कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

रक्सीपीडित समाज

मधु राई

दोस्रो त्रैमासिक परीक्षा अगावै एकजना अभिभावकले ‘म्याम मेरी छोरी अबदेखि आउँदिनन्, नाम काटिदिनु’ भने । पछि बुझ्दा रक्सीप्रेमी बाबुकै कारण आमाले छोरी लिएर माइती गएको थाहा पाएँ । यस्तै केही दिनअघि बेलुकीपख प्रहरीले ‘म्याम तपाईको विद्यार्थी हामीसँग छ, लिन आउनु होला’ भनेर फोन गरे । एकछिनपछि प्रहरी आफैले विद्यार्थी ल्याइदिए ।

रक्सीपीडित समाज

चारदिनदेखि अनुपस्थित विद्यार्थी के कति कारणले घरबाट निस्केको रहेछ भनेर प्रहरीसँगै घर खोज्न निस्क्यौं । संयोगले घर अगाडि नै आमालाई भेट्यौं । आमालाई छोरी किन विद्यालय नपठाएको भन्दा आमाले ‘मेरो घरमा समस्या छ, त्यसैले छोरी नपठाएको म्याम’ भनिन् । गाइँगुइँ बुझ्दा रक्सीकै कारण बेलाबेला श्रीमान–श्रीमतीबीच घरझगडा हुने गरेको कुरा थाहा पाएँ ।


कतिपय रक्सीप्रेमी अभिभावकका छोराछोरीहरू ‘म्याम, मेरो बाबाले हिजो रक्सी खाएर ममीलाई कुट्नुभो, त्यसैले म स्कुल आइन’ भन्ने गर्छन् । यस्ता ससाना विद्यार्थीका कुरा सुन्दा र त्यसमा कहिलेकाहीँ आफै संलग्न हुनुपर्दा म प्राय: किंकर्तव्यविमुढ हुने गर्छु । आफू आंशिक रूपमा रक्सीमुक्त परिवारमा हुर्कने अवसर पाएकोले धन्न पढ्ने अवसर पाएँ भन्ने महशुस गर्छु । र, रक्सीपीडित समाजमा हुर्केका मेरा छोराछोरीले पनि धन्न उच्चशिक्षा हासिल गर्ने अवसर पाए भन्ने ठान्छु । तथापि मेरा छोराछोरीजस्ता अरू कयौं छोराछोरी रक्सीकै कारण बीचैमा पढाइ छाड्न बाध्य छन् । उनीहरूमध्ये केहीले सानैमा प्रेमविवाह गरेका छन् ।


के हुनेखाने, के हुँदाखाने सबै रक्सीप्रेमीहरूको रक्सीप्रतिको आशक्तिले बालबालिका र महिलाहरूको वर्तमानमात्र हैन, भविष्य नै अन्योलग्रस्त बन्दैछ । हुँदाखाने रक्सीप्रेमीलाई लक्षित गरी विभिन्न ब्रान्डका रक्सी र बियर उत्पादक कम्पनीहरूले जोडतोडकासाथ बजारीकरण गरिरहेका छन् ।


पछिल्लो समय सिनेमाघरहरूमा मात्र हैन, बाटाछेउका अधिकांश अग्ला घरका छतमा जताततै राखिएका एलसीडीमा रक्सीजन्य वस्तुको विज्ञापन देखिनु सामान्य भइसक्यो, नेपाली समाजमा । यसरी सूचना र सञ्चारको सहज पहुँचसँगै रक्सीजन्य वस्तुको यस्तो धमाकेदार बजारीकरणले नयाँ–नयाँ रक्सी पारखीहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । रक्सीजन्य वस्तुको यस्तो बजारीकरणले एकातिर रक्सी उत्पादक र वितरकहरूको आम्दानी बढाएको छ भने अर्कातिर रक्सीप्रेमीहरूको व्यक्तिगत र सामाजिक व्यवहारले पारिवारिक विखण्डनलगायत आपराधिक क्रियाकलापहरूमा बढोत्तरी हुँदैछ । हुनेखाने रक्सीप्रेमीहरूले ब्रान्डेड खान्छन् भने हुँदाखानेलाई घरेलु रक्सीले बढी आकर्षित गरेको पाइन्छ । घरेलु रक्सीका पारखीहरूकाका कारण यसको व्यवसायमात्र बढेको त छ नै, यसले प्रत्यक्ष र परोक्ष रूपमा थुप्रै सामाजिक समस्या पनि निम्त्याउँदैछ ।


विशेषगरी घरेलु रक्सी उत्पादन कार्यमा संलग्न महिलालाई अन्य उत्पादनमूलक कार्यले त्यति आकर्षित गरेको पाइँदैन । कतिपय अवस्थामा राज्यको नीतिमा पनि मेल देखिँदैन । प्रहरीप्रशासनले एकातिर घरेलु रक्सी उत्पादकहरूलाई निरुत्साहित गर्न बेलाबेला छापा मार्ने गरेको छ भने अर्कातिर टोलटोलमा खुलेका किराना पसलेहरूलाई ब्रान्डेड रक्सीजन्य वस्तु बिक्री गर्न छुट दिएको छ । ब्रान्डेड रक्सीजन्य वस्तुको बिक्री–वितरण प्रणालीमा राज्यको उपस्थिति शून्यप्राय: देखिन्छ । कतिपय अवस्थामा रोजगारीको विकल्प नभएका कारण घरेलु रक्सी उत्पादन र बिक्री–वितरण गर्नुपरेको व्यवसायीहरू बताउँछन् । तर, स्थानीय निकायले यिनीहरूको पीरमार्का भने बुझेको देखिँंदैन । उनीहरूका लागि रणनीतिक योजना बनाई आयमूलक वा सीपमूलक कार्यक्रम ल्याउनसकेको देखिंदैन ।


