कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघुवित्त सुध्रिन जरुरी

डा. प्रकाशकुमार श्रेष्ठ

काठमाडौँ — वित्तीय उदारीकरणको नीति अनुरूप लघुवित्त क्षेत्र खुला गरिएपछि निजी क्षेत्रबाट सबैभन्दा पहिले २०५६ साउनदेखि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सञ्चालनमा आयो । २०७६ असारसम्म त्यस्ता संस्थाको संख्या ९० पुगेको छ, तीमध्ये चार वटाले थोक कर्जा प्रदान गर्ने गर्छन् । यिनको संख्या वृद्धिसँगै शाखा विस्तार पनि उल्लेख्य छ ।

७७ वटै जिल्लामा यिनको उपस्थिति छ । २०७६ असोजसम्म यस्ता शाखाको संख्या ३,७१३ पुगिसकेको छ । २०७६ असारसम्म सदस्य संख्या ४३ लाख ३१ हजार पुगेको छ भने, ऋणी ग्राहक २६ लाख ८१ हजार जना छन् । थोक कर्जा प्रदान गर्ने चार वटा लघुवित्त वित्तीय संस्थाको कारोबारसमेत समावेश गर्दा यिनले २०७६ असार मसान्तसम्म ११ खर्ब ८ अर्ब रुपैयाँ कर्जा वितरण गरेका छन् भने, लगानीमा रहेको ऋण रकम २ खर्ब ३५ अर्ब छ । उक्त ऋण रकमको करिब ३९ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ । साथै ऋणको १४ प्रतिशत अंश धितो कर्जाका रूपमा छ । यसरी अधिकांश कर्जा समूह जमानतमा धितोबिना नै दिइएको छ ।


लघुवित्त क्षेत्रमा निजी क्षेत्रको यस्तो सहभागितालाई सकारात्मक रूपमा लिनुपर्छ । लघुवित्तको उल्लेख्य विस्तारले वित्तीय पहुँच र वित्तीय समावेशिता प्रवर्द्धन गर्न सहयोग पुगेको छ । यसले गरिबी निवारणमा पनि धेरै हदसम्म सहयोग गरेको छ । नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्याको हिस्सा घट्दै जानुमा यस्ता संस्थाको योगदान पनि पक्कै छ ।


उत्साहजनक विस्तारसंँगै लघुवित्तमा केही विकृति देखा परेका छन्, जसलाई सुधार्नुपर्ने खाँचो छ । गरिबी निवारणमा सहयोग पुर्‍याउने गरी सामाजिक व्यवसाय गर्नुपर्ने लघुवित्त क्षेत्रले अत्यधिक नाफामुखी हुन मिल्दैन । गरिबसँंग वित्तीय कारोबार गरेर असामान्य नाफा कमाउन सफल हुने देखेरै धेरै लगानीकर्ता यता आकर्षित भएका हुन् । संस्थाविशेषको दिगोपनाका लागि नाफा आवश्यक भए पनि त्यसको सीमा हुन्छ भन्ने यथार्थ सञ्चालकहरूले बिर्सन हुन्न ।


लघुवित्त वित्तीय संस्थाहरू खास गरी सहरी र अर्धसहरी क्षेत्रमा बढी केन्द्रित छन् । अझै करिब १९५ पालिकामा तिनका शाखा पुग्न सकेका छैनन् ।

क्षेत्रविशेषमा चाहिँ बहुबैंकिङको समस्या छ । एउटा संस्थाको ऋण तिर्न अर्कोबाट ऋण लिने प्रवृत्ति झाँगिएको छ । यसले तत्काललाई खराब कर्जाको अनुपात कम राख्न सहयोग गरे पनि ऋणग्रस्तता बढ्दै जाँदा खराब कर्जाको अनुपात बढ्ने देखिन्छ । कर्जा सूचना लिएर मात्र लघुवित्त संस्थाहरूले लगानी गर्नुपर्छ ।


