कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'जसलाई दुखेको हो उसैले नबोली परिवर्तन हुँदैन'

'थारुलाई सोझो भन्नु डरलाग्दो राजनीति हो'
आहुति

काठमाडौँ — काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार लवकान्त चौधरीको कला प्रदर्शनी ‘मासिन्या दस्तुर’ चलिरहेको छ । थारु जातिको इतिहास र विभेदमा केन्द्रीत रहेर गरिएका उनका कला सृजनाले धेरैको ध्यान पनि तानिरहेका छन् ।

'जसलाई दुखेको हो उसैले नबोली परिवर्तन हुँदैन'

यही प्रदर्शनी, इतिहास र राजनीतिमाथि बुधबार ग्यालरीमा भएको कार्यक्रममा लेखक, राजनीतिज्ञ तथा अभियन्ता आहुतिले दिएको मन्तव्यको अंश यहाँ प्रस्तुत गरिएको छ:


'मासिन्या दस्तुर' पूर्ण छैन सुरुवात हो । थारुहरुको बारेमा एक युवा कलाकारले सत्ताको 'न्यारेटिभ’को ठीक विपरित जे भन्न खोजिरहनु भएको छ, यो प्रयत्न नवीन छ । 'मासिन्या दस्तुर’मा अँध्यारो पाटाहरु देखाउन खोजिएको छ ।

थारु कलाको इतिहास र वर्तमानको कोणबाट हेर्दा यस प्रयत्नलाई थारु समुदायले अत्यन्त गम्भीर रुपमा लिनुपर्छ ।

अब फर्कौं सत्ताको दृष्टिकोणतर्फ। पहाडिया हिन्दू उच्च जातको ‘न्यारेटिभ’ हो नेपाली सत्ता । पहाडिया हिन्दू उच्च जात सबैभन्दा राम्रा । यिनका नाक पनि सबभन्दा ठूला । आँखा र ओठ सुन्दर । यो सत्ता वर्गीय र जातीय दुवै हो ।

नेपालमा थारु भन्यो भने सत्ताले थारु जात भनेर मात्र बुझ्छ । थारु जाति बुझ्दैन । जाति समानतामा आधारित हुन्छ । तर, जातमा आधारित भएर सोच्दा मभन्दा ठूलो कि सानो भनेर सोध्ने हो सुरुमै । कि मभन्दा ठूलो हुन्छ जात कि मभन्दा सानो हुन्छ । बराबरी त कहिल्यै हुँदैन ।

नेपाल सरकारले सोच्ने यही जातमा आधारित भएर हो । त्यसैको आधारमा मासिन्या जातको धारणा पहिलेदेखि नै प्रचलनमा आएको हो । नेवार, लिम्बू, राई, गुरुङ, मगर र सुनवार नमासिन्याहरु भित्र थिए । नमासिन्याहरुलाई सेनामा जाने र व्यापार गर्ने अधिकार थियो । उनीहरूलाई दास बनाइँदैन थियो ।

यी ६ बाहेक अरु सबैलाई मासिन्या भित्र हाल्दियो । मासिन्या भित्र पनि सबभन्दा ठूलो समूह थारु र तामाङको हो । हिन्दू सत्तासँग वास्तवमै लड्न सक्ने समूह यिनै दुइटा हुन् । तामाङ उपत्यका वरिपरिका रणनीतिक ठाउँमा बस्छन् । पहाडका मासिन्यामा सबैभन्दा पिँधमा तामाङ नै पुगे । यस्तै तराईमा थारुलाई दमनको पिँधमा पारियो ।

अझ थारुहरु दोहोरो दमनमा परे । एउटा पहाडिया हिन्दू उच्चजातको र अर्को मधेसी उच्च जातीय मानसिकताको । यस मानसिकताले थारुहरुको सम्पूर्ण पर्वहरुलाई हिन्दूकरण गर्‍यो । यसैको चपुवामा निरन्तर अहिलेसम्म थारु परिरहेका छन् ।

नेपाली सत्ताले थारुहरु असाध्य सोझो हुन्छ भन्छ । यो भनेको धेरै डरलाग्दो कुरा हो । किन सोझो ? थारु किन सोझो हुने । जस्तो यहाँ एकजना ‘पोल्यान्ड’को मानिस राख्दिम् त्यो सोझो भइहाल्छ । किनभने त्यसले नेपाली बुझ्दैन । बोल्न नि सक्दैन । अनि सोझो भइहाल्यो ।

यस्तै जनजातिहरु सोझा हुन्छन् भन्ने जुन ‘न्यारेटिभ’ तयार पारियो यसले भन्ने भनेको शासकीय राजकाजमा सोझा आउँदैनन् । र, रुची पनि राख्दैनन् भन्ने हो । कुनै जाति आफैँमा सोझो हुने ? कुनै जाति आफैँमा बाङ्गो अर्थात् बलियो हुन्छ र ?

सोझो र बलियो परिस्थतिले बनाउँछ । ऐतिहासिक घटनाक्रमअनुसार कुनै बेला कसैलाई बहादुरीको काम दिइएको हुन सक्छ । तर, जाति नै त्यस्तो हुने भन्ने कसरी हुन्छ ? यो त हुँदै हुँदैन । अहिलेसम्म पनि नेपालको सत्ताको मूल दृष्टिकोण यही हो । त्यसमाथि थारु पर्‍यो मासिन्या ।

नेपाली कलाको विविधताका आयामहरु सत्ताको स्थापित आयमबाट आउन सम्भव छैन । अब कसले भन्ने दमन र उत्पीडनको कथा ?


