नेपाली चलचित्रका उतार–चढाव

डा. घनश्याम खतिवडा

प्रविधिको उच्च प्रयोगबाट सामाजिक, सांस्कृतिक र राजनीतिक द्वन्द्वलाई कथात्मक र कलात्मक संयोजन गर्ने काम चलचित्रले गर्छ । मूर्तिकला, चित्रकला, शिल्पकला, वास्तुकला, नाट्यकला जस्तै चलचित्र कलाले पनि इतिहासलाई जीवन्त राख्ने काम गर्छ । कलाका पाँचवटा आयामभित्र नाट्यकला पाँचौं नम्बरमा पर्छ । नाटक श्रव्य र दृश्य विधा हो । नाटकमा भएका वस्तुस्थिति विधान र पात्र विधानबाटै प्रविधिको प्रयोगले चलचित्र जन्मिएको हो । चलचित्रलाई कलाको छैटौं आयाम मानिन्छ ।

ZenTravel

अंग्रेजी भाषाले सिनेमा भनी नामकरण गरेको चलचित्र विश्व इतिहासमा सन् १८८५ देखि आरम्भ भएको हो । नेपालमा भने सिनेमाको इतिहास करिब ६ दशकको मात्र छ । सन् १९६१ मा तत्कालीन राजा महेन्द्रको ४२ औं जन्मोत्सवको अवसरमा निर्मित उनको वृत्तचित्र नै प्रथम प्राविधिक चलचित्र हो । यसको निर्माण नेपाली मूलका भारतीय चलचित्रकर्मी स्व. हीरासिंह खत्रीले गरेका थिए ।

Meroghar

सन् १९६५ (२०२२ असोज १५) मा नेपाली चलचित्रको विधिवत् निर्माण आरम्भ भयो । विधिवत रूपमा चलचित्र ‘आमा’ नेपाली चलचित्रको प्रथम उपलब्धि थियो । ‘आमा’ चलचित्रका निर्देशक पनि स्व. हीरासिंह खत्री नै थिए । प्रविधि र प्राविधिक जनशक्ति स्वदेशभित्र नभए पनि बाहिरको प्रविधि र प्राविधिक जनशक्तिको जोडबलमा निर्मित ‘आमा’ नेपालीपन बोकेको चलचित्रको नमुना थियो । विषय र राष्ट्रियताको हिसाबले यो चलचित्रको निर्माण कोशेढुङ्गा नै सावित भयो ।

विज्ञ र विज्ञताको अभाव, प्रविधि र प्राविधिकहरूको कमी अनि चलचित्र सम्बन्धी सोच नै नभएका बेला ‘आमा’ चलचित्र निर्माण हनु कम सुखद थिएन । सुरुमा चलचित्र निर्माणको धारणा र कल्पनाको अवस्था कमजोर हुने नै भयो । इतिहास त बन्यो, तर त्यो दर्बिलो हुन सक्दैन कि भन्ने थियो । तर दर्बिलो र गर्खिलो इतिहास बन्यो । आज नेपाली चलचित्र त्यसैको जगमा दौडिरहेको छ ।

चलचित्रको विशिष्टता स्थापनाका लागि प्रविधि, प्राविधिक र विषय–वस्तुगत विशिष्टता सबैभन्दा महत्त्वपूर्ण हुन्छ । समाजको समग्र स्थितिभित्र मानवीय स्वभावको समेत प्रस्तुतीकरण गर्नु चलचित्रको मुख्य धर्म हो । २०२२ सालपछि नेपाली चलचित्र निर्माणमा छायाङ्कन बाहेकका सम्पूर्ण कार्य छिमेकी मुलुक भारतको ज्ञान, सीप र भूमिमा निर्भर रह्यो ।

हामीलाई आफ्नै प्राविधिक उपकरण र प्राविधिकहरू आवश्यक हुन थाल्यो । अनि तत्कालीन सरकारले सिर्जनात्मक तथा क्षमतावान युवाहरू छनोट गरी भारतको पुनास्थित इन्स्टिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा प्राविधिक शिक्षा लिन पठायो । यता स्वदेशमा २०२८ कात्तिक १६ गते शाही नेपाल चलचित्र संस्थानको जन्म भयो । यसै संस्थानमार्फत चलचित्र प्रविधि सम्बन्धी उपकरणहरू आयात पनि भए । प्राविधिक सेवाको सूत्रपात भयो । मुलुक कला, संस्कृति र सामाजिकताको उद्बोधनलाई चलचित्रमार्फत अघि बढाउन उद्यत भयो । केही सफलता प्राप्त भयो ।