शाखा र संख्या विस्तारसँंगै लघुवित्त बुझेको जनशक्तिको अभाव हुँदै गएको छ । कर्मचारी फेरबदल भइरहने प्रवृत्ति पनि बढेको छ । फलस्वरूप, कर्मचारी व्यवस्थापन जटिल हुँदै गएको छ । कतिपय संस्था बढी नाफामुखी हुँदा कर्मचारीहरूलाई यथोचित तलब दिन र पर्याप्त कर्मचारी राख्न हिचकिचाउने गरेका छन् । उत्पादनमुखी लगानीभन्दा उपभोगमुखी कर्जाको बढ्दो हिस्सा, ग्राहकहरूको अनुगमन र मूल्यांकनमा कमी–कमजोरी, नियामक निकायका नियमविपरीत विभिन्न शुल्क लिने प्रवृत्ति पनि देखिएको छ । धेरै संस्थामा लघुवित्तको सिद्धान्त, भावना र मर्मको बुझाइ पनि कमै पाइन्छ । धेरैको सोच जसरी पनि नाफा आर्जन गर्ने भन्ने नै छ ।


लघुवित्त संस्थाहरूको संख्या बढेसंँगै प्रतिस्पर्धा उच्च भएको छ । तर नवीनता र कुशलता बढ्न नसक्दा कतिपय नयाँ संस्थालाई कठिनाइ हुने देखिन्छ । विगतमा स्वच्छन्द ढंगले गैरसरकारी संस्थाका रूपमा सञ्चालित रहेका लघुवित्त संस्थाहरूले अहिले कम्पनी ऐनका रूपमा दर्ता हुनुपर्छ । राष्ट्र बैंकको नियमनको दायराभित्र बसेर पारदर्शी ढंगले लघुवित्त संस्था सञ्चालन गर्न केहीलाई गाह्रो भइरहेको बुझ्न अप्ठ्यारो छैन ।

लघुवित्त संस्थाहरूले आफूकहाँ सदस्य हुन आएको विपन्न व्यक्तिलाई ५ वर्षदेखि १० वर्षभित्र गरिबीको दायराबाट माथि उकास्नुपर्ने हो, तर तिनले ग्राहकलाई आफूमै अल्झाइराख्ने रणनीति लिने गरेका छन् । यिनको काम कर्जा प्रवाह र ब्याज असुली मात्र होइन । न्यून आय भएका, त्यसमा पनि महिलाहरूलाई समूह बनाएर साक्षरता, सीप र व्यावसायिक क्षमता प्रदान पनि गर्नुपर्छ । तर, अचेल यो मर्म अनुरूपको काममा कमी आउँदै गएको छ । व्यवस्थापनलाई नाफाको उच्च लक्ष्य दिने प्रवृत्ति बढ्दा जसरी भए पनि ऋण प्रवाह बढाउने र जसरी भए पनि असुलीका उपाय अपनाउने शैली हावी भएको छ । यसले गर्दा समाजमा लघुवित्त वित्तीय संस्थाहरूप्रति नकारात्मक धारणा बढ्दै गएको छ ।


लघुवित्त वित्तीय संस्थाहरूको उल्लेख्य विस्तार भइसकेकाले अब यसको प्रवर्द्धनभन्दा सुदृढीकरणको समय आएको छ । यस क्षेत्रको स्थायित्व र कुशलता अभिवृद्धिका लागि सबै संस्था एकीकृत हुनुपर्ने देखिन्छ । कमजोरी हटाई, कार्यकुशलता बढाएर प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु र लघुवित्तको मर्म अनुरूप सामान्य नाफाको लक्ष्य मात्र लिनु न्यायसंगत हुन्छ । प्रकाशित : मंसिर २०, २०७६ ०८:१६

प्रतिक्रिया
पठाउनुहोस्

पुरुष देहमा त्यस्तो के छ !

