कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हा भोला हा

विमल निभा

इमलीको गाछीतल एउटा धमिलो धब्बा जस्तो देखा पर्‍यो । र, क्रमश: अस्पष्टबाट स्पष्टतर हुँदै गयो । वास्तवमा एउटा साँढे झ्याम्म गाछीको छायामा आफ्नो थकान मेटाउन आराम गरिरहेको थियो ।

यो भारीभरकम साँढे कहिलेकाहीँ मात्र यहाँ देखा पर्थ्यो । आज ऊ आफ्नो शरीर जमिनमा पसारेर सुस्ताइरहेको थियो । केही मसिना पखेटादार किराहरू उसको लत्रिएको बाक्लो छालामा भुनभुन गरिरहेका थिए । तिनीहरूलाई धपाउन एउटा अन्तरालमा साँढे आफ्नो झ्वाप्प रौं भएको पुच्छर चलाउँथ्यो, प्याट्ट ।


स्थानीय बहुउद्देश्यीय माध्यमिक विद्यालयको खाजा खाने बेला भएकाले विद्यार्थीहरूको हुल हुरुरु बाहिर निस्कियो । थरी–थरीका खोमचावाल लहरै पसल सजाएर बसेका थिए । अलौंवाला मिताको स्वादिलो पानी पुच्की खाने ठाउँमा केटाकेटीहरूका सानोतिनो घुँइचो थियो । लामो डन्डामा कच्ची मिठाई बेरेर, त्यसबाट हुक्का, हवाइजहाज, पंखा, लालटेन, छाता, माछा आकारका गुलियो खेलौना बनाएर बेच्ने बूढो आज उपस्थित थिएन ।


एकाध उरन्ठेउला केटा बाइस्कोप जस्तो थोत्रो टिनको डब्बामा दुवै आँखा घुसारेर स्थानीय छायाचित्र हेरिरहेका थिए । (किसिम–किसिमका रंगीचंगी फोटाहरू देखाउने सिनेमाको एकखाले पूर्वज) ।


केही समयपछि विद्यार्थीहरूका ध्यान इमलीको गाछीतल आरामले पल्टिएको साँढेतिर गयो । एक छिनपछि त्यो चलमलायो । र, चारखुट्टा टेकेर त्यहीं उभियो साँढे । उसको कालो जिउमा चराहरूले विस्ट्याएकाले ससाना टाटाहरू बनेका थिए । (थोरै घाममा देखियो) ।


पुरै नगर नभइसकेको बस्तीमा छाडा साँढेहरू देखा परिरहन्थे । यस्ता कसबाई साँढेहरू टोल–टोलमा निस्फिक्री आवारागर्दी गर्दै मजाले डुल्ने गर्थे । र, एक दिन अकस्मात अज्ञात पाराले हराउँथे । तर यो निक्खुर कालो साँढेको किस्सा बेग्लै थियो । अर्थात् ‘कलुवा’ को स्थानीय कहानी । पहिले साँढेलाई यही कालो रंगले गर्दा सबै ‘कतुवा’ भनेर बोलाउँथे । तर पछि कलुवा साँढे ‘भोला’ कहलाउन थालियो । भोला प्राय: अलखियामठ पछाडिको चउरमा डेरा जमाएर बस्ने गर्थ्यो । र, एक दिन मठमा आएको कुनै फिरन्ता जोगीद्वारा यसको नाम राखियो– भोला । जे होस् अन्य साँढेहरू जस्तै भोला कहिले बस्तीबाट एक्कासि हराएन । बरु यहाँका कच्ची सडक र अँध्यारा गल्लीहरूमा बराबर देखा परिरह्यो भोला । अर्थात् उमेरले लगभग बूढो भइसकेको साँढे भोला ।


‘धेरै दिनपछि भोला देखियो ।’

एउटा केटाले इमलीको गाछीतिर देखाएर भन्यो ।


‘आजकाल भोला नुनगोदाम छेउको ढिस्कोमा बसिरहन्छ ।’ अर्को केटाले लगत्तै भन्यो, ‘म सधैँ देख्छु उसलाई ।’

‘केही दिनदेखि भोला त्यहाँ पनि बस्न छाडेको छ ।’ तेस्रो केटाले कुरा काट्यो, ‘भोला अलखियामठतिर नै बस्ने गर्छ ।

‘त्यहाँ बिहान–बेलुकी खान पाउँछ ।’


पहिलो केटाले भन्यो, ‘भोलाको मुख्य ठाउँ पनि त्यही हो नि !’

