कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अमीरों को होने वाली बिमारी’

सोनु सिनाल

‘डायलसिसपछि प्रधानमन्त्रीको अवस्था सामान्य’ भन्ने समाचारमा केही साताअघि आँखा पर्‍यो । फेसबुकको वालमा यो खबर पढिरहँदा मेरो हातमा क्याथेटर लगाइएको थियो । कञ्चनपुरको सीमावर्ती उत्तर भारतको सानो सहर खटिमाको एउटा सामान्य अस्पतालमा म डायलसिस गराउँदै थिएँ । देशमा सहज रूपमा स्वास्थ्यसेवा नपाउनुको पीडा मनमा थियो ।

‘डायलसिस सकेर मेसिनबाट छुटिएपछिको अवस्थालाई सामान्य भन्ने कि बिरामी ?’ मनमा यो प्रश्नले उत्तर पनि खोज्दै थियो । डायलसिसमा भएकोले म सधैं आफूलाई बिरामी ठान्थेँ । तर प्रधानमन्त्री सामान्य भन्ने समाचारले म पनि बिरामी होइन भन्ने लाग्यो । हुन पनि डायलसिसपछि अर्को तीन दिनसम्म त हामी सामान्य नै हो नि । यही सामान्य र असामान्य अवस्थाको दोसाँधमा बाँचेको बेला फेरि अर्को समाचार पढ्ने मौका मिल्यो, ‘प्रधानमन्त्रीको दोस्रोपटक प्रत्यारोपण हुने ।’ यो प्रत्यारोपण सम्बन्धी समाचारले मेरो ध्यानमात्र तानेन, मलाई ती बिझाइरहने दिनहरूमा फर्काएर लिएर गयो । ती दिनहरू जहाँ एकपटक पनि हुन नसकेको मेरो प्रत्यारोपणको कथा लुकेको थियो ।


मृगौलाको समस्या देखिएपछि २०६९ सालमै डाक्टरले ‘प्रत्यारोपणको तयारी पनि गर्दै गर’ भनेका थिए । त्यसपछि हरेक ३ महिनामा गरिने ‘फ्लोअप’ मा पनि प्रत्यारोपणको तयारीबारे डाक्टरले सोध्थे । २०७४ सालमा डायलसिस सुरु भएपछि त जाँचका क्रममा मात्र होइन, डायलसिस गर्ने अस्पतालहरूमा डाक्टरदेखि सँगैका बिरामीहरूले समेत प्रत्यारोपणकै सुझाव दिन थाले । तर सामान्य मानिसका लागि मृगौला प्रत्यारोपण ढुंगाको कापमा झरेको बोडीको बीउजस्तै रहेछ— उम्रन सक्दैन, तर आस मर्दैन ।


मृगौला प्रत्यारोपणका लागि आवश्यक अंगदाता र खर्च दुवै कुरा मेरानिम्ति लंकामा सुनजस्तै थिए । प्रधानमन्त्रीज्यूका लागि त अंगदाता सुरुमा बुहारीको अनि अहिले पनि नाता पर्नेहरूको परीक्षण भइरहेको समाचार पढेँ । अब खर्च के कति भन्ने सवाल त सायदै उठ्ला । यो प्रश्नले हामी जस्तालाई भने रातभरि सुत्न दिँदैन । ७ वर्षअघि डाक्टरले प्रत्यारोपणको सुझाव दिएपछि हामीले दाताको खोजी गर्ने दु:साहस गर्‍यौं । अनि सबभन्दा पहिले नातागोतामा कुरा राख्यौं ।


