२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘नछुने’ को नालीबेली

सुजित मैनाली

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा छाउ (महिनावारी) बार्न छाउगोठमा बसेकी महिलाको हालसालै मृत्यु भयो । सुदूर पश्चिमका महिलाले यस्तो नियति भोग्नुपरेको प्रसंग बेलाबेलामा दोहोरिरहने गर्छ । साँफेबगरको पछिल्लो घटनापछि छाउपडी प्रथाविरुद्ध सर्वत्र विषवमन भइरहेको छ ।

‘नछुने’ को नालीबेली

यस्तो कुसंस्कारलाई प्रश्रय दिने संस्कृतिमा सुधार गर्नुपर्ने र यस्तो अभ्यास गर्ने/गराउनेलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने पक्षमा आवाज घनिभूत भइरहेको छ । छाउगोठमा महिलाको मृत्यु भइरहने किन गर्छ भनी बुझ्न महिनावारी बार्ने प्रथाको अभ्यास कसरी सुरु भयो र यस्तो प्रथाले संस्कृतिमार्फत अनुमोदित भएर आफूलाई कसरी व्यापक बनाउन सक्यो भनी खोतल्नुपर्छ ।


अस्वीकार्यताको आरम्भ

महिनावारी हुनेहरूलाई अपहेलना र बहिष्कार गर्ने चलनको आरम्भ कसरी भयो भन्नेबारे अनेक धारणा प्रचलनमा छ । ती मध्येको एउटा धारणाले भन्छ– सिकारमार्फत जीविकोपार्जन गर्ने जंगली युगमा महिनावारीको बेला योनिबाट बग्ने रगतले हिंस्रक जनावरलाई आकर्षित गर्ने र सिकारमा व्यवधान उत्पन्न गराउने गर्थ्यो । त्यसैले हिंस्रक जनावरबाट जोगाउन महिनावारी भएका महिलालाई ओडारमा सुरक्षाको उचित प्रबन्ध मिलाएर राख्ने चलन सुरु गरियो । महिनावारीले सिकारमा व्यवधान उत्पन्न गराउने भएकाले यसलाई नकारात्मक रूपमा हेर्न थालियो । यो मान्यतालाई त्यति गम्भीरतापूर्वक लिइँदैन ।


महिनावारी भएका महिलालाई बहिष्कार गरिनुको अर्को कारणले भन्छ– महिनावारी भएका महिलालाई पर्याप्त आराम सुनिश्चित होस् भनेर त्यस्ता महिलालाई घरगृहस्थीका कामबाट उन्मुक्ति दिलाउन महिनावारी बार्ने प्रचलन सुरु भएको हो । महिलाको सहजताको ख्याल गरेर त्यस समयमा मैथुनबाट निवृत्त हुने, घरायसी तथा सामाजिक कार्यमा सरिक हुन नमिल्ने संस्कृतिक विधान तय गरिएको हो भन्ने मत यस धारणाप्रति सहमति जनाउनेहरूको छ । यस्तो धारणा राख्नेहरूको संख्या ठूलो छ । तीमध्ये कतिपय पढेलेखेका पनि छन् । त्यसैले यस धारणामाथि थोरै प्रकाश पार्नु वाञ्छनीय हुन्छ ।


समाजको विशेषत: पुरातनपन्थी खेमाले महिनावारी अछुती सम्बन्धी यस्तो विश्लेषण गर्ने गर्छ । यस्तो खालको धारणाले महिनावारी अछुतीलाई वैद्य ठहर्‍याएर छाउपडी जस्ता महिलाद्वेषी प्रथालाई निरन्तरता दिनुपर्ने पक्षमा परोक्ष ढंगले पैरवी गर्छ । सामाजिक अभ्यास र पुराना शास्त्रहरूको आलोकबाट हेर्ने हो भने यस्तो विश्लेषण अपरिपक्व देखिन्छ ।


महिलाको हितमा महिनावारी बार्ने प्रचलन लक्षित हुन्थ्यो भने महिनावारी भएको बेला उनीहरूलाई आरामदायी ठाउँमा राख्ने, पोषिलो खानेकुरा दिने, सफासुग्घर रहन प्रेरित गर्ने चलन चल्ने थियो । यस्तो अभ्यास नगर्न प्रेरित गर्ने पुरुष अथवा महिलालाई चाहिँ ‘अछूत’ करार गरिने थियो । तर सामाजिक अभ्यास यसको ठिक विपरीत छ । नेपालका विभिन्न ठाउँमा महिनावारी भएको बेला कपाल कोर्न, नङ काट्न वर्जित गरिन्छ । घाम हेर्न अथवा दुग्ध परिकार खान दिइँदैन । बोटबिरुवा छोएमा फूल र फल झर्छ भनेर महिनावारी बेहोरिरहेका महिलालाई फलफूल खानबाट पनि परोक्ष ढंगले वञ्चित गरिएको छ ।


