निजगढमा विमानस्थल किन ?

राजन पोखरेल

१९९२ जुलाईमा थाई एयरवेज इन्टरनेसनलको एयरबस ३१० र त्यसको दुई महिनाभित्रै पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एयरबस ३०० गरी दुइटा जेट विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा उपत्यका वरपरको डाँडामा ठोक्किई दुर्घटनाग्रस्त भएका थिए । उक्त दुवै दुर्घटनामा विमानमा सवार सबै २८० यात्रुको ज्यान गएको थियो । यी दुई ठूला दुर्घटनाले काठमाडौं उपत्यकाको विकल्पको रूपमा तराईको उपयुक्त स्थानमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने आवश्यकता महसुस भयो ।

ZenTravel

सोही अनुरुप समथर भूभागमा एउटा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त स्थानको पहिचान गर्न नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसेज सेन्टर लिमिटेड (नेपिकोन) लाई जिम्मा दिइयो ।

Meroghar

नेपिकोनले सन् १९९५ मा प्रस्तुत गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले निजगढ क्षेत्रलाई भौगोलिक, प्राविधिक तथा आर्थिक सम्भाव्यताको दृष्टिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सर्वाधिक उपयुक्त रहेको प्रतिवेदन प्रस्तुत गर्‍यो । त्यही अध्ययन प्रतिवेदनको आधारमा नेपिकोनले १९९७ मा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक लागत अनुमान सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन पेस गरेको थियो । त्यसपछि सरकार र दक्षिण कोरियाको ल्यान्डमार्क वर्ल्डवाइड कम्पनीबीच दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने सम्झौता भई कम्पनीले २०१५ भित्र एउटा धावनमार्गयुक्त विमानस्थल निर्माण सम्पन्न गर्नेगरी विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन अप्रिल २०११ मा नेपाल सरकारलाई बुझाएको थियो । अहिले उक्त विमानस्थल निर्माणको लागि वातावरणीय प्रभाव मूल्यांकनसमेत स्वीकृत भइसकेको छ । तर यही बीचमा भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको अवस्थामा अर्को किन बनाउनुपर्‍यो वा निजगढ क्षेत्रमै किन बनाउनुपर्‍यो भन्ने विषय पनि केही सरोकारले उठाएका छन् ।

त्रिभुवन विमानस्थलको सीमा
त्रिभुवन विमानस्थल काठमाडौं उपत्यकामा रहेको र यसको चारैतिर अग्ला–अग्ला डाँडाहरू भएकोले वायुयान उडान अवतरणका लागि यो विश्वका कठिन अन्तर्राष्ट्रिय विमानस्थलहरू मध्येमा गनिन्छ । यहाँ ठूला वायुयान सोझै उडान गर्न नमिल्ने, उत्तरबाट दक्षिणतर्फ एकतर्फी उड्न सहज हुने, यहाँको उडान विधिको जटिलता, विमानस्थलको उचाइ र धावनमार्गको लम्बाइका कारण पूर्ण क्षमतामा ठूला विमान उडान अवतरण गराउन सकिँंदैन । यसबाट हवाइसेवा आर्थिक दृष्टिले मितव्ययी हुन नसक्ने र सोको प्रत्यक्ष असर वायुसेवा कम्पनी तथा हवाइयात्रुलाई पर्छ ।

काठमाडौं उपत्यकाको मौसमी अवस्था तथा कमजोर ‘भिजिबिलिटी’मा उडान अवतरण गर्न सघाउ पुर्‍याउने यान्त्रिक उडान प्रणाली जडान गर्न भू–धरातलीय स्वरुपका कारण सम्भव नरहेकोले खराब मौसमका कारण वायुयान लामो समय आकाशमै फन्को मार्नुपर्ने वा भारतका विमानस्थलहरूमा फिर्ता जानुपर्ने अवस्था छ । त्रिभुवन विमानस्थलमा न त हालको धावनमार्गको लम्बाइ बढाउन सकिने सम्भावना छ, न थप अर्को समानान्तर धावनमार्ग बनाउन मिल्ने स्थान छ । यहाँ वायुयान विसान विस्तार, टर्मिनल भवन विस्तार, वायुयान मर्मत–सम्भार गर्ने कार्यशाला, ह्यांगर, विमानस्थल होटल लगायत पूर्वाधार विकासका लागिसमेत स्थान अभाव छ । यस विमानस्थलको धावनमार्ग उत्तर–दक्षिण रहेकोले वायुयान उडान अवतरण गर्दा प्राय:जसो छड्के हावाको सामना गर्नुपर्छ, जुन वायुयान सञ्चालनका दृष्टिले अनुकूल मानिंँदैन । विमानस्थल राजधानीको घना आवादी क्षेत्रमा रहेकोले यहाँको उडानविधिको कारण ठूला वायुयानले सहरमाथि एक फन्को लगाई उड्नुपर्ने बाध्यताले गर्दा विमानस्थल २४ सै घन्टा सञ्चालनमा ल्याउन राजधानीवासीले रात्रिमा ध्वनि प्रदूषण समस्या व्यहोर्नुपर्ने हुन्छ ।