प्रत्यारोपणका लागि पहिलो आवश्यकता रगतको समूह मिलेको अंगदाताको हो । मेरो रगत ‘बी पोजेटिभ’ । सोही समूहको रगत भएका आफन्तहरूलाई भन्यौं । प्राय: सबैको सुझाव हुन्थ्यो, श्रीमानले दिए हुँदैन र ? श्रीमान ‘ए पोजेटिभ’ समूहका परे । एउटै समूह भएको भए सायद उनले दिइहाल्थे होला । नदिन पनि सक्थे, दिन्थे होला भन्ने मेरो विश्वासमात्र पनि हुन सक्छ । जे होस्, श्रीमानको ग्रुप नमिल्ने भएपछि हामीले नातागोतामा भन्न मिल्नेजति सबैलाई भनिहेर्‍यौं । आफ्नो अंग झिकेर मेरो जीवन बचाउन कसैलाई हिम्मत आएन वा मलाई महत्त्वपूर्ण मान्छे ठानेनन् । प्राय: सबैले भन्थे, ‘म त दिन्थेँ, तर... ।’ सबैले आ–आफ्नै बाध्यता सुनाउँथे । उनीहरूको आँखाबाट हेर्दा सायद यही सही थियो । मृगौला त कसैले दिएनन्, तर सुझावचाहिँ सबैले दिए । फलानोले त किनेर हाल्यो रे, तिमीहरूले किन नगरेको ?


फलानो ठाउँमा पाउँछ रे । यति पैसाको जोहो पनि किन नगरेको ? प्राय: भेट्नेहरू सबैको यस्तै कुरा हुन्थ्यो ।


यता अंगदाता भेटिएका थिएनन् उता मृगौलाको अवस्था भने दिनदिनै नाजुक हुँदै थियो । हरेक महिना विशेष जाँच हुन्थ्यो । खर्चले मनमा गाँठो पार्थ्यो, रिपोर्टहरूले मृत्युले ढोका ढकढकाउन खोजेको चित्र कोर्थे । तैपनि पनि सारा कुरा दाउमा लगाएर जीवन बचाउन हाम्रो खोजी जारी थियो ।


यसै क्रममा २०७४ सालमा डायलसिस सुरु भयो । अस्पतालमै भर्ना हुनुपरेको थियो, एक हप्तासम्म । सोही समयमा सफदरजंग अस्पतालमा एकजना नेपाली सुरक्षा गार्ड भेटिए । उनले भारू १ लाख रुपियाँ पाए मृगौला मिलाइदिन्छु भने । कुरा पत्याउने अवस्था थिएन । उनले फेरि प्रस्ताव राखे, ‘ब्रेनडेथ भएर आउने बिरामीको किड्नी मिलाइदिन्छु । ५ लाख रुपियाँ भारु दिनुपर्छ ।’ छुटकारा पाउनु थियो, हामीले उसलाई पछि सम्पर्क गर्ने भन्दै नम्बर दियौं । यति कुरा गरेबापत पनि उनले चियापानी खर्च भनेर ५ सय रुपैयाँ मागे । सिसी क्यामेरालाई छल्दै हामीले दिएको पचास रुपियाँ लिएर उनी हिँडे । हामी त्यो बेला लगभग ७ महिना दिल्ली बस्यौं । यस बीचमा एकपटक पनि उनले हामीलाई सम्पर्क गरेनन् । अस्पतालमा गएको बेला हामी उनलाई देख्थ्यौं । उनी हामीलाई देखेर लुक्न खोज्थे । पचास रूपैयाँमा झुठो आश्वासन बाँड्नेसँग सायद योभन्दा अरू बच्ने उपाय थिएन ।


