कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बढेकै हुन् त बाघ ?

युवराज भट्टराई

सन् २०२२ सम्ममा बाघको जनसंख्या दोब्बर पुर्‍याउनु २०१० को पिटर्सवर्ग सम्मेलनको महत्त्वाकाक्षीं घोषणा थियो । सन् २००९ मा नेपालमा पाटे बाघको संख्या १२१ थियो । तसर्थ पिटर्सवर्ग घोषणा अनुसार नेपालले २०२२ सम्ममा यो संख्या दोब्बर अर्थात २४४ पुर्‍याउनु पर्नेछ । २०१८ को गणनामा यो संख्या बढेर २३५ पुगिसकेको छ । लक्ष्य प्राप्ति गर्न अझ ४ वर्ष समयसीमा छ । मात्र ७ वटा बाघको खाँचो छ । 

बढेकै हुन् त बाघ ?

१९९४ मार्च २८ मा ‘टाइम्स’ले एसियाबाट केही वर्षमै बाघ लोप भइसक्ने घोषणा गरेको थियो । लोप पनि किन नहोस्– बाघ संरक्षणविद् डा. हेमन्त मिश्रकै शब्द सापट लिएर भन्नुपर्दा, ‘दैनिक एक डलरभन्दा न्यून आय हुने आम मानिसहरूको सागरभित्र थोरैमात्र बाघ बचेका छन् । अर्कोतिर उत्तरतिरको चीन संसारको सबैभन्दा ठूलो बाघको अवैधानिक बजार हो ।’ इन्भारोमेन्टल इन्भेस्टिमेन्ट एजेन्सीका अनुसार, चीनको बजारमा एउटा वयस्क बाघका अवशेषहरूको लगभग ८० हजार अमेरिकी डलरसम्म आउँछ । यस विषम परिस्थितिमा नेपालले पाएको सफलता अभूतपूर्व छ ।

पिटर्सवर्ग सम्मेलन सफल ठहरियो । विश्व बैंक र डब्लु–डब्लु एफका अध्यक्षसमेत सहभागी सम्मेलनले बाघ संरक्षणका पाँच वर्षसम्मको लागि ३३० मिलियन अमेरिकी डलरको ‘फन्ड’ जुटाउन सफल भयो । सम्मेलनमा नेपालले बाघ दोब्बर पुर्‍याउने प्रतिबद्धता मात्र जनाएन, यसले त्यसपछि ५५० वर्ग किलोमिटर क्षत्रफल भएको बाँके राष्ट्रिय निकुञ्जको घोषणा गर्‍यो । बर्दिया राष्ट्रिय निकुञ्जसँग बाँके पनि जोडिँदा १५१८ क्षेत्रफलको नयाँ बाघ क्षेत्र निर्माण भयो । अहिले बाँके (२१) र बर्दिया (८७) गरी १०८ बाघ यस क्षेत्रभित्र छन् । बाँकेलाई नयाँ निकुञ्ज बनाइएपछि त्यहाँ बाघको संख्या ४ वर्षमा पाँच गुणा बढी भएको छ । २०१३ मा त्यहाँ (३–७) बाघ थिए ।

त्यसैगरी बर्दियामा २०१३ मा जम्मा ५० बाघ थिए, झन्डै दुई गुणा वृद्धि हुँदै अहिले ८७ पुगिसकेको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरी ५ वर्षयता बाघको संख्या १९ प्रतिशत वृद्धि हुँदा बाँके र बर्दियामा मात्र शत प्रतिशतले बढेको देखिन्छ । निर्णय स्तरमा चालिएको एउटा सानो सकारात्मक कदमको कति ठूलो परिणाम निस्कन्छ भन्ने उदाहरण हो यो । त्यहाँ जंगल थपिएको होइन । मात्र राष्ट्रिय निकुञ्ज बनेपछि त्यहाँ ‘एन्थ्रोपोजेनिक’ व्यवधानमा कमी आयो, फलस्वरुप बाघको संख्या चार वर्षमा पाँच गुणाले बढ्यो ।