टिफिन टाइम सकिएको घण्टी टिनिनी बजेपछि विद्यार्थीहरू दगुर्दै आआफ्ना कक्षामा पसे । त्यसपछि खोमचावालहरू पनि घुम्ती दोकानलाई काँधमा बोकेर अन्तै लागे । एकाएक होहल्ला भइरहेको स्थान विलकुलै सुनसान बन्यो । अनि भोला पनि आफ्नो वृद्ध शरीर घिसारेर इमलीको गाछीबाट बिस्तारै अगाडि बढ्यो ।


केही दिनपछि भोला फेरि इमलीको गाछीनेर देखा पर्‍यो । उसको ठूलो ज्यानको ठाउँ–ठाउँबाट भुलभुल रगत निस्किरहेको थियो । भोला निकै घाइते देखिन्थ्यो । असलमा कुरो के भने एउटा खैरो रंगको कुनै परचक्री साँढेले लखेट्दै उसलाई यहाँसम्म ल्याइपुर्‍याएको थियो । र, अर्धमृत अवस्थामा पुगिसकेको रगताम्य भोला इमलीको गाछीतल लडेको थियो, डङ्ग्रङ्ग । अशक्त एवं निरुपाय बूढो भोलातिर हेरेर तरुनो साँढे फुँ फुँ फुत्कार गर्दै उग्र ढंगले ललकारी रहेको थियो ।


यस बखतसम्म विद्यालयको नियमित छुट्टी भइसकेको थिएन । तै पनि स्कुल खाली गरेर हेडमास्टर, मास्टर, अफिसक्लर्क, पियन आदि इमलीको गाछीनेर एकत्रित भइसकेका थिए । अब कुनै बखत पनि साँढे भिडन्तको अर्को राउन्ड आरम्भ हुन सक्थ्यो । एक्कासि बूढो साँढे भोला शरीर तन्काउँदै खडा भयो । र, तरुनो साँढेमाथि आफ्नो तीखो सिङले हिर्कायो । यो अप्रत्याशित आक्रमणले त्यो साँढे केही पछि हट्यो । तैपनि भोलाको प्रहार रोकिएन । उसको हमलाको निरन्तरता जारी नै रह्यो । अब भने तरुनो साँढेको केही लागेन । ऊ आफ्नो पुच्छर समेटेर भाग्न थाल्यो । बूढो साँढे भोला सीमापारिबाट आएको खैरो साँढेलाई बेस्सरी लखेटिरहेको थियो । र, स्कुलका ससाना केटाकेटीहरू ‘हा भोला हा’ भन्दै ताली पिटेर पछि–पछि दगुरिरहेका थिए ।


केहीबेरमै घाइते भोलाले त्यो खैरो रंगको ढमरढुस्स साँढेलाई बेस्सरी लखेट्दा–लखेट्दै बिर्ता, छपकैया, हजारीमल बगैंचा, भन्सार अड्डा हुँदै सीमापारिसम्म पुर्‍यायो । प्रकाशित : मंसिर २१, २०७६ ०८:५३

प्रतिक्रिया
पठाउनुहोस्

गुलियो र चिल्लोको गन्थन 

डा. राजेन्द्र कोजु

मिठाइ पसलमा बर्फी, लालमोहन, रसबरी, लड्डु, पेडा, रसमलाइ एकातिर सजिएर बसेका छन् । लाखामरी, निम्की, खजुरी, खुवा अर्कोतिर छन् । बिहानै भएकोले बाफिएको हलुवा, तारेको पुरी, भर्खरै चास्नीबाट निस्केको जेरी पनि तम्तयार भएर बसेका छन् । अलि पर फ्रिजमा कोक, फ्यान्टा, स्प्राइट पनि चिसिएर बसेका छन् । ग्यास चुलोमा चियाको खेप उम्लिँदै, ग्लास–ग्लासमा सरेर टेबलमा पुगेका छन् । 


चास्नीको चिनीले, उत्रिँदै गरेको पुरीबाट तपतप चुहिंँदै गरेको तेल (चिल्लो) लाई हेर्दै भन्यो, ‘तँलाई कति मनपराउँछन् है मान्छेहरू ?’

