कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मार्क्स, पुनरागमन र गुरुकुल

अभि सुवेदी

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा २०७६ पुस १ गतेदेखि तीन दिनसम्म चलेको अमेरिकी नाटककार हवार्ड जिनको ‘मार्क्स इन सोहो’ नाटकको नेपाली रूपान्तरण ‘मार्क्स फर्किए’को प्रस्तुति हेर्न म अन्तिम दिन गएँ । मैले त्यहाँ जे देखेँं, सुनेँ, अनि सानातिना छलफल गरेंँ, त्यसले निकै तरङ्गित भएँ । 

मार्क्स, पुनरागमन र गुरुकुल

केही समय पहिले एउटा होटलमा हवार्ड जिनले लेखेको यो नाटकको नेपाली रूपान्तरण र यसको भाष्यमा चित्रण गरेको विषयमा छलफल भएको थियो । मार्क्सको द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा प्रस्तुत गरिने यो नाटकको नेपाली पाठको छलफल सुनील पोखरेल र प्रवीण खतिवडाले प्रस्तुत गरेका थिए । पहिलो त मलाई यो छलफलको फराकिलो र सिर्जनशील मनसाय नै मनपर्‍यो । नेपालमा मार्क्सवादी र सिर्जनशील मानिसहरू बसेर यसरी छलफल गरिएको मलाई त्यति सम्झना छैन । म मार्क्सका दर्शन र उनका मानवजनिन विचार अनि मानिसको मुक्ति विषयका उनका चिन्ता विषयमा जीवनभरि नै चाख राखेर तिनलाई साहित्य र सिद्धान्त अध्ययनमा पठन–पाठन गरिआएको मानिसको निम्ति यो एउटा अप्रत्यासित अनुभव भयो । तर विस्तारै मार्क्सवादी भनिने शासकहरू निरङ्कुश भएको अनि तिनले लामो शासन गरेका मुलुकहरूमा मानिसको दुर्दशा भएको कारणले मार्क्सलाई मनपराउने यो विश्वका धेरै मानिसजस्तै यिनलाई लिएर निजी जगतमा यसै बस्नेमा परिसकेको मानिस हुँ म ।


त्यसपछि नेपालमा मार्क्सवादी शासक र दलका नेताहरूसँग धेरै वितृष्णा भएको म एक शिक्षक र साहित्य त्यसमा पनि नाटक लेख्ने मानिसको निम्ति यो प्रयोगले केही महत्त्वपूर्ण उत्साह थपेको अवस्था थियो, त्यो छलफल । छलफलमा मार्क्सलाई जीवनवादी र जीवनका राग, चाहना, अनुभव भएको मानिसको रूपमा प्रस्तुत गर्ने विषय धेरै महत्त्वपूर्ण थियो । नाट्य कलाकार र मार्क्सवादीहरूबीच भएको छलफलमा मार्क्सलाई देउता नै बनाएर प्रस्तुत गर्ने कि मानव भन्ने विषय उठ्यो । मैले भनेँ– मेरोनिम्ति मार्क्स जीवनजस्तै महान र त्यत्तिकै स्वतन्त्र दार्शनिक र मानव हुन् । तर ती अराजक थिए भन्दिन । अराजकतावादी त बाकुनिन थिए, तर मार्क्सका विचारसँगै तिनको जीवनका अराजक सिर्जना पनि साथै थिए । मार्क्स एक सिर्जनशील लेखक नै थिए । किनभने तिनले त्यही सिर्जनाको शक्ति समातेर कालजयी विचारधाराका ग्रन्थ र लेख लेखे । यसको छलफल अलिक पछाडि गरेको छु ।

मेरो मनसँग दुइटा कुरा नजिकसँग जोडिएका थिए– मार्क्स र म सम्बद्ध गुरुकुलका निर्देशक र कलाकारहरू । त्यहाँ मार्क्स भएर खेल्ने कलाकार निर्देशक सुनील पोखरेलले विगतमा निर्देशन र प्रस्तुत गरेका मेरा नाटकमा कसरी इतिहास र पुनरागमनका विषयले हामी गुम्फित भएका थियौं, त्यसले पनि मलाई निकै उद्वेलित गरेको हो । सुनीलसँग अन्तरङ्ग काम गर्दै यो नाटकको निर्देशन गर्ने प्रवीण खतिवडाले मेरा नाटकमा पनि मूल भूमिका खेलेदेखिका अन्तरङ्ग सम्बन्ध छन् । त्यस्तै रङ्गमञ्चीय सम्बन्ध निशा शर्मा र सरस्वती चौधरीसँग पनि छन् । उनीहरूका त्यहाँ सानै भए पनि अभिनयले गर्दा म एकाएक गुरुकुलको परिवेशमा छु कि भन्ने भाव भएको थियो । यो नाटकको मार्क्सवादी पृष्ठभूमि र यसको ऐतिहासिकता अनि आज निजी लाभलक्षित योजनाहरूले शासन गर्ने नेपालका मार्क्सवादीहरूका मर्मबारे हरि रोकाको ‘काठमाडौंमा मार्क्स ! कामरेडहरूलाई सकस त भएन ?’ शीर्षकको नयाँ पत्रिका (२०७६ पुस ५) मा प्रकाशित लेख अनलाइन पाइने हुनाले म त्यतातिर जान चाहन्न । म यस लेखमा रङ्गमञ्चकै विषयमा बढी लेख्न चाहन्छु । तर हामी साहित्य र रङ्गमञ्चमा मार्क्सको पुनरागमन वा मार्क्सका विचारको नैरन्तर्यको विषयलाई कसरी राख्छौं भन्ने छोटो छलफल पनि गर्न चाहन्छु ।