पर्सा वन्यजन्तु आरक्षणमा पनि बाघको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । ७ (४—७) को संख्या २०१८ मा बढेर १८ (१६—२४) सम्म पुगेको छ । शुक्लाफाँटामा बाघको संख्या यथास्थिति (१६—१७) छ । अप्रत्यासित ढंगबाट चितवनमा बाघको संख्या घटेको छ । २०१४ मा १२० रहेकोमा २०१८ मा घटेर ९३ पुगेको छ । चितवनमा बाघको संख्या गिरावटको वार्षिक प्रवृत्ति यस्तै नै हो भनेर यकिन गर्न सकिएको छैन । यद्यपि २०१८ को बाघ गणना प्रतिवेदनले यहाँ बाघको संख्यामा कमी आउनुका यथेष्ट कारण उल्लेख गरेको छ ।

पहिलो महत्त्वपूर्ण पक्ष, चितवन राष्ट्रिय निकुञ्ज दक्षिणमा भारतको वाल्मिकी टाइगर रिजर्भसँग जोडिएको छ । पर्सा, वाल्मिकी र चितवनको संयोजन तराई आर्क ल्यान्डस्केप (ताल) को सबैभन्दा पूर्वमा अवस्थित बाघ संरक्षणको महत्त्वपूर्ण क्षेत्र हो । यस क्षेत्रभित्र प्रायः बाघहरू ओहोर—दोहोर गर्ने गर्छन् । २०१८ को प्रतिवेदनलाई मान्ने हो भने अहिले चितवन राष्ट्रिय निकुञ्ज सरेर जाने बाघहरूको स्रोत क्षेत्रजस्तो भएको छ । उक्त निकुञ्जबाट बाघ घट्नुमा यहाँका केही बाघहरू पर्सा र वाल्मिकीतिर सरेको हुनसक्ने एउटा कारण दिइएको छ । पर्सा र वाल्मिकीमा बाघको संख्यामा उल्लेख्य वृद्धि हुनुले पनि यो कुरा पुष्टि गर्छ ।

२००९ देखि २०१३ सम्ममा पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्रयापमा देखिएका कुल ३१ बाघमध्ये १० वटा पहिला नै चितवनको ट्रयापिङमा देखिएका थिए भने अरु १२ बाघ पनि पर्सामा जन्मिएर हुर्किएका थिएनन् । त्यसैगरी वाल्मिकी टाइगर्स रिजर्भमा २००९ मा कुल १० बाघ थिए भने २०१८ मा त्यहाँ बाघको संख्या ३१ पुगिसकेको छ ।

आन्तरिक प्रतिस्पर्धा चितवनका बाघको संख्याको गिरावट/बसाइँ–सराईको अर्को प्रमुख कारण हो । अर्को प्रमुख कारण २०१७ को बाढी पनि हो । उक्त बाढीले असंख्य जंगली जनावरहरू राष्ट्रिय निकुञ्जबाट बगाएको थियो । बाघका आहारा प्रजातिका जीवहरू बाढीले बगाउँदा चितवनका बाघका आन्तरिक सिकार क्षेत्रहरू हेरफेर भएको र बाघ विस्थापन हुनुपरेको तर्क पनि सान्दर्भिक देखिन्छ । सन् २०१४ को तुलनामा सिकार घनत्व पनि खस्केको देखिन्छ जसले गर्दा पनि बाघहरू विस्थापन भएको नकार्न सकिन्न ।

बाघको आन्तरिक द्वन्द्व बढ्दै जाने र विस्थापन नरोकिने हो भने चितवनमा बाघको संख्या घट्ने मात्र नभई आसपासका मध्यवर्ती क्षेत्रमा विस्थापित घाइते बाघ र मानव द्वन्द्व बढ्ने निश्चितजस्तै देखिन्छ ।

शुक्लाफाँटा आरक्षणमा पनि बाँघको संख्या बढ्न सकेन । चितवनमा जस्तै यहाँ पनि भारततिर बाघहरू विस्थापित हुने गर्छन् । प्रतिवेदन अनुसार, त्यहाँ बघिनीको तुलनामा बाघको संख्या अधिक छ । त्यहाँ कमैमात्र डमरुहरू जन्मिन्छन्, तिनीहरू हुर्कने सम्भावना पनि न्यून हुन्छ । २०१७ मा दुईवटा डमरु वयस्क बाघले मारिदियो, जसलाई ‘इन्फ्यान्टिसाइड’ भनिन्छ । शुक्लाफाँटामा एउटा हुर्किसकेको डमरु पनि इलाका नियन्त्रणको द्वन्द्वमा वयस्क बाघद्वारा मारियो ।

