कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महिलाको ‘इज्जत’ !

डा अरुणा उप्रेती

काठमाडौँ — हाम्रो समाजमा एउटा भ्रम छ— महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बलात्कार गर्छ, महिलाको ‘इज्जत’ लुटिएको ठानिन्छ । तर जुन पुरुषले अपराध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बलात्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लुटियो’ भन्ने कहिल्यै सुनिँदैन ।

महिलाको ‘इज्जत’ !

महिलाको ‘इज्जत’ लुटिँदा उसको श्रीमानको ज्यान पनि जान्छ भन्ने कथाचाहिँ सुनिन्छ । महिलाको योनि ‘पवित्र’ भए लोग्नेका ज्यान बच्ने र ‘योनि’ अपवित्र भए लोग्ने मर्ने कथा त पुराणमै छ । जालन्धरकी पत्नी वृन्दाको सतित्व जब विष्णु भगवान्ले भेष बदलेर लुटे, तबमात्र युद्धमा देवताहरूले जालन्धरलाई मार्न सफल भए । विष्णुले वृन्दाको ‘इज्जत’ लुटेबापत उनी भने पूजा गरिने ‘तुलसी’ र ‘शालिग्राम’ मात्रै बन्नुपर्ने भयो । उनको त ‘पुरुषत्व लुटिएको’ वा इज्जत गएको चाहिँ कतै सुनिँदैन ।


गौतम ऋषिकी पत्नी अहिल्याको रूपले मुग्ध भएका इन्द्रले पनि महर्षि गौतमको रूप लिएर अहिल्यालाई बलात्कार गरे । गौतम ऋषिले थाहा पाएपछि ‘आफ्नो पतिलाई पनि चिन्न नसकेको’ भनेर अहिल्यालाई श्राप दिए, ‘ढुंगा बन’ भनेर । अहिल्याले गल्ती नभए पनि सजाय पाइन्, उनीमाथि अपराध गरेका इन्द्रले चाहिँ राजाको पद छोड्नु परेन । के अहिल्या, वृन्दाप्रति त्यो अन्याय थिएन ? उता, इन्द्रले अहिल्यालाई ‘बलात्कार’ गरेपछि उनकी पत्नीले ‘इन्द्र तिम्रो शरीर अपवित्र भयो, तिमी मेरो नजिक नआउ’ त भन्ने साहस गर्न पनि सकिनन् ।


महिलाको पवित्रता उनको योनिसंँग गाँसिन्छ । तर पुरुषको इज्जत उसको गुप्तागसंँग नगाँसिनु अचम्म होइन र ? नेपाली समाजमा मात्र होइन, अफगानिस्तान, पाकिस्तान, इरान, सिरिया आदि मुस्लिम बाहुल्य मुलुकमा झन् महिलाको शरीरप्रति गरिने अत्याचार उदेकलाग्दो छ । त्यहाँ कुनै युवतीले आमाबुबाको इच्छाबेगर आफूले चाहेको तर समाजले र परिवारले नचाहेको युवकसंँग विवाह गरिन् भने ‘परिवारको इज्जतमा दाग लगाएको’ भनेर ‘अनर किलिङ’


(इज्जतका नाममा मार्न) गर्ने अर्थात् ढुंगाले हानेर, विष खुवाएर, जलाएर, घाँटी थिचेर मार्ने गरिन्छ र यसलाई कुनै अपराध नै मानिन्न । अफगानिस्तानमा त कुनै युवतीले घरका बाहेक अन्य मानिससँंग हाँसेर कुरा गरिन् भने पनि उनी सजायको भागिदार हुन्छिन् । अझ त्यहाँ त कुनै ‘सलिम’ नामको व्यक्तिले ‘अदा’ नामकी युवतीलाई बलात्कार गर्‍यो भने सजायस्वरुप ‘सलिम’ का दिदीबहिनीलाई अदाका दाजु वा बाबुले बलात्कार गरेर ‘सलिम’ लाई सजाय दिलाउने ताजुबलाग्दो प्रावधान छ । पुरुषले नकाम गर्ने तर त्यसको सजायको भागिदार अपराधीका परिवारका महिला हुने ? अर्थात ‘महिलाको शरीर’ जसरी भए पनि पुरुषको भोगको लागि तयार हुनुपर्ने ? मानौं, महिला पुरुषका लागि सम्पत्ति नै हुन् । र पुरुषको प्रयोजनका लागि महिलालाई जहिले र जसरी पनि ‘इज्जत’ का लागि प्रयोग गर्न सकिन्छ ।


