नयाँ निरो, पुरानै बाँसुरी

यादव देवकोटा

दासताको पाइन विसं १८१४ मा पलासीको लडाइँमा विजय हासिल गरी ‘इष्ट इन्डिया कम्पनी’ भारतीय भूमिमा विजयको झण्डा फहराउन उभिएको २५ दिनअघि गोर्खालीहरू कीर्तिपुरमाथिको पहिलो हमलामा पराजित भएका थिए । विसं १६५७ मा इष्ट इन्डिया कम्पनी गठन गरी व्यापारको आवरणमा भारतलाई नियन्त्रणमा लिने ब्रिटिस अभियान सुरु भयो, एलिजावेथको राज्यकालमा ।

ZenTravel

मुगल वादशाह जहाँगिरबाट आफ्नै कानुन अनुसार व्यापार गर्ने अधिकार पायो, इष्ट इन्डिया कम्पनीले । त्यो व्यापारका कोठीहरू कलकत्ता, मद्रास, बंगाल, दक्षिण भारतभर फैलियो ।

Meroghar

पछि, विसं १८१४ मा बंगालका नवाव सिराजुद्यौलालाई पलासी युद्धमा पतन गराई इष्ट इन्डिया कम्पनीको झण्डा फहरायो भारतमा । उनको पराजय आफ्नै सेनापति मिरजाफरको निर्लज्ज र कपटपूर्ण विश्वासघातले भएको थियो । त्यसबाट त्रसित भई एकगठ भएका मुगल सम्राट, अवध र बंगालका नवावहरूको गठबन्धनलाई विसं १७२१ मा बक्सरमा पराजित गरेपछि इष्ट इन्डिया कम्पनीले भारतमा आफ्नो स्थायी उपनिवेशको आधार तयार गर्‍यो । त्यही आधारमा स्थापित ब्रिटिस साम्राज्यवादको भारतस्थित अखडाले पुग–नपुग दुई सय वर्षसम्म उपनिवेशको बुटमुनि दबाएर भारतीय जनचेतनालाई दासताको पाइनमा घोलेको थियो । बेलाबखत त्यो दमित चेतना अझै पनि दासताको अत्यासलाग्दो निलडाम छामेर प्रत्युत्पन्न मतिका साथ अरुमाथि थोपरिने कुरूप चरित्रका साथ अग्रसर हुन खोज्छ र छिमेकीमाथि बलमिच्याइँ गर्छ ।
विद्रुपीकरण १
गोर्खा राज्य विस्तार हुँदै जाने क्रममा कान्तिपुरे राजा जयप्रकाश मल्लले गुहार लगाएपछि मद्दतका लागि किन्लकको नेतृत्वमा आएको बेलायती फौज पौवागढी भिडन्तमा गोर्खाली लडाकुहरूबाट पराजित भएको थियो । काठमाडौं उपत्यका जितेपछि पृथ्वीनारायणले यहाँ रहेका क्रिस्चियन धर्मप्रचारकहरूलाई निकाला गरेका थिए । यी दुवै घटनाले कम्पनी सरकारको ‘फिल्ड कमाण्ड’ गरिरहेका गभर्नर जनरलको कान इसाई पादरीहरूले राम्रैसँग फुकेर नेपाल (विस्तारित गोर्खा राज्य) प्रति बदलाको मनोभाव पैदा गराएको थियो । पादरी जिस्सेपीहरू लेखै लेखेर पृथ्वीनारायणको विद्रुपीकरणमा लागिपरेका थिए भने ‘फौजी मिसनरी’हरू बदलाको उपयुक्त मौका खोजेर बसेका थिए ।

