कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केही चिनेका बूढाहरूका भाखा

अभि सुवेदी

मैले नेपालमा खासगरी नेपाल उपत्यकामा निकै बूढाहरूको संगत गरेंँ । ‘बूढा मरे भाखा सरे’ भन्ने पुरानो नेपाली उखानबाट इतिहासभित्र पस्न सकिने हुनाले त्यही प्रयोग गरेको हुँ । म किन बूढाहरूको नजिक पुग्थेँ, त्यसका आफ्नै कारणहरू रहेछन् । इतिहासभित्र लुकेका केही समानान्तर मानवीय चेतनाले खिचिएको हुँ । नेपालमा छ्यालीस र त्रिसठ्ठी सालका राजनीतिक परिवर्तन भएदेखि मलाई यो प्रश्नले खेद्न थालेको हो । ती सबै इतिहाससँग सम्बन्ध राख्छन् ।

यी बूढाहरू धेरैजसो दिवंगत भइसके । केही जीवित छन्, जोसँग यत्नले कुराकानी गरेर पत्रिकाहरूमा छपाउन सफल भएको छु । यी बूढाहरूका आनीबानी, यिनका राजनीतिक चिन्ता र इतिहास, यिनका धार्मिक र रागात्मक वा रोमान्टिक पक्ष, यिनका किञ्चित अराजक चरित्र र विचार, केही हास्यरसलाई बल दिने स्वभाव र कुराकानी मेरा सम्झनाभरि छन् । आफूले युवा अवस्थादेखि भेटेका बूढाहरू निकैजना भए पनि यस लेखमा चारजनाको मात्र सम्झना लेखेको छु ।


कमलपोखरीको पीपलको बोटमा केशरबहादुर केसी ‘मर्निङ वाक’मा निस्कने बेला पारेर म बिहानै पुग्थेंँ । म त्यो बेला विद्यार्थी थिएँ । मलाई केशरबहादुर केसीका कुरामा चाख लागेको कुरा इतिहास थियो । ती धाराप्रवाह अनौठा न्यारेटिभ सुनाउँथे । ती राणाकालीन भारदार थिए । मैले ती विद्वान रहेछन् भनेर रत्नपुस्तक भण्डारमा भेटेपछि थाहा पाएको थिएँ । रत्नले तिनका कानुन सम्बन्धी ठूला अंग्रेजीका ठेली पनि छापेको थियो । साझाले तिनको ‘नेपाल आफ्टर द रिभोलुसन् अफ् १९५०’ किताब प्रकाशित गर्‍यो । म तिनलाई त्यो बेलाका कुरा सोध्थेंँ । ती लामो किञ्चित् रंगीन घरमा लाउने गाउन लाएर दाँत माझ्दै आउँथे । दाँत माझ्दै ती निकै हिंड्थे । एक पटक त कालिकास्थानसम्म पुगेर फर्केको सम्झना छ । पेस्ट सकिएको भए पनि उनको मुखमा ब्रस हुन्थ्यो । बीच–बीचमा चलाउँथे । ती राजा त्रिभुवन र बीपी कोइरालाका स्वभाव विषयमा धेरै कुरा गर्थे ।


यस्ता अर्का सामन्ती घरानाकै तर अलग चरित्र भएका बूढा थिए, हृषिकेश शाह (१९८२–२०५९) । मैले तीसँग निकै समय हिमचिम गरेंँ । ती दिवंगत हुँदा मैले लेखेको ‘कान्तिपुर’मा प्रकाशित लेखमा तिनको स्वभाव र राजनीति विषयमा बयान गरेको छु । ती एक अनौठो अन्तरविरोध भएका विषयलाई आफ्नो विश्वास बनाएर हिँड्ने मानिस र विद्वान थिए । गोलभेंँडा फलाउने ‘ग्रिन हाउस’ जस्तो चन्डोल घरको हपहप कोठामा ती किताबले घेरिएर बसेका हुन्थे । तिनले राजादेखि कांग्रेस र कमिनिष्टका नेताहरूसँगको संगत गरे । तिनका अनेकौं चरित्रहरूसँग परिचित छु । मनमोहन अधिकारीलाई श्रद्धाञ्जली अर्पण गर्न ती र म खुलामञ्च गयौं । मनमोहनमाथि फूल राखेपछि ती हातको लठ्ठी उचालेर आकाशतिर हेर्दै बूढो बाघजस्तै कराएर रोए । मैले अलिक पर पुगेपछि सोधेँ, ‘शाहजी, यी मानिससँग चुनाव उठ्दा असीवटा भोट ल्याएर हार्नुभयो । अहिले किन रुनुभयो ?’ तिनले दिएको उत्तरमा इतिहास आकाशबाट खस्यो । तिनले भने, ‘अब नेपाली राजनीतिको अन्तिम इमानदार मानिस गयो ।’ म मौन भएँ ।