अझ कट्टर मुस्लिम धर्म अनुसार त यदि कुनै महिलालाई कसैले बलात्कार गर्‍यो भने उनले नै चारजना साक्षी खोज्नुपर्ने प्रावधान छ । उनले चारजना साक्षी अदालतमा ल्याउन सकिनन् भने अदालतले उल्टै उनलाई पुरुषको मानहानि गरेको भनेर दण्ड दिने अवस्था पनि हुनसक्छ । यदि महिला दृष्टिविहीन छिन् र उनलाई कुनै पुरुषले बलात्कार गर्‍यो भने ती दृष्टिविहीनले पनि चारवटा ‘साक्षी’ ल्याउनुपर्छ । आफूलाई कसैले बलात्कार गर्दा, चारजना साक्षी कसरी खोज्नु ?


कतिपय समाजको सिकाइ प्रणाली नै यस्तो छ, जसले महिलाको शरीरलाई पुरुषको सम्पत्तिजस्तो बनाइदिन्छ । त्यसैले नेपाल, बंगलादेश, भारतमा पुरुषले कुनै युवती/महिलालाई ‘प्रेम प्रस्ताव’ राख्दा किशोरी/महिलाले स्वीकार गरिनन् भने केटा मान्छेलाई रिस उठिहाल्छ । ‘मैले मनपराएको केटी/महिलाले महिलाले पनि मनपराउनै पर्छ’ भन्ने अहं उसलाई जानेर–नजानेर सानैदेखि दिइएको हुन्छ । वास्तवमा युवक वा पुरुषले मनपराउँछु भन्नुको अर्थ ‘मैले चाहँदा मसित सुत्नुपर्छ’ भन्ने हुन्छ । तर किशोरीले नमानेपछि कतिपय पुरुषले रिसले चुर भएर ‘म यसको जीवन बर्बाद पार्छु’ भनेर केटीलाई एसिड छर्कने/जलाउने गरेका घटना छन् । उक्त पुरुषले साँच्चिकै प्रेम गरेको भए कसैलाई एसिड छर्कने वा आगो लगाउन काम गर्थ्यो र ? ‘पुरुषको यौन पिपासा’ पूर्ति गर्न महिला जहिले पनि तयार हुनुपर्छ भन्ने सामाजिक सिकाइकै कारण उनीहरू त्यसका लागि तयार नहुने केटी मान्छेलाई जे गर्न पनि तयार भएका हुन् ।


मुस्कान, सुनिता तथा अन्य युवतीहरू यस्तै पुरुषलाई नाइँ भन्दा जल्नुपर्छ । अचम्म के छ भने प्रायः समाजले ‘पक्कै पनि त्यो केटी नै बदमास थिइ होला’ भन्छ । कानुनले दिने सजाय पनि प्रायः यस्तो अपराधीलाई कमै हुन्छ । अझ कतिपय अवस्थामा ‘साक्षी’ अभावमा यस्ता अपराधी छुट्छन्, किनभने नेपालको कानुनले ‘महिला’ शरीरको सम्मान गर्दैन । राज्यले महिलालाई भने जसरी भए पनि परिवार र समाजको ‘इज्जत’ बचाउन, आफ्नो योनिलाई पवित्र राख्नुपर्छ भन्ने सिकाइन्छ । त्यही योनिको पवित्रता जाँच्न रामले सीतालाई अग्निपरीक्षा दिन लगाए, कतै रावणले बलात्कार गरेको छ कि भनेर, अर्थात रावणले सीताको ‘इज्जत’


लुट्यो कि भन्ने ठानेर राम चिन्तित थिए । महिला बलात्कृत हुनु पनि उनको दोष मानिने र पुरुषचाहिँ सजायको भागी नहुने चलन कहिलेसम्म रहने ?

