कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरुष देहमा त्यस्तो के छ !

निभा शाह

जुन ज्ञान पुरुषले स्त्रीबारे हासिल गरेका छन्, त्यो अधुरो र अपुरो नै हुन्छ । तबसम्म, जन स्टुअर्ट मिलको भनाइमा, ‘जबसम्म स्त्रीले आफ्ना सम्पूर्ण अनुभूतिलाई खुलस्त लोकार्पण गर्दैर्नन् ।’  एक साँझ गाउँ डुलिरहँदा मैले एउटी कुकुर्नीको फाँचो सामान्यभन्दा ठूला देखेपछि नजिकै गएर नियालेंँ ।

फाँचोभरि घाउ रहेछन् । घाउले टन्किएको त्यही फाँचो छाउरा–छाउरीले चुसिरहेका ! यस्तो दर्दनाक दृश्य देखेपछि मैले कुकुर्नीलाई सम्बन्धित मालिक्नी बज्यैको सहयोगमा छाउरा–छाउरीबाट छुटाइदिएँ र बज्यैलाई भनें, ‘ओ बज्यै, तुम्रो त लैनो भैंसो छँदाइ छाउरा–छाउरी छुट्टै राख्या हो ।’ अनि औषधि मगाएर दूधफाँचाभरि लगाइदिँदै गर्दा मलाई त्यो कुकुर्नीको यति माया लाग्यो, सजल आँखाले बज्यैलाई भनें, ‘बज्यै, डाँगा काँ छन् काँ ! यही कुकुर्नीकी आमा हुनुका दुःख !’ ती बज्यैले फ्याट्टै भनिन्, ‘तुलाई क्या लाग्दो छ, बैकिनी (आइमाई) का केटाकेटी क्या पिरिमले पाएका हुन् ?


कात्तिकका डाँगाले लखेटे जसरी पाएका हुन् । यी डाँगा न छाउपडी छोड्छन्, न सुत्केरी छोड्छन् !’ म त बज्यैको अनुहार हेरेकी हेर्‍यै भएँ । आखिर यो पुरुष देह हो नै के ? स्त्री देहबाट जन्मिएको अर्को देह मात्र न हो !


प्रकृतिले सृष्टिधारण, प्रजनन र पालनका लागि स्त्रीलाई पुरुषभन्दा तीन अंगले भिन्न बनाएको छ । ती अंग हुन्— स्तन, गर्भाशय र रजस्वला हुने स्थान । यीबाहेक स्त्री–पुरुष देहबीच देखिने तात्त्विक भिन्नता प्रायः हुँदैन । यो स्वाभाविक र प्राकृतिक पनि हो । किनकि स्त्री–पुरुष देह सालनालले जोडिएको हुन्छ, जसको जोडानबाट जन्मिएको पुरुष स्त्री देहको अर्को देह मात्र हो, जसरी स्त्री पनि स्त्री देहबाट जन्मिएको अर्को देह हो ।


एक स्त्रीले अर्को देह (छोराछोरी) जन्माउने प्रक्रियामा थुप्रै अनुभूति बटुल्दै जान्छे । रजस्वला, गर्भाधान, सालनाल र प्रसव पीडा । अनि मात्र बच्चाले यो धरतीमा पाइला टेक्ने हो । यति धेरै दैहिक अनुभूतिबाट जन्मिएको पुरुष देहले कसरी स्त्री देहलाई बलात्कार गर्न सक्छ ? त्यो पनि त मान्छेको जातै हो !