दिवंगत भएकाहरू फर्केर आउने विषय एउटा लक्षणाको रूपमा पनि प्रयोग गरिन्छ । अनि विश्वासबाट पनि गरिन्छ । मरेर गएका आत्मा वा मानिसको अप्रत्यासित आगमनमा विश्वास गर्नेका भाष्यमा यो विषय प्रयोग भइरहन्छ । तर विश्वास नगर्नेले पनि यो विषयलाई मज्जैले प्रयोग गरेका छन् । दुई जर्मन युवकहरू २९ वर्षका ‘इपिक्युरियन हेडोनिजम’ र ‘हेगेलियन’ चिन्तन प्रणालीमा चाख भएका दार्शनिक कार्ल मार्क्स र २८ वर्षका फ्रेडरिक एङ्गेल्स मिलेर लेखेको फेब्रुअरी १८४८ मा प्रकाशित कमिनिस्ट घोषणापत्रको मूल वाक्यमै भनिएको छ, ‘एउटा ख्याक वा स्पेक्टरले युरोपलाई तर्साइराखेको छ, त्यो हो– कम्युनिजमको ख्याक ।’ यो भनाइको अनेकौं किसिमले व्याख्या भएको छ । तर मार्क्सलाई लिएर नाटक जगतभित्र पस्ने यो एउटा महत्त्वपूर्ण बिन्दु हो । यो ख्याकले शेक्सपियरका नाटकसँग जोड्छ ।


खासगरी जब मार्क्सको मृत्यु भइसक्यो भन्ने तर्कहरू पश्चिमका पुँजीवादी चिन्तकहरूबाट निस्के, फ्रान्सेली दार्शनिक जाक डेरिडाले त्यसको प्रतिकार गरे । तर तिनले आफ्नै पाराले प्रतिकार गरे । डेरिडाले कमिनिस्ट घोषणापत्रकै ख्याकको रूपक प्रयोग गर्दा कम्युनिजमको ख्याक नभनेर मार्क्सको ख्याक भन्ने विचार प्रयोग गरे । उनको यो किताब फुकुयामाले सन् १९९० को विश्व राजनीतिमा आएको परिवर्तनपछि ‘इतिहासको अन्त्य’को विचार प्रचार गरेको लगत्तै अर्थात् सन् १९९४ मा आएको हुनाले यसमा डेरिडाले मार्क्सका विचारको सिर्जनशील शक्ति छ भन्ने कुरा देखाएको कुरा प्रस्ट छ । फुकुयामाले युगको अन्त्य भनेको धारणा क्रिस्चियानिटीको युग अन्त्यको धारणाबाट पनि बनेको छ । बाइबलमा युगको अन्त्य र नयाँ मानवको उदयको एउटा साझा स्रोत छ । मार्क्सवादी चिन्तनमा पनि इतिहासलाई यस्तै आमूल परिवर्तनको दृष्टिले हेरेको भेटिन्छ । पुँजीवादको अन्त्य र श्रमिक वर्गको विजय त्यसको उदाहरण हो । डेरिडाले उनको अध्ययनमा शेक्सपियरका नाटकहरू खासगरी ‘ह्यामलेट’को प्रयोग गरे । यसमा उनका पिताको ख्याक र ह्यामलेटका एकल सम्वादको प्रसङ्ग छ ।