समय नेगेटिभको थियो । नेगेटिभ प्रयोग गरिने क्यामेराहरू विश्वभर प्रचलित थिए । नेगेटिभका गेज फरक–फरक थिए । त्यसबेला नेपाली चलचित्रले राज्य व्यवस्थाको भरपूर साथ, सहयोग र नीति निर्देशन प्राप्त गरेको थियो । चलचित्र उद्योगको पूर्वाधार २०४२–४५ सालसम्म खडा भइसकेको थियो । शाही नेपाल चलचित्र संस्थान सँगसँगै निजी क्षेत्रबाट समेत चलचित्र निर्माणको क्रम आरम्भ भएको थियो । त्यसपछि क्रमशः लागत घटाउने र रहरमा ‘सेलिब्रेटी’ बन्ने जमातको अयोग्य प्रवेशले चलचित्रको उर्वर क्षेत्रमा किरा लाग्न सुरु भयो ।

चलचित्र क्षेत्रमा केही व्यवसायी निस्किए, तर व्यवसाय फस्टाएन । विदेशबाट उपकरणहरू ल्याएर व्यवसाय स्थापना गरेका केही फिल्म कम्पनीहरूले निर्माण लागत घटाउने र सस्ता प्राविधिकहरूको प्रयोगबाट चलचित्र निर्माण गर्छु भन्ने सपना बोकेर अघि बढ्दा गलत अवस्था सिर्जना भयो । विदेशी भूमिमा फ्याँकिएका सस्ता क्यामेराहरू, सस्ता गेजका नेगेटिभहरूको आयातको कारण नेपाली चलचित्रले उच्च प्रविधिको स्वाद पाउन सकेन । त्यसबेला १६ एमएमको नेगेटिभमा छायाङ्कन गरी ३५ एमएमको ‘ब्लोअप’ गर्ने काम पनि भए । जुन गलत थियो । बाहृय मुलुकका घटिया चलचित्रको कथावस्तु नक्कल गरी चलचित्र निर्माण गर्दा संख्या त वृद्धि भयो तर गुणस्तर धेरै कमजोर हुँदै गयो । चलचित्रमा कलालाई उच्च प्रविधिले संयोजन गर्न सक्नुपर्छ । तर २०४५–६५ सालसम्मको २० वर्षे यात्रामा नेपाली चलचित्रले न कला पक्ष खोज्यो, न त प्रविधि न प्राविधिकको उच्च दक्षता निर्माण नै गर्‍यो । यो समय उपलब्धिविहीन बन्यो । यो नेपाली चलचित्रको दयनीय अवस्था हो ।

२०६५ सालपछि यस क्षेत्रमा प्रविधिको उच्च प्रयोगमा दक्ष प्राविधिकहरू निस्किए । सरकारी संयन्त्रको प्रयासविना पनि प्रविधिमा नवीनता थपियो । विश्व परिदृश्यका प्रविधिहरूको ब्रान्डिङको आयात हाम्रा केही चलचित्र व्यवसायीले गरेपछि भने प्राविधिक हिसाबले चलचित्र अलि स्तरीय बन्न सुरु भयो । आइ–म्याक्स स्तरयुक्त ध्वनि, सरउन्डिङ साउन्ड, स्तरयुक्त प्रदर्शन इ–सिनेमाको विकास क्रमिक रूपमा रूपान्तरणका खुट्किलाहरू थपिए । तर विडम्बना, चलचित्रको कथात्मक कलाको प्राविधिक स्तर भने खस्किँदो छ ।

तत्कालीन अवस्थाको शाही नेपाल चलचित्र संस्थान विघटन भए पनि नेपाल चलचित्र विकास कम्पनी बनेर स्टुडियोहरू, प्रविधि र प्राविधिकहरूको ‘हब’ बनेको बालाजु स्टुडियो सरकारले निजीकरणका नाममा व्यक्तिलाई दिनु चलचित्र क्षेत्रप्रतिको ठूलो घाटा हो । जसको कारणले स्थायी रूपमा आधिकारिक सरकारी चलचित्रको स्टुडियो बन्द हुन पुग्यो । आज उक्त कम्पनीको हालत हेर्ने जोकोहीका पनि आँखा रसाउँछन्, अनि कम्पनी सम्हाल्ने नेपाली फिल्म उद्योगी व्यक्तिगत रूपमा ७–१० वटा हलका मालिक बनेका छन् । योभन्दा ठूलो विडम्बना चत्रचित्र उद्योगमा अरु के होला ?
सरकारको संरक्षणमा चलचित्र विकास बोर्ड जन्मियो, तर स्वायत्त निकाय भएन । बोर्डको दायित्व नियम, विनियम निर्माण र नियमनको हो । बोर्ड अन्तर्गत नै बालाजु स्टुडियो भैदिएको भए प्रविधि र प्राविधिकहरूको विकासमा धेरै उपलव्धि हासिल हुनसक्ने थियो ।