ती बज्यैको आर्तनादले मेरो मथिंगलमा छाल हान्दै गयो । गम्दै गएँ— हामीमध्ये धेरै वैवाहिक संस्थाका नाममा जन्मिएका बलात्कृत सन्तान त हैनौं ? केही कुजात बिनाअनुमति कसरी अरूको देह छुन सक्छन् ? कसरी बलात्कार गर्न सक्छन् ? कसरी ब्ल्याकमेल गर्न सक्छन् ? कसरी भ्रष्टाचारको अघोषित प्रतिनिधित्व गर्दै सिद्धान्तद्रोह, राष्ट्रद्रोह गरेर जनताका सपनाहरूको हत्या गरिदिन सक्छन् ? बडेमानका तक्मा भिरेर भुइँमान्छेका कुरा गरिरहने, मिडियामा छाइरहने कोही कसरी भुइँमान्छेका मुद्दाहरूलाई कुल्चिँदै बडेमानका तस्कर, भ्रष्टाचारी, बलात्कारी, अपहरणकारीका मुद्दा लड्न सक्छन् ? कसरी स्त्री देहलाई ‘सहजताभित्रको अराजकता’ भन्दै कथित जुडासवादी लाल दर्शन दिन सक्छन्, कथित लाल राजकुमारहरू ? यस्तै कुजातहरूका अनुहार देखेर होला, एक उर्दु शायरले लेखेका छन्— ‘मेरे चेहरे को मेरी तबियत ना समझ/ मैं वही चेहरा दिखाता हूँ जो मैं चाहता हूँ ।’


चेली बुबा तेरो किलो खोजन्ना

तु तेई किला बाँधिजा

कि त चेली तु साईबाज भै उडिजा ।

चेली बुबा तेरो खुडी (पिँजडा) खोजन्ना

तु तेई खुडी थुनिजा

कि त चेली तु साईबाज भै उडिजा ।


अर्थात्, चेली तिम्रा बुबाले तिम्रा लागि किला खोज्नेछन् । कि त तिमी त्यो किलामा बाँधिनू । कि त तिमी प्रेमको बाज (साईबाज) भएर उड्नू । चेली तिम्रा बुबाले तिम्रा लागि पिँजडा खोज्नेछन् । कि त तिमी त्यो पिँजडामा थुनिनू । कि त तिमी प्रेमको बाज भएर उड्नू ।


यो स्त्री किलो प्रथाको गीत हाम्रा पुर्खाहरूले बेबिलोनबाट बोक्दै सिंजा प्रदेशमा ल्याएका हुन् । यद्यपि यो गीत अझै सिंजा प्रदेशतिर गाइन्छ । यो स्त्रीवादी गीत लामो छ, जसमा प्राचीन समाजमा कसरी केही पुरुषले स्त्रीहरूलाई वैवाहिक संस्थामा आबद्ध गराउन किलामा बाँधे भन्ने वर्णन छ ।

यता रामायण हेर्‍यो त्यस्तै ! रामायणमा एकातिर सीतालाई रावणले अपहरण गर्छन्, अर्कातिर रामले सीताको अग्निपरीक्षा भन्दै योनि परीक्षा लिन्छन् । त्यतिले धीत मर्दैन र गर्भिणी सीतालाई वनवास धपाउँछन् ।


उता महाभारतमा एकातिर पाण्डवहरू द्रौपदीलाई जुवामा थाप्छन्, अर्कातिर कौरवहरू द्रौपदीलाई जगल्ट्याउँदै चीरहरण गर्छन् । यता बाइबल (ओल्ड टेस्टामेन्ट) हेर्दा, परमेश्वर हुँ भन्ने ईश्वरले हबालाई ‘तँ श्राप होस्’ भन्छन् । यता आफू बाँच्दै गरेको एक्काइसौं शताब्दीको समाज हेर्‍यो, चौपटै छ । यता हेर्‍यो बलात्कार, उता हेर्‍यो गर्भपात, दहेज हत्या, एसिड हत्या, स्त्री देहको लुछाचुँडी, किनबेच ! पूराका पूरा बजार चलेको छ ! मानौं स्त्री देह गुलाबी मैलो चोलो हो । यो कथित गुलाबी मैलो चोलोलाई दासयुग, सामन्तवाद, पुँजीवादले मात्र मचमची मिचेर, मडमडी माडेर रामधुलाइ गर्दै माडोदेवी बनाएको छैन कि ? यो कथित गुलाबी मैलो चोलोलाई जुडासे लाल हातहरूले पनि मडमडी माडेका छन् ।