निभा शाह

जुन ज्ञान पुरुषले स्त्रीबारे हासिल गरेका छन्, त्यो अधुरो र अपुरो नै हुन्छ । तबसम्म, जन स्टुअर्ट मिलको भनाइमा, ‘जबसम्म स्त्रीले आफ्ना सम्पूर्ण अनुभूतिलाई खुलस्त लोकार्पण गर्दैर्नन् ।’  एक साँझ गाउँ डुलिरहँदा मैले एउटी कुकुर्नीको फाँचो सामान्यभन्दा ठूला देखेपछि नजिकै गएर नियालेंँ ।

फाँचोभरि घाउ रहेछन् । घाउले टन्किएको त्यही फाँचो छाउरा–छाउरीले चुसिरहेका ! यस्तो दर्दनाक दृश्य देखेपछि मैले कुकुर्नीलाई सम्बन्धित मालिक्नी बज्यैको सहयोगमा छाउरा–छाउरीबाट छुटाइदिएँ र बज्यैलाई भनें, ‘ओ बज्यै, तुम्रो त लैनो भैंसो छँदाइ छाउरा–छाउरी छुट्टै राख्या हो ।’ अनि औषधि मगाएर दूधफाँचाभरि लगाइदिँदै गर्दा मलाई त्यो कुकुर्नीको यति माया लाग्यो, सजल आँखाले बज्यैलाई भनें, ‘बज्यै, डाँगा काँ छन् काँ ! यही कुकुर्नीकी आमा हुनुका दुःख !’ ती बज्यैले फ्याट्टै भनिन्, ‘तुलाई क्या लाग्दो छ, बैकिनी (आइमाई) का केटाकेटी क्या पिरिमले पाएका हुन् ?

कात्तिकका डाँगाले लखेटे जसरी पाएका हुन् । यी डाँगा न छाउपडी छोड्छन्, न सुत्केरी छोड्छन् !’ म त बज्यैको अनुहार हेरेकी हेर्‍यै भएँ । आखिर यो पुरुष देह हो नै के ? स्त्री देहबाट जन्मिएको अर्को देह मात्र न हो !

प्रकृतिले सृष्टिधारण, प्रजनन र पालनका लागि स्त्रीलाई पुरुषभन्दा तीन अंगले भिन्न बनाएको छ । ती अंग हुन्— स्तन, गर्भाशय र रजस्वला हुने स्थान । यीबाहेक स्त्री–पुरुष देहबीच देखिने तात्त्विक भिन्नता प्रायः हुँदैन । यो स्वाभाविक र प्राकृतिक पनि हो । किनकि स्त्री–पुरुष देह सालनालले जोडिएको हुन्छ, जसको जोडानबाट जन्मिएको पुरुष स्त्री देहको अर्को देह मात्र हो, जसरी स्त्री पनि स्त्री देहबाट जन्मिएको अर्को देह हो ।

एक स्त्रीले अर्को देह (छोराछोरी) जन्माउने प्रक्रियामा थुप्रै अनुभूति बटुल्दै जान्छे । रजस्वला, गर्भाधान, सालनाल र प्रसव पीडा । अनि मात्र बच्चाले यो धरतीमा पाइला टेक्ने हो । यति धेरै दैहिक अनुभूतिबाट जन्मिएको पुरुष देहले कसरी स्त्री देहलाई बलात्कार गर्न सक्छ ? त्यो पनि त मान्छेको जातै हो !

ती बज्यैको आर्तनादले मेरो मथिंगलमा छाल हान्दै गयो । गम्दै गएँ— हामीमध्ये धेरै वैवाहिक संस्थाका नाममा जन्मिएका बलात्कृत सन्तान त हैनौं ? केही कुजात बिनाअनुमति कसरी अरूको देह छुन सक्छन् ? कसरी बलात्कार गर्न सक्छन् ? कसरी ब्ल्याकमेल गर्न सक्छन् ? कसरी भ्रष्टाचारको अघोषित प्रतिनिधित्व गर्दै सिद्धान्तद्रोह, राष्ट्रद्रोह गरेर जनताका सपनाहरूको हत्या गरिदिन सक्छन् ? बडेमानका तक्मा भिरेर भुइँमान्छेका कुरा गरिरहने, मिडियामा छाइरहने कोही कसरी भुइँमान्छेका मुद्दाहरूलाई कुल्चिँदै बडेमानका तस्कर, भ्रष्टाचारी, बलात्कारी, अपहरणकारीका मुद्दा लड्न सक्छन् ? कसरी स्त्री देहलाई ‘सहजताभित्रको अराजकता’ भन्दै कथित जुडासवादी लाल दर्शन दिन सक्छन्, कथित लाल राजकुमारहरू ? यस्तै कुजातहरूका अनुहार देखेर होला, एक उर्दु शायरले लेखेका छन्— ‘मेरे चेहरे को मेरी तबियत ना समझ/ मैं वही चेहरा दिखाता हूँ जो मैं चाहता हूँ ।’