२०७४ सालको कुरा । मेरो एकजना नाता पर्ने दाइ एकपटक मलाई भेट्न आए । ४०/४५ वर्षकै उमेरमा गृहस्थी जीवन त्यागेर संन्यासी बनेका थिए उनी । ती दाइले निकै भावुक हुँदै मेरो मृगौला मिल्छ भने दिन्छु भन्ने प्रस्ताव ल्याए । यो कुराले हामीलाई बालुवाको सहरमा पानी भेटिए जस्तै भयो । हामी दुबैले दाइलाई भेट्यौं । रगत जाँच गरियो । खुसीको कुरा दाइको पनि रगत समूह एकै रहेछ । संन्यासी दाइले बहिनीको जीवन बचाउन अंगदान गर्ने वाचा गरे । ‘मन्दिर निर्माणको जिम्मेवारी पूरा गर्न बाँकी छ, काम सकेपछि दिउँला है,’ उनले भने । २०७५ सालको बैसाखमा दाइलाई भेट्न हामी उनले बनाउँदै गरेको मन्दिरमा गयौं । मन्दिरको काम अन्तिम चरणमा थियो । ‘मेरा गुरुले किड्नी पनि ठिक गर्नसक्ने जडिबुटी चिनेका छन् । अहिले त्यो पनि खान सुरु गर्नु,’ उनले नयाँ प्रस्ताव ल्याए । मन्दिरको काम सकिनु अघि एकपटक त्यो जडिबुटी खाएर हेर्नु भन्ने उनको कुराले हामी दोधारमा पर्‍यौं । एकपटक जडिबुटी पनि खाने कुरा भारतको सफदरजंग अस्पतालको डाक्टरलाई सुनाउँदा त्यस्तो खाने भए यहाँ नआउनु भनेर हप्काएका थिए । किड्नी दिन्छु भनेको दाइको कुरा सिधै नकार्न पनि मलाई असजिलो भयो । ‘बैनीको नराम्रो सोचेको त छुइन, मेरो कुरामा अलि त विश्वास गर्नुपर्‍यो,’ दाइले जिद्दी गरे ।


दाइको वचन तोड्न नसकेर त्यो जडिबुटी एक महिना खाएँ । सुरुको चार दिन त एकदमै पिसाब लाग्ने भयो । किड्नीले काम पो गर्‍यो कि जस्तो पनि लाग्यो । तर विडम्बना, त्यो जडिबुटीले त उल्टै श्वास फेर्नमा समस्या निम्त्यायो । जडिबुटी दिनेले डायलसिस पनि बन्द गरिदिए हुन्छ भनेको थियो । तैपनि धन्न डायलसिसलाई निरन्तरता दिएकोले थप समस्या भएन । जडिबुटीले काम नगरेको कुरा दाइलाई पनि सुनाएँ । उनले वास्ता नगरेको जस्तो लाग्यो । दाइको उपाय अर्थहीन भयो, उनी त्यसपछि सम्पर्कविहीन भए । त्रिशूल बाबाको नाममा चिनिने उनी आश्रमबाटै गाँजाको धुवाँजस्तै एकाएक हराए ।


कानुनले मान्यता दिएका सबै अंगदातालाई अनुरोध गर्न भने हामीले छोडेनौं । त्यति मात्र नभई हामीलाई सुझाव दिनेहरूले भनेको कुरा गर्न पनि कोसिस गर्‍यौं । मान्छे भेट्नेदेखि लिएर इन्टरनेटमा सर्च गर्नेसम्म । सारा उपायका ढोका चहार्दा पनि समाधान कतै भेटिएन, सपनाहरूसित मात्र जम्काभेट भयो ।


मृगौलाको खोजीका क्रममा श्रीमानको जम्काभेट एकपटक दलालसँग भएछ । उनको कुनै टाढाको साथीले त्यही दलालमार्फत प्रत्यारोपण गरेका रहेछन् । निकै फिल्मी शैलीमा भएको सो भेटबारे उनले मलाई बताउँदा म अचम्म परेको थिएँ । केही पटक जेल पनि परिसकेको दलालले चाहेको बेलामा मात्र फोन सम्पर्क हुन्थ्यो । त्यो पनि फरक–फरक सार्वजनिक ल्यान्ड लाइन नम्बरहरूबाट ।