जनयुद्धकालमा एक कमरेडले एकान्तमा किताब पढिरहेकी अर्की कमरेडको संवेदनशील अंगलाई मैलो चोलो ठान्दै मडमडी माडेर ‘यो सहजताभित्रको अराजकता हो’ भन्दै हिँडेछन् । पीडित कमरेडले पार्टीभित्र यौन हिंसाको कुरा राखेपछि पीडक कमरेडले त्यही जुडासवादी लाल दर्शन छाँटेछन्, ‘यो त सहजताभित्रको अराजकता हो !’ यद्यपि ती पीडक कमरेड त्यति बेला पार्टी क्रियाकलापमा भाग लिन नपाउने गरी केही महिना सांस्कृतिक कारबाहीमा परे । त्यति पनि हुन्नथ्यो होला, किनकि ती पीडक कमरेड तत्कालीन हेडक्वार्टरका प्यारा थिएÙ पीडित कमरेडका श्रीमान् त्यति बेला शहीद भएकाले दबाब थेग्न नसकी पीडकलाई सामान्य कारबाही गरिएको थियो । साराका सारा कार्यकर्ताको वैचारिक एवं भावनात्मक लगाव पीडित कमरेडप्रति थियो । नत्र विद्रोह हुन सक्ने डरले प्रचण्ड लगायत बडेमानका ‘जी’ हरूले ती पीडक कमरेडलाई कारबाही गरेजस्तो गरेका थिए । कारबाही यस्तो थियो, मानौं अध्ययन बिदा दिएका हुन् । उसै पनि पार्टीभित्र उपल्लाहरूलाई सांस्कृतिक कारबाही हुँदा कार्यकर्ताहरू अध्ययन बिदा नै भन्ने गर्छन् !

पार्टीका उपल्लाहरूले महिला मुक्तिको मुद्दालाई साँचो अर्थमा बोकेका भए, ती कमरेडमाथि भएको यौन हिंसाको पारितोषिकस्वरूप ती पीडकलाई अहिलेसम्म मन्त्रीपिच्छे मन्त्री पदले किन पुरस्कृत गर्थे ! के यो महिला हिंसा गरेबापत ‘पिलिंग’ (पितृसत्ता बोक्ने लिंग, स्त्री होऊन् या पुरुष) हरूद्वारा दिइएको पुरस्कार हैन र ? ‘पिलिंग’ ज्यूहरू, यौन हिंसामा पुरस्कार हुन्छ कि कानुन बमोजिम सजाय ?


हामीले के बिर्सन हुन्न भने, (क) लालपुर्जाले जन्माएको सत्ताभित्र दुई वर्ग छन्— धनी र गरिब । यी दुवै वर्गभित्र यौन हिंसा, उत्पीडन, दमन र बलात्कारका घटनाहरू अक्सर भइरहन्छन् । यद्यपि सर्वाधिक घटना पर्दाभित्रै लुक्छन् । (ख) समाजले विभिन्न जातजाति, धर्म, संस्कृति समेटेको छ । यी सबैभित्र पनि यौन हिंसा, उत्पीडन र बलात्कारका घटना भैरहन्छन् । (ग) राजनीतिक रूपमा देश कम्युनिस्ट, कांग्रेस र अन्य वादमा हिँडेको छ, जहाँ पनि महिला हिंसा र उत्पीडन छ ।


मार्क्सवाद पढ्दै जाँदा सिकिने, बुझिने र देखिने कुरो हो— सत्ताले बलात्कार गर्छÙ यौन हिंसा गर्छ । जेजति दमन, उत्पीडन, कब्जा र स्वामित्वहरू छन्, ती सबै लालपुर्जाधारी सत्ताका कारण छन् । यद्यपि सोभियत सत्ताभित्र महिला हिंसा न्यून भएको हो, निर्मूल होइन । यी सब हुनुको कारण केलाउँदै जाँदा जिज्ञासा उत्पन्न भएको छ— पुरुष देहभित्र त्यस्तो के जिन छ, जसले यौन हिंसा गर्छ ? आफू स्त्री देह भएकाले म पुरुष देहको अनुभूति व्यक्त गर्न सक्दिनँ । कृपया, पुरुष देहधारीहरूले आफ्ना अनुभूति साझा गर्नुहोला ! प्रकाशित : मंसिर २०, २०७६ ०८:१२

प्रतिक्रिया
पठाउनुहोस्

के हो डलरवादी ?

