गोलमटोल गणित सिकाइ

दीपक बस्याल

साहित्यकार बालकृष्ण समले कुनै बेला भनेका थिए, ‘दार्जिलिङमा आज जे सोचिन्छ, नेपालमा त्यो भोलि सोचिन्छ ।’ 

यो भनाइ खासमा नेपाल र दार्जिलिङले नेपाली साहित्यमा गरेको योगदानसँग सान्दर्भिक भएर आएको हो । 

गोलमटोल गणित सिकाइ


सन् १९४० को दशकमा दार्जिलिङका नेपालीभाषीका लागि गणितको किताब लेख्दै गर्दा पारसमणि प्रधान र नरेन्द्रमणि प्रधानले लेखेको तलका हरफहरूले समको भनाइलाई थप मलजल गर्छ ।


‘हाम्रा नेपाली भाषा पढ्ने विद्यार्थीहरू हिसाबमा सारै कमजोर हुन्छन् । गणितका गुरुहरूले गणित विधाका उपकारिता र आवश्यकतामा रुचि उत्पन्न गराइदिए ती विद्यार्थीहरू स्वभावले नै गणितमा मन

लाउने हुन्छन् । आफूमाथि आइलागेको अवगालबाट बच्ने हो भने गुरुहरूले गणित ठिक तरिकाले पढाउनैपर्छ ।’


यहाँ उल्लेख गर्न खोजिएको मुख्य कुरा के हो भने हामीकहाँ गणितको पुस्तक लेखिनुपर्छ है भन्ने चेतना जाग्दै गर्दा दार्जिलिङमा प्रधानहरूले गणितको पुस्तक गतिलो लेखिनुपर्छ र गतिलो तरिकाले पढाउनुपर्छ भन्नेमा जोड दिइराखेका थिए ।


बीसौं शताब्दीको सुरुमै चर्चित शिक्षाविद् जन डीबीले भनेका थिए, ‘यदि हामीले आजका विद्यार्थीलाई हिजोको तरिकाले पढायौँ भने उनीहरूको भोलि लुटिरहेको हुनेछौँ ।’ आज हामीले हाम्रा विद्यार्थीलाई भविष्य बनाउने दिशामा हाम्रो शिक्षा नीतिलाई लगेका छौं कि उनीहरूको भविष्यलाई गोलमटोल पार्ने बाटोमा लागेका छौँ, यसको चर्चा सान्दर्भिक हुने नै छ । प्राय: देशहरूको औपचारिक शिक्षा प्रक्रियालाई मुख्यतया तीन भागमा बाँडिएको हुन्छ ।


पहिलो, देशमा के, किन, कसरी पढ्ने/पढाउने भन्ने निर्देश गर्न भनेर राष्ट्रिय पाठ्यक्रम लेखिएको हुन्छ । जुन लागू गर्न खोजिएको पाठ्यक्रम भयो । दोस्रो, कक्षाकोठाको सिकाइ, जहाँ शिक्षक र विद्यार्थीहरूको सहभागितामा पाठ्यक्रमको निर्देशन अनुरुप कार्यसम्पादन गर्ने गरिन्छ । जुन लागू गरिएको पाठ्यक्रम भयो । तेस्रो, पाठ्यक्रमले चाहे अनुरुपको सिकाइ भए/नभएको निर्क्योल गर्न परीक्षा प्रणाली बनाइएको हुन्छ । चक्र यही हो । चक्र एकै भए पनि फरक–फरक देशमा फरक–फरक शैलीको पाठ्यक्रम, पाठ्य–पुस्तक र परीक्षा प्रणाली हुने गर्छ । अहिले यतिमात्र भनौँ कि गतिलो सिकाइ हुन यो चक्रको तीनैवटा कुराको राम्रो संयोजन हुनु जरुरी छ ।


किन, केका लागि पढ्ने र पढाउने भन्ने कुराकै निर्क्योल गर्न सकिएन भने पढेर उपलब्धि भयो कि भएन भनेर परीक्षण गर्न कठिन हुन्छ । पढाउनेले के उद्देश्य प्राप्तिका लागि पढाउने भन्ने कुरा नै थाहा पाएन भने पढाउने तरिका कसरी प्रभावकारी हुन्छ भनेर सोच्नुको खासै अर्थ भएन । केका लागि, किन पढाइँदैछ भन्ने कुरा पाठ्य–पुस्तक लेखकलाई थाहा भएन भने कसरी पुस्तक लेखिँदा त्यो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा थाहा हुने भएन । अनि यस्तै थाहा नभई–नभई र थाहा नपाई–नपाई समग्र देशको शिक्षा प्रणाली चल्ने भयो । हाम्रोमा स्थिति लगभग–लगभग यही हो ।