अर्का यस्तै मानिस थिए, जगदीशशमशेर राणा (१८८६–२०७४) । ती राणापरिवारका सम्भ्रान्त भए पनि सिमलामा स्याउ खेती गरेर बस्थे । यीसँग मेरो निकै संगत भयो । यी राजनीतिका कुरा एक अराजक मानिसले जस्तो गर्थे । ती भरतशमशेरका भाइ, नेपाली कांग्रेसका मानिस भए पनि स्वतन्त्र विचारका विद्वान, कवि, उपन्यासकार र समीक्षक थिए । ती एक सरल मानिस थिए । तिनको पछिल्लो किताब ‘उत्तरआधुनिकवाद बाहुल्य विस्फोट’ (२०७०) को विमोचन तिनको भनाइ अनुसार एकजना मात्र मानिसले बोल्नेगरी मिलाएको हुनाले मैले बोलेको थिएँ । त्यस किताबमा तिनले माओवादीको खुलेरै प्रशंसा गरेका छन् । ती इतिहासका विरोधाभास बोल्ने एक ‘न्यारेटर’ थिए । त्यसैले म तिनका कुरा ध्यान दिएर सुन्थेंँ । पछिल्लो समय तिनले मलाई लाम्चिला राम्रा अक्षरमा एउटा चिठी पठाए । त्यसमा तिनले लेखेका यी शब्दले मलाई बूढाहरूको विषयमा लेख्न बस्ता अनौठो सन्जोग मिलेको भावना भएको छ । तिनले लेखेका छन्, ‘प्रिय अभिजी, २००४ सालमा प्रथम नेपाली कविता सम्मेलन हुँदाको केही हामीलाई दैवले साँचेको रहेछ । त्यसबेलाको कुरालाई समयको धुलोले ढाकिराखेको । .... पुराना बूढापाका र नयाँ संयोजकहरू भेटेर ... मौका फेरि जुट्ला, नजुट्ला भनी’ एउटा मिलनको आयोजना गरेको कुरा उनले लेखे । सरस्वती सदनको ऐतिहासिक साहित्य गोष्ठीको कुरा गरेका हुन्, राणाले । मैले उनको ‘ओबिचुअरी’ अन्नपूर्ण पोस्ट (१२ मंसिर २०७६) मा लेखेँ ।


अर्का बूढा पुस्ताका कवि र राजनीतिमा काम गरेका प्रख्यात व्यक्ति केदारमान व्यथितसँग मेरो सम्बन्ध निकै काल रह्यो । उनी दिवंगत भएपछि उनको स्मृतिमा लेखेको लेखमा मैले उनको चित्रण यसरी गरेंँ, ‘झन्डै ६ फिट अग्ला, शास्त्रीय कालका चिनियाँ दार्शनिकका जस्ता लाम्चिला आँखामाथि घना आँखीभौं भएका, अनि एक महत्त्वाकांक्षीका जस्ता सपनाले भरिएका आँखा अनि गम्भीर अनुहारमा एक्कासी हाँसो ल्याउने रेखाहरू फैलिने ती कविको अभिव्यक्तिमा एउटा कहिल्यै नथाक्ने र काम गर्न बाँकी छ भन्ने चिन्ताको गतिशीलता प्रस्ट देखिन्थ्यो’ (कवि व्यथित स्मृतिग्रन्थ, सिन्धु, २०६०) । व्यथितको राजनीति स्थिर थिएन, तर तिनका स्मृतिहरू सात साल पहिलेका प्रजातान्त्रिक आन्दोलनसँग जोडिएका थिए । ती राजा महेन्द्र र वीरेन्द्रका पनि नजिकका पात्र थिए । तर ती आफ्नो विगतलाई जीवन्त पारेर सुनाइरहन्थे ।


एक पटक उनले घरमा कवि गोष्ठी र भोजनको आयोजना गरे । पचासको दशकको बखत थियो । व्यथितका पुराना मित्र नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह पनि त्यहाँ आमन्त्रित थिए । भारतमा रहेर प्रजातन्त्रको निम्ति संघर्ष गरेका बेलाको गणेशमान जोडिएको एउटा भावपूर्ण सम्झना व्यथितले बोलेपछि गणेशमानलाई अत्यन्त भावुक बनायो, अनि ती अब साथीहरूले प्रजातन्त्र लगेर राजालाई दिन्छन् भनेर हामी सबैको सामु खुलेर रोए । सबै भावुक भयौं । त्यसको केही समयपछि त्यस्तै भयो । सन्दर्भहरू त्यस्तै जोडिए । राजा ज्ञानेन्द्रले २०६१ मा शक्ति लिए ।