हजारौं वर्ष पुराना मूल्य–मान्यताबाट महिनावारी सम्बन्धी यस्ता महिलाद्वेषी संस्कार नि:सृत भएका हुन् भन्ने कुरा प्राचीन हिन्दु ग्रन्थहरूको अध्ययन गर्दा पनि स्पष्ट हुन्छ । बृहदराण्यकोपनिषद् (५।४।१३) मा महिनावारी भएका महिलाले काँसको जलपात्रबाट पानी पिउन हुँदैन, तीन दिनसम्म नुहाउन हुँदैन भनी व्यवस्था गरिएको छ । तैत्तिरीयसंहितामा गरिएका व्यवस्थाले महिनावारी बार्ने चलन महिलालाई आराम अथवा पोषिलो खानेकुराको जोहो गराउनेतर्फ लक्षित छैन भन्ने अझ स्पष्टसँग देखाउँछ । यसमा (२।५।१) महिनावारी भएका महिलाले तीन दिनसम्म ननुहाइकन फोहोरी भएर बस्नुपर्ने, यस अवधिमा तेल र गाजल लगाउन नहुने, कपाल कोर्न नहुने, दाँत माझ्न नमिल्ने, नङ नकाट्ने व्यवस्था गरिएको छ । यस्ता काम गर्ने महिलाका छोरा चर्मरोगी, नपुंसक अथवा पागल हुन्छ, पानीमा डुबेर तिनको मृत्यु हुन्छ अथवा झुन्डिएर तिनले आत्महत्या गर्छन् भनिएको छ । तैत्तिरीयब्राह्मण, जैमिनीसूत्र, परासरस्मृति, विष्णुधर्मसूत्र, याज्ञवल्क्यस्मृति, मनुस्मृति लगायत धर्मशास्त्रमा पनि यस्तै भाव दोहोर्‍याइएको छ ।


महिनावारी बार्ने चलनको उद्भवबारे अर्को धारणाले भन्छ— यो महिलामाथि दमन गर्ने पुरुषप्रधान समाजको महिलाद्वेषी रचना हो । महिलावादीहरूले यस्तो विश्लेषणप्रति सहमति जनाउने गरेका छन् । यस धारणालाई विभिन्न कोणबाट व्याख्या–विश्लेषण गर्ने गरिएको छ । तीमध्ये अमेरिकी मानवशास्त्री बेभर्ली आई. स्ट्रासम्यानले अघि सारेको एउटा धारणाबारे चर्चा गर्नु बढी सान्दर्भिक हुन्छ ।


कसको चलन ?

हामीमध्ये धेरैलाई छाउपडी प्रथा हिन्दु समुदायले अभ्यास गर्ने कुप्रथा हो भन्ने भ्रम छ । भारतीय उपमहाद्वीप हिन्दु बहुल भएकाले र महिनावारी बार्ने सवालमा हिन्दु समुदाय कट्टर रहेकाले महिनावारी र हिन्दु धर्मलाई जोडेर हेर्ने गरिएको हो । नेपालका जनजाति समुदायमा महिनावारी बार्ने प्रचलनको खासै अभ्यास छैन । त्यसैले महिनावारी अछुती हिन्दु धर्मसँग सम्बन्धित मान्यता हो भन्ने धारणा नेपालमा पनि प्रबल छ ।


तर महिनावारी बार्ने प्रचलन हिन्दु धर्मबाट नि:सृत प्रथा होइन । यो महिलाद्वेषी पुरुषप्रधान चिन्तनको उपज हो, जसलाई हिन्दु धर्मसंस्कृतिले पनि हजारौं वर्षदेखि कडाइका साथ अभ्यास गर्दै आएको छ । संसारभरका विभिन्न जनजाति समुदायमा पनि महिनावारी बार्ने अथवा छाउपडी प्रथा जीवन्त हुनुले कुनै अमूक धर्मसँग यस्तो प्रथाको साइनो छैन भन्ने देखाउँछ ।


भारतीय राज्य महाराष्ट्र र छत्तिसगढमा बसोबास गर्ने माडिया गोन्ड समुदायका आदिवासीमाझ महिनावारीलाई लिएर एउटा रोचक किंवदन्ती प्रचलित छ । किंवदन्ती अनुसार कुनै समय योनिमा दाँत हुने गर्थ्यो रे । समयक्रममा योनिबाट दाँत उखेलियो रे । दाँत उखेल्दा बनेको घाउ अहिलेसम्म भरिएको छैन रे । त्यसैले बेलाबेलामा घाउबाट रक्तस्राप भइरहने गरेको रे ।