हामीसँग पैसा नभएको थाहा पाएपछि उसले फोन गर्न छाड्यो ।

यस्तै नयाँ मान्छे, नयाँ कुरा, नयाँ उपाय थाहा पाउने बित्तिकै श्रीमान मलाई सुनाउँछन् । मसँग प्रेम विवाह गरेका श्रीमानले खुसीको कुरा ल्याउँदा उही प्रेम प्रस्ताव ल्याएको झैं लाग्छ । अमेरिकाले मृगौलाको काम गर्ने चिप्स बनायो रे । डायलसिसमा पनि २३ वर्षसम्म बाँचेरे । अब ढुक्क होउ, प्रत्यारोपण हुने सम्भावना छ । यी कुराहरू उनले मेरो आत्मबल बढाउन अपनाएका उपायहरू हुन् भन्ने मलाई स्पष्ट थाहा छ । साथै यो पनि थाहा छ कि यी सबै कुरा सम्भव छैनन् । किनभने त्यसलाई पूरा गर्ने हामीसँग आर्थिक आधार छैन । फेरि पनि बाँच्ने रहर त हो, उनको कुरा पत्याउन मन लाग्छ । केही क्षणको सपना नै सही, पत्याउँछु, अनि मुख मिठ्याउँछु पनि ।


अस्पतालहरू धाइरहनुपर्ने । काठमाडौं, नेपालगन्ज, विराटनगर मात्र नभई भारतको बरेली, दिल्ली, लखनऊ, कलकत्ता, हरियाणा र पंजाव लगायतका अस्पतालसँग जोडिएका मानिस र मृगौलाका बिरामी सम्पर्कमा छन् । उनीहरू उपचारको कुरा गर्छन्, प्रत्यारोपणको विकल्प सुनाउँछन् । कसैले प्रत्यारोपणको बाटो देखाउँछन् । तर सवै कुराको पछाडि ठूलो पैसा जोडिएर आउँछ । मृगौलाको समस्या निको हुने सपनाहरू मलाई फूलमा बसेको रंगीन पुतलीजस्तै लाग्छ, समाउन खोज्यो, फुर्र उडेर जान्छ ।


पुरुषलाई मृगौलाको समस्या भयो भने श्रीमती, आमा, बुबा वा परिवारका कुनै न कुनै सदस्य अंगदान गर्न अघि सर्छन् । महिलाको मृगौलामा समस्या भयो भनेचाहिँ अंगदाता पाउनै सकस । नेपालमा अहिलेसम्म १५ सय जनाको प्रत्यारोपण भइसकेको समाचार केही दिन पहिले पढेकी थिएँ । मलाई लाग्छ, तीमध्ये अधिकांश दाता महिला नै होलान् र लिनेचाहिँ पुरुष । साँच्चै प्रधानमन्त्रीज्यूको पनि त पहिलो प्रत्यारोपणको दाता महिला नै हुनुहुन्थ्यो । र अहिले दोस्रो पटकको लागि पनि दुईजना महिला दाताकै परीक्षण हुँदैछ भन्ने सुन्नमा आएको छ ।


प्रधानमन्त्री नै किन न होस्, मृगौला बिरामीको प्रत्यारोपण भन्ने सुन्दामात्रै पनि आनन्द लाग्छ । प्रत्यारोपण होस्, उनीहरूलाई आराम मिलोस् । कमसेकम माथि मैले भोगेका सकस त उनीहरूले फेरि भोग्न पर्दैन । मेरो जस्तो, परिवारले पसिना बगाएर कमाएको सबै पैसा बालुवामा हालेको पानीजस्तै गरी त बिलाउँदैन । के गर्नु देशमा सजिलो छैन, सरकारले नि:शुल्क भनेको डायलसिस सहज नभएपछि पालो नपाएर मृत्यु अंगाल्ने पालो आएकाहरू मैले नजिकबाट देखेकी छु । घाम अस्ताउन मात्र आउने, सुदूर पश्चिम कञ्चनपुर दूरदराजको दलित परिवारकी म— भएको रित्तिँदै गएपछि मृत्युसँग पनि डर हट्दै जाँदो रहेछ ।