व्यथित यी प्रजातन्त्रका लागि लडेका नेताहरूसँग काम गरेका मानिस थिए ।


अन्त्यमा, अर्का एकजनाको सम्झना गर्छु । ती हुन्– हास्यव्यङ्ग्य लेखक, उपन्यासकार र पत्रकार केशवराज पिंडाली (१९७१–२०५५) । पिँंडालीसँग निकै अन्तरङ्ग सम्बन्ध गरेंँ । मैले उनलाई सम्मान गर्ने कारण उनी एक लेखक भएकाले र इमानदार र खुला प्रजातान्त्रिक चेतना भएका मानिस भएकाले गर्दा हो । तिनलाई पत्रकार भएको बेला पटक–पटक पञ्चायत व्यवस्थाले दु:ख दियो । तर तिनका संस्मरण अत्यन्त महत्त्वपूर्ण छन् । पिँंडालीसँग सन् १९९१ को फेब्रुअरीमा डेनिस पेनको निम्तोमा डेनमार्क गएको बेला धेरै अन्तरंग सम्वाद गरेंँ । पिँडाली प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका निजी सचिव थिए । भारत र नेपालभित्रका राजनीतिक संघर्षका कथा अनि नेताहरूका विचार र चरित्रका ती लेखकले जस्तो अरुले चित्रण गरेको मलाई सम्झना छैन ।


मैले मेरो लामो लेख वा अध्यायबाट यहाँ यत्ति सम्झना राख्नसकें । यिनीहरू बाहेक यदुनाथ खनाल, बालकृष्ण सम र अरु आफूले नजिकबाट जानेका बूढाहरूका भाखा मैले आफ्ना सम्झना र टिपोटमा राखेको छु । यी मानिसहरूको सम्झनाको प्रसङ्ग अहिले ल्याउनुको कारण इतिहास चेतनाका यी प्रश्नहरू हुन्– यी बूढाहरूका भाखाको पछिल्लो समयमा के प्रयोजन भयो ? आफू नजिक नभएका गणेशमानका भावना र सिद्धान्तको पछिल्लो वा आजको इतिहासमा के प्रयोजन भएको छ ? केशरबहादुर केसीदेखि पिँडालीसम्म आफूले राम्ररी जानेका बूढाहरू इतिहास परिवर्तनका कारक थिए त ? तिनका सम्झनाले इतिहास परिवर्तनबारे के भन्छन् ? तिनका भाखाको कुरा गर्दा तिनीहरू लेखक, साहित्यकार भएका हुनाले तिनले आफ्नै किसिमले इतिहास रचे । तिनीहरूले राजाका शासनकालमा आफ्ना कर्म गरे । फरक छ, आज लोकतान्त्रिक गणतन्त्रको युगमा लेख्ने र बोल्ने स्वतन्त्रता छ । यी बूढाहरूले राज्य र सरकारका नीतिबारे असन्तुष्टि पोख्न कतिले साहित्यको सहारा लिए, कतिले इतिहासभित्र पसेर अर्कै गाथा रचे ।


अहिलेका विद्वान बुद्धिजीवीहरू स्वतन्त्र छन्, त्यसैले तिनीहरूका संकट निजी वा अस्तित्ववादी छन् । ती स्वतन्त्र भएकै कारणले आफ्ना संकट, आफ्ना अभिव्यक्ति वा भाखाबाट निराकरण गर्नुपर्ने एउटै अवस्थाले निर्देशित छन् । अहिले नेपालमा संकटका चरित्र कुनै गौण छन् भने कुनै प्रस्ट छन् । राज्यको आन्तरिकदेखि सीमा समस्यासम्मका विषय उठेको बेला, मैले देखे अनुसार, खासै कामयावी भाखाहरूमा बहस भएका छैनन् । बूढाहरू बितिसके पनि तिनले भनेका सम्झनाका सार छन्– नेपालीहरूले युग परिवर्तन गर्न गरेका संघर्षका साझा कथा छन् । धेरैले भारतमा बसेर आफ्ना काम गरेका थिए । त्यसमा क्रान्तिकारी माओवादी पनि पर्छन् । अन्त्यमा, ‘बूढा मरे भाखा सरे’ भन्ने कुरा यथार्थ नभए पनि भाखा बोल्ने परिस्थिति, उपलब्धि र संकट उस्तै देखिएका छन् । त्यो ऐतिहासिक चेतनाको कुरा बुझ्नु उपलब्धिपूर्ण हुनसक्छ ।


प्रकाशित : मंसिर १४, २०७६ ०८:४६

प्रतिक्रिया
पठाउनुहोस्

कोही किन सधैं विधवा होस् ?