कुनै महिला बलात्कृत भइन् भने पक्कै पनि छोटो लुगा लगाएर वा हाँसेर पुरुषलाई बलात्कार गर्न प्रेरित गरिन् होलिन समेत भनिन्छ । ‘बलात्कृत’ पुरुषले अपराध गर्‍यो भन्नेचाहिँ ठानिँदैन । त्यसैले प्रहरीले ‘बलात्कृत’ को मुख छोपिदिन्छ, किनभने पुरुषको इज्जत त बच्नुपर्छ । महिलाचाहिँं जीवनभर ‘बलात्कृत’ को ‘ट्याग’ भिरेर हिँड्नुपर्छ । समाजले भन्छ, ‘त्यस्तो बलात्कृत केटीलाई कसरी विवाह गर्न सकिन्छ र ? उनको त अक्षत योनि छैन नि ।’ अनि पुरुषको गुप्तांगचाहिंँ ‘पवित्र’ छ कि छैन, अर्थात उसले विवाहपूर्व कसैसंँग सम्बन्ध राखेको छ कि छैन भन्ने प्रश्न नै उठ्दैन ।


यसरी महिलाको चरित्र, उनको योग्यता आदि सबै उनको योनिको ‘पवित्रता’ संँग जोडिने कहिलेसम्म होला ? सकारात्मक पक्ष, ‘इज्जत’ भन्ने मापदण्ड ‘महिलाको योनिमात्र होइन’ भन्ने विचार समाजमा विस्तारै पलाउँदैछ । त्यसैले ‘सँंगै बस्ने तर विवाह नगर्ने’ जोडी पनि समाजमा देखिन थालेका छन् । यसरी ‘संँगै बसेको’ जोडीमध्ये पुरुषले यदि अरू नै सँग विवाह गर्न चाह्यो भने अक्षत योनि भएकै खोज्छ कि खोज्दैन भन्नेचाहिँ अध्ययनको

विषय हुनसक्छ ।


महिलाको शरीर भोगकै लागिमात्रै हो भन्ने भावनाले अभिभावकले छोरीको ‘कन्यादान’ गरिदिन्छन् । दान दिएको वस्तुमा त ‘मालिकको’ मात्र अधिकार हुन्छ । त्यसैले लोग्नेको घरबाट पिटिएर, हिंसा सहेर निकालिएकी छोरीको माइतमा स्थान हुँदैन । जति हिंसा भोगे पनि आफू र आफ्नो ‘इज्जत’ बचाउन महिला चुप लागिरहन्छिन् । लोग्नेको घरबाट निकालिएमा अक्षत योनि नभएकैले उनको विवाह सजिलै हुँदैन ।


सारमा, महिलालाई ‘बलात्कृत’ हुँदा उनी अपवित्र भइन् भनेर ‘छुवाछूत’ गर्ने, उनलाई र उनको परिवारलाई हेयको नजरले हेर्ने, उनको ‘जिन्दगी खत्तम भयो’ भन्ने विचार समाजका विभिन्न तप्कामा रहिरह्यो भने महिलाको सम्मान कसरी हुन्छ ? अहिल्या, सीताजस्तै पुरुषको लागि आफू ढुङ्गा बन्नुपर्ने, वनवास जानुपर्ने नेपाली महिलाको जीवन भइरह्यो भने समाज कसरी अगाडि बढ्ला ? महिलाको ‘इज्जत’ उनको ‘योनिको पवित्रतासंँग’ गाँसिएको छैन भन्ने आम बहस समाजमा कसले चलाइदेला ?

प्रकाशित : मंसिर ७, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?