निर्माणाधीन अन्य अन्तर्राष्ट्रिय विमानस्थल
अहिले भैरहवामा निर्माणाधीन मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भारतीय सीमाको अत्यन्त निकट छ र यहाँ समानान्तर धावनमार्ग निर्माणका लागि स्थान उपलब्ध छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा अवस्थित यो विमानस्थल अत्यन्त सम्भावनायुक्त अन्तर्राष्ट्रिय विमानस्थल हो । तर राजधानी सहर काठमाडौंबाट २६३ किमिको दूरीमा रहेका कारण यो विमानस्थलले काठमाडौंको वैकल्पिक विमानस्थलको रूपमा राजधानीलाई सेवा दिन सक्दैन । जहाँसम्म निर्माणाधीन तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखराको कुरा छ, यो काठमाडौंभन्दा सानो उपत्यकामा रहेको र पोखरा उपत्यकाको भौगोलिक स्वरुपबाट हुने सञ्चालन सीमितताका कारण पनि यो पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल हुन सक्दैन ।

विगत १० वर्षमा यहाँ हवाइयात्रु आवागमन दुई गुणाभन्दा बढी वृद्धि भएको पाइन्छ । सन् २००९–२०१८ सम्मको दस वर्षमा अन्तर्राष्ट्रिय उडानमा वार्षिक हवाइयात्रु वृद्धिदर ९.२ प्रतिशत छ भने आन्तरिक उडानमा यो वृद्धिदर ११.७५ प्रतिशत छ । २०१७ को तुलनामा २०१८ मा हवाइयात्रु संख्या १४ प्रतिशतले बढेको देखिन्छ । २०१८ मा त्रिभुवन विमानस्थलमा करिब ७२ लाख हवाइयात्रु आएका थिए । यस विमानस्थलमा उपलब्ध सीमित भूभागमा थप पूर्वाधार विकास गर्ने हो भने पनि यसको क्षमता बढीमा ९० लाख हवाइयात्रु धान्ने रहेको छ भने हवाइयात्रु वृद्धिदर यही कायम रहेमा २०२१ मा यो संख्या नाघ्ने देखिन्छ ।

पर्यटनको प्रचुर सम्भावना भएको मुलुकमा यहाँको सामाजिक, आर्थिक विकासका लागिसमेत बढ्दो हवाइयात्रु आवागमनबाट फाइदा लिन र बढीभन्दा बढी पर्यटक भित्र्याउन सक्ने पूर्वाधारको विकास गर्न पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको टड्कारो आवश्यकता छ ।

निजगढ उपयुक्त
मध्य तराईमा पर्ने निजगढ क्षेत्र काठमाडौंबाट सबैभन्दा नजिक र काठमाडौं–तराई द्रुतमार्गबाट १ घन्टाको दूरीमा छ । विश्वका अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरू हेर्ने हो भने पनि विमानस्थल र मुख्य सहरको दूरी एक घन्टाको हाराहारीमा रहेको हुँदा राजधानीलाई लक्षित गरी निर्माण हुने यो स्थल उपयुक्त दूरीमा छ । विमानस्थल भारततर्फको दक्षिणी सीमाबाट २७ किमि र पश्चिमतर्फ पर्ने सीमाबाट ४५ किमि रहेकोले हवाई उडानको दृष्टिले १० नटिकल माइलको नियन्त्रित क्षेत्र (कन्ट्रोल जोन) सम्पूर्ण रूपमा नेपाली हवाई क्षेत्रमा पर्ने, वायुयान नेपालको अवरोधरहित स्थानमा नेपालभित्रै होल्डिङ गर्न मिल्ने, विमानले नेपालकै भूभागमा आवश्यक उचाइ लिन सक्ने र विमानलाई नेपालकै भूभागभित्र ओराल्दै अवतरण गराउन मिल्छ ।