शीतल शर्मा

समयको चक्र अचम्मको छ । कहिलेकाहीं हाँसो र आँसु एकैपटक ल्याउँछ । पाँच वर्ष अघिको कुरो हो । भर्खर दसैं सकिएर अलिअलि जाडो सुरु भएको असोजको एक बिहानी आफ्नो भर्खर जन्मेको छोरोलाई घाममा राखेर तेल लगाउँदै थिइन्, फोनको घन्टी बज्यो । उनले ‘हेलो’ भन्न नपाउँदै उताबाट आवाज आयो, ‘तपाईको मान्छे दुर्घटनामा परेका छन्, जतिसक्यो छिटो आउनुहोस् ।’ दाइ र आमाबाबासहित उनको लोग्ने मनकामना दर्शन गर्न बिहानै पाँच बजेतिर काठमाडौंबाट हिंडेका थिए । कसलाई पो थाहा थियो होला र ? भगवानको दर्शन गर्न हिंँडेका ती चारैजना दुर्घटनामा परी भगवानका प्यारा होलान् भनेर ।

एक निमेषमा उनले आफ्नो सम्पूर्ण परिवार गुमाइन् । लोग्नेसहित बाबुआमा र एक्लो दाइ । भर्खरै अघिसम्मको उनको हराभरा संसार उजाड मरुभूमि बनेको थियो, छोरोलाई जिस्काउँदै गरेको हाँसो बन्लिद्रधारा जस्तै आँसु बनेर आँखाबाट खस्न थाल्यो । त्यो हृदयविदारक बज्रपात अरु कसैमाथि नभई मेरी आफ्नै भाइ–बुहारीमाथि परेको थियो । मैले भाइ गुमाएकी थिएँ, तर उनले सर्वस्व गुमाएकी थिइन् । अहिले पनि जब ममाथि कुनै सानो दु:ख आइपर्छ, त्यतिबेला मैले तिनै भाइ–बुहारीलाई सम्झन्छु र आफूलाई सम्झाउँछु ।

जसरी समयले कुनै दया नराखी बज्रपात दिँदोरहेछ, त्यसरी नै मानिसलाई सहन पनि सिकाउँदो रहेछ । त्यही बेला सहनशीलताको परिभाषा मैले बुहारीबाट पाएँ । त्यो घटनापछि उनी माइतीतिरको एक्लो भइन् न त अरु दिदीबहिनीहरू थिए, भएका बाबुआमा र दाजुले पनि लोग्नेसँगै त्यही दुर्घटनामा ज्यान गुमाएका थिए ।

पशुपतिबाट उनलाई लोग्ने नभएको घरमा उसको नासो २८ दिनको छोरो सँगै लिएर आयौं । हामीले उनलाई सेतो पहिरनमा कुनामा बसी काजकिरिया गर्न दिएनौं, किनकि हामी पीडामाथि पीडा थप्न चाहँदैनथ्यौं । उनी अघिपछिकै जस्तो सामान्य पहिरनमा बसिन् । तेह्रौं दिनको काम सकिएपछि पनि हामीले पुन: उनका कलिला हातमा चुरा र निधारमा रातो टीका लगाइदियौं, ताकि समाजले उनलाई विधवाको दृष्टिले नहेरोस् । मेरा बुबाआमाले पनि अलिकति पनि नहिच्किचाई त्यो कार्यलाई समाज परिवर्तनको एउटा फड्को भनेर आफै अग्रसर भएर स्वीकृति दिनुभयो ।

माइतीपट्टिका ठूलोबुबा, काकाहरूले ‘हामी छौं, हामी छोरीलाई घर लान्छौं’ नभन्नुभएको होइन । तर उनले ‘मेरो घर नै यही हो, मेरा सासु–ससुरा नै मेरा कर्म दिने बुबा, आमा हुन् । जन्म दिनेलाई त गुमाइसकेंँ । अब यो घरमा बुहारी होइन, छोरी भएर बस्न चाहन्छु’ भनेर आफ्नै घरमा बस्ने इच्छा राखिन् । छोरो गुमाए पनि बुहारी र नातिसँगै बस्न पाउँदा बुबाआमाको लागि त्योभन्दा खुसीको कुरो के हुन्थ्यो र ?

