चीनको ताओ

रमेश के.सी.

ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो । प्रकृति र ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सूक्ष्म बोधको जीवन र समाज चलाउन यसले सिकाउँछ, यही ज्ञान भएको धर्मलाई ताओ भनिन्छ । पश्चिमाहरूले डाओसमेत भन्ने यो चीनको प्रमुख धर्म हो । २५ सय वर्ष अगाडि लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चिङ हो । ८१ भागहरू भएको कवितात्मक यस पुस्तकलाई मैले तीस वर्षदेखि पढिरहेको छु । अत्यन्त सरल लाग्ने तर गहन अर्थ भएको यो पुस्तक वास्तवमा आध्यात्मिक शिक्षाहरू भएको चिनियाँ देवत्वको पुस्तक हो । 

ZenTravel


भारत र नेपालमा जति हिन्दुहरूले आफ्नो पवित्र धर्मग्रन्थको रूपमा गीतालाई सम्मान गर्छन्, यति नै चिनियाँहरू यस ग्रन्थको सम्मान गर्छन् । चीनको प्रमुख धर्मग्रन्थको रूपमा यसप्रतिको चासो आज चीन उदयसँगै विश्वभर बढेको छ । चीनको धार्मिक पक्षलाई यसले बुझ्न मद्दत गर्छ । चीनका अन्य धर्म कन्फुसियाली र बौद्ध धर्म हुन् । कन्फुसियाली र ताओ धर्म चीनमा एकअर्काका पूरकजस्तै छन् । कन्फुसियाली धर्मले मान्छेको सम्बन्ध मान्छेसँग निर्धारण गर्छ भने ताओले मान्छेको सम्बन्ध प्रकृतिसँग तय गर्छ । चीनमा कथन नै छ कि प्रत्येक चिनियाँले कन्फुसियाली टोपी, ताओ वस्त्र र बौद्ध चप्पल लगाएको हुन्छ । भारतको ध्यान चीनमा पुगेपछि जेन बौद्ध धर्म बन्यो । स्थानीय परिवेशमा घुलमिल हुँदै यसले असाधारण मौलिक रूप धारण गर्‍यो भने कन्फुसियाली र ताओसँग मिलेर बस्यो ।

Meroghar


ताओले कसरी मानिस र प्रकृति सञ्चालित हुन्छन् बताउँछ र ब्राह्माण्डमा रहेकाहरूको मार्ग तय गर्न सिकाउँछ । यसलाई धारणा र बुद्धिभन्दा आत्मतत्त्वद्वारा बुझ्न सकिन्छ । यसलाई बुझ्नका लागि भाषाको सीमितता छ, शब्दहरूको सीमितता छ । संसारमा रहेका कुरा जन्म लिन्छन् र परिवर्तित हुन्छन् भन्ने पाठ यसले दिन्छ । मानिसले नैसर्गिक नियमलाई पालना गर्दै प्रकृतिलाई अक्षुण्ण राख्नुपर्छ भन्दै प्राचीन जीवनको वकालत गर्छ । प्रत्येक वस्तुको प्राकृतिक स्वभाव हुन्छ ।

ताओ ते चिङको पूर्ण अर्थ के हो भने ताओ भनेको प्रवाह हो, ते त्यही प्रवाहमा बाँचेको जीवन हो, जुन नैतिक र सदाचारले भरिएको हुन्छ । चिङ भनेको सम्मानित ग्रन्थ हो । ६ वा ४ शताब्दीमा एउटा पहाडमा लेखेको यस ग्रन्थका शिक्षाहरूले पछि चिनियाँ समाजमा व्यापक प्रभाव पार्‍यो । लाओ त्सु सन्त घोषित गरिए र पछि उनका अनुयायीहरू देखापरे । चाङ यु, विन वेने र येआङ जीले पछिबाट यस धर्मको विस्तार गरे । यसलाई १९ औं शताब्दीमा जर्मनी इसाई धर्म प्रचारक रिचर्ड बेलहिल्मले जर्मन भाषामा अनुवाद गरेका थिए । जसको पछिबाट अंग्रेजीमा अनुवाद भयो । यो अनुवादलाई प्रामाणिक अनुवाद मानिएको छ । संसारमा बाइबलपछि एकदम धेरै संख्यामा अनुवाद गरिएको यो पुस्तक धर्म र ध्यानका लागिमात्रै होइन कि व्यवस्थापन गुरु, ‘सेल्फ सेल्फ’ र ‘न्युएज’ आध्यात्मिक खोजकर्ताहरूका लागि निर्देशिका नै बनेको छ । सन् ७० को दशकमा हार्वर्डका मनोविज्ञानका प्राध्यापक तिमेथी लेरीले यसलाई एलएसडीको प्रयोगका लागि अनुसन्धान गर्ने प्रमुख गाइड बनाएका थिए । यसर्थ ताओले चिङ विश्व साहित्यको प्रमुख ग्रन्थ हो । यसको प्रभाव चिनियाँ साहित्य, चित्रकला र फेसनमा समेत छ ।