उपाय १
गोर्खा राज्यले आफ्नो आकार बढाउँदै जाँदा काठमाडौंमा मुकाम सारेर मकवानपुर, चौदण्डी र विजयपुरसम्म आफ्नो धुन्य फहराउन पुगेको थियो । कम्पनी सरकार भने मकवानपुर र विजयपुरका भूभागमा आफ्नो दाबी अघि सारिरहेको थियो । पृथ्वीनारायणले चतुर कूटनीतिक बाटो समात्दै आफ्ना दूतमार्फत कम्पनी सरकारलाई ‘भएका सबुद तथा प्रमाणहरूको आधारमा दुई पक्षमध्ये जसको ठहर्छ, त्यसलाई दुवै पक्षले मान्यता दिने’ सन्देश पठाए । सुब्बा दिनानाथ उपाध्यायलाई खटाई जम्मा गरिएको प्रमाणका आधारमा सालिन्दा १४ हात अग्ला दुई हात्ती कम्पनी सरकारलाई बुझाउनेगरी मकवानपुर अधीनस्थ हालका बारा, पर्सा, रौतहटको भोगचलन नेपाल अधीनस्थ रहने निर्क्योलमा पुग्न कम्पनी सरकार बाध्य भयो (आचार्य, बाबुराम– जनरल भीमसेन थापा : यिनको उत्थान तथा पतन, पृ. ११२) । प्रमाण बोलेपछि कम्पनी सरकारको अर्घेल्याइँ पृथ्वीनारायणको चतुर्‍याइँको मुनि पिल्सियो ।

उपाय २
हालको रणमुक्तेश्वर (निर्मल विद्यापीठको भवन) मा रणबहादुरको हत्या भएपछि त्यही घानमा पृथ्वीनारायणको पालादेखि राज्य बढाउने उद्योगमा सामेल तमाम भारदारहरूको कत्लेआम गरेर भीमसेन थापाले शक्ति आफ्नो परिवारमा पजनी गरे । पृथ्वीनारायणको पाला अघिदेखि नै अन्य राज्यको तुलनामा समावेशी गोर्खाली फौजी नेतृत्वलाई भीमसेन चरम खसकरण गरे । मगर, पाँडे, नेवारहरू राजकाजको चौघेराबाट पर हुत्याइए । राज्य र फौजी कमाण्डमा थापाहरू छानी–छानी हुलिए । राज्य विस्तारमा सामेल नेतृत्व पंक्तिको कत्लेआम र राज्यको परिवारकरणले नागरिकहरूमा भीमसेनप्रति चरम असन्तोष, निन्दा र आक्रोशको हुण्डरी मच्चाएको थियो, भित्रभित्रै । भीमसेनको दबदबाका कारण बाहिर मुखर भएर प्रकट नभए पनि त्यसले भुसमा सल्किएको आगोझैं भित्रभित्रै चरम स्वरुप हासिल गर्दै गएको थियो ।

त्यही बखत विस्तारित नेपालको अधीनस्थ बुटवल र स्युराज (शिवराज) माथि कम्पनी सरकारले दाबी बढायो । पुराना र लडाइँ–भिडाइँमा अनुभव हासिल गरेका बडाकाजी अमरसिंह थापा, मुलुकी सुब्बा चौतारिया बम शाह, राजगुरु रङ्गनाथ पण्डित, भक्ति थापा लगायतले ‘अहिलेको विकट परिस्थितिमा आफूभन्दा बलियो विपक्षीसँग यत्तिकै लडाइँमा होमिन ठिक छैन । विवादित भूमि कम्पनी सरकारलाई दिएर भए पनि युद्ध टार्नुपर्छ । अहिले जितेकै भेगमा सुव्यवस्था कायम गर्न सकिएको छैन । फौजी तयारीहरू व्यवस्थित छैनन् । सर्वप्रथम आफ्ना सैनिक तयारीहरूलाई पूरा गर्नुपर्छ, अनिमात्रै उनीहरूको सशक्त रूपमा मुकाविला गर्न सकिन्छ’ भन्ने सुझाव भीमसेन थापा समक्ष पठाएका थिए । तर, चरम नागरिक असन्तोषलाई विषयान्तर गर्न भीमसेनले देशलाई बहुलट्ठीपूर्ण तवरले युद्धमा होमिदिए । परिणाममा विस्तारित नेपालको एक तिहाइ भूमि सुगौली सन्धिका नाममा गुम्यो । कतिपयले विवादित भूमि दिएको भए पनि अंग्रेजहरूले हमला गरिछाड्थे, त्यो त बहाना मात्रै हो भनिरहेको पनि पाइन्छ । त्यसो हुन पनि सक्थ्यो रे । तर, त्यो अनुमान मात्रै किन पनि भैदियो भने हामीले दाबी गरेका भेग छोडेनौं । छोड्दा पनि आक्रमण गरेका भए, उसको अर्घेल्याइँको अनुहार अर्कै तवरले उदाङ्गिन्थ्यो ।