हुलाकी
उज्ज्वल प्रसाईं

विशेषणका रूपमा ‘डलरवादी’ शब्दको प्रयोग अधिक हुन थालेको छ । सामाजिक भनिने विद्युतीय सञ्जालमा खोजे यो विशेषण कसले, केका लागि र कसका विरुद्ध प्रयोग गर्छन् भन्ने थाहा हुन्छ । राजनीतिक दलका नेता, बुद्धिजीवी, नेताका वैतनिक एवं अवैतनिक समर्थकदेखि विद्युतीय सञ्जालमा समय कटनी गरेर बस्नेका लागि ‘डलरवादी’ प्रिय शब्द भएको छ ।

खास गरी विदेशी मुद्राको प्रभावमा बोल्ने वा लेख्ने काम गरेको भनेर कसैलाई लाञ्छना लगाउनका लागि यो शब्दको प्रयोग गर्ने चलन छ । समाज विज्ञानमा प्रयोग हुने अन्य धेरै ‘वाद’ को जसरी व्याख्या गरिन्छ, ‘डलरवाद’ को त्यस्तो सैद्धान्तिक व्याख्या भने सुनिएको छैन ।

करिब पाँच वर्षअघि नेपाली छापामा ‘हिमाल साउथ एसिया’ पत्रिका प्रकाशन गर्ने साउथ एसिया ट्रस्ट विवादमा तानियो । तत्कालीन माओवादीले ट्रस्टले नर्वेजियन दूतावासको सहयोगमा पत्रिका प्रकाशन गरेको विषय संसदमा उठायो । विदेशी सहयोगमा सञ्चार माध्यम सञ्चालन गर्न नहुने एवं त्यसो गरेर नेपालमा द्वन्द्व चर्काउने षड्यन्त्र भएको जिकिर माओवादी पक्षको थियो । तिनताक सत्यनिरूपण तथा मेलमिलाप आयोग बनाउने र त्यसमार्फत द्वन्द्वका बाँकी मुद्दा सम्बोधन गर्ने कामबारे छलफल चलिरहेको थियो । अहिलेसम्म नसुल्झिएको सो विषय त्यस बेला झन् बढी पेचिलो थियो । त्यही सिलसिलामा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समेत साउथ एसिया ट्रस्टसम्बद्ध पत्रकार एवं बुद्धिजीवीलाई इंगित गर्दै ‘डलरवादी’ विशेषणको प्रयोग गरेका थिए ।

माओवादी मात्रले उच्चारण गर्दा ‘डलरवादी’ ले व्यापकता पाएको थिएन, तर कांग्रेस नेताले समेत अनपेक्षित रूपमा त्यसैको सिको गर्दै द्वन्द्वका मुद्दालाई धेरै नउछाल्न चेतावनी दिएपछि सो शब्द लोकप्रिय बन्यो । गालीस्वरूप सो शब्दको प्रयोग बढेपछि तिनताक ‘नेपाल’ साप्ताहिकको आफ्नो स्तम्भमा मैले डलरवादको सैद्धान्तिक व्याख्या गर्नुपर्ने आवश्यकता औंल्याएको थिएँ । २०१४ को मेमा प्रकाशित सो लेखको एउटा पंक्ति उद्धृत गर्नु सान्दर्भिक हुन्छ— ‘डलर ल्याएर गरिएका सबै काम खराब छैनन् । सबै मानिस डलरवादमा फसेका पनि छैनन् । त्यसैले पनि डलरवादको सैद्धान्तिक परख गर्नुपर्ने आवश्यकता छ । ताकि ठोस काम गरेर योगदान पुर्‍याएका संस्था, मानिस र दाताहरू डलरवादमा लेश मात्र पनि छैनन् भनेर देखाउन मिलोस् ।’