सरकारले चलचित्रसँग सम्बन्धित दक्ष अन्तर्राष्ट्रिय स्तरको प्राविधिक उत्पादन गर्न चाहेमा नेपाली सिर्जनकर्मी र प्राविधिकहरू सदा तयार छन् । नेपालीहरूसँग सिर्जनात्मक क्षमता नभएको होइन, छ । तर तत्कालीन सरकारले चलचित्र विकास कम्पनीको निजीकरण गरेर मृत्युशैयामा पुर्‍याइदियो । आज रहरमा चलचित्र सम्बन्धी प्रविधि चलाउने र प्राविधिक बन्नेहरूको कमी छैन । सरकारी सहयोगमा तत्कालीन समयमा छात्रवृत्तिमा पुना इन्स्टिच्युट र रसिया इन्स्टिच्युटमा पढेर आउने प्राविधिकहरूको ज्ञान, सीप समया अनुसार कमजोर भइसकेको छ । नयाँ प्राविधिकहरूको तयारी सरकारको प्राथमिकतामा छैन । निजामती कर्मचारीले चलचित्र नगरी निर्माण गर्ने होइन । चलचित्रकर्मीहरू नै त्यस प्रकारको नगरी निर्माण गर्ने खाका तयार पार्न अगाडि बढ्नुपर्ने हो । त्यसो भइरहेको छैन । यहाँ चलचित्र नगरीका परिकल्पनाकार निजामती कर्मचारी छन् । चलचित्रकर्मी छैनन् । चलचित्रसँग सम्बद्ध सम्पूर्ण प्राविधिक ज्ञान, सीप, कला, कौशल र सांस्कृतिक विज्ञलाई अघि लगाएर चलचित्र नगरी निर्माण गरी चलचित्र छायाङ्कनको विशिष्टता स्थापना गर्ने बेला गुज्रन लागिसकेको छ ।

ज्ञान, सीप, सिर्जनामा खटिने नेपाली चलचित्रकर्मीहरू पेसागत रूपमा नै चलचित्र क्षेत्रमा आत्मनिर्भर भएर लागिपर्न सक्ने वातावरणको अभाव हुनथाल्नु भनेको सरकारले आफूसँग भएको श्रमशक्ति छाडेर निजी क्षेत्रको प्रोत्साहनका लागि भन्दै यस क्षेत्रलाई छाडा छाड्नु हुँदैनथ्यो । निजी क्षेत्रका सञ्चालकहरू एउटा सामान्य स्टुडियोको भरमा यस क्षेत्रमा शान, मानसाथ काम गर्न सफल भइरहेका छन् भने बालाजु स्टुडियो किन चलेन ? चलचित्र क्षेत्रजस्तो संवेदनशील र अपरिहार्य विषयमा सरकार उदासीन हुनु गलत हो ।

अपवादबाहेक अव्यावसायिक र अदक्ष जनशक्तिको प्रयोगले नेपाली चलचित्रथिलथिलो बनेको छ । पेसामा समर्पित नहुने प्राविधिक र त्यसका सञ्चालकहरूको बढी बुझक्कडपन चलचित्रको गुणस्तरीयता खस्काउने कारण बनेको छ ।अब आफ्नै भूमिमा चलचित्र बनाएर गुणस्तरीय दर्शक बढाउने कोसिसमा नलागे चलचित्र क्षेत्र निकै कमजोर हुनेछ । यस क्षेत्रमा काम गर्ने करिब ३ लाख जनशक्ति अन्योल भविष्य लिएर बाँचिरहेका छन् । नीति नियमहरूको कडाइसाथ कार्यान्वयन गरी चलचित्र निर्माण र व्यापार गर्न छाड्ने र चलचित्र बनाई युट्युबमा हालेर मात्र चलचित्रको भविष्य बन्दैन ।
चलचित्र विधामा विज्ञता हासिल गरेका हाम्रा जनशक्तिले कथावस्तु र परिवेशको चित्रणमा लागेर निश्चित उपलव्धि हासिल गर्ने हो भने नेपाली चलचित्र

