साटो तिनीहरूका गणना गरेर हेर्न थालेको छु । असाध्यै रोमाञ्चक भइरहेको छ, यो नयाँ खेल । (वास्तवमा कष्टप्रद खेलाँची) ।

आजको ताजा समाचारपत्र हेर्छु । र आफ्नो बानी बमोजिम घोटालाका सबै खबरहरूलाई सस्वर गन्न थाल्छु । ठ्याक्कै दुई तिहाइ घोटालाका खबरहरूले समाचारपत्रको पाना भरिएको छ । क्या गजब ! वर्तमान कम्युनिस्ट नामधारी सरकार पनि दुई तिहाइ र सबै प्रकारका साना/ठूला घोटालाका खबरहरू पनि दुई तिहाइ नै । यो फगत संयोग नै हो त ? केही दिनअघि एउटा सत्ताधारी पार्टीको पलायनपश्चात सरकार दुई तिहाइको रहेन क्यारे ! त्यसो भए घोटालाका खबरहरू पनि दुई तिहाइबाट घट्नुपर्ने होइन र ? एक हिसाबले हुन त हो, तर यसको कुनै सम्भावना परपरसम्म देखिंँदैन । यस्तोमा एउटा सामान्य नागरिकको चित्त विरक्त हुनु स्वाभाविकै हो । यसबाट मुक्त हुन के गर्न सकिन्छ ? मेरो अन्तर्मनले तत्कालै भन्छ, ‘यो त निकै सरल छ, बन्धु ।’


‘कसरी सरल छ ?’ म अन्तर्मनसँग भन्छु ।

‘तिमी समाचारपत्र नै पढ्न बन्द गर ।’

‘समाचारपत्र नै पढ्न बन्द गरुँ म ?’ .(आफैंसँग) ।

‘हो, समाचारपत्र पढ्न बन्द गर बन्धु ।’ अन्तर्मनले जोड दिन्छ ।


यद्यपि यो एउटा असरदार उपाय हो । तर यो मबाट कदापि सम्भव छैन । किनभने तपाईहरूलाई थाहै छ, म आफैं समाचारपत्रीय लेखनमा रहेको छु । (यो मेरो अन्तर्मनलाई पनि थाहा छ) । र मेरा ससाना लेखहरूमा प्रायः घोटाला विरोधका स्वाभाविक प्रसंगहरू निर्वाध ढंगले आइरहन्छन् । यस्तोमा म घोटाला भयो भनेर समाचारपत्रबाट कसरी टाढा रहन सक्छु ? यही सिलसिलामा मेरो अन्तर्मनले फेरि भन्छ, ‘यसको एउटा अर्को उपाय पनि छ, लेखक महोदय ।’


‘के उपाय छ ?’ म भन्छु ।

‘तिमी आफ्नो घोटाला सम्बन्धी मान्यतामा पूरै परिवर्तन ल्याऊ ।’

‘यो कसरी हुन्छ ?’

‘किन हुँदैन ?’

‘त्यही त, कसरी हुन्छ ?’

‘लेखक महोदय ।’ मेरो अन्तर्मनले भन्छ, ‘तिमी घोटालाका खबरहरूलाई नकारात्मक नजरले मात्र किन हेर्छौ ?’

‘अनि के गरुँ त म ?’ म भन्छु ।

‘अलिकति सकारात्मक भावले हेर्ने प्रयतन गर, लेखक महोदय ।’


त, यही अपर्झट प्राप्त उपाय अन्तर्गत म टेबुलमा थपक्क राखिएको समाचारपत्रमा आँखा लगाउँछु । र त्यसमा प्रकाशित ‘गोकर्ण रिसोर्ट जमिन घोटाला’ को शीर्ष खबर आँखै–आँखामा पढ्छु । यो सरकारी पाराको घोटालाले मेरो हृदयमा कुनै नकारात्मक भावना आएन । म सम्पूर्ण सकारात्मक भावमा सोचिरहेको छु– केही समय अगाडि नेपाल सरकार जमिनभन्दा झन्डै डेढ–दुई हजार फिट माथि थियो अर्थात् सोझै मास्तिर नै । पहिलेको ‘वाइड बढी घोटाला’ लाई के भन्नुहुन्छ ? यो सम्पूर्णः हवाइजहाज केन्द्रित आकासे घोटाला भएकोले माथिल्लो खालको घोटाला भन्नुपर्ने हुन्छ । अहिले भने परिस्थिति यस्तो रहेको छैन । किनभने ‘बालुवाटार जमिन घोटाला’ देखि सबै कमरेडहरू जमिनसँग एकमुष्ट रूपले जुटेका छन् । चाहे ती सरकारी कमरेड हुन् अथवा गैरसरकारी कमरेड ।


मेरो तात्पर्य अर्धसरकारी कमरेडहरू हुन् । यसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव कमरेड विष्णु पौडेल सबभन्दा अब्बल देखिएका छन् । उनको महासचिव स्तरीय ‘बालुवाटार जमिन घोटाला’ लाई कसरी बिर्सने ? यसले के स्पष्ट हुन्छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विलकुलै जमिन छाडेको छैन । यस हिसाबले हालको ‘गोकर्ण जमिन घोटाला’ सफलतापूर्वक सम्पन्न गरेर सरकारी कमरेडहरूले के अनुचित कार्य गरे ? हेर्नोस्, पहिलेका राजा–महाराजाहरूका जमिनलाई आफ्नो स्वामित्वमा लिनु त एक प्रकारको सामन्ती सम्पत्तिको जनवादीकरण हो । के हाम्रा सरकारी कमरेडहरू पनि जनता होइनन् र ? मेरो विचारमा त जनताभन्दा धेरै नै माथिका जनता हुन् । पहिलेका राजा–महाराजा स्तरका जनता । अब राजा–महाराजा नै भने पनि केही फरक पर्दैन ।


अन्त्यमा,

‘गोकर्ण रिसोर्ट जमिन घोटाला’ मा कुनै पनि घोटाला भएको खबरलाई सम्माननीय प्रधानमन्त्री कमरेड खडगप्रसाद शर्मा ओलीले ठाडै अस्वीकार गरेका छन् । ठिकै हो । म त हदै सकारात्मक भएको नाताले यही त भन्ने प्रयास गरिरहेको छु नि ! हो, कतै कुनै घोटाला–सोटाला जस्ता केही भएको छैन । मैले यस्तो नकारात्मक कुरा किन गर्ने ? सबथोक यथोचित नै रहेको छ । हाम्रो प्रधानमन्त्री ओली पनि खुबै तन्दुरुस्त रहेका छन् । उनको स्वास्थ्यलाई केही भएको छैन । र जहाँसम्म उनको मन्त्रीमण्डलका मन्त्रीहरूका स्वास्थ्य छ, सबै भयङ्कर तवरले स्वस्थ देखिन्छन् । इति शुभम् !

प्रकाशित : पुस १९, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?