कसरी थाहा हुन्छ त शिक्षाले देशलाई दिनुपर्ने के हो ? नीति निर्माताले नीतिमा के लेख्ने ? पुस्तकमा लेखकले के, कति लेख्ने र कसरी प्रस्तुत गर्ने ? शिक्षकले कसरी र किन पढाउने ? विद्यार्थीले किन र कसरी पढ्ने ? अभिभावकले आफ्ना सन्तानले पढेको कसरी र कुन कुराले उनीहरूको जीवन र समग्र समाजको प्रगतिको लागि काम लाग्छ भनी बुझ्ने ? लगभग यी सबै प्रश्नको उत्तर दिने भनेको अनुसन्धानले नै हो । हरेक तहमा अनुसन्धानका लागि अनेकौं प्रश्नहरू हुन्छन् । यी प्रश्नको उत्तर आजको आजै दिन मिल्नेगरी सहज हुँदैन र एउटा मात्रै उत्तर आउने भन्ने पनि हुँदैन । लामो अनुसन्धानात्मक परीक्षणपश्चात आएको सम्भावित नतिजालाई प्रयोगमा ल्याउने र त्यसको प्रभाव निरन्तर चेकजाँच गर्ने काम यही चक्र चलाउने कर्मभित्र पर्छ ।


प्रविधिमा भएको द्रुत विकासले अहिले कसरी कामका प्रकृतिहरू फेरिएका छन् र उक्त कामका लागि योग्यहरू उत्पादन गरिएन भने भोलि लाखौँ, करोडौँ बेरोजगार र बेघरबार हुने चेतावनी विश्व बैंकको भर्खरै प्रकाशित रिपोर्ट ‘द चेन्जिङ नेचर अफ वर्क’ (२०१९) मा चर्चा गरिएको छ । आजको बजारको माग सम्बोधन गर्न गहन र नवीन सोच गर्न सक्ने, समूहमा काम गर्न सक्ने, सूचनाको सही विश्लेषण गर्न सक्ने चिन्तनशील र सिर्जनशील विद्यार्थीको उत्पादन आजको आवश्यकता हो भनेर उक्त रिपोर्टमा प्रकाश पारिएको छ ।


अलिकति अब हाम्रो पछिल्लो अनुसन्धानमा आधारित अनुभवको कुरा गरौं । हाम्रा कक्षा ४–१० मा पढाउने गणित पाठ्य–पुस्तकमा विद्यार्थीलाई चिन्तनशील, सिर्जनशील बनाउन सक्ने प्रश्नहरूको सँगालो छ/छैन भनेर खोज्ने प्रयत्न हाम्रो अनुसन्धानले गरेको थियो । त्यसका लागि हामीले गणितमा सिर्जनशीलता भनेको के हो र कसरी कक्षाकोठामा त्यसको अवसर सिर्जना गर्न सकिन्छ भन्नेमा केन्द्रित सामग्रीहरूको अध्यन गरेका थियौं । हाम्रा स्कुलहरूमा अहिले पढाइ हुने पुस्तकहरूको अध्ययन, अनुसन्धान गर्दा हामीले विद्यार्थीलाई सिर्जनशील बनाउन सक्ने प्रश्नहरूको सँगालो निकै कम पायौँ । विद्यार्थीलाई गणित गर्ने प्रक्रिया सिकाउनकै लागि, त्यसको प्रयोगबारे बिलकुल अनभिज्ञ राखेर गणितका अवधारणा सिकाउने नभई घोकाउने यत्न गरेको छ, हाम्रो गणित पाठ्य–पुस्तकले । लगभग एक प्रतिशतभन्दा पनि कम केही प्रश्न जुन सही तरिकाले कक्षाकोठामा प्रस्तुत गर्दा विद्यार्थीलाई सिर्जनशील हुने अवसर प्रदान गर्छ, त्यस्ता प्रश्नहरूले कक्षाकोठामा छलफलका लागि स्थान नै पाउँदैनन् भनेर पुस्तक लेखक, शिक्षक र विद्यार्थीहरूबाटै सुन्न पाइयो ।