कहिलेकाहीं सोच्छु, धेरै पैसा, ठूलो पद अनि म पुरुष भइदिएको भए मेरो पनि अहिलेसम्म प्रत्यारोपण भइसक्थ्यो कि ? फेरि सोच्छु, दु:खी केलाई हुनु ? जति बाँचिन्छ, खुसी भएरै बाँच्छु । यतिबेला दिल्लीमा भेट भएका अटोरिक्सावाला दाइको कुरा सम्झिन्छु ‘बेहेन, ये तो अमिरों को होने वाली बिमारी है ।’ म प्रार्थना गर्छु, अमिर (धनी) लाई फनि यस्तो रोगले नछोओस् ।

soniyagaud@gmail.com प्रकाशित : मंसिर २१, २०७६ ०८:५८

प्रतिक्रिया
पठाउनुहोस्

हा भोला हा

विमल निभा

इमलीको गाछीतल एउटा धमिलो धब्बा जस्तो देखा पर्‍यो । र, क्रमश: अस्पष्टबाट स्पष्टतर हुँदै गयो । वास्तवमा एउटा साँढे झ्याम्म गाछीको छायामा आफ्नो थकान मेटाउन आराम गरिरहेको थियो ।

यो भारीभरकम साँढे कहिलेकाहीँ मात्र यहाँ देखा पर्थ्यो । आज ऊ आफ्नो शरीर जमिनमा पसारेर सुस्ताइरहेको थियो । केही मसिना पखेटादार किराहरू उसको लत्रिएको बाक्लो छालामा भुनभुन गरिरहेका थिए । तिनीहरूलाई धपाउन एउटा अन्तरालमा साँढे आफ्नो झ्वाप्प रौं भएको पुच्छर चलाउँथ्यो, प्याट्ट ।

स्थानीय बहुउद्देश्यीय माध्यमिक विद्यालयको खाजा खाने बेला भएकाले विद्यार्थीहरूको हुल हुरुरु बाहिर निस्कियो । थरी–थरीका खोमचावाल लहरै पसल सजाएर बसेका थिए । अलौंवाला मिताको स्वादिलो पानी पुच्की खाने ठाउँमा केटाकेटीहरूका सानोतिनो घुँइचो थियो । लामो डन्डामा कच्ची मिठाई बेरेर, त्यसबाट हुक्का, हवाइजहाज, पंखा, लालटेन, छाता, माछा आकारका गुलियो खेलौना बनाएर बेच्ने बूढो आज उपस्थित थिएन ।

एकाध उरन्ठेउला केटा बाइस्कोप जस्तो थोत्रो टिनको डब्बामा दुवै आँखा घुसारेर स्थानीय छायाचित्र हेरिरहेका थिए । (किसिम–किसिमका रंगीचंगी फोटाहरू देखाउने सिनेमाको एकखाले पूर्वज) ।

केही समयपछि विद्यार्थीहरूका ध्यान इमलीको गाछीतल आरामले पल्टिएको साँढेतिर गयो । एक छिनपछि त्यो चलमलायो । र, चारखुट्टा टेकेर त्यहीं उभियो साँढे । उसको कालो जिउमा चराहरूले विस्ट्याएकाले ससाना टाटाहरू बनेका थिए । (थोरै घाममा देखियो) ।

पुरै नगर नभइसकेको बस्तीमा छाडा साँढेहरू देखा परिरहन्थे । यस्ता कसबाई साँढेहरू टोल–टोलमा निस्फिक्री आवारागर्दी गर्दै मजाले डुल्ने गर्थे । र, एक दिन अकस्मात अज्ञात पाराले हराउँथे । तर यो निक्खुर कालो साँढेको किस्सा बेग्लै थियो । अर्थात् ‘कलुवा’ को स्थानीय कहानी । पहिले साँढेलाई यही कालो रंगले गर्दा सबै ‘कतुवा’ भनेर बोलाउँथे । तर पछि कलुवा साँढे ‘भोला’ कहलाउन थालियो । भोला प्राय: अलखियामठ पछाडिको चउरमा डेरा जमाएर बस्ने गर्थ्यो । र, एक दिन मठमा आएको कुनै फिरन्ता जोगीद्वारा यसको नाम राखियो– भोला । जे होस् अन्य साँढेहरू जस्तै भोला कहिले बस्तीबाट एक्कासि हराएन । बरु यहाँका कच्ची सडक र अँध्यारा गल्लीहरूमा बराबर देखा परिरह्यो भोला । अर्थात् उमेरले लगभग बूढो भइसकेको साँढे भोला ।