चितवन र शुक्लाफाँटालाई छोड्ने हो भने अन्य तीन पर्सा, बाँके र बर्दियामा उल्लेख्य मात्रामा बाघ बढेका छन् । यी राष्ट्रिय निकुञ्जको बाघ वृद्धिका विस्तृत कारणहरूको अध्ययन भने गरिएको देखिँदैन । २०१५ मा पर्साको कोर एरियालाई १२८ वर्ग किलोमिटरबाट बढाएर ६२७ वर्ग किलोमिटर बनाइयो । त्यही अनुसार आवश्यक सुरक्षा पोस्टहरू निर्माण गर्दै ‘एन्थ्रोपोजेनिक’ व्यवधानमा कमी ल्याइयो । यसैले पनि पर्सामा बाघको आकर्षण बढ्यो । चितवनको आन्तरिक द्वन्द्वबाट विस्तापित बाघको सहज गन्तव्य पर्सा भयो । नयाँ बाँके क्षेत्र निर्माण, आवश्यक सुरक्षा पोष्टहरू, कोरिडरहरूको उचित व्यवस्थापन, सीमावर्ती क्षेत्रका स्थानीयवासीको सहकार्यजस्ता पक्षले बाँके र बर्दियामा बाघ वृद्धि सम्भव भएको हो ।

२०१८ मा आइपुग्दा छिमेकी मुलुक भारतले पनि बाघ संरक्षणमा अकल्पनीय परिणाम निकालेको छ । २०१४ मा त्यहाँ कुल २,२२६ बाघ थिए, २०१८ मा यो संख्या बढेर २,९६७ पुगेको छ । नेपालमा पछिल्लो ४ वर्षमा १९ प्रतिशत ले बाघको संख्या बढ्दा भारतमा ३३ प्रतिशतले वृद्धि भएको छ । यसले बाघ संरक्षणमा ठूलो आशा पलाएको छ ।

१८७५ देखि १९२५ सम्मको ५० वर्षको अवधिमा भारतमा ८० हजार जति बाघ मारिएको अनुमान गरिन्छ । ६० को दशकमा बाघको स्थिति यति दयनीय अवस्थामा पुगेको थियो कि अर्को शताब्दीमा बाघ देख्न नपाइने आँकलन गरिएको थियो । सन् १९७२ मा वन्यजन्तु संरक्षण ऐन त ल्याएयो । तर २००६ मा आइपुग्दा भारतमा बाघको संख्या घटेर १४,११ म आइपुगेको थियो । यद्यपि उनीहरू चुपचाप बसेनन्— बरु परिणाम निकाल्न केही कसुर बाँकी राखेनन् । फलस्वरुप, २०१४ मा २,२२६ हुँदै २०१८ मा बढेर २, ९६७ पुगिसकेको छ । बाघको वृद्धिदर पनि २००९ बाट क्रमशः २० प्रतिशत, ३० प्रतिशत र ३३ प्रतिशत छ ।

नेपाल–भारत दुबैतिर यस पटकको सर्वेक्षण एकदमै विश्वसनीय पनि देखिन्छ । भारतले पाँचवटा बाघका विशाल क्षेत्रहरू निर्धारण गरेको छ । यिनै क्षेत्रका आधारमा बाघको संख्या सार्वजनिक गरिएको छ । शिवालिक शृंखला र गंगा तटीय क्षेत्रमा बाघको संख्या ३४० बाट बढेर ४४२ पुगेको छ । यो भनेको ३० प्रतिशत ले वृद्धि हुनु हो । यहाँको बाघको संख्याले नेपालको बाघ पर्यावरणमा विशेष महत्त्व राख्छ । नेपालको मध्य तथा पश्चिम तराईका बाघहरू जुनसुकै बेला पनि त्यस क्षेत्रतिर सर्न सक्छन् । त्यताका बाघहरू पनि आउन सक्छन् ।

