दन्तमञ्जनको महिमा
बलियो, चम्किलो, किरा नलाग्ने, श्वास नगन्हाउने भन्दै विभिन्न ब्रान्डका दुथपेस्टका आकर्षक विज्ञापन सञ्चार माध्यमहरूमा दिन–प्रतिदिन बढ्दो छ । यस्ता दुथपेस्ट (दन्तमञ्जन) मध्ये कुनचाहिँ मुख स्वास्थ्यका लागि फाइदाजनक छ त ?
दन्तमञ्जनलाई सरकारले औषधिको रूपमा नहेरी सौन्दर्य प्रशाधनको रूपमा हेर्छ । प्रचार–प्रसार, बेचबिखन र प्रयोग गर्न कुनै रोकटोक छैन । तसर्थ आफ्नो, परिवार र बालबच्चाको स्वास्थ्यका लागि दन्तमञ्जन छनोटका खातिर आफै सचेत भई निर्णय गर्नुपर्छ ।
दाँतका सतह, गिँजा, भरिएका सिमेन्ट र नक्कली दाँत तथा प्रोस्थेसिसहरूलाई सफा गर्न र चम्काउन टुथब्रससँग प्रयोग गरिने औषधि वा सौन्दर्य प्रशाधन नै दन्तमञ्जन हो । सहर–बजारमा टुथब्रस र टुथपेस्टको उपलब्धता तथा प्रयोग भए पनि गाउँघरमा विना टुथब्रस वा दन्तमञ्जन दाँत सफा गर्ने चलन छँदैछ । दत्तिवन वा विना ब्रस मञ्जनमात्रै ओँठमा लिएर दाँत सफा गर्ने वा मञ्जनको साटो खरानी, कोइला, गोल, गुललाई मञ्जन मानी दाँत तथा मुख सफा गर्ने चलन पनि छ ।
दन्तमञ्जन दाँत सफा गर्नलाई सहयोग पुर्याउने सामग्री भएको हुनाले यसको प्रयोग नगर्दा दाँत सफा नै हुँदैन वा दाँत र गिँजामा रहेका दन्त लेउ, फोहोर, अड्किएका खानेकुरा हट्दैनन् वा निस्कँदैनन् भन्ने छैन । तर ती सामान कति सफा र फाइदाजनक छन् भन्नेबारे भने सोच्नैपर्छ । त्यसकारण
कुन टुथब्रस वा टुथपेस्ट उत्तम भन्नुभन्दा तपाईंले कतिपटक, कसरी सफा गर्नुहुन्छ, त्यसमा नै दाँत तथा मुखको सरसफाइ र स्वास्थ्य निर्भर गर्छ ।
साधारणतया दन्तमञ्जनमा निम्न तत्त्वहरू हुने गर्छ ।
१. खियाउने वस्तु– क्याल्सियम कार्बोनेट, क्याल्सियम फस्फेट, सिलिका, अलुमिना, टिन, किसेलगर, चारकोलले सिमेन्ट, नक्कली र दाँतको दाग, दन्तलेउ निकाल्छ ।
२. पानी– पानीले डिटर्जेन्टलाई राम्रोसँग काम गराउन मद्दत गर्छ ।
३. एन्टासिड–सोडियम वाइकार्बोनेट, सोडियम पर्वोरेट अम्ललाई नियन्त्रण गर्न राखिन्छ ।
४. बन्डिङ एजेन्ट– दन्तमञ्जनमा भएको ठोस र तरललाई बाँधेर आकार र बाक्लोपना दिन पेस्ट र जेल दन्तमञ्जनमा बेन्टोनाइट, म्युसिलिज अफ ट्रयागन्थ हुन्छ ।
५. ह्युमिकटेन्ट–पेस्ट र जेललाई सुख्खा हुनबाट रोक्न ग्लिसरिन, सर्विटोल, प्रोपाइलिन ग्लाइकोल जस्ता तत्त्व हुन्छ ।
६. डिटर्जेन्ट–सोडियम स्टेरेट, सोडियम लौरेल सल्फेटले फिँज निकालेर टाँसिएका चिल्लो र अन्य खाद्य पदार्थहरू हटाउँछ ।
७. एन्टिसेप्टिक– मुखमा भएका जीवाणुहरू कम गर्न थाइमोल, अल्कोहल, फेनोल, आयोडिन आदि राखिन्छ ।
८. राम्रो र मिठो स्वाद दिन– सुकुमेल, पिपरमेन्ट, स्पेरिमेन्टको तेल र मिथायल सालिसाइलेटलाई फ्लेभरिङ एजेन्टको रूपमा राखिन्छ ।
९. कलरिङ एजेन्ट– आकर्षक रंग दिन, कृत्रिम र प्राकृतिक कारामेल, क्लोरोफिल जस्ता रंग हुन्छ ।
१०. स्विटनर– गुलियो पदार्थ दाँत तथा गिँजालाई हानि नगर्ने र मधुमेहका बिरामीले पनि प्रयोग गर्न मिल्ने स्याकरिन हुन्छ ।