आजका विवादित भूमिबारे समाधानको उपाय हाम्रो राष्ट्रिय तागतको बलमा पृथ्वीनारायणको बाटो अघि बढ्ने कि भीमसेनको भनेर रोज्ने काम भने हाम्रै हो ।

विद्रुपीकरण २
ईशाको पहिलो शताब्दी । जुलाई १८, सन् ६४ । सर्कस म्याक्सिमसका नामले प्रख्यात घोडा दौड (खासमा रथ प्रतिस्पर्धा) गराइने रंगशालामा रहेको एउटा पसलबाट मध्यरातमा आगो फैलियो । निकै बतास चलेको उक्त दिन हावाको वेगसँगै आगोको लप्को फैलियो र एकसाता बढी चलेको भीषण आगलागीले प्राचीन रोमको दुई तिहाइ भाग जलाएर भष्म बनायो ।

लेखपढको प्रमुख ‘ठेकेदारी’ सम्हालेका क्रिस्चियन पादरीहरूद्वारा लिखित विवरण र तिनले फैलाएको अफवाह, जो प्रमाणको बलमा आजसम्म उभिएको पाइएको छैन, त्यसले निरोलाई रोम जल्दा मस्ती र नाचगानमा लागेका शासकको रूपमा विद्रुपीकरण गरेकाले हामीसमेत निरोलाई संवेदनाहीन विम्बको रूपमा उभ्याउने गर्छौं । निरो १६ वर्षको उमेरमा सन् ५४ मा रोमको शासक बनेका थिए । रोममा आगलागी हुँदा उनी एन्टियममा थिए । रोम जलेको खबरपछि तत्काल उनी रोम फर्किए । पादरीहरूले फैलाएको भ्रमित विवरण अनुसार तिनै निरोले आफ्ना एक वफादारलाई जँड्याहाको हाउभाउसहित प्रज्वलनशील पदार्थ बिक्री गरिने कुनै पसलमा आगो झोस्न पठाएका थिए । उनी रोमको अव्यवस्थित र क्रिस्चियन आधिपत्यले प्रताडित बस्तीको बनावटसँग असन्तुष्ट थिए ।

पादरी वितरित विवरण विपरीत बरु निरोले आगलागीका लागि जिम्मेवार ठहर्‍याइएका सयौं क्रिस्चियनलाई गिरफ्तार गरेर र गहिरो अनुसन्धान गराएका थिए, आगलागी गरेको आरोपमा । त्यसरी आगलागीका लागि क्रिस्चियनहरूलाई जिम्मेवार ठहराउनुका साथै गिर्जाघरहरूको ठाउँमा भव्य दरबार र नागरिक बसोबास बसाएपछि क्रिस्चियन आधिपत्यका ठेकेदारहरू तिल्मिलाए र निरोलाई विद्रुपित गर्न कुनै कसर बाँकी राखेनन् । जसरी हामीकहाँ पौवागढीमा इसाईहरूले निम्त्याएको इष्ट इन्डिया कम्पनीको फौजलाई धुलो चटाउने र उपत्यकामा धर्मान्तरमा सामेल मिसनरीहरूलाई निकाला गरेको बदलामा उनीहरूले पृथ्वीनारायणलाई, गोर्खा विस्तार अभियानको मर्मलाई विद्रुपीकरण गर्न कुनै कसर बाँकी राखेनन् । त्यसमा आफ्नै कमजोरी र सीमा अवश्य थिए । तर संसार हडप्न बन्दुक, तरवार र बाइबल बोकेर हिँडेको र जितका लागि मानव बस्तीमा बम खसाल्नेहरूले अरुलाई सिकाउने मानवतावाद भने आफैंमा टिठलाग्दो मजाक नबन्ने कुरै भएन । अफगानिस्तानदेखि इराकसम्म, प्यालेस्टाइनदेखि सिरियासम्म अबोध बालबालिकादेखि निरपराध मानिसहरूको बस्तीमा क्रिस्चियन/पश्चिमा आधिपत्य लाद्न बम खसाल्नेदेखि अन्धाधुन्द बन्दुक पड्काउने कदमबारे मौनता साँध्ने पश्चिमाहरूको गढीमाई (बरियारपुर) का राँगोभैंसीका नाममा पोखिएको आँसुको प्रायोजन नाङ्गिदै जानु कुनै अनौठो होइन, रोमकै निरोको विद्रुपीकरणको ‘प्रोजेक्ट’ बुझ्नेहरूलाई । बरियारपुर होस् या भ्याटिकन, जनावरहरूको विभत्स बलि व्यवस्थित गरिनु अपरिहार्य छ, यो अर्कै कुरा हो । सके थ्यांक्स गिभिङका नाममा अथाह रूपमा मारिने टर्कीको बलि होस् या कुनै मन्दिरका नाममा दिइने राँगोको बलि होस्, त्यो रोकिनुपर्छ, यो राम्रै र अनुकरण गर्नलायकै कुरा हो ।