साथै अन्तर्राष्ट्रिय उडान आगमनका लागि भारतबाट सहमति जनाइएको जनकपुर प्रवेशबिन्दु हुँदै पूर्वतर्फबाट आउने र भैरहवा प्रवेशबिन्दु हुँदै पश्चिमबाट आउने विमानलाई नेपालकै हवाई क्षेत्रभित्र ओराल्दै अवतरण गराउन मिल्ने हुँदा उडान सञ्चालनका लागि सहज हुन्छ । यो स्थान चुरे डाँडाबाट १५ किमि तथा महाभारत पर्वतबाट ३५ किमिको दूरीमा रहेकोले उडान सञ्चालनका दृष्टिले अवरोधरहित तथा सुरक्षित छ । यहाँ विमानस्थल निर्माणका लागि न्यूनतम भूमि अधिग्रहण गर्नुपर्ने र मानव बस्तीसमेत अत्यन्त पातलो र अधिकांशत: सुकुम्बासी बस्ती रहेकोले निकटस्थ स्थानमा रहेका सार्वजनिक जग्गामा पुनर्वास गराउन सहज छ ।

विमानस्थल निर्माणका लागि जंगलको दक्षिणी सिमानामा रहेको अपेक्षाकृत पातलो जंगलयुक्त करिब दुई हजार हेक्टर सार्वजनिक र निजी जग्गा उपयोग गरिने हुँदा थोरै रुख कटान हुने देखिन्छ । जंगलको सानो अंशमात्र कटान हुने र काटिने रुखको दस गुणा वृक्षरोपण गरी हुर्काउने कानुनी व्यवस्थाका कारण यसबाट वातावरणमा प्रतिकूल प्रभाव हुने देखिंँदैन । विमानस्थल निकटस्थ पर्सा वन्यजन्तु आरक्षबाट २० किमिको दूरीमा छ र यसले उडान अवतरण गर्दा उक्त आरक्षलाई ध्वनि प्रदूषण न्यून गर्ने देखिन्छ । पूर्वतर्फ पसाहा खोला र पश्चिमतर्फ बकाहा खोलाको बीचमा रहेको विमानस्थल क्षेत्रभित्र अन्य कुनै खोलानाला नरहेको र खोला नियन्त्रणसमेत न्यून गर्नुपर्ने स्थिति छ । पूर्वी र पश्चिमी सीमामा अवस्थित यी दुवै खोलाले पूर्व र पश्चिमतर्फबाट हुने वायुयान आवागमनमा विमानस्थलका लागि अवरोधरहित भूभाग उपलब्ध गराएका छन् ।

यस विमानस्थलको प्रस्तावित धावनमार्ग पूर्व–पश्चिम भारतीय सीमाको समानान्तर रहने र दक्षिणी सीमाबाट २७ किमि र पश्चिमतर्फ पर्ने सीमाबाट ४५ किमिको दूरीमा रहेकोले उडान विधिहरू नेपाली हवाई क्षेत्रभित्रै रहनेगरी बनाउन सकिन्छ । यस विमानस्थलको एउटै धावनमार्गले त्रिभुवन विमानस्थलको धावनमार्ग भन्दा तीन गुणा बढी वायुयान सञ्चालन गर्न सक्छ भने भविष्यमा आवश्यक परेमा थप धावनमार्गहरू पनि निर्माण गर्न सकिन्छ । यहाँ वायुयान सञ्चालनका लागि आवश्यक पर्ने ह्यांगर, मर्मत–सम्भार सेवासुविधा लगायतका पूर्वाधार निर्माण गर्न सकिने हुँदा भविष्यमा ट्रान्जिट विमानस्थलको रूपमा विकास हुने सम्भावनासमेत छ ।

द्रुततर सामाजिक, आर्थिक विकासको लागि निजगढ विमानस्थलको महत्त्वबारे उल्लेख गरिरहनु आवश्यक छैन । दशकौंको चर्चा/परिचर्चापछि राज्य अहिले निजगढ क्षेत्रमा एउट पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि दृढ भई अगाडि बढेको छ । विमानस्थल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन र सम्भावित लगानीकर्ता छनोट भई अब निर्माणस्थल उपलब्ध गराउन मात्र बाँकी छ । विमानस्थल निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको यो अवस्थामा राज्यको सर्वाधिक महत्त्वको यस गौरव आयोजनालाई यथाशीघ्र प्रारम्भ गरी सम्पन्न गर्न सम्बद्ध सबै सरोकारवालाहरूको सहयोग आवश्यक छ ।

लेखक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक हुन् ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चीनको ताओ

रमेश के.सी.

ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो । प्रकृति र ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सूक्ष्म बोधको जीवन र समाज चलाउन यसले सिकाउँछ, यही ज्ञान भएको धर्मलाई ताओ भनिन्छ । पश्चिमाहरूले डाओसमेत भन्ने यो चीनको प्रमुख धर्म हो । २५ सय वर्ष अगाडि लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चिङ हो । ८१ भागहरू भएको कवितात्मक यस पुस्तकलाई मैले तीस वर्षदेखि पढिरहेको छु । अत्यन्त सरल लाग्ने तर गहन अर्थ भएको यो पुस्तक वास्तवमा आध्यात्मिक शिक्षाहरू भएको चिनियाँ देवत्वको पुस्तक हो । 


भारत र नेपालमा जति हिन्दुहरूले आफ्नो पवित्र धर्मग्रन्थको रूपमा गीतालाई सम्मान गर्छन्, यति नै चिनियाँहरू यस ग्रन्थको सम्मान गर्छन् । चीनको प्रमुख धर्मग्रन्थको रूपमा यसप्रतिको चासो आज चीन उदयसँगै विश्वभर बढेको छ । चीनको धार्मिक पक्षलाई यसले बुझ्न मद्दत गर्छ । चीनका अन्य धर्म कन्फुसियाली र बौद्ध धर्म हुन् । कन्फुसियाली र ताओ धर्म चीनमा एकअर्काका पूरकजस्तै छन् । कन्फुसियाली धर्मले मान्छेको सम्बन्ध मान्छेसँग निर्धारण गर्छ भने ताओले मान्छेको सम्बन्ध प्रकृतिसँग तय गर्छ । चीनमा कथन नै छ कि प्रत्येक चिनियाँले कन्फुसियाली टोपी, ताओ वस्त्र र बौद्ध चप्पल लगाएको हुन्छ । भारतको ध्यान चीनमा पुगेपछि जेन बौद्ध धर्म बन्यो । स्थानीय परिवेशमा घुलमिल हुँदै यसले असाधारण मौलिक रूप धारण गर्‍यो भने कन्फुसियाली र ताओसँग मिलेर बस्यो ।

ताओले कसरी मानिस र प्रकृति सञ्चालित हुन्छन् बताउँछ र ब्राह्माण्डमा रहेकाहरूको मार्ग तय गर्न सिकाउँछ । यसलाई धारणा र बुद्धिभन्दा आत्मतत्त्वद्वारा बुझ्न सकिन्छ । यसलाई बुझ्नका लागि भाषाको सीमितता छ, शब्दहरूको सीमितता छ । संसारमा रहेका कुरा जन्म लिन्छन् र परिवर्तित हुन्छन् भन्ने पाठ यसले दिन्छ । मानिसले नैसर्गिक नियमलाई पालना गर्दै प्रकृतिलाई अक्षुण्ण राख्नुपर्छ भन्दै प्राचीन जीवनको वकालत गर्छ । प्रत्येक वस्तुको प्राकृतिक स्वभाव हुन्छ ।

ताओ ते चिङको पूर्ण अर्थ के हो भने ताओ भनेको प्रवाह हो, ते त्यही प्रवाहमा बाँचेको जीवन हो, जुन नैतिक र सदाचारले भरिएको हुन्छ । चिङ भनेको सम्मानित ग्रन्थ हो । ६ वा ४ शताब्दीमा एउटा पहाडमा लेखेको यस ग्रन्थका शिक्षाहरूले पछि चिनियाँ समाजमा व्यापक प्रभाव पार्‍यो । लाओ त्सु सन्त घोषित गरिए र पछि उनका अनुयायीहरू देखापरे । चाङ यु, विन वेने र येआङ जीले पछिबाट यस धर्मको विस्तार गरे । यसलाई १९ औं शताब्दीमा जर्मनी इसाई धर्म प्रचारक रिचर्ड बेलहिल्मले जर्मन भाषामा अनुवाद गरेका थिए । जसको पछिबाट अंग्रेजीमा अनुवाद भयो । यो अनुवादलाई प्रामाणिक अनुवाद मानिएको छ । संसारमा बाइबलपछि एकदम धेरै संख्यामा अनुवाद गरिएको यो पुस्तक धर्म र ध्यानका लागिमात्रै होइन कि व्यवस्थापन गुरु, ‘सेल्फ सेल्फ’ र ‘न्युएज’ आध्यात्मिक खोजकर्ताहरूका लागि निर्देशिका नै बनेको छ । सन् ७० को दशकमा हार्वर्डका मनोविज्ञानका प्राध्यापक तिमेथी लेरीले यसलाई एलएसडीको प्रयोगका लागि अनुसन्धान गर्ने प्रमुख गाइड बनाएका थिए । यसर्थ ताओले चिङ विश्व साहित्यको प्रमुख ग्रन्थ हो । यसको प्रभाव चिनियाँ साहित्य, चित्रकला र फेसनमा समेत छ ।