रक्सीजन्य वस्तुको अध्याधिक सेवनले नेपाली समाजलाई अधोगतितिर लाँदैछ । रक्सीपीडित घरपरिवारका बालबालिका र महिलाहरूको जीवन प्रत्यक्ष र परोक्षरुपमा कष्टप्रद बन्दै गएको छ । कतिपय हुनेखानेहरूले मनोरञ्जनका लागि रक्सी सेवन गरेपनि बहुसंख्यक पुरुषलाई न त छोराछोरीको वर्तमानको चिन्ता छ, न भविष्यको ।


रक्सीपीडित घरपरिवार र समाजका पीडालाई नजरअन्दाज गर्दै आएको राज्यले रक्सी व्यवसायीलाई नियमन गर्न सकेको छैन । बजारक्षेत्र वा एउटा वडामा के कति रक्सी पसल हुनुपर्ने हो भन्ने विषयमा स्थानीय निकाय मौन देखिन्छन् । विराटनगर महानगरपालिकाका हरेक वडाका चोक–चोकमा यस्ता पसल खुलेका छन् । यस्ता पसलहरूहरूको नियमन फितलो भएको कारण विराटनगर रक्सीमैत्री नगर बन्दै गएको छ ।


त्यतिमात्र हैन, छिमेकी राज्य विहारमा जथाभावी रक्सी किनबेच र सेवन गर्न नपाइने भएकोले त्यहाँका उपभोक्ताका लागि सहज र नजिकको गन्तव्य बनेको छ, विराटनगर महानगरपालिका । पछिल्लो समय विहारका कतिपय हुनेखाने भारतीयहरूले बिहेभोजजस्ता कार्यक्रमहरू विराटनगरका पार्टी प्यालेसमा आयोजना गर्नुको धेरथोर कारणमध्ये रक्सीमैत्री नगर भएर हो ।


रक्सीमैत्री विराटनगर महानगरपालिकामा सुषुप्त अवस्थामै भएपनि २०६९ सालदेखि नागरिक समाजका अभियन्ताहरूले विभिन्न समयमा रक्सी व्यवसायलाई व्यवस्थापन र नियमन गर्नुपर्ने माग राखी अभियान थालेका छन् । विराटनगर १२ का अभियन्ता फणिन्द्र नेपालको सक्रियतामा सुरु भएको मदिरा व्यवस्थापन अभियानले यो व्यवसायलाई राज्यले नियमन गर्नुपर्ने माग राख्दै आएको छ ।


केही दिनदेखि महानगरपालिकाले अनधिकृत रूपमा हैन, लाइसेन्स लिएरमात्रै रक्सी बेच्न नगरबासीलाई माइकिङ गरेर सूचना सम्प्रेषण गर्दै आएको छ । महानगरले खुलेका रक्सी पसलहरूलाई नियमन र व्यवस्थापन गर्नु त कता हो कता, अझ नगरबासीलाई लाइसेन्स लिएर बेचबिखन गर्न आह्वान गरेसँगै नगरबासीलाई रक्सी व्यवसाय गर्न थप प्रोत्साहित गरेको देखिन्छ । विगतमा कतिपय घरेलु रक्सी उत्पादक र किराना पसलमा अनधिकृत रूपमा रक्सी बेचबिखन गर्दै आएका अधिकांश व्यवसायीहरूले लाइसेन्स लिएर पसल सञ्चालन गर्दै आएका छन् । रक्सी व्यवसायीबाट सरकारले राजस्व संकलन गर्दै आएकोले पनि बेलाबेला यसरी माइकिङ गरी लाइसेन्स लिएर आधिकारिक रूपमा रक्सी व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको देखिन्छ ।


रक्सी व्यवसाय गर्न प्रोत्साहित गर्ने सरकारले रक्सीले परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे सोचेको देखिँदैन । घरपरिवार र समाजमा रक्सीले पार्ने नकारात्मक र दीर्घकालीन प्रभावबारे मिहिन अध्ययन गर्न राज्य चुकेको छ । छिमेकी मुलुक भारतको विहार राज्यमा जथाभावी रक्सी सेवन र बेचबिखनले पार्ने नकारात्मक प्रभावलाई कम गर्न प्रतिबन्ध लगाएको देखिन्छ । हामीकहाँ पनि विहारमा जस्तै रक्सी सेवनलगायत जथाभावी बेचबिखनमा प्रतिबन्ध लगाउने हो भने ढिलो–चाँडो यसकै कारण हुने पारिवारिक विखण्डन रोकिनुका साथै आपराधिक क्रियाकलापमा कमी आउने देखिन्छ ।


प्रकाशित : मंसिर २१, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?