जे होस्, जसले आगलागी गरे पनि गिर्जाघरहरूको अव्यवस्थित बाहुल्यताले भरिएको रोम खरानीको थुप्रोको रूपमा निरोको अघि उभिएको थियो । त्यहीं उनले भव्य बगैंचासहितको स्वर्ण दरबार भनिने ‘डोमुस औरिया’ बनाए र आफ्नै योजनामा सहर बसाले । यताका दिनमा रोमन पादरीहरूले पुष्टि गर्ने कुनै प्रमाणविनै ‘रोम जलिरह्यो, निरो भायलिन (नेपालीमा त्यो बाँसुरी बजाएको भनेर अपभ्रंशित छ) बजाइरहे’ भनेर हल्ला फिँजाए । जबकि त्यो समयमा भायलिन नै अस्तित्वमा थिएन रोममा । यो एघारौं शताब्दीमा विकसित भएको मानिन्छ । यस विपरीत बरु निरो आफैं गीत लेख्थे र गाउँथे पनि । आगलागीले पीडित भएका रोमवासीहरूलाई उनले आफ्नै दरबारमा आश्रय दिएका थिए । पीडितहरूलाई मानिसक पीडामा रहन नदिन गीत–संगीत सुनाउने कामलाई उद्धार, राहतको साथसाथै अघि बढाएका थिए । यसरी आफ्नो स्वार्थ विपरीत उभिनेहरूलाई अपभ्रंशको सुलीमा चढाएर विद्रुपीकरण गर्ने र नयाँ–नयाँ निरोका रूपमा डाम्ने प्रयास निरन्तर जारी छ । त्यो प्रयासमा भिराइएको बाँसुरीको कथा भने पुरानै छ ।

विद्रुपीकरण ३
त्यो प्रयास हालैको दिनमा लिम्पियाधुरा, लिपुलेकमा भारतीय दादागिरी फेरि एकपटक नवजारी नक्सामार्फत प्रकट भएपछि त्यसलाई वैध ठहर्‍याउने भारतीय योजनाबद्धताको हिस्सेदार बनेर पूर्व शासक महेन्द्रका विरुद्ध विघठित हुन आइपुगेको छ । भारतले एक्काइसौं शताब्दीको सुरुवातमै नेपालका विभिन्न भेगमा राखेको सुरक्षापोष्ट महेन्द्रले हटाएका थिए । डेढ दर्जन त्यस्ता पोष्टहरूमध्ये सुदूर पश्चिमी विकट भेग कालापानी–लिपुलेकमा अवस्थित सुरक्षापोष्ट भारतीय पक्षले बलमिच्याइँपूर्वक हटाएन । त्यसैलाई देखाएर महेन्द्रले नै त्यहाँ भारतीय सुरक्षापोष्ट राख्न दिएको भनेर भारत परिचालित नेपाली राजनीतिक गोटीका सफेद चेहरा मानिएका हृषिकेश शाहलाई सिरानी हालेर यताका दिनमा प्रचारको लहर चलाइएको थियो । भारत निर्देशित २००७ को परिवर्तनपछि प्रशासनिक पुनर्संरचनाका लागि भनेर ल्याइएका भारतीय अधिकारीहरूमार्फत तयार गरी पछि महेन्द्रीय राष्ट्रवादका शास्त्रमार्फत वितरित नक्सालाई देखाएर लिपुलेक, लिम्पियाधुरासम्मको नेपाली भूगोलमा भएको भारतीय अतिक्रमणलाई विवादित भूमिका रूपमा प्रचार गर्ने भारतीय योजनाको जानी–नजानी हामी मतियार बनिरहेको पनि देखिन्छ ।