बाघको संख्या बढेको छ । तर अबको समय कम चुनौतीपूर्ण भने छैन । वन्यजन्तु संरक्षणविद् नेहा सिन्हाले ‘गार्डियन’लाई भनेकी छिन् कि संरक्षण क्षेत्रभित्र बाघ उल्लेख्य रूपमा जन्मिएर हुर्किएका छन् । तर यो संख्यालाई यथास्थितिमा राख्ने हो भने तिनलाई फैलन र आफ्नो इलाका बनाउन दिनुपर्छ । हरेक वयस्क बाघको आफ्नो छुट्टै इलाका हुन्छ । सिन्हाका अनुसार, ‘कहिलेकाहीँ त एउटै बाघले २०० वर्ग किलोमिटर क्षेत्र ओगट्छ ।’ क्षेत्र साँघुरो भएमा बाघहरू एकआपसमा जुध्छन् र विस्थापित बाघहरू मानव इलाकामा प्रवेश गर्दा बाघ–मानव द्वन्द्वको अवस्था सिर्जना हुनसक्छ । नराम्ररी घाइते भएका बाघहरू प्राकृतिक बासस्थानमा प्राकृतिक सिकार गर्न असमर्थ हुँदा सहज सिकारको लागि ढुकेर मान्छेलाई आहारा बनाउन सक्छन् ।

भारतमा यो त्यति ठूलो समस्या नहुन सक्छ । किनकि सम्भावित बाघ क्षेत्रको १० प्रतिशत क्षेत्रभित्र मात्र भारतमा बाघ छन् । चाहेको अवस्थामा अरु १० गुणा बढी क्षेत्रमा उसले बाघ विस्तार गर्न सक्छ । भारतले यो परिणाम पनि त्यत्तिकै निकालेको होइन । सन् २०१४ मा कुल ६९२ वटा संरक्षण क्षेत्र थियो भने अहिले उसले यो संख्या ८८० पुर्‍याइसकेको छ । सामुदायिक संरक्षण क्षेत्र ५० बाट बढाएर १०० पुर्‍याइसकेको छ ।

बाघको संख्या निर्धारणको सबैभन्दा महत्त्वपूर्ण कुरा यसको आहारा प्रजातिको अवस्था हो । नेपालका पाँचै निकुञ्जमा आहारा प्रजातिको घनत्वमा नगन्य ह्रास आएको छ । २०१७ को बाढीले चितवन र २०१५ को बाढीलाई आहारा प्रजातिको ह्रासको एउटा कारण मानिएको छ भने जाडो मौसममा कैद गरिएका तस्बिरमा ‘पोर भिजिबिलिटी’ का कारण साना आहारा प्रजाति नदेखिएको तर्क पनि छ । क्षेत्रगत हिसाबले हेर्दा बर्दिया, चितवन र शुक्लाफाँटा आहारा प्रजातिको घनत्व पनि उच्च छ भने पर्सामा केही कम र बाँकेमा एकदमै पातलो देखिन्छ । बाघको घनत्व पनि बर्दिया र चितवनमा उच्च तथा पर्सा, बाँके र शुक्लाफाँटामा न्यून देखिन्छ ।

बर्दियामा प्रत्येक १०० वर्ग किलोमिटरभित्र ४ देखि ५ बाघ अँटाएका छन् भने चितवनमा ३ देखि ४ वटा । बर्दियामा प्रत्येक १ वर्ग किलोमिटरभित्र ७७ र चितवनमा ७० आहारा प्रजाति छन् । एउटा वयस्क बाघलाई वर्षमा ३० देखि ५० किलोसम्मका कम्तीमा ६० आहारा प्रजाति चाहिन्छ । डमरुका आमाहरूलाई अझ बढी चाहिन्छ ।

कहिलेकाहीँ एउटै बाघले २०० वर्ग किलोमिटर क्षेत्र ओगट्न सक्छ । चितवन र बर्दियामा प्रत्येक १०० वर्ग किलोमिटरमा ३ देखि ५ सम्म बाघ देखिन्छन् । यी निकुञ्जको बाघको भार बहन क्षमता कति हुन सक्ला ? यो पनि अर्को विशेष विषय हो । चितवनमा बाघको आन्तरिक प्रतिस्पर्धा कति धेरै छ भन्ने कुरा त त्यहाँ जुधेर मर्ने बाघ र विस्थापित हुने बाघको संख्याबाट प्रस्ट देखिन्छ । नेपालमा बाघको आन्तरिक प्रतिस्पर्धा अबको दिनको सबैभन्दा ठूलो चुनौती हो ।