‘सबै कुरा आफ्नो मूलरूपमा आउँछन्, धेरै टाढा जानु भनेको फर्कनु हो’ जस्ता विरोधाभाषी भनाइ बोक्ने यस ग्रन्थका हरफहरू आन्तरिक मनले मात्र बुझ्न सकिने जानकारहरू बताउँछन् । भनिन्छ, ताओको कुनै सुरुवात र अन्त्य छैन । यो निरन्तर प्रवाहमा छ । त्यही प्रभावमा बग्नु नै बुद्धिमतापूर्ण जीवन हो भन्दै यसले मान्छेलाई आत्मासँंग जोड्ने कार्य गर्छ । यसले अहम् केन्द्रित जीवनलाई आविष्कार गर्छ, जसले ‘एक्सन अफ ननएक्सन’को दर्शनलाई प्रोत्साहन गर्छ । ताओमा पानीको रूपकलाई बारम्बार प्रयोग गरिएको छ । जीवनलाई पानीसंँग तुलना गर्दै नदीको प्रवाह विपरीत जानु होइन, संँगै बग्नु प्रवाह हो भनिएको छ । पानी नरम र तरल हुन्छ । तर यसले कठोरतालाई विजय गर्छ । पानीले वनस्पति, जन्तु र मानिस सबैको पालन–पोषण गर्छ ।

प्रकृतिको शक्तिलाई चिन्न र त्यही शक्ति अनुरुप चल्न ताओले सिकाउँछ । धारणा र बुद्धि तत्त्वभन्दा आत्माको संज्ञानमा जोड दिने ताओका शिक्षाहरू हुन्, ‘मान्छेले पृथ्वीको बाटाहरू पछ्याउँछ, स्वर्गका बाटाहरू पछ्याउँछ, स्वर्गले ताओका बाटाहरू पछ्याउँछ, ताओले आफ्नो बाटो पछ्याउँछ’ । दया र करुणाले सधैं जित्छ भन्ने सन्देश बोकेको ताओ ते चिङ आफैलाई जान्ने सरल पुस्तक हो । असक्त नहोऊ, आफूलाई स्वतन्त्र छोड, चेतनाको पवित्रताले देवत्व प्राप्त हुन्छ भन्ने यस ग्रन्थ विनम्र बन्न सिकाउँछ । अद्वैत चेतनाको यो पुस्तकले चिनियाँ धर्मको दुई विपरीत ध्रुव यिङ र याङको सन्तुलित अवस्था नै जीवनको सन्तुष्टि हो भन्ने सन्देश प्रवाह गर्छ । अहिले संसारभरि चीनको समाजलाई बुझ्ने प्रयत्न भइरहेका छन् । नेपालमा पनि राजनीतिक रूपमा चीनको चर्चा चुलिएको छ । विशेष गरेर बेल्ट र रोड अभियान र केरुङ–काठमाडौं रेलमार्गका सन्दर्भमा चर्चा हुने गर्छ । तर चीनका अनेकौं पक्ष छन् ।

लामो लिखित इतिहास बोकेको ताओ धर्म चीनको अमूल्य ग्रन्थमात्र होइन कि मानव जीवनलाई निर्देशन गर्ने गहकिलो पुस्तक हो । लाओत्सु कन्फुसियसका समकालीन थिए । २५ सय वर्ष अगाडिको त्यो युगलाई जर्मन चिन्तक कार्ल यास्पर्सले ‘एक्सियल एज’ भनेका छन्, किनभने त्यो कालखण्डमा ग्रीकमा अरस्तु, प्लेटो, सोक्रेटस, चीनमा कन्फुसियस, लाओत्सु र दक्षिण एसियामा बुद्ध र महावीरहरू जस्ता धर्म र ज्ञानका आविष्कारहरू जन्मिएका थिए । ताओ ते चिङका लेखक लाओत्सुलाई पश्चिमी जगतका कवि होमरजस्तै पौराणिक व्यक्तित्व मानिन्छ । जसका विषयमा अनेको किंवदन्ती रचिएका छन् । ५० करोड जनताले मान्ने यस धर्मग्रन्थमा कविताका रूपमा ५ हजार शब्दमात्र छन् । शासन र शासकका बारेमा पनि ज्ञान दिन यो दर्शन आज पनि उत्तिकै उपयोगी र शिक्षाप्रद छ ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेको छ । 

शाखाका केन्द्रीय पार्षद् तथा पूर्व कार्यसमिति सदस्य सन्तोष बराइलीलाई समाचार संकलन क्रममा नेपाल–भारत सीमास्थित जनकपुरधाम–जटही छोटी भन्सारका कर्मचारीले बुधबार दुर्व्यवहार गरेका थिए । सेवाग्राहीसँग अनधिकृत रूपमा पैसा असुली गरिरहेको दृश्य देखेपछि बराइली र नेपाल समाचारपत्र दैनिकका सिरहा संवाददाता शुभेन्दर दासले तस्बिर लिन लाग्दा दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

शाखाका अध्यक्ष शान्तराम बिडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भन्सारका कार्यालय सहयोगी रामबहादुर कापरले सेवाग्राहीसँग घुस लिँदै गरेको फोटो लिँदा भन्सारका इन्चार्ज नायव सुब्बा नवीनकुमार पाण्डे आएर क्यामेरा खोसेको र दुर्व्यवहार गरेको बताइएको छ ।

प्रकाशित : मंसिर २१, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×