‘सबै कुरा आफ्नो मूलरूपमा आउँछन्, धेरै टाढा जानु भनेको फर्कनु हो’ जस्ता विरोधाभाषी भनाइ बोक्ने यस ग्रन्थका हरफहरू आन्तरिक मनले मात्र बुझ्न सकिने जानकारहरू बताउँछन् । भनिन्छ, ताओको कुनै सुरुवात र अन्त्य छैन । यो निरन्तर प्रवाहमा छ । त्यही प्रभावमा बग्नु नै बुद्धिमतापूर्ण जीवन हो भन्दै यसले मान्छेलाई आत्मासँंग जोड्ने कार्य गर्छ । यसले अहम् केन्द्रित जीवनलाई आविष्कार गर्छ, जसले ‘एक्सन अफ ननएक्सन’को दर्शनलाई प्रोत्साहन गर्छ । ताओमा पानीको रूपकलाई बारम्बार प्रयोग गरिएको छ । जीवनलाई पानीसंँग तुलना गर्दै नदीको प्रवाह विपरीत जानु होइन, संँगै बग्नु प्रवाह हो भनिएको छ । पानी नरम र तरल हुन्छ । तर यसले कठोरतालाई विजय गर्छ । पानीले वनस्पति, जन्तु र मानिस सबैको पालन–पोषण गर्छ ।

प्रकृतिको शक्तिलाई चिन्न र त्यही शक्ति अनुरुप चल्न ताओले सिकाउँछ । धारणा र बुद्धि तत्त्वभन्दा आत्माको संज्ञानमा जोड दिने ताओका शिक्षाहरू हुन्, ‘मान्छेले पृथ्वीको बाटाहरू पछ्याउँछ, स्वर्गका बाटाहरू पछ्याउँछ, स्वर्गले ताओका बाटाहरू पछ्याउँछ, ताओले आफ्नो बाटो पछ्याउँछ’ । दया र करुणाले सधैं जित्छ भन्ने सन्देश बोकेको ताओ ते चिङ आफैलाई जान्ने सरल पुस्तक हो । असक्त नहोऊ, आफूलाई स्वतन्त्र छोड, चेतनाको पवित्रताले देवत्व प्राप्त हुन्छ भन्ने यस ग्रन्थ विनम्र बन्न सिकाउँछ । अद्वैत चेतनाको यो पुस्तकले चिनियाँ धर्मको दुई विपरीत ध्रुव यिङ र याङको सन्तुलित अवस्था नै जीवनको सन्तुष्टि हो भन्ने सन्देश प्रवाह गर्छ । अहिले संसारभरि चीनको समाजलाई बुझ्ने प्रयत्न भइरहेका छन् । नेपालमा पनि राजनीतिक रूपमा चीनको चर्चा चुलिएको छ । विशेष गरेर बेल्ट र रोड अभियान र केरुङ–काठमाडौं रेलमार्गका सन्दर्भमा चर्चा हुने गर्छ । तर चीनका अनेकौं पक्ष छन् ।

लामो लिखित इतिहास बोकेको ताओ धर्म चीनको अमूल्य ग्रन्थमात्र होइन कि मानव जीवनलाई निर्देशन गर्ने गहकिलो पुस्तक हो । लाओत्सु कन्फुसियसका समकालीन थिए । २५ सय वर्ष अगाडिको त्यो युगलाई जर्मन चिन्तक कार्ल यास्पर्सले ‘एक्सियल एज’ भनेका छन्, किनभने त्यो कालखण्डमा ग्रीकमा अरस्तु, प्लेटो, सोक्रेटस, चीनमा कन्फुसियस, लाओत्सु र दक्षिण एसियामा बुद्ध र महावीरहरू जस्ता धर्म र ज्ञानका आविष्कारहरू जन्मिएका थिए । ताओ ते चिङका लेखक लाओत्सुलाई पश्चिमी जगतका कवि होमरजस्तै पौराणिक व्यक्तित्व मानिन्छ । जसका विषयमा अनेको किंवदन्ती रचिएका छन् । ५० करोड जनताले मान्ने यस धर्मग्रन्थमा कविताका रूपमा ५ हजार शब्दमात्र छन् । शासन र शासकका बारेमा पनि ज्ञान दिन यो दर्शन आज पनि उत्तिकै उपयोगी र शिक्षाप्रद छ ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×