शुक्लाफाँटा छोडेर अन्य सबै निकुञ्जभित्र पोथीको संख्या तुलनात्मक रूपमा उच्च छ । समग्रमा ११८ बघिनी छन् र २८ वटा डमरुहरू छन् । यसको अर्थ निकट भविष्यमा उल्लेख्य मात्रामा डमरु जन्मने सम्भावना छ । सबै निकुञ्जमा बाघको घनत्व र आन्तरिक प्रतिस्पर्धा आगामी वर्षहरूमा उच्च हुने सम्भावना छ ।

चोरी सिकार नियन्त्रणले मात्र बाघ बढ्दैनन् । बाघ बढाउन तिनलाई फैलन दिनुपर्छ । फैलनका लागि अनुकूल वातावरण चाहिन्छ । एउटा क्षेत्रबाट अर्कोतिर सर्न सक्ने आवश्यक करिडरहरू चाहिन्छन् । भारतले मुख्य त क्षेत्र विस्तार गरेर चार वर्षमा ३३ प्रतिशतको वृद्धि ल्याएको हो । नेपालको १९ प्रतिशतको वृद्धि पनि पर्सामा कोर क्षेत्रको वृद्धि र बाँकेको नयाँ क्षेत्र प्रमुख कारणहरू हुन् । यही संख्यालाई निरन्तरता दिन पनि बाघ फैलन पाउने वातावरण सिर्जना गर्नुपर्छ ।

नेपालमा अरु सम्भावित बाघक्षेत्र कुन—कुन हुन सक्छन् ? यो विषयमा खासै चासो दिएर अनुसन्धान गरेको पाइन्न । विगतमा नेपालको मध्य पहाडी शृंखला पनि बाघको अरु प्रमुख क्षेत्र थिए । अहिले त पाँच निकुञ्जभित्र सीमित भइसकेका छन् । अहिले लगभग सबै पहाडी क्षेत्रबाट पाटेबाघ हराइसकेको देखिन्छ । पहिलो कुरा त बाघ सम्बन्धी शोधहरू निकुञ्जमा केन्द्रित छन् । चार हजार मिटर माथिसम्म पाटेबाघ विचरण गर्ने गरेको रेकर्ड छ । थुप्रै पहाडी भूभागमा १०—१५ वर्ष अघिसम्म आक्कल—झुक्कल बाघहरू देखिएको पाइएको छ । कसरी अकस्मात पहाडी क्षेत्रबाट बाघहरू विस्थापित भए भन्ने आधिकारिक अनुसन्धान छैन । चोरी सिकारको बिगबिगीमा निकुञ्जभित्रको बाघको अस्तित्व संकटमा परेको समय निकुञ्ज बाहिर निर्जन पहाडी क्षेत्रका बाघहरू सकिनु कुनै नौलो होइन ।

हुन सक्छ, नेपालका राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा जन्मदर पनि उच्च भएको होला । यद्यपि चुरे र पहाडी क्षेत्रबाट विस्तारै विस्थापित बाघहरू निकुञ्ज र आरक्षणतिर केन्द्रीकृत भएको सम्भावनालाई नकार्न मिल्दैन । त्यसो त २००९ बाट २०१४ मा निकुञ्जभित्र ६३ प्रतिशतले बाघ बढेका थिए । कसरी यो वृद्धि सम्भव भयो भन्ने हामीसँग चित्तबुझ्दो शोध पनि छैन ।