तेलले गजक्क फुल्दै भन्यो, ‘किन नपराउन् त ? म नभई केही पनि परिकार मिठै हुँदैन । हेर न सेलरोटी मेरै तावामा तैरिनुपर्छ । पुरी त्यस्तै । पकौडा, समोसा, निम्की, मालप्वा सबै मैले नै पकाइदिने हो । पोलेर खाए हुने पापड त मैमा डुबुल्की लाउँछ ।’
चिनीले हलुवातिर हेर्दै भन्यो, ‘त्यो हलुवाचाहिँ घिउमा तयार हुन्छ नि ।’
हलुवामा टल्किँदै बसेको घिउले मुसुमुसु हाँस्दै भन्यो, ‘हामी चिल्लाहरू एउटै ड्याङका हौं ।’
तेलले भन्यो, ‘यसका नि दाइभाइ छन् । बटर, चिज, बोसो के–के जाति हो ।’ तेलले त्यसो भनेको सुनेर
घिउ मख्ख पर्‍यो ।

चिनीले भन्यो, ‘तिमीहरूलाई धेरै खानु हुँदैन भनेर पढ्या थिएँ, हामीलाई पोका पार्ने पत्रिकामा ।’
तेलले भन्यो, ‘हो नि । खानेले पढ्दैनन् । हामीले मात्र पढ्ने त हो नि ।’
घिउले हाँस्दै भन्यो, ‘धेरै खानु हुन्न भनेको, थोरथोरै त हुन्छ रे ।’

चिनी बोल्यो, ‘केको थोरथोरै, बिहान यी यस्तै– हलुवापुरी, जेरी–स्वारी । खानामा मासु, तेल धेरै भएको तरकारी । दिउँसो म:म:, पिज्जा, समोसा मिठाइ । बेलुका जमघट भयो भने तेलमा फ्राइ गरेका के–के हुन् के–के चिकेन फ्राइ, आलु फ्राइ, काउली, भ्यान्टा, मासु, पनिर फ्राइ आदि–इत्यादि । सबै चिल्लै त हुन् नि ।’
तेलले आत्तिँदै भन्यो, ‘हुन्न–हुन्न, यत्तिका धेरै चिल्लो खानु हुन्न त ।’

घिउले विस्तारै चिनीतिर हेर्दै भन्यो, ‘हुन त तँलाई पनि धेरै खान्छन् है ।’
चिनीले खुसी हुँदै भन्यो, ‘हो नि, मेरो त चर्चा गरेरै सकिंँदैन नि । बिहानदेखि रातिसम्म, बच्चादेखि बूढासम्म सबैले मनपराउँछन् ।’
तेलले भन्यो, ‘हलुवा, जेरी, सेल, चिया सबैमा त तैं छस् ।’
चिनीले भन्यो, ‘त्यतिमात्र कहाँ हो र ? ऊ त्यो फ्यान्टा, कोक, स्प्राइट, फ्रुटी, अन्य गुलियो पेयपदार्थ, आइसक्रिममा नभई हुँदैन । केक, पेस्ट्री, रसबरी, लालमोहन, लड्डु, बर्फी सबै प्रकारका मिठाइमा नभई हुँदैन । अझ सोनपापड, लाखामारी, बिस्कुटजस्ता धेरै समय टिकाउन प्याक्ड गरेका खानेकुरामा पनि यथेष्ट हुन्छु ।’
घिउले भन्यो, ‘तँलाई त बोराका बोरै किन्छन् होला है मिठाइ पसलेले त ?’

चिनीले स्वीकार्‍यो, ‘हो यार, ठिक भनिस् । भित्र गोदाममा दुइटा बोरामा छौं ।’
तेलले भन्यो, ‘तेरो भाउ त पहिलेदेखि नै धेरै थियो नि । पहिला–पहिला त मिठो चिया भनेकै चिनी धेरै भएको मानिन्थ्यो । धन्न अहिले अलिक चेतना भए जस्तो छ– चिनी धेरै खानुहुन्न भन्छन् ।’
चिनीले बेलिविस्तार लगाउँदै भन्यो, ‘हो नि । जसरी नुनतेल भान्छामा नभई नहुने भन्थे, त्यसरी नै उत्पादनदेखि हरेक घर–घरमा मेरो उपस्थिति अति आवश्यक हुँदै आयो । खासगरी चियाको लागि । कसैको घरमा परिवारको सदस्य बित्यो भने पनि दु:खको बेला भेटघाट गर्न जाँदा लिएर जाने मुख्य वस्तु पनि चिनी हुनथाल्यो ।’
ध्यान दिएर सुनिरहेको घिउले भन्यो, ‘तेरो उत्पादन घरमै नहुने भएकोले तँलाई फेरि किन्नैपर्ने हुन्छ । तेरो बजार भाउ पनि बेलाबेलामा अकासिन्छ र पो । व्यापारीले नि लुकाउँछन् । हामीलाई त गाउँघरमा अझै घरमै बनाउँछन् । सहरतिर हो, किन्ने ।’

घिउले सोध्यो, ‘अहिले त गाउँमै पनि गाईभैंसी पाल्ने कम भए, पाले पनि दूध नै बेच्छन् । त्यसैले घिउ पनि किन्छन् । तोरी लाउने पनि कम भए । सबैले तेल पनि किन्ने नै भैसके । ‘शुद्ध तोरीको तेल त स्वास्थ्यको लागि पनि लाभदायक छ नि होइन र ?’