११. थिकनर– टुथब्रसमा मञ्जन राख्नु र ट्युबबाट थिचेर मञ्जन निकाल्न सजिलोका लागि राखिन्छ ।
यस बाहेक लामो समयसम्म जोगाइराख्न प्रिजरभेटिभ र दन्तमञ्जन अनुसार सिरिङ–सिरिङ हटाउन, दाँत सेतो बनाउन, रोगको उपचार गर्न थप रसायन राखिन्छ । दाँत तथा गिँजालाई बलियो बनाउन र स्वस्थ राख्नफ्लोराइड तत्त्व सोडियम फ्लोराइड, सोडियम मोनोफ्लोरो फसफेट आदि पनि हुन्छन् ।
दन्तमञ्जनका प्रकार
बजारमा उपलब्ध दन्तमञ्जनहरू धुलो वा जेलको रूपमा उपलब्ध छन् । धुलो दन्तमञ्जनमा खियाउने वस्तु बढी हुन्छ । धुलो दन्तमञ्जनलाई हातमा लिएर दल्दा नै छालामा खस्रो, रगडिएको अनुभव गर्न सकिन्छ । केही अम्मल/लत लगाउने वस्तु पनि पाइन्छ । दाँतको हीराजस्तै फ्लोराइड पनि राखिएको देखिँदैन । त्यस्तै जेल दन्तमञ्जनमा खियाउने वस्तु क्रिष्टलका रूपमा बढी हुन्छ ।
- सामान्य वा सादा दन्तमञ्जन
- एन्टिटारटार दन्तमञ्जन– सोडियम पाइरोफस्फेट राखिएको मञ्जनले क्याल्सियम र म्याग्नेसियम सलाइभाबाट हटाई दन्त पत्थर जम्मा हुन दिँदैन, तर जम्मा भइसकेको हटाउँदैन ।
- फ्लोरिडेटेड दन्तमञ्जन– यसमा १० लाख भागमा ११ भाग फ्लोराइड राखिएको हुन्छ । उक्त मञ्जनले दाँत सफा गर्दा
फ्लोराइड दाँतको इनामेलभित्र गई बस्छ । जसले खाना, दन्तलेउ र जीवाणुको आक्रमणबाट दाँतलाई जोगाउँछ ।
- डिसेन्सिटाइज्रिङ दन्तमञ्जन– ५ प्रतिशत पोटासियम नाइट्रेट, १० प्रतिशत स्ट्रोन्टियम क्लोराइड, फ्लोराइड, सोडियम मोनोफ्लोरो फस्फेट, फर्मल्डिहाइड राखिएको मञ्जन गिँजा तल सरेको, जरा देखिएको, दाँत खिएको र डेन्टिन देखिई सेन्सेटिभ भएको दाँतको उपचारमा प्रयोग गरिन्छ ।
- साकाहारी दन्तमञ्जन– सम्पूर्ण पदार्थ वनस्पतिजन्य हुन्छन् ।
- ब्लिचिङ दन्तमञ्जन– हाइड्रोजन पेरोक्साइड, कार्बामाइड पेरोक्साइड वा बेकिङ सोडा राखिएको मञ्जन दाँत सेतो बनाउन र टल्काउन प्रयोग
गरिन्छ । खियाउने तत्त्व बढी हुने भएकाले चिकित्सकको परामर्शमा मात्र प्रयोग गर्नुपर्छ ।
प्रयोग गर्ने तरिका
दाँत सफा गर्ने ब्रस पानीमा भिजाएर ब्रसको बीच भागमा बालबालिका भए सानो मटर वा केराउको गेडाको आकारको दन्तमञ्जन वा वयस्क भए ठूलो केराउको गेडाजति दन्तमञ्जन राख्नुपर्छ । तत्पश्चात सफा औंलाले दन्तमञ्जन ब्रसको भित्र पस्नेगरी थिच्नुपर्छ । जसले गर्दा दाँत सफा गर्ने बेला दन्तमञ्जन सबै दाँतमा बाहिर आउँदैन, फिँजिएर दाँतभित्र पुग्छ । त्यसपछि कुनै पनि दाँतको कुनै पनि सतह नछुट्नेगरी ब्रस गर्नुपर्छ । दन्तमञ्जन सफा दाँतमा बढी असरदार हुन्छन् । दन्तब्रस र मञ्जनभन्दा ब्रस गर्ने तरिका महत्त्वपूर्ण हुने भएकाले उचित तरिका, समय तथा अन्य जानकारी डेन्टिस्टबाट सिकौं ।
राम्रो परिणामको लागि नरम ब्रस र फ्लोराइड भएको केराउ दानाजति मञ्जनले दिनको २ पटक खानापश्चात ३–३ मिनेट ब्रस गर्नुपर्छ । दिनको २ पटक फ्लसिङ गर्नु राम्रो हो । किनभने ब्रस र मञ्जन पुग्न नसक्ने दुई दाँत बीचको भाग यसले सफा गर्छ । दाँत माझेपछि आधा घन्टासम्म केही नखान र मुख कुल्ला नगर्न जोड दिनुपर्छ ।
प्रकाशित : मंसिर ७, २०७६ ०८:४९