तराईमा सम्भावित बाघक्षेत्र विस्तार अब असम्भव प्रायः छ । अर्कोतिर बसाइँ–सराइका कारण पहाडी क्षेत्रहरू निर्जन बन्दैछन् । वन पैदावर माथिको निर्भरता विस्तारै घट्दैछ । तसर्थ फेरि मध्य पहाडका जंगलहरूलाई पनि बाघको गन्तव्य बनाउन सकिएला कि ? केही हदसम्म भूटानबाट पनि पाठ सिक्न सकिन्छ । भूटानमा पछिल्लो २०१४ को गणना अनुसार मात्र १०३ बाघ छन् । रमाइलो पक्ष भूटानमा बाघहरू समुद्र सतहको १०० मिटर माथिदेखि ४००० मिटर उचाइसम्म विचरण गर्छन् । त्यसो त भूटानमा ७२ प्रतिशत भूभाग जंगलले ढाकेको छ र ५१.४ प्रतिशत भूभाग त संरक्षित क्षेत्रले नै ओगटेको छ । थोरै संख्यामा भए पनि भूटानका बाघहरू संसारकै सुरक्षित बाघमा गनिन्छन् ।

हाम्रोमा भौगोलिक विविधता असीमित छ, तर संरक्षित क्षेत्र न्यून छन् । प्रायःजसो आरक्षणहरू उच्च पहाडी र हिमाली क्षेत्रमा छन् । शिवपुरी—नागार्जुन राष्ट्रिय निकुञ्ज छोड्ने हो भने अरु एउटा पनि संरक्षण क्षेत्र मध्य पहाडी क्षेत्रमा पर्दैनन् । तराई ल्यान्ड आर्कका पाँचैवटा संरक्षण क्षेत्रले राम्रोसँग चारकोशे/चुरे र महाभारत छुँदैनन् । पूर्व, पश्चिम, चुरे—तराई बीचको ‘बायोलोजिकल करिडर’ पूर्णतः ध्वंस भइसकेको छ । कोशी, गण्डकी र कर्णाली नदी करिडरहरू पनि पहाड र तराई बीचको एउटा बायोलोजिकल करिडर हुन सक्थे । तर पहाडी क्षेत्रमा संरक्षण क्षेत्रको अभावले त्यो पनि सम्भव देखिँदैन । यस्तो विषम परिस्थितिमा संसारकै सबैभन्दा सकसपूर्ण अवस्था नेपालका बाघको छ । खासमा भन्नुपर्दा एउटा साँघुरो इलाकामा बाघहरू जकडिएका छन् ।

नेपालकै जंगल मासेर बनाइन लागिएको विमानस्थल हेरौं । यो आसपासका क्षेत्र भनेका ‘ताल’ क्षेत्रसँग पूर्वलाई जोड्ने महत्त्वपूर्ण बायोलोजिकल करिडर हुन् । यदि यसलाई घना वनक्षेत्रमै रूपान्तरण गर्ने हो भने चितवनबाट विस्थापित बाघहरूलाई नेपालको पूर्वी क्षेत्रहरू लगायत सिन्धुली/रामेछापदेखि पूर्वका पहाडी जिल्लाहरूतिरसम्म कनेक्सन जोड्ने आधार हुनसक्छ । पर्यटन प्रबन्धनका नाममा त्यसैगरी अहिले निकुञ्ज क्षेत्रभित्र व्यावसायिक रिसोर्टहरू खोल्ने नयाँ विधेयक पनि ल्याइँदैछ । बाघलाई अलिकति पनि मानवीय हस्तक्षेप मन पर्दैन । त्यसैले नै नेपालका ‘कोर’ निकुञ्ज क्षेत्रभित्र ९८ प्रतिशत भूभागमा बाघ भरिएका छन् भने हल्का–फुल्का मानवीय प्रभाव भएका निकुञ्ज क्षेत्रभित्र ६८ प्रतिशत भूभागमा मात्र बाघ विचरण गर्छन् ।

यसबाट प्रस्ट हुन्छ कि यदि नेपालले निकुञ्जभित्र मानवीय हस्तक्षेप गर्ने र थप बाघक्षेत्र विस्तार नगर्ने तथा भारतले शिवालिक शृंखला एवं गंगा तटीय क्षेत्रमा बाघ क्षेत्रहरू यही अनुपातमा विस्तार गर्ने हो भने निश्चय नै नेपालका बाघहरू त्यतै सोहोरिनेछन् । नेपालका बाघ संरक्षणका खास चुनौतीहरू हिजो होइन, अब सुरु हुँदैछन् ।

प्रकाशित : मंसिर ७, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?