चेली बुबा तेरो किलो खोजन्ना
तु तेई किला बाँधिजा
कि त चेली तु साईबाज भै उडिजा ।
चेली बुबा तेरो खुडी (पिँजडा) खोजन्ना
तु तेई खुडी थुनिजा
कि त चेली तु साईबाज भै उडिजा ।

अर्थात्, चेली तिम्रा बुबाले तिम्रा लागि किला खोज्नेछन् । कि त तिमी त्यो किलामा बाँधिनू । कि त तिमी प्रेमको बाज (साईबाज) भएर उड्नू । चेली तिम्रा बुबाले तिम्रा लागि पिँजडा खोज्नेछन् । कि त तिमी त्यो पिँजडामा थुनिनू । कि त तिमी प्रेमको बाज भएर उड्नू ।

यो स्त्री किलो प्रथाको गीत हाम्रा पुर्खाहरूले बेबिलोनबाट बोक्दै सिंजा प्रदेशमा ल्याएका हुन् । यद्यपि यो गीत अझै सिंजा प्रदेशतिर गाइन्छ । यो स्त्रीवादी गीत लामो छ, जसमा प्राचीन समाजमा कसरी केही पुरुषले स्त्रीहरूलाई वैवाहिक संस्थामा आबद्ध गराउन किलामा बाँधे भन्ने वर्णन छ ।
यता रामायण हेर्‍यो त्यस्तै ! रामायणमा एकातिर सीतालाई रावणले अपहरण गर्छन्, अर्कातिर रामले सीताको अग्निपरीक्षा भन्दै योनि परीक्षा लिन्छन् । त्यतिले धीत मर्दैन र गर्भिणी सीतालाई वनवास धपाउँछन् ।

उता महाभारतमा एकातिर पाण्डवहरू द्रौपदीलाई जुवामा थाप्छन्, अर्कातिर कौरवहरू द्रौपदीलाई जगल्ट्याउँदै चीरहरण गर्छन् । यता बाइबल (ओल्ड टेस्टामेन्ट) हेर्दा, परमेश्वर हुँ भन्ने ईश्वरले हबालाई ‘तँ श्राप होस्’ भन्छन् । यता आफू बाँच्दै गरेको एक्काइसौं शताब्दीको समाज हेर्‍यो, चौपटै छ । यता हेर्‍यो बलात्कार, उता हेर्‍यो गर्भपात, दहेज हत्या, एसिड हत्या, स्त्री देहको लुछाचुँडी, किनबेच ! पूराका पूरा बजार चलेको छ ! मानौं स्त्री देह गुलाबी मैलो चोलो हो । यो कथित गुलाबी मैलो चोलोलाई दासयुग, सामन्तवाद, पुँजीवादले मात्र मचमची मिचेर, मडमडी माडेर रामधुलाइ गर्दै माडोदेवी बनाएको छैन कि ? यो कथित गुलाबी मैलो चोलोलाई जुडासे लाल हातहरूले पनि मडमडी माडेका छन् ।