पंक्तिकार महेन्द्रको ‘पाखण्डी राष्ट्रवादी’ भाष्यसँग सदैव असहमत छ । त्यसबारे पहिल्यै पनि प्रशस्त लेखिसकिएकाले त्यता नलागौं । तर, कथित राष्ट्रवादी महेन्द्रले समेत भारतलाई दिइसकेको कालापानी, लिम्पियाधुराबारे अहिले बेकारको अर्घेल्याइँ भनेर जसरी भारतीय अतिक्रमणलाई वैध ठहर्‍याउन ‘ए त्यो त महेन्द्रले दिइसकेको नि’ भन्ने किसिमले प्रचार गरिएको छ, त्यस्ता अजासुहरूलाई महेन्द्रले भारतलाई ती भूमि दिएको प्रमाण लिएर सार्वजनिक बहसमा आउन चुनौती दिन सकिन्छ । ‘त्यो त पहिल्यै दिइसकेको नि’, ‘महेन्द्रले दिइसकेको नि’, ‘छ दशकदेखि मौनता साँधिएको नि’ भनेर भारतीय अतिक्रमणलाई वैध ठहर्‍याउन र नेपाली भूमिको अतिक्रमण विरुद्ध उद्वेलित जनचेतनालाई धरमरमा पार्ने योजनाबद्धताको योभन्दा खुलेआम चेहरा अरु हुन सक्दैन । हो, महेन्द्रकै पालामा पनि भारतीय अतिक्रमण जारी थियो । उनले त्यसलाई हटाउन सकेनन्, चाहेनन् । तर त्यसको मतलव त्यो भूमि उनले दिएको ठहर हुने हो ?

आजको दिनमा दादागिरी देखाउँदै गरिएको त्यस्तो अतिक्रमण हामीले हटाउन सकेनौं भन्दैमा त्यो अतिक्रमित भूमि हामीले भारतलाई दिएको ठहरिन्छ, भविष्यमा ? कि छ दशकभन्दा बढी समयदेखि एकपक्षीय रूपमा भारतले अतिक्रमण गरिरहेको भूमि हुन्छ त्यो ? अन्यथा दुई हजार वर्ष अघि नै रोम जल्दा निरोले नबजाएको बाँसुरी आज आफ्नो निहितार्थलाई चरितार्थ पार्न खडा गरिएका नयाँ निरोको ओठमा पुरानै बाँसुरीको धुन फैलाउने दु:ख केका खातिर आइलागेको हो अजासुहरूलाई ?
ट्वीटर : @gaunkmoanchhey

प्रकाशित : मंसिर १४, २०७६ ०८:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दैलेखमा पेट्रोलियम

डा. गणेशनाथ त्रिपाठी

नेपालमा पेट्रोलियम अन्वेषणको काम सन् १९८० को दशकदेखि सुरु भएको हो । १९८२ मा विश्व बैंकको सहयोगमा क्षेत्रीयस्तरमा तराई र चुरेक्षेत्रलाई समेटेर भौगर्भिक, भू–रासायनिक तथा भू–भौतिक सर्भे सञ्चालन भएका थिए । यस प्रकारका अध्ययन तथा अनुसन्धानबाट प्राप्त नतिजाहरूको विश्लेषण गरी पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावित क्षेत्रको रूपमा पूर्वदेखि पश्चिमसम्म १०वटा अन्वेषण खण्डहरूमा विभाजित गरिएको थियो ।

पेट्रोलियम कार्यलाई सहज बनाउन छुट्टै नेपाल पेट्रोलियम ऐन, २०४० र पेट्रोलियम सम्झौताको ढाँचासहितको पेट्रोलियम नियमावली–२०४१ जारी गरिएको छ । पछिल्लो पटक २०७४ सालमा पेट्रोलियम नियमावलीलाई समय–सापेक्ष र प्रतिस्पर्धी बनाउनसंशोधन गरिएको छ ।

विभिन्न समयमा पेट्रोलियम अन्वेषण तथा उत्खननका लागि प्रयास नभएका होइनन् । सन् १९८५ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी पेट्रोलियम सम्झौताबाट अन्वेषण खण्ड १० (विराटनगर)मा विस्तृत अन्वेषण कार्य तथा उत्खननका लागि अमेरिका र नेदरल्यान्डको जोइन्ट भेन्चर कम्पनीलाई जिम्मेवारी सुम्पिइएको थियो । उक्त कम्पनीले सो क्षेत्रमा विस्तृत अन्वेषण कार्य सम्पन्न गरी१९९० मा मोरङको राधानगरमा ३.५ किलोमिटरको अन्वेषणात्मक ड्रिलिङ कार्य गरेको थियो ।