डेरिडाले फ्रेन्च भाषामा यस्तो उक्ति नै लेखेका छन्, स्पेक्टरको इन्जङ्सनमा : ‘शेक्सपियर जसले मार्क्स जन्माए, मार्क्स जसले भालेरी जन्माए’ इत्यादि । डेरिडा भन्छन्, अनुवाद गर्छु, ‘मार्क्स र एङ्गेल्सले आधुनिक युरोपको कुनै नाटकीय पक्षमाथि खासगरी यसका जोड्न सक्ने योजनामाथि विचार गरे होलान्, व्याख्या गरे होलान् अथवा भित्री कुरा चिने होलान्... ...शेक्सपियरले यो मार्क्सेली रङ्गमञ्चीयतालाई बारम्बार प्रेरित गरिआएका होलान्’ (पृष्ठ ३) । मार्क्सको यो नाटकीय शक्ति पहिचानलाई हवार्ड जिनले राम्ररी बुझेर प्रयोग गरेका छन् । नाटकको अन्त्यमा मार्क्सले भनेका छन्, ‘म फर्केर आएकोमा तिमीलाई झिँजो लागेको त होइन ? यसलाई यसरी बुझ न । यो दोस्रो आगमन (सेकेन्ड कमिङ) हो । क्राइस्ट आउन नसकेकाले मार्क्सले आउनुपरेको हो... ।’ यो जोडदार बुझाइ हो, जिनको । उनले मार्क्सको आगमन क्राइस्टको आगमनजस्तै गरेर राखेका छन्, तर सबभन्दा मुख्य कुरा एक नाटकको माध्यमबाट । अर्को माध्यमबाट आएको भए वा मार्क्सलाई अमूक देवत्व गरिएका कुराले भरेर, तिनका महान विचारलाई उपदेशको रूपमा राखेर गरिएको भए त्यो ‘प्रोपगन्डा’ हुने थियो । यो कुरा बुझ्ने वामपन्थी युवा र तिनका सल्लाहकारहरूलाई साधुवाद । आशिर्वादी भएँ ।


मार्क्स आउनु र आफूमाथि लागेका लाञ्छनाको उत्तर दिनु यो नाटकको र मार्क्सवादी अध्ययनको आधार होइन । त्यो त रूपक हो । मार्क्सका विचार अहिले दिनदिनै सार्थक हुँदै गएका छन् । तिनमाथि गम्भीर भएर ती मानिसलाई देवता नमानेर, तिनलाई तिमी–हामीजस्तै क्रान्ति, दर्शन, प्रेम र अनुराग भएका मानिस मानेर लिने हो भने धेरै कुरा खुल्छन् । सानो लेखमा भन्न सकिँंदैन । पुँजीवादले मानवीय संवेदना मार्दै लगेको छ । मार्क्सले ‘पुँजी’ पहिलो खण्डमा भनेजस्तै मानिस अहिले झन् एक्लिने (एलियनेसन) अवस्थामा पुगेको छ । मानिस सिर्जनशील छ । ऊ बनाउँछ, उसको सिर्जनशीलता उसका काममा देखिन्छ । कर्मशील छ, अनि त्यो आफ्नो रचना आफूबाट टाढा गएको देख्छ । त्यो ‘फेटिस’ हुन्छ, शोषणको रूपक हुन्छ । आजको ५ प्रतिशत धनीले चलाएको विश्वमा, पुँजीवादीहरूले एकल रूपले शोषण गरेका समाजमा, आसेपासे पुँजीवादले नेपाल आक्रान्त भएको अवस्थामा मार्क्सले भनेका यी कुराको सार्थकता अहिले झन् बढेको कुरा देख्न सकियो भने मार्क्स नेपाल आएको ठहर्नेछ । मार्क्सले म मार्क्सवादी होइन भनेजस्तै म कमिनिस्ट होइन, मार्क्सवादी हुँ भन्ने मेरो भनाइमा मार्क्सको त्यही शक्ति, त्यही रङ्गमञ्चीय प्रस्तुतिको सामर्थ्यमाथिको विश्वास व्यक्त हुन्छ ।


मार्क्सको पुनरागमनको यो नाटक सुनील पोखरेलले जसरी अभिनय गरेका छन्, त्यो म एक रङ्गमञ्चको मानिस र नाटक लेख्ने अनि उनले तिनको निर्देशन गर्दा सहकार्य गरेको मनुवाको हिसाबले भन्दा एक प्रशंसनीय अभिनय कला हो । यो नाटकमा इतिहासका ठूलठूला छलाङ र परिवर्तनका झड्काहरू छन् । ‘युग सकियो’ वा ‘अर्को युग आयो’ को द्वन्द्वमा अल्मलिएको समयको चरित्र यो अभिनयको आत्मा हो । मार्क्सलाई लिएर सुनील पोखरेलले मञ्चमा त्यही अभिनय प्रस्तुत गरेका थिए । यस नाटकमा प्रवीण खतिवडाले सूक्ष्म निर्देशन गरेका छन् । यो नाटकको नेपाली पाठ लिएर त्यो दिन मार्क्सको सही चरित्रबारे बहसमा बसेका सुनील र प्रवीण अनि सहभागीका छलफल सुन्नलायक थिए । यो नाटक गर्ने, गराउने र अभिनय गर्ने, अनि हेर्न आउने सबैलाई साधुवाद ।

प्रकाशित : पुस १२, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?