महिनावारी बार्ने सन्दर्भमा विभिन्न जनजाति समुदाय हिन्दुभन्दा कम कट्टर छैनन् भन्ने कुरा मानवशास्त्री बेभर्लीले गरेको अध्ययनले पनि देखाउँछ । बेभर्लीले अफ्रिकी मुलुक मालीमा बस्ने डोगन आदिवासीहरूमाथि वर्षौं अध्ययन गरिन् । डोगन आदिवासीहरूको सामाजिक रीतिथितिमध्ये महिनावारी बार्ने चलनप्रति बेभर्ली विशेष आकर्षित भइन् । डोगन आदिवासीहरूमाझ अभ्यास हुने रजस्वालाजन्य अछुतीलाई केन्द्रमा राखेर उनले संसारका विभिन्न ठाउँमा हुने यस्ता अभ्यासको तुलनात्मक अध्ययन गरिन् ।


करिब अढाई वर्ष लामो अध्ययनपछि उनले डोगन आदिवासीमाझ अभ्यास हुने छाउपडी प्रथाबारे रोचक प्रस्तावना अगाडि सारेकी छिन् । उनका अनुसार महिलाको यौनिकतालाई प्रत्यक्ष निगरानीमा राखेर त्यसमाथि एकाधिकार जमाउने हेतुले महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने प्रचलन सुरु गरिएको हो । महिलालाई छाउगोठमा राख्दा पुरुषप्रधान समाजलाई तीन किसिमले फाइदा हुन्छ भन्ने निष्कर्ष बेभर्लीले निकालेकी छिन् । पहिलो फाइदा हो, छाउपडी प्रथामार्फत महिलाको प्रजनन क्षमता सजिलोसँग थाहा पाएर सन्तानोत्पादन प्रक्रियालाई प्रभावकारी बनाउन श्रीमानलाई सहज हुन्छ । दोस्रो, श्रीमान बाहिर गएको महिना महिला छाउगोठ नगए उसको महिनावारी रोकिएको ठहर गरेर परपुरुषगमनको ‘कसुर’मा महिलालाई दण्डित गर्न सजिलो हुन्छ । परपुरुषगमन गर्ने महिलाको नाक काटेर घरनिकाला गर्ने चलन राणाकालको अन्त्य नहुन्जेल नेपालमा अभ्यास हुन्थ्यो भन्ने तथ्य स्मरण गर्नु यहाँ सान्दर्भिक हुन्छ । बेभर्लीका अनुसार छाउपडी प्रथाबाट पुरुषप्रधान समाजलाई हुने तेस्रो लाभ हो, छाउपडी प्रथामार्फत अविवाहित महिलाको यौन जीवनबारे सार्वजनिक जनाउ मिल्ने भएकाले ‘कुमारीत्व गुमाइसकेकी’ महिलासँग बिहे गर्ने ‘जोखिम’बाट पुरुषलाई उन्मुक्ति मिल्छ ।


छाउपडी प्रथा सम्बन्धी बेभर्लीले यस्तो निष्कर्ष नेपाली सन्दर्भमा पनि उपयोगी हुनसक्छ । यसतर्फ लैंगिक अध्ययनमा अभिरुचि भएका विज्ञहरूको ध्यान जान आवश्यक छ । अछाम लगायत सुदूर पश्चिमको ग्रामीण भेगका महिला छाउगोठ नियमित गइरहेका छन्/छैनन् भन्ने कुरालाई परिवार र समाजले अनुगमन गरिरहेको हुन्छ । अविवाहित किशोरी अथवा महिला छाउगोठ जान ढिला भए उनीहरूमाथि संशयका अनेक प्रश्न तेर्साइन्छन् । ‘तिम्रो महिनावारी रोकिनुको कारण के हो ?’ ‘तिमीले कसैसँग यौन सम्पर्क त गरेनौं ?’ ‘गर्भवती त भएकी छैनौं तिमी ?’ जस्ता अनेकन प्रश्नले महिलालाई हायलकायल बनाइन्छ । यी तथ्यले महिलाको यौनिकतामाथि एकाधिकार जमाउने पुरुषकेन्द्रित मनोवृत्ति सुदूर पश्चिममा अभ्यास हुने छाउपडी प्रथामाथि हावी भइरहेकोतर्फ संकेत गर्छ ।


दुई आयाम

हजारौं वर्षदेखि नेपाली समाजले महिनावारी बार्ने चलन मानिआएकाले यसलाई हटाउन अप्ठेरो परिरहेको छ । फेरि सांस्कृतिक परिवर्तन चाँडै हासिल हुने कुरा पनि होइन । सांस्कृतिक रूपान्तरणका लागि कष्टसाध्य लामो प्रक्रियाबाट गुज्रिनु अनिवार्य हुन्छ । यसबारे सबैले हेक्का राख्न आवश्यक छ ।