विश्व परिदृश्यमा पृथक र आकर्षक बन्नेछ । हामी सजिलै आत्मविश्वास जगाउन सक्छौं । मौलिक संस्कृतिको विविधता रहेको मुलुकका युवाहरू बलिउड प्रवेश गरेर त्यहाँका सिनेमाहरूमा प्राविधिक रूपमा उत्कृष्ट काम गरिरहेका छन् । मुम्बईका स्टुडियोहरूमा चलचित्र सम्पादन गर्नेहरू, एकता कपुरको बालाजी फिल्ममा स्क्रिप्ट लेख्ने र सहायक निर्देशन गर्नेहरू नेपाली सिर्जनशील युवाहरू नै छन् । उनीहरूको मिहेनत गुणस्तरीय मानिएका छन् ।

कथावस्तुको आधारमा चलचित्रको स्तरोन्नति छनोट गर्नुपर्छ । प्रविधि र प्राविधिकको मिहेनत त्यसमा बेजोड देखिनुपर्छ । निर्देशक एवं निर्माताले आफू–आफूबाट होइन, दर्शक सर्वेक्षणबाट कथावस्तु निर्माण गर्नुपर्छ । त्यस्तो चलचित्र छायाङ्कनमा जाँदा निर्देशक र निर्माताले आफन्त र सस्ता कलाकारको प्रयोग गर्नु हुँदैन । सानोभन्दा सानो भूमिकामा पनि प्रोफेसनल कलाकारको प्रयोग गर्नुपर्छ । नेपाली भूमि, भाषा, संस्कार र संस्कृति अनुसारका चलचित्रको शीर्षक निर्धारण गर्नुपर्छ । शीर्षक देश, काल परिस्थिति सुहाउँदो राखे मात्रै पनि नेपाली चलचित्रका दर्शक बढ्ने निश्चित छ ।
चलचित्र निर्माता, प्रदर्शक, कलाकार, प्राविधिक, दर्शक सबै नमिले यो क्षेत्र अघि बढ्न सक्दैन ।

एक व्यक्तिको मनगणन्ते मनोरञ्जन मात्र कदापि चलचित्र हुन सक्दैन । चलचित्र त होला, तर स्तरीय हुन सक्दैन । यदि दर्शकलाई न्याय गर्न सक्दैनौं भने हामीले चलचित्र क्षेत्रमा बस्ने र नचाहिँदा काम गरेर यो क्षेत्रलाई बिगार्ने अधिकार पनि छैन । निराशाका काला बादल चिरेर घमाइला दिनका लागि नचाहेर भए पनि हामीले दर्केझरी सहनैपर्छ । अब प्राविधिक रूपमा कुनै प्रकारको सम्झौता नगरिकन देश, काल र परिस्थिति सुहाउँदो चलचित्र निर्माणमा मिहेनतपूर्वक जुट्नुको विकल्प छैन ।

लेखक चलचित्र निर्देशक/कलाकार हुन् ।

प्रकाशित : मंसिर ७, २०७६ ०८:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दन्तमञ्जनको महिमा

डा. प्रकाश बुढाथोकी

बलियो, चम्किलो, किरा नलाग्ने, श्वास नगन्हाउने भन्दै विभिन्न ब्रान्डका दुथपेस्टका आकर्षक विज्ञापन सञ्चार माध्यमहरूमा दिन–प्रतिदिन बढ्दो छ । यस्ता दुथपेस्ट (दन्तमञ्जन) मध्ये कुनचाहिँ मुख स्वास्थ्यका लागि फाइदाजनक छ त ?



दन्तमञ्जनलाई सरकारले औषधिको रूपमा नहेरी सौन्दर्य प्रशाधनको रूपमा हेर्छ । प्रचार–प्रसार, बेचबिखन र प्रयोग गर्न कुनै रोकटोक छैन । तसर्थ आफ्नो, परिवार र बालबच्चाको स्वास्थ्यका लागि दन्तमञ्जन छनोटका खातिर आफै सचेत भई निर्णय गर्नुपर्छ ।