जनयुद्धकालमा एक कमरेडले एकान्तमा किताब पढिरहेकी अर्की कमरेडको संवेदनशील अंगलाई मैलो चोलो ठान्दै मडमडी माडेर ‘यो सहजताभित्रको अराजकता हो’ भन्दै हिँडेछन् । पीडित कमरेडले पार्टीभित्र यौन हिंसाको कुरा राखेपछि पीडक कमरेडले त्यही जुडासवादी लाल दर्शन छाँटेछन्, ‘यो त सहजताभित्रको अराजकता हो !’ यद्यपि ती पीडक कमरेड त्यति बेला पार्टी क्रियाकलापमा भाग लिन नपाउने गरी केही महिना सांस्कृतिक कारबाहीमा परे । त्यति पनि हुन्नथ्यो होला, किनकि ती पीडक कमरेड तत्कालीन हेडक्वार्टरका प्यारा थिएÙ पीडित कमरेडका श्रीमान् त्यति बेला शहीद भएकाले दबाब थेग्न नसकी पीडकलाई सामान्य कारबाही गरिएको थियो । साराका सारा कार्यकर्ताको वैचारिक एवं भावनात्मक लगाव पीडित कमरेडप्रति थियो । नत्र विद्रोह हुन सक्ने डरले प्रचण्ड लगायत बडेमानका ‘जी’ हरूले ती पीडक कमरेडलाई कारबाही गरेजस्तो गरेका थिए । कारबाही यस्तो थियो, मानौं अध्ययन बिदा दिएका हुन् । उसै पनि पार्टीभित्र उपल्लाहरूलाई सांस्कृतिक कारबाही हुँदा कार्यकर्ताहरू अध्ययन बिदा नै भन्ने गर्छन् !
पार्टीका उपल्लाहरूले महिला मुक्तिको मुद्दालाई साँचो अर्थमा बोकेका भए, ती कमरेडमाथि भएको यौन हिंसाको पारितोषिकस्वरूप ती पीडकलाई अहिलेसम्म मन्त्रीपिच्छे मन्त्री पदले किन पुरस्कृत गर्थे ! के यो महिला हिंसा गरेबापत ‘पिलिंग’ (पितृसत्ता बोक्ने लिंग, स्त्री होऊन् या पुरुष) हरूद्वारा दिइएको पुरस्कार हैन र ? ‘पिलिंग’ ज्यूहरू, यौन हिंसामा पुरस्कार हुन्छ कि कानुन बमोजिम सजाय ?

हामीले के बिर्सन हुन्न भने, (क) लालपुर्जाले जन्माएको सत्ताभित्र दुई वर्ग छन्— धनी र गरिब । यी दुवै वर्गभित्र यौन हिंसा, उत्पीडन, दमन र बलात्कारका घटनाहरू अक्सर भइरहन्छन् । यद्यपि सर्वाधिक घटना पर्दाभित्रै लुक्छन् । (ख) समाजले विभिन्न जातजाति, धर्म, संस्कृति समेटेको छ । यी सबैभित्र पनि यौन हिंसा, उत्पीडन र बलात्कारका घटना भैरहन्छन् । (ग) राजनीतिक रूपमा देश कम्युनिस्ट, कांग्रेस र अन्य वादमा हिँडेको छ, जहाँ पनि महिला हिंसा र उत्पीडन छ ।

मार्क्सवाद पढ्दै जाँदा सिकिने, बुझिने र देखिने कुरो हो— सत्ताले बलात्कार गर्छÙ यौन हिंसा गर्छ । जेजति दमन, उत्पीडन, कब्जा र स्वामित्वहरू छन्, ती सबै लालपुर्जाधारी सत्ताका कारण छन् । यद्यपि सोभियत सत्ताभित्र महिला हिंसा न्यून भएको हो, निर्मूल होइन । यी सब हुनुको कारण केलाउँदै जाँदा जिज्ञासा उत्पन्न भएको छ— पुरुष देहभित्र त्यस्तो के जिन छ, जसले यौन हिंसा गर्छ ? आफू स्त्री देह भएकाले म पुरुष देहको अनुभूति व्यक्त गर्न सक्दिनँ । कृपया, पुरुष देहधारीहरूले आफ्ना अनुभूति साझा गर्नुहोला !

प्रकाशित : मंसिर २०, २०७६ ०८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×