घरभित्रै महिनावारी बार्ने अथवा महिनावारी भएकाहरूलाई छाउघरमा राख्ने प्रचलन विरुद्ध राज्यले पछिल्लो समय कडाइ गरेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले रजस्वला बार्ने अथवा छाउपडीमा राख्ने कृत्यलाई फौजदारी कसुर ठहर गरेको छ । ऐनको दफा १६८ (३) मा ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन’ भनिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था ऐनमा छ ।


अछामको साँफेबगरमा भएको घटनाका ‘दोषी’उपर प्रहरी प्रशासनले यही ऐन अनुरूप कारबाही अघि बढाएको छ । छाउगोठमै मृत्यु भएकी युवतीका माइती पक्षले जाहेरी दिन अस्वीकार गरेपछि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा ‘दोषी’लाई कानुनी कठघरामा उभ्याउने कारबाही अघि बढाएको छ । यस्ता विषयमा उजुरी पर्खिएर समय खेर नफाली प्रहरी प्रशासन ‘दोषी’लाई कठघरामा उभ्याउन अग्रसर हुनु स्वागतयोग्य कदम हो । तर यसो गरिरहँदा छाउपडी प्रथाका ‘दोषी’ परिवारका सदस्यमात्र होइनन्, उनीहरू यस्तो ‘दोष’का साना अंशियारमात्र हुन् भन्ने हेक्का पनि हामीले राख्नुपर्छ । छाउपडी प्रथाको मुख्य दोषी भनेको पुरुषप्रधान सामाजिक संरचना हो । त्यसैले हाम्रो प्रहार अमूक व्यक्तिमाथि नभई महिलाद्वेषी सामाजिक कुरीतिमाथि बढी केन्द्रित हुनुपर्छ । सांस्कृतिक सुधारका लागि कानुनी अग्रसरता सहायक हुनसक्छ, पर्याप्तचाहिँ हुँदैन । तसर्थ कानुनी घनले मात्र छाउगोठ ढाल्न सकिँदैन । सायद यही कुरा महसुस गरेर मुलुकी अपराध (संहिता) ऐनले महिनावारी सम्बन्धी कसुर गर्ने विरुद्ध खुकुलो सजायको व्यवस्था गरेको हो ।


रजस्वलाजन्य अछुतीलाई निर्मूल गर्न दुई खालका काम समानान्तर ढंगले काम अघि बढाउन आवश्यक छ । पहिलोमा दीर्घकालीन काम पर्छन् । यस अन्तर्गत महिलालाई आर्थिक रूपमा स्वावलम्बी र आत्मनिर्भर बनाउन पैतृक सम्पत्तिमा उनीहरूको हक–अधिकार व्यावहारिक रूपमै सुनिश्चित गर्ने, उनीहरूलाई उद्यमशील बन्न प्रेरित गर्ने लगायत कदम चाल्नुपर्छ । आर्थिक रूपमा सम्पन्न महिलालाई छाउगोठमा जाक्न सजिलो हुँदैन । महिलाको आर्थिक जीवनमा सुधार ल्याउँदै गर्दा महिनावारीलाई नछुने करार गर्ने संस्कार बदल्न जनचेतनामूलक कार्य र सामाजिक बहसलाई व्यापक बनाउनुपर्छ । स्थानीय तह, स्थानीय संघ–संस्था र स्थानीय अगुवाहरूलाई साथ लिएर यस्तो बहसलाई भुइँतहसम्म व्यापक बनाउन सकियो भने यसले दिगो नतिजा दिन सक्छ ।


महिनावारीसम्बन्धी अछुती रोक्ने दोस्रो काममा तत्काल चाल्नुपर्ने कदम पर्छन् । महिनावारी बार्ने प्रचलन मानिसको संस्कृति र मनोविज्ञानमा गहिरोसँग गाडिएकाले छाउगोठ भत्काउने खालका उत्तेजक गतिविधिभन्दा छाउगोठ भत्काउन जनतालाई प्रेरित गर्ने नीतिगत व्यवस्था बढ्ता प्रभावकारी हुन्छ । छाउगोठ नजाने अथवा आफ्ना छोरीचेली, बुहारीलाई छाउगोठ नपठाउने घोषणा गर्ने व्यक्तिलाई राज्यले प्रोत्साहन रकम उपलब्ध गराएर यसको आरम्भ गर्न सक्छ । छाउगोठ भएका घरपरिवारलाई वृद्धभत्ता, एकल महिला भत्ता, कृषि अनुदानजस्ता सामाजिक सुरक्षाका प्रबन्धबाट वञ्चित राख्ने खालका प्रावधान पनि उफयोगी हुन सक्छन् ।


ट्वीटर : @sujitainaili

प्रकाशित : मंसिर २८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?