दाँतका सतह, गिँजा, भरिएका सिमेन्ट र नक्कली दाँत तथा प्रोस्थेसिसहरूलाई सफा गर्न र चम्काउन टुथब्रससँग प्रयोग गरिने औषधि वा सौन्दर्य प्रशाधन नै दन्तमञ्जन हो । सहर–बजारमा टुथब्रस र टुथपेस्टको उपलब्धता तथा प्रयोग भए पनि गाउँघरमा विना टुथब्रस वा दन्तमञ्जन दाँत सफा गर्ने चलन छँदैछ । दत्तिवन वा विना ब्रस मञ्जनमात्रै ओँठमा लिएर दाँत सफा गर्ने वा मञ्जनको साटो खरानी, कोइला, गोल, गुललाई मञ्जन मानी दाँत तथा मुख सफा गर्ने चलन पनि छ ।

दन्तमञ्जन दाँत सफा गर्नलाई सहयोग पुर्‍याउने सामग्री भएको हुनाले यसको प्रयोग नगर्दा दाँत सफा नै हुँदैन वा दाँत र गिँजामा रहेका दन्त लेउ, फोहोर, अड्किएकाखानेकुरा हट्दैनन् वा निस्कँदैनन् भन्ने छैन ।तर ती सामान कति सफा र फाइदाजनकछन् भन्नेबारे भने सोच्नैपर्छ । त्यसकारण
कुन टुथब्रस वा टुथपेस्ट उत्तम भन्नुभन्दा तपाईंले कतिपटक, कसरी सफा गर्नुहुन्छ, त्यसमा नै दाँत तथा मुखको सरसफाइ र स्वास्थ्य निर्भर गर्छ ।
साधारणतया दन्तमञ्जनमा निम्न तत्त्वहरू हुने गर्छ ।

१. खियाउने वस्तु– क्याल्सियम कार्बोनेट, क्याल्सियम फस्फेट, सिलिका, अलुमिना, टिन, किसेलगर, चारकोलले सिमेन्ट, नक्कली र दाँतको दाग, दन्तलेउ निकाल्छ ।
२. पानी– पानीले डिटर्जेन्टलाई राम्रोसँग काम गराउन मद्दत गर्छ ।
३. एन्टासिड–सोडियम वाइकार्बोनेट, सोडियम पर्वोरेट अम्ललाई नियन्त्रण गर्न राखिन्छ ।
४. बन्डिङ एजेन्ट– दन्तमञ्जनमा भएको ठोस र तरललाई बाँधेर आकार र बाक्लोपना दिन पेस्ट र जेल दन्तमञ्जनमा बेन्टोनाइट, म्युसिलिज अफ ट्रयागन्थ हुन्छ ।
५. ह्युमिकटेन्ट–पेस्ट र जेललाई सुख्खा हुनबाट रोक्न ग्लिसरिन, सर्विटोल, प्रोपाइलिन ग्लाइकोल जस्ता तत्त्व हुन्छ ।
६. डिटर्जेन्ट–सोडियम स्टेरेट, सोडियम लौरेल सल्फेटले फिँज निकालेर टाँसिएका चिल्लो र अन्य खाद्य पदार्थहरू हटाउँछ ।
७. एन्टिसेप्टिक– मुखमा भएका जीवाणुहरू कम गर्न थाइमोल, अल्कोहल, फेनोल, आयोडिन आदि राखिन्छ ।
८. राम्रो र मिठो स्वाद दिन– सुकुमेल, पिपरमेन्ट, स्पेरिमेन्टको तेल र मिथायल सालिसाइलेटलाई फ्लेभरिङ एजेन्टको रूपमा राखिन्छ ।
९. कलरिङ एजेन्ट– आकर्षक रंग दिन, कृत्रिम र प्राकृतिक कारामेल, क्लोरोफिल जस्ता रंग हुन्छ ।
१०. स्विटनर– गुलियो पदार्थ दाँत तथा गिँजालाई हानि नगर्ने र मधुमेहका बिरामीले पनि प्रयोग गर्न मिल्ने स्याकरिन हुन्छ ।
११. थिकनर– टुथब्रसमा मञ्जन राख्नु र ट्युबबाट थिचेर मञ्जन निकाल्न सजिलोका लागि राखिन्छ ।
यस बाहेक लामो समयसम्म जोगाइराख्न प्रिजरभेटिभ र दन्तमञ्जन अनुसार सिरिङ–सिरिङ हटाउन, दाँत सेतो बनाउन, रोगको उपचार गर्न थप रसायन राखिन्छ । दाँत तथा गिँजालाई बलियो बनाउन र स्वस्थ राख्नफ्लोराइड तत्त्व सोडियम फ्लोराइड, सोडियम मोनोफ्लोरो फसफेट आदि पनि हुन्छन् ।
दन्तमञ्जनका प्रकार