त्यसबखतको जनआन्दोलनले अन्वेषण कार्यलाई प्रभावित पार्‍यो भनिन्छ । ३.५ किमि गहिराइसम्म कुवा खन्दा पनि भण्डार फेलापर्ने संकेत नदेखेपछि उक्त कम्पनीले पेट्रोलियम फेला नपरेको निष्कर्ष निकाली विधिवत रूपमा सम्झौताबाट बाहिरिएको थियो । पेट्रोलियम कार्यको अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसार तथा पेट्रोलियम सम्झौता अनुसार एउटामात्र कुवा खनेर पेट्रोलियमको भण्डार रहे/नरहेको निष्कर्ष निकाल्न सकिने वा नसकिनेबारे तर्क/वितर्क गर्न सकिने अवसर सुरक्षित नै छ ।

सन् १९९८ मा अन्वेषण खण्डहरू ३ (नेपालगन्ज) र ५ (चितवन) मा पेट्रोलियम अन्वेषण गर्नअमेरिकाको टेक्साना रिसोर्स कम्पनीसँग पेट्रोलियम सम्झौता भएको थियो । २००४ मा अन्तर्राष्ट्रिय बोलपत्रबाट छनोट भई स्कटल्यान्डको कैर्न इनर्जी, पीसीएलसँग ५ वटा अन्वेषण खण्डहरू १ (धनगढी), २ (कर्णाली), ४ (लुम्बिनी), ६ (वीरगन्ज) र ७ (मलङ्गवा) मा पेट्रोलियम कार्य गर्न पेट्रोलियम सम्झौता भयो । तत्पश्चात् २०१२ मा बाँकी रहेका ३ वटा अन्वेषण खण्डहरू अन्वेषणका लागिसरकारले युएईको इमिरेट्स एसोसियटेड बिजनेस ग्रुप, युएई/बीबीबी च्याम्पियन्ससँग अन्वेषण खण्डहरू क्रमश: ८ (जनकपुर) र ९ (राजविराज) तथा १० (विराटनगर) मा काम गर्नेगरी पेट्रोलियम सम्झौता गरेको थियो ।

सन् २०१२ सम्ममा सम्पूर्ण अन्वेषण खण्डहरू पेट्रोलियम सम्झौताबाट माथि उल्लिखित कम्पनीहरूलाई प्रदान गरिएको थियो । १९८५ मा सम्झौता गरेको सेल/ट्रिटन बाहेक पछिल्ला समयमा पेट्रोलियम सम्झौताद्वारा आबद्ध कुनै पनि कम्पनीले सम्झौता मुताबिक कार्यसम्पादन गरेनन् वा गर्न सकेनन् । खानी तथा भू–गर्भ विभागले पटक–पटक ताकेता गर्दा पनि कार्य सुचारु नभएपछि विभिन्न चरणमा छलफल भई सरकारले २०७१/०७२ मा उक्त कम्पनीहरूसँगको पेट्रोलियम सम्झौता रद्द गरी हाल सम्पूर्ण अन्वेषण खण्डहरू फुकुवा गरेको छ ।

दैलेखमा सञ्चालनमा आइरहेको विस्तृत पेट्रोलियम अन्वेषण कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ को चीन भ्रमणको क्रममा नेपाल सरकार र चीन सरकारबीच भएको द्विपक्षीय सहमतिको मूर्तरूप हो ।

दैलेख क्षेत्रमा पेट्रोलियम अन्वेषण सम्बन्धी कार्य भएको यो पहिलो पटकचाहिँ होइन । पेट्रोलियम अन्वेषण परियोजनाका भू–गर्भविद्हरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी भौगर्भिक नक्सासमेत तयार पारेका छन् । हाल सोही नक्सालाई आधार मानी विस्तृत अन्वेषण कार्य सञ्चालन भइरहेका छन् । यस क्षेत्रमा चिनियाँ टोलीहरूले सङ्कलन गरेका स्रोत चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी गराएका छन् । जमिनमुनिपेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अध्ययनबाट पनि देखिएका छन् । सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक पर्ने स्रोत चट्टान, त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरू यस क्षेत्रमा पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावनाका बलिया आधार हुन् ।