जसलाई दुखेको हुन्छ उसैले भन्न थालेन भने जति गरे पनि अरुलाई प्रभावित पार्न सकिन्नँ । कोहीकोही समअनुभुति गर्ने कलाकार, लेखकहरु आउन सक्छन् । तर आमरुपमा प्रभावित पार्न चाहिँ जसलाई दुखेको हो उसैले भन्न थाल्नुपर्छ ।

गीत र कवितामा त पहिलेदेखि भनिआएको हो । तर, ललितकलाको माध्यममा ‘मासिन्या दस्तुर’ जस्तो प्रयोगात्मक ढंगले अलि कम थियो । अझ खुसीको कुरा सबभन्दा नयाँ पुस्ताले बोल्न थालेको छ । जो हिजोका बडेबडे आन्दोलनबाट खारिएर आएको मान्छे होइनन् । विल्कुल नयाँ पुस्ता जो थारुवान आन्दोलन वा जनयुद्ध वा मधेस आन्दोलनमा कतै संलग्न थिएन । यस्तो आवाज सबै उत्पीडित समुदायबाट आउन थाल्नुपर्छ । कलाको माध्यमबाट आफ्नो कुरा अगाडि आउने नै यसरी हो । र, यस सुरुवातलाई हामीले पनि सघाउनुपर्छ ।

चित्रकला क्षेत्रमा चित्र बेचेर नै गुजारा गर्ने हो । यस्तोमा उत्पीडितको विषयमा बनेका कलालाई कसले किन्ने ? अझ टिकापुरको पछि त सिंगै राज्य लागेको छ । राज्यको वरपर नै त हुन्छन् पैसा भएका मान्छेहरु । अब यहाँ घोडाका तस्बिरहरु, शक्तिको प्रतिकलाई किन्न छाडेर टिकापुरमा कालो झण्डा बोकेको महिलाको फोटो, गोली टाँसिएका दानाहरु कसले किन्ने ? यो त गाह्रो कुरा भयो । यस्तोमा कसरी टिकिन्छ होला ।

मलाई लाग्छ यस्तो प्रयासलाई समुदायले नै जोगाउन थाल्यो भने मात्र टिकाउन सक्छौँ । हामीले आफ्नो रैथाने चिज जोगाउने भनेको आफैंतिर फर्केर हो । जस्तो तपाईंलाई नाटक खेल्नको लागि जर्मनीका मानिसहरुले पैसा दिए भने के हुन्छ ? उनीहरुले भन्छन् – ‘नेपाली नाटक खेल ठीक छ तर जर्मनीको एउटा नाटक खेल्देउ ।’


उत्पीडित समुदायका कुरा अगाडि नल्याइ पनि भएको छैन । तर, हामीसँग सहयोग गर्ने पैसा भएका मानिस पनि छैनन् । फेरि कस्तो चलन छ भने उत्पीडित समुदायबाट मध्यम वर्गमा गएका मानिस आफूलाई फरक देखाउन खोजिहाल्छन् । यस्ता मानिसहरु आफ्नो मुद्दाबाट पछाडि फर्केर बस्न चाहने हुन्छन् ।

थारुभित्र पनि मध्यम वर्गलाई यसमा कसरी जोड्न सकिन्छ यो कुरा महत्वपूर्ण हो । त्यति भयो भने यो अभियान अगाडि बढ्न सक्छ । यसबाहेक अरु पनि उपायका बाटोहरु खोजौं । बाटो खोज्दा फेरि पनि संगठित भएर को लड्छ भन्ने कुरा आइहाल्छ । लडाइँ नगरी त परिवर्तन आउँदैन । अनि लडाइँ गर्न संगठन चाहियो ।

संगठन बनाउने भनेपछि त्यसको राजनीति चाहियो फेरि । राजनीतिको कुरा गर्ने बित्तिकै राजनीतिले कस्तो व्यवस्था बनाउने भन्ने प्रश्न पनि सँगै आइहाल्छ । तर, लड्न थालेपछि बौद्धिकी पनि थप्दै जानुपर्‍यो । त्यसकै शिलशिलाका रुपमा यस ‘मासिन्या दस्तुर’लाई बुझ्ने हो ।

परिवर्तन चाहनेहरुले सकेको जति एकले अर्कोलाई सघाउने हो । अगाडि बढाउन मेहनत नै गर्ने हो। सबैलाई सबैको सहयोग चाहिन्छ । तर, के भइदिन्छ भने एउटा ठाउँमा पुगेपछि दोबाटो आइपुग्छ । दोबाटो आइपुगेपछि कि त जमात बढ्छ कि त जमात अलिकति घट्न पनि सक्छ ।

कलाकार लवकान्त चौधरीको सन्दर्भमा उनले थोरै न्यानो पाएका हुन् किजस्तो मलाई लाग्छ । चिसो काठमाडौँमा यस्तो मुद्दाले यतिको न्यानो पाउने वातावरण हुँदैन । यही आएर हेरेर मिडियाहरुले लेख्ने, भन्ने वातावरण धेरै कारणले बनेको हो । प्रश्न अझै उठाउन बाँकी छ ।

प्रकाशित : पुस १७, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?