बजारमा उपलब्ध दन्तमञ्जनहरू धुलो वा जेलको रूपमा उपलब्ध छन् । धुलो दन्तमञ्जनमा खियाउने वस्तु बढी हुन्छ । धुलो दन्तमञ्जनलाई हातमा लिएर दल्दा नै छालामा खस्रो, रगडिएको अनुभव गर्न सकिन्छ । केही अम्मल/लत लगाउने वस्तु पनि पाइन्छ । दाँतको हीराजस्तै फ्लोराइड पनि राखिएको देखिँदैन । त्यस्तै जेल दन्तमञ्जनमा खियाउने वस्तु क्रिष्टलका रूपमा बढी हुन्छ ।

  • सामान्य वा सादा दन्तमञ्जन
  • एन्टिटारटार दन्तमञ्जन– सोडियम पाइरोफस्फेट राखिएको मञ्जनले क्याल्सियम र म्याग्नेसियम सलाइभाबाट हटाई दन्त पत्थर जम्मा हुन दिँदैन, तर जम्मा भइसकेको हटाउँदैन ।
  • फ्लोरिडेटेड दन्तमञ्जन– यसमा १० लाख भागमा ११ भाग फ्लोराइड राखिएको हुन्छ । उक्त मञ्जनले दाँत सफा गर्दा
फ्लोराइड दाँतको इनामेलभित्र गई बस्छ । जसले खाना, दन्तलेउ र जीवाणुको आक्रमणबाट दाँतलाई जोगाउँछ ।
  • डिसेन्सिटाइज्रिङ दन्तमञ्जन– ५ प्रतिशत पोटासियम नाइट्रेट, १० प्रतिशत स्ट्रोन्टियम क्लोराइड, फ्लोराइड, सोडियम मोनोफ्लोरो फस्फेट, फर्मल्डिहाइड राखिएको मञ्जन गिँजा तल सरेको, जरा देखिएको, दाँत खिएको र डेन्टिन देखिई सेन्सेटिभ भएको दाँतको उपचारमा प्रयोग गरिन्छ ।
  • साकाहारी दन्तमञ्जन– सम्पूर्ण पदार्थ वनस्पतिजन्य हुन्छन् ।
  • ब्लिचिङ दन्तमञ्जन– हाइड्रोजन पेरोक्साइड, कार्बामाइड पेरोक्साइड वा बेकिङ सोडा राखिएको मञ्जन दाँत सेतो बनाउन र टल्काउन प्रयोग
गरिन्छ । खियाउने तत्त्व बढी हुनेभएकाले चिकित्सकको परामर्शमा मात्र प्रयोग गर्नुपर्छ ।

प्रयोग गर्ने तरिका
दाँत सफा गर्ने ब्रस पानीमा भिजाएर ब्रसको बीच भागमा बालबालिका भए सानो मटर वा केराउको गेडाको आकारको दन्तमञ्जन वा वयस्क भए ठूलो केराउको गेडाजति दन्तमञ्जन राख्नुपर्छ । तत्पश्चात सफा औंलाले दन्तमञ्जन ब्रसको भित्र पस्नेगरी थिच्नुपर्छ । जसले गर्दा दाँत सफा गर्ने बेला दन्तमञ्जन सबै दाँतमा बाहिर आउँदैन, फिँजिएर दाँतभित्र पुग्छ । त्यसपछि कुनै पनि दाँतको कुनै पनि सतह नछुट्नेगरी ब्रस गर्नुपर्छ । दन्तमञ्जन सफा दाँतमा बढी असरदार हुन्छन् । दन्तब्रस र मञ्जनभन्दा ब्रस गर्ने तरिका महत्त्वपूर्ण हुने भएकाले उचित तरिका, समय तथा अन्य जानकारी डेन्टिस्टबाट सिकौं ।

राम्रो परिणामको लागि नरम ब्रस र फ्लोराइड भएको केराउ दानाजति मञ्जनले दिनको २ पटक खानापश्चात ३–३ मिनेट ब्रस गर्नुपर्छ । दिनको २ पटक फ्लसिङ गर्नु राम्रो हो । किनभने ब्रस र मञ्जन पुग्न नसक्ने दुई दाँत बीचको भाग यसले सफा गर्छ । दाँत माझेपछि आधा घन्टासम्म केही नखान र मुख कुल्ला नगर्न जोड दिनुपर्छ ।

प्रकाशित : मंसिर ७, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×