दैलेख जिल्लामा सञ्चालित पेट्रोलियम अन्वेषण कार्य अन्तर्गतका पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जियोकेमिकल स्याम्पलिङ कार्य अबका केही हप्ताभित्रै सम्पन्न हुँदैछन् । यस अन्वेषण कार्य अन्तर्गतको महत्त्वपूर्ण मानिएको विस्तृत सिस्मिक सर्भेको कार्य सुचारु भइरहेको र आगामी २–३ महिनासम्ममा सो कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३ वटा पूर्व–पश्चिम र ७ वटा उत्तर–दक्षिण दिशामा फैलिएका जम्मा १० वटा सिस्मिक लाइनहरूमा जम्मा २०० लाइन किमि सिस्मिक सर्भे गरिनेछ र यसले यस क्षेत्रको करिब ४०० वर्ग किमि भूभाग ओगटेको छ । दैलेख जिल्लाको मुख्यतया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायणनगरपालिका क्षेत्रमा यो कार्यलाई केन्द्रीकृत गरिएको छ भने चामुण्डा विन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाको केही भू–भाग पनि यस अन्वेषण कार्यमा समेटिएका छन् ।

सिस्मिक सर्भे कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनि धेरै गहिराइसम्म पठाइन्छ र सतहमुनिका विभिन्न तहमा ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ ।

सिस्मिक सर्भेको स्थलगत कार्य सम्पन्न भएपश्चात रेकर्ड गरिएका विभिन्न गहिराइबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने कार्य हुन्छ । प्रशोधन गरेर तयार भएको तरङ्गहरूको सूक्ष्म विश्लेषण गरी पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावित भौगर्भिक संरचना पहिचान गर्ने कार्य गरिन्छ । अन्वेषणको अर्को चरणमा विश्लेषणबाट यकिन गरिएको स्थानमा अन्वेषणात्मक ड्रिलिङ गरी तोकिएको स्थानमा पेट्रोलियम भण्डार रहे/नरहेको पुष्टि गर्ने कार्य हुन्छ ।
अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार, आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन, त्यसको निष्कर्ष निकालिन्छ ।

माथि उल्लेखित चरणहरूबाट व्यापारिक महत्त्वको भण्डार रहेको प्रमाणित भएमा सो भण्डारलाई उत्पादन प्रक्रियामा अगाडि बढाइन्छ ।

पेट्रोलियम कार्य आफैमा अनिश्चित, चुनौतीपूर्ण र आर्थिक जोखिमयुक्त कार्य हो । अध्ययन, अनुसन्धानबाट सम्भावना देखिएका कैयौं स्थानमा खोजी कार्य सफल नभएका उदाहरणहरू भेट्न सकिन्छ । पेट्रोलियमको खोजीमा यस्ता जोखिमलाई स्वीकार गर्नुको एकमात्र कारण खोजी कार्यबाट सफलता हासिल भएमा त्यसबाट प्राप्त हुने उपलब्धि नै हो । पेट्रोलियम खोजीमा अन्वेषणका विभिन्न चरण पार गर्नैपर्छ । यस्ता जोखिम स्वीकार गर्नैपर्ने हुन्छ । सन् १९८५–१९९० सम्म सेल/ट्रिटनले गरेको विस्तृत अन्वेषण कार्यपछि चीन सरकारको सहयोगमा चाइना जियोलोजिकल सर्भे र खानी तथा भू–गर्भ विभागको संयुक्त प्रयासमा दोस्रोपटक त्यही स्तरको अन्वेषण कार्य दैलेख जिल्लामा सञ्चालित छ । सम्भावना र आशावादी हुने ठाउँ प्रशस्तै छ । तर त्यसको पुष्टि अध्ययन, अनुसन्धानको अन्तिम निष्कर्षले नै बताउनेछ । हाल दैलेखमा सञ्चालन भइरहेको अन्वेषण कार्य प्रथम चरणको अन्वेषण कार्यपछिको महत्त्वपूर्ण दोस्रो चरणको अन्वेषण कार्य हो ।

यसबाट प्राप्त नतिजाहरूको विश्लेषणबाट सकारात्मक उपलब्धि हासिल भई व्यापारिक महत्त्वको पेट्रोलियम भण्डार फेला परेमा देश नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ ।

लेखक खानी तथा भू–गर्भ विभाग अन्तर्गत हाल दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामा संलग्न छन् ।

प्रकाशित : मंसिर १४, २०७६ ०८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×