‘धेरै दिनपछि भोला देखियो ।’
एउटा केटाले इमलीको गाछीतिर देखाएर भन्यो ।

‘आजकाल भोला नुनगोदाम छेउको ढिस्कोमा बसिरहन्छ ।’ अर्को केटाले लगत्तै भन्यो, ‘म सधैँ देख्छु उसलाई ।’
‘केही दिनदेखि भोला त्यहाँ पनि बस्न छाडेको छ ।’ तेस्रो केटाले कुरा काट्यो, ‘भोला अलखियामठतिर नै बस्ने गर्छ ।
‘त्यहाँ बिहान–बेलुकी खान पाउँछ ।’

पहिलो केटाले भन्यो, ‘भोलाको मुख्य ठाउँ पनि त्यही हो नि !’
टिफिन टाइम सकिएको घण्टी टिनिनी बजेपछि विद्यार्थीहरू दगुर्दै आआफ्ना कक्षामा पसे । त्यसपछि खोमचावालहरू पनि घुम्ती दोकानलाई काँधमा बोकेर अन्तै लागे । एकाएक होहल्ला भइरहेको स्थान विलकुलै सुनसान बन्यो । अनि भोला पनि आफ्नो वृद्ध शरीर घिसारेर इमलीको गाछीबाट बिस्तारै अगाडि बढ्यो ।

केही दिनपछि भोला फेरि इमलीको गाछीनेर देखा पर्‍यो । उसको ठूलो ज्यानको ठाउँ–ठाउँबाट भुलभुल रगत निस्किरहेको थियो । भोला निकै घाइते देखिन्थ्यो । असलमा कुरो के भने एउटा खैरो रंगको कुनै परचक्री साँढेले लखेट्दै उसलाई यहाँसम्म ल्याइपुर्‍याएको थियो । र, अर्धमृत अवस्थामा पुगिसकेको रगताम्य भोला इमलीको गाछीतल लडेको थियो, डङ्ग्रङ्ग । अशक्त एवं निरुपाय बूढो भोलातिर हेरेर तरुनो साँढे फुँ फुँ फुत्कार गर्दै उग्र ढंगले ललकारी रहेको थियो ।

यस बखतसम्म विद्यालयको नियमित छुट्टी भइसकेको थिएन । तै पनि स्कुल खाली गरेर हेडमास्टर, मास्टर, अफिसक्लर्क, पियन आदि इमलीको गाछीनेर एकत्रित भइसकेका थिए । अब कुनै बखत पनि साँढे भिडन्तको अर्को राउन्ड आरम्भ हुन सक्थ्यो । एक्कासि बूढो साँढे भोला शरीर तन्काउँदै खडा भयो । र, तरुनो साँढेमाथि आफ्नो तीखो सिङले हिर्कायो । यो अप्रत्याशित आक्रमणले त्यो साँढे केही पछि हट्यो । तैपनि भोलाको प्रहार रोकिएन । उसको हमलाको निरन्तरता जारी नै रह्यो । अब भने तरुनो साँढेको केही लागेन । ऊ आफ्नो पुच्छर समेटेर भाग्न थाल्यो । बूढो साँढे भोला सीमापारिबाट आएको खैरो साँढेलाई बेस्सरी लखेटिरहेको थियो । र, स्कुलका ससाना केटाकेटीहरू ‘हा भोला हा’ भन्दै ताली पिटेर पछि–पछि दगुरिरहेका थिए ।

केहीबेरमै घाइते भोलाले त्यो खैरो रंगको ढमरढुस्स साँढेलाई बेस्सरी लखेट्दा–लखेट्दै बिर्ता, छपकैया, हजारीमल बगैंचा, भन्सार अड्डा हुँदै सीमापारिसम्म पुर्‍यायो ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×