तेलले विश्वस्त गर्दै भन्यो, ‘हो नि, अहिलेको वैज्ञानिक आधारमा भन्ने हो भने तोरीको तेल पनि ठिक छ, ठिक्क मात्रामा घिउ पनि ठिक छ ।’
चिनीले अलि रिसाउँदै प्रस्ट्यायो, ‘स्वास्थ्यको लागि हानिकारक त मैमात्र भैराख्या छु नि ।’ मेरो मात्रा धेरै खाए भने मोटाउने सम्भावना एकदम धेरै हुन्छ । मधुमेह हुने सम्भावना पनि बढ्छ । हेर न मधुमेहको नामै मेरो नामबाट राखिदिएको चिनीरोग रे । खानेकुराको नामबाटै रोगको नाम कहिल्यै सुन्या छस् ? घिउरोग, तेलरोग, मासुरोग, अन्डारोग, भातरोग, केरारोग, रक्सीरोग कहिल्यै सुन्या छस् ? कस्तो रिसउठ्दो । मलाई धेरै खाने पनि उनीहरू अनि मेरो बेइज्जत गर्ने पनि उनीहरू नै ।’

तेलले भन्यो, ‘हो नि, मुटुरोग, मस्तिष्कघात, मृगौला खराब, आँखा बिग्रने, स्नायु प्रणालीमा नराम्रो असर पनि मधुमेह हुनेलाई धेरै हुने सम्भावना हुन्छ ।’
घिउले व्यङ्ग कस्यो, ‘के गर्नु ? हलुवा तँ नभई मिठो हुन्न रे, जेरी नि मिठो हुन्न, मिठाइको त कुरै छाडौं । चियामा त जसोतसो चिनी नभएको पनि खान थाल्या छन्, तर चिनी नभा चियासँगै दुइटा जेरी, दुइटा बर्फी खाइदिएपछि चियामा चिनी किन चाहियो र ?’

चिनीले ठूलो स्वरमा भन्यो, ‘मेरो विचारमा मलाई यिनीहरूले प्रयोग नगरेकै राम्रो । मैले दिने शक्ति त धेरै खानेकुराबाट पाइहाल्छ– जस्तै– फलफूल, गहुँ, चामल, मकै, दूध । शक्तिको लागि आवश्यक सुगर (म) अरु खानाबाट प्राप्त हुने भएकोले थप सुगर नखाँदा हुन्छ ।’
घिउले सोध्यो, ‘अनि स्वाद ?’

मुख खुम्च्याउँदै चिनी बोल्यो, ‘बिगारेकै यही स्वादले
त हो नि । स्वाद लिने यो जिब्रोले थाहै पाउँदैन कति खाने भनेर । प्लेटमा होउन्जेल वा ख्वाउनेले दिउन्जेल नाइँ भन्दैन जिब्रो ।’
तेलले भन्यो, ‘जिब्रोलाई नियन्त्रण त मनले गर्नुपर्‍यो नि । स्वादकै लागि ज्यानलाई नै खराब त हुनदिनु भएन नि ।’
घिउले विस्तारै भन्यो, ‘मनै भाँडेर त नचाहिने काम गर्छन् नि यी मान्छेहरू ।’

चिनीले के–के नचाहिने काम होला भन्ने सोच्यो । ‘हुन त खाने बाहेक पिउने, तान्ने पनि कत्ति नचाहिने गर्दा हुन् ? अरु पनि खै के खै के ?’
तेलले झस्कायो, ‘के टोलाएको ?’

‘केही होइन । मलाई धेरै नखाइदिए हुन्छ भनेर सोचेको ।’ चिनीले आफ्नै कुरा अघि सार्दै भन्यो, ‘हाम्रा यत्ति कुरा पढेपछि त पक्कै चिनी खान छाड्लान् नि वा कम गर्लान् नि है ?’
घिउ बोल्यो, ‘आस गरौं । स्वस्थ रहन मनलाई नियन्त्रण गरेर खानपानमा ध्यान दिनेछन् ।’
तेलले अलि झर्केर भन्यो, ‘ध्यान नदिए नराम्रो बेहोर्ने पनि यिनले नै हो क्यार । हाम्रो काम सम्झाउनु हो ।’
चिनीले बिन्ती गर्‍यो, ‘अबदेखि मलाई धेरै नखानुस् है ।’

प्रकाशित : मंसिर २१, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×