मार्क्सवादी अर्थशास्त्र जस्ता सैद्धान्तिक विमर्शमा अत्यन्त ठूलो चाख राखेर मोटा किताबसम्म लेखिसकेका बुद्धिजीवीबाट यस्ता सैद्धान्तिक व्याख्याको अपेक्षा गर्न सकिन्थ्यो । सामान्य फरक मतसम्म पचाउन नसक्ने बनिसकेका दलीय बुद्धिजीवीले डलरवाद जस्तो शब्दलाई अत्यन्त हलुका ढंगले प्रयोग गर्ने प्रवृत्ति भने सामान्य बन्यो । नेकपासम्बद्ध अर्थशास्त्री डा. विजय पौडेलले फरक मत राख्नेलाई निषेध गर्ने मनसुबा राखेर ‘डलरवादी महिला’ जस्ता शब्दावलीको प्रयोग गरे । महिला खेलाडी कुनै खेलमा विजयी बनेको विषय समाचार वा फिचर बनाउँदा नेपाली पत्रकारले ती खेलाडीलाई सामान्य खेलाडी नभनी ‘नेपाली चेली’ भनेर चिनाउने गरेकोबारे ट्वीटरमा विमर्श चलिरहेको थियो । सँगैमा पुरुष खेलाडी सफल हुँदा ‘नेपाली ठिटो’ जस्ता शब्दावलीको प्रयोग गरिँदैन, ‘नेपाली खेलाडी’ मात्र भनिन्छ । केहीले गम्भीरतापूर्वक र केहीले हलुका ठट्यौलो बनाएर यी विषयमा धारणा राखिरहेका थिए । ‘चेली’ जस्ता शब्दको प्रयोगमा लैंगिक असमानता एवं पितृसत्तावादको प्रभाव देखिने तर्क गरिएको थियो । सो शब्दको प्रयोगले ‘पेट्रोनाइज’ गरेको अर्थात् कृपाभाव राखेको बुझाइ व्यक्त गर्ने धारणा राख्नेहरूमा लेखक, पत्रकार एवं बुद्धिजीवीहरू थिए । खेलाडीलाई खेलाडी भनेर चिनाउँदा उनीहरूको सम्मान हुने मत जाहेर गरिएको थियो ।

छापामा ‘चेली’ शब्दको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने मत राख्ने महिलाहरूलाई इंगित गर्दै डा. पौडेलले ट्वीटरमै टिप्पणी गरे, ‘कुन दिन यी डलरवादी महिलाहरूले आमा शब्दले महिलाहरूको अपमान गर्‍यो, यसको साटो मम्मी वा मम मात्र भन्नुपर्छ भन्नेछन् । यिनीहरू असल नेपाली संस्कार सिद्ध्याउन लागेका छन् । सावधान, यी नेपाली भेषका विदेशी दलालबाट Û’ शब्दको चयन र प्रयोग सधैं बहसयोग्य विषय हो । आमवृत्तमा लेख्ने र बोल्ने मानिसले प्रयोग गर्ने शब्दबारे विमर्श हुनु स्वागतयोग्य काम हो । हिजो सहजतापूर्वक प्रयोग गरिने खास शब्दबाट एउटा ठूलो समुदायले आफू हेपिएको महसुस भएको बताएपछि, आज सम्मानपूर्वक ‘मधेसी’ भन्न थालिएको छ । बहसको यस्ता पक्षलाई पूर्णतया अनदेखा गरेर विमर्शमा सहभागी भएका सबैलाई एकमुस्ट गाली गर्न उद्यत हुने डा. पौडेलको ट्वीटमार्फत उनकै असंवेदनशीलता छताछुल्ल भएको छ । उनले सार्वजनिक विमर्शको कस्तो चरित्रलाई संवर्द्धन गर्न खोजेका छन् भन्ने पनि उजागर भएको छ ।

अर्को प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । पौडेलले बुझेको डलरवाद के हो ? एउटा ट्वीटमा सबै आशय नखुले पनि सामान्य अन्दाज गर्न सकिन्छ । विदेशी सहयोग पाउने संघ–संस्थामा जागिर खाने वा त्यस्ता सहयोगका आडमा आफ्नै नेतृत्वमा कुनै संस्था चलाउने मानिसहरू डलरवादी हुने उनको आशय हो । त्यस्ता संस्थामा काम गर्ने मान्छेले नेपालका मौलिक भाषा, संस्कृति एवं रीतिरिवाजको सम्मान गर्दैनन् भनेर बुझेका छन् उनले । उनका अनुसार, त्यस्ता मान्छे मौलिक संस्कृति र भाषाको साटो विदेशी भाषा–संस्कृतिको संवर्द्धनमा काम गर्छन् । उनको बुझाइमा, त्यसो गरेबापत पनि उनीहरूले ‘डलर’ नै कमाउँछन् ।