घोकाइएको कुरालाई परीक्षामा जस्ताको तस्तै उतार्न सक्नेलाई पुरस्कृत गर्ने हाम्रो परीक्षा प्रणालीले विद्यार्थीलाई सिर्जनशील हुने यात्रामा न त प्रेरणा दिन्छ, न प्रयास नै गर्छ । सामूहिक सिकाइ, स्थानीय स्रोत र सामग्रीमा आधारित सिकाइ जसलाई अनुसन्धानहरूले सही सिकाइ गराउन सक्षम भनेर पहिचान गरेको छ, त्यसको प्रयोग सायदै हुने गरेको छ, हाम्रा कक्षाकोठामा । समग्र परीक्षा प्रणालीले सिकाइ र सिर्जनशीलतामा पर्नगएको नकारात्मक असरको गहन छलफल हुन जरुरी छ, तर त्यो हुन सकिरहेको छैन । विकी र गुगलको जमानामा हामीलाई घोक्न र रट्न सक्ने होइन, जानेको सूचनालाई प्रयोगमा ल्याउन सक्ने, नवीन सोच गर्न सक्ने, सूचनालाई केलाएर निर्णय लिन सक्ने विद्यार्थी चाहिएको हो ।


हामीले विद्यार्थीलाई घोकन्ते बनाएका छौँ, त्यो पनि शिशु कक्षादेखि नै । समग्र सिकाइ र वास्तविक सिकाइमा हामीले लगभग समय नै दिनसकेका छैनौं । करिब पछिल्लो ३० वर्षदेखि नै हाम्रो सिकाइमा खासै तात्त्विक भिन्नता केही आएको छैन । गणितको वास्तविक सिकाइ त्यतिबेला सम्भव हुन्छ, जब विद्यार्थीले आफ्नै समाजका दैनन्दिनका समस्या समाधान गर्न उसले जानेको पुराना सूचना र ज्ञानबाट नयाँ परिस्थितिमा प्रयोग गर्न सक्ने बन्छ । विभिन्न सूचना, प्रविधि र ज्ञानको पाटोको प्रयोग गरेर नयाँ–नयाँ तरिका र विधिहरूको उत्पादन गर्न सक्छ । शिक्षकले नै जानेको कुरा भए पनि विद्यार्थीले आफै खोजी अथवा आविष्कार गर्न सक्यो भने उसले जिन्दगीमा अरु–अरु पनि आविष्कार गर्दै जाने हो । तब न आविष्कार र नयाँ थ्योरी बन्छ ।


हामीले विद्यार्थीलाई माछा मार्न सिकाउने शास्त्र पढाउनुपर्ने ठाउँमा माछा मारेर दिएका छौँ । माछा मार्ने तरिकामा समय नै दिएका छैनौँ । विद्यार्थीलाई माछा, खोला, जाल र बल्छीको चित्र देखाएका छौँ । आफैसँग भएको साधनको प्रयोग गरेर पनि सिकाइ र ज्ञान प्राप्त हुन्छ भनेर देखाएका छैनौँ । विद्यार्थीसँग रिसाएका छौँ । नजान्ने भनेर माया गरेका छैनौं । प्रेरित नै गर्न नसकिने पाठ्य–सामग्री दिएका छौँ । प्रेरणा दिनुको सट्टा गाली, डर र धम्की दिने गरेका छौँ ।


हामीले घोकाएरै अनि कम्प्युटरले निमेष भरमा गर्न सक्ने हिसाब पनि रटाएरै विद्यार्थीलाई पढाउँदैछौँ । जबकि जति–जति विद्यार्थीको लेभल बढ्दै जान्छ, अपरिचित समस्याहरू हल गर्न सक्ने मान्छे नै सफल हुन्छ । त्यसैले यस्तो खालको अनुभव सकेसम्म साना कक्षादेखि नै दिनसक्ने वातावरण हाम्रो शिक्षाले मिलाउनुपर्छ । पूरै परिवारबाट विछोड, पूरै भाषाबाट विछोड, समाजको पाटोबाट अलग राखेर अहिलेका अनुसन्धानहरूले अगतिलो भनेर प्रमाणित नै गरेका थोत्रा शिक्षण विधिबाट विद्यार्थी पढाउँदैछौँ हामी । कतै जन डीबीले भनेजस्तै हामीले हाम्रा कर्णधारको भविष्य बर्बाद त पारिरहेका छैनौँ ?


प्रकाशित : मंसिर २८, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?