हाम्रो संस्कार, संस्कृति या समाज अनौठो छ । जब एक श्रीमानकी श्रीमतीको मृत्यु हुन्छ, उसलाई अर्को बिहे गर्ने बाटो खुल्ने मात्र होइन, बिहे गर्न समाजले नै दबाब दिन्छ । तर जब श्रीमानको मृत्यु हुन्छ, श्रीमतीको चाहिँ सौभाग्य खोसिनु मात्र होइन कि उनका इच्छा र आकांक्षाहरू पनि खोसिएका हुन्छन् । जबकि रातो वस्त्र, टीका र चुरा त लगनगाँठो कसिनुभन्दा पहिले नै लगाइएको हुन्छ । श्रीमानले दिएको सिन्दूर र पोते मात्र हो, तर हाम्रो समाजमा श्रीमानको मृत्युपछि विधवाहरूलाई रातो रंगबाट नै टाढा राखिन्छ । अबका नारी घरमा बस्ने मात्र हुँदैनन्, उनीहरूलाई काममा जानुपर्ने पनि हुन्छ । त्यही विधवाकै पहिरनमा बाहिर निस्कँदा विधवा भन्ने प्रस्टसँग छुट्टिन्छ । खराब नियत भएकाहरूले तिनको कमजोरीपनको फाइदा लिन नखोज्लान् भन्न सकिंदैन ।

समय बित्दै गयो । छोरो पनि हुर्कंदै गयो । हामीले उनलाई बाहिरी शृंगार त गर्न लगाउँथ्यौं, तर भित्री शृंगार खल्लो देखिन्थ्यो । मन खुसी भए न सबैथोक खुसी हुने हो । उनी कलिली अनि राम्री थिइन् । चारैतिरबाट सल्लाहको ओइरो लाग्न थाल्यो– ‘जीवन लामो छ । एक्लो यात्रा सजह हुँदैन । पहिले जस्तो सोचाइ राख्नु हुँदैन । नयाँ जीवन दिएर त्यो घाउलाई विस्तारै निको पार्नुपर्छ । पहिलेको कुरा सम्झेर नरोऊ कि आउने दिनहरूमा हाँस्दै अघि बढ ।’ त्यस्तै–त्यस्तै ।

उनले आफ्नो मनको कुरो कुनै संकोच नमानी बुबाआमासँग खोलिन्– उनलाई एकजना केटाले मनपराउन थालेका रहेछन् र उनले पनि । बुबाआमाले आफ्नो स्वार्थमात्र हेर्नु भएन । बुहारीको खुसी नै आफ्नो खुसी ठान्नुभयो । केटा योग्य देखेर हामीले त्यो समाजको विभेदकारी नियमलाई नमान्ने निधो गर्दै आफन्तसँग सल्लाह लिई जोडी बाँधिदिने निर्णयमा पुग्यौं ।

बुबाआमाको लागि त्यो सजिलो थिएन । बुहारीसँगै संरक्षण गर्दै आएको नाति पनि पठाउनु थियो । तर मनलाई बाँधेर उहाँहरूले टीकाको साइत गरेर घरबाट पठाउनुभयो । तोते बोलीमा ‘नरुनु भोलि आइहाल्छु नि’ भन्दै नाति पनि विदा भयो । केटाको घरको तर्फबाट उनलाई बिहे गर्ने स्वीकृति थिएन, किनकि उनले एक विधवालाई बिहे गर्दै थिए । यो उनको परिवारको मात्र दोष होइन कि समाजकै दोष हो । तर परिवारको अस्वीकारबीच पनि उनले विद्रोह गरेर भए पनि बिहे गरेरै छोडे । नयाँ वैवाहिक जीवनमा बाँधिएर अहिले दुवै खुसी छन् र छोरा पनि बाबा पाएकोमा खुसी छ ।

सबै कुरा सोचाइ नै रहेछ, सोचाइ परिवर्तन गरे सबै कुरा सामान्य लाग्दोरहेछ । बुबाआमाले पनि आफ्नो सोचाइमा सानो परिवर्तन गरेर उनको गुमेको खुसीमात्र फर्काउनु भएन, आफू पनि खुसी भएर बाँच्न सिक्नुभयो । न त बुहारीसँग सम्बन्ध बिग्रियो, न त समाजले कुरा काट्न सक्यो, न नाति टाढियो । अहिले हाम्रो घर उनको लागि साँच्चिकै माइती भएको छ, नियास्रो लाग्यो भने माइती सम्झेर आउँछिन् ।

प्रकाशित : मंसिर १४, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×