पौडेलले आरोप लगाएकामध्ये एक लेखक आन्विका गिरी पनि हुन् । के पौडेलजस्ता विद्वान्ले आन्विकाहरूलाई पढेका छन् ? काफी सन्देह गर्ने ठाउँ रह्यो । नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा स्थापित नाम हो— आन्विका । उनको ‘कम्युनिष्ट’ शीर्षक कथासंग्रहमा समेटिएका सिर्जना पढेको जोकसैले भन्न सक्छ, आन्विका नेपाली भाषा र साहित्यलाई सम्मान गर्दै सो भाषाको विस्तार एवं विकासमा दत्तचित्त भएर लागिपरेकी स्रष्टा हुन् । सामाजिक एवं राजनीतिक रूपमा सचेत भएर साहित्य साधना गर्ने आन्विकाको ‘मान्छेको रंग’ उपन्यास पढ्दा सशस्त्र द्वन्द्वको चपेटामा परेका युवा र सामान्य मानिसप्रति उनी कति संवेदनशील छन् भन्ने सहजै बुझिन्छ । त्यति मात्रै होइन, पछिल्लो समय उनले बालबालिकाका लागि नेपाली भाषामा साहित्य लेखेकी छन् । हाम्रा सन्तानलाई नेपाली भाषामार्फत जीवन र समाज चिनाउन, भाषाको महिमा र सामर्थ्य बुझाउन एवं तिनलाई असल मान्छेका रूपमा हुर्काउन सहयोग पुग्ने ती कृतिको महत्ता बुझ्न कतिको सक्षम छन् डा. पौडेल ? कम्तीमा, उनको यो ट्वीटले त्यति सामर्थ्यको संकेत गर्दैन ।

तुलनै गर्ने हो भने सहजै भन्न सकिन्छ, नेपाली भाषा, साहित्य एवं चिन्तनका क्षेत्रमा डा. पौडेलभन्दा बढी योगदान गर्ने स्रष्टा हुन्— आन्विका । आफ्नो समृद्ध चेतनाकै आडमा उनले नेपाली छापालाई सचेत गराउन विद्युतीय सञ्जालको ‘चेली बहस’ मा सहभागी हुने जाँगर देखाएकी थिइन् । डा. पौडेलको असंवेदनशीलताले आन्विका गिरीहरूको असम्मान गरेको छ । पौडेल जस्ताका भद्दा गालीले एउटा जरुरी बहसलाई मोड्ने कोसिस मात्र गरेको छैन, जरुरी विमर्शमा उद्यत रहने आन्विका जस्ता सर्जकलाई निरुत्साहित गर्ने प्रयास पनि गरेको छ । आन्विकाहरूलाई निरुत्साहित गर्न पौडेलसँगै रामकुमारी झाँक्रीहरू पनि सहभागी हुनुलाई भयानक विडम्बना मान्नुपर्छ ।

डलरवादकै सवाल उठाउने हो भने, डा. पौडेलका लागि आफ्नै दल एवं आफ्नै कमरेडहरूतर्फ फर्कनु बढ्ता मनासिब हुन्छ । मजदुरको हकहितका नाममा दलीय संगठनमा असंख्य स्रोतबाट आएका वैदेशिक सहयोगको हिसाबकिताब कसले राखेको छ ? मानव अधिकार एवं भौतिक विकासका नाममा पौडेलसम्बद्ध दलनिकट मानिसले ल्याएका विदेशी मुद्राले उनीहरूको निजी सम्पत्तिमा कतिको वृद्धि गरेको छ ? तिनै मानिसहरू यो मुलुकको सबैभन्दा ठूलो ओहदामा बस्ने जनप्रतिनिधिलाई सल्लाह दिनेदेखि विकासका योजना बनाउनेसम्मका काममा खटिएका छन् । तिनैमध्येका कोही ठूला पश्चिमा मुलुकका राजदूत पदमा आसीन छन् । डा. पौडेललाई आफ्ना दलनिकट त्यस्ता मानिसदेखि कत्तिको भय छ ? आफ्नै कमरेडहरूबाट नेपाली राष्ट्रियता एवं मौलिक संस्कृतिमाथि हुन सक्ने प्रहारबारे कत्तिको हेक्का छ ?

प्रकाशित : मंसिर २०, २०७६ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×