१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अबको समय युवाको

डा. शेखर कोइराला

दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित भयो । नेपाल लगायत केही मुलुक कुनै पनि ध्रुवमा देखिन चाहेनन् । नेपाल भर्खर जहानियाँ शासनबाट बाहिर नआएको भए सायद कुनै ध्रुवमा देखिन सक्थ्यो ।

अबको समय युवाको

त्यति बेला यहाँ कानुनी शासन थियो र बालिग मताधिकारका आधारमा बहुलवादभित्र रहेर चुनिएका जनप्रतिनिधिहरूबाट शासन व्यवस्था चलाउने किसिमको प्रजातान्त्रिक समाजवादी मुलुक बनाउने अभियानको नेतृत्व बीपी कोइरालाले गरिरहनुभएको थियो । त्यसलाई सार्थक बनाउन बीपीले नेपाली कांग्रेसलाई तत्कालीन नेपाली समाजसँग परिचित गराउनुभयो ।

जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने जिम्मेवार प्रणालीयुक्त मुलुकको परिकल्पना गरी थालिएको आन्दोलनमा धेरै युवा सहभागी भए । बीपी लगायत समकालीन नेताहरू ३४–३५ वर्षको युवा उमेरमै निरकुंशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा होमिएका थिए । बीपीको त्यही अठोटका कारण आज आम नेपाली युवाहरूलाई आफ्नो प्रतिभा र सिर्जनशीलता प्रयोग गर्न सक्ने वातावरण संविधानले नै सुनिश्चित गरिदिएको छ । सबै राजनीतिक दल बीपीको दर्शनका आधारमा २०७२ मा लेखिएको संविधानको छातामुनि आएका छन् ।

यति बेलाको सामाजिक–आर्थिक परिवेश तत्कालीन अवस्थाको भन्दा फरक छ । शिक्षा र चेतनाको स्तर माथि उठिसकेको छ । धेरै राजनीतिक मुद्दा सम्बोधन भइसकेका छन् । सूचना–प्रविधि र सञ्चार क्षेत्रमा अकल्पनीय विकास भएको छ । बसाइँसराइले मानिसको परम्परागत पेसा र सामाजिक संरचनामा परिवर्तन ल्याएको छ । देश–विदेशका नयांँ–नयाँ घटना र प्रविधि सम्बन्धी ज्ञानबारे युवाहरूले सजिलै थाहा पाउन थालेका छन् । देश–विदेशका विभिन्न सञ्जालमा युवा जमातको सहभागिता बढ्दै छ । वातावरण, जलवायु परिवर्तन, लैङ्गिक समानता, सामाजिक उत्तरदायित्व एवं पारदर्शिता सहितको सुशासन युवाहरूका बीच रुचिको विषय बनेको छ । उद्यमशीलतालाई सम्मानपूर्वक हेर्न थालिएको छ । त्यसैले अघिल्लो पुस्ताले गरेको जस्तो संघर्ष र कोरा राजनीतिक भाषण युवा पुस्तालाई आवश्यक छैन । युवामा भएको सिर्जनशीलतालाई उद्यमशीलतासँग जोडेर त्यसलाई उत्पादनशील बनाए मात्रै समृद्धि हासिल गर्न सकिन्छ ।

देशको शासन प्रणाली र आर्थिक संरचना सुहाउँदो भए मात्र प्रत्येक नागरिकको सिर्जनाशीलता र दक्षतालाई उत्पादनसँग जोड्न सकिन्छ ।

कांग्रेसको समाजवादमा तीन आयामलाई प्रस्ट बुझिने गरी अवलम्बन गरिएको छ । पहिलो, नियमन गरिएको गतिशील बजार जहाँ सबै नागरिकको व्यक्तिगत क्षमता र ज्ञानलाई स्वतन्त्रतापूर्वक प्रयोग गरी पुँजीको उत्पादन गरिएको हुन्छ । दोस्रो, उपभोग्य वस्तुको माग र आपूर्तिको गतिविधिमा निजी क्षेत्रको ठूलो भूमिका हुन्छ । र तेस्रो, यस्तो प्रक्रियामा विभिन्न कारणले सहभागी हुन नसकेका वर्ग र समुदायले गतिशील बजारले उत्पादन गरेको पुँजीका आधारमा सम्मानित र आधारभूत जीवनयापन गर्न सकून् भनेर सन्तुलित सामाजिक सुरक्षा प्रणाली अपनाइएको हुन्छ । यी सबै नीति, योजना र कानुनको शासन कायम गर्ने सहभागितामूलक प्रक्रियाबाट निर्णयकर्ताहरूको चयन गरिएको हुन्छ । त्यसैले सिर्जनशील युवाहरू उत्पादन प्रक्रियामा सहभागी भएका हुन्छन् । नेपालका राजनीतिक दलहरूका धारणा सतही, अस्पष्ट, अव्यावहारिक र गतिशील विश्वसँग मेल नखाने छन् । त्यही अव्यावहारिक दर्शनले गर्दा सिर्जनशीलता र उद्यमशीलतालाई प्रस्फुटन गर्ने हाम्रा आर्थिक संरचनाहरूको निर्माणमा अवरोध भएको छ । यस विषयमा राजनीतिक दलहरू र नेतृत्वकर्ताले आत्मसमीक्षा गर्नैपर्छ ।

२०४६ को परिवर्तनयता मुलुक नेपाली कांग्रेसको नीतिका आधारमा अगाडि बढ्दै थियो । आर्थिक वर्ष २०४७/४८ मा ५ हजार ५ सय ३८ जनालाई निजी क्षेत्रले रोजगारी दिएको थियो । २०४९/५० मा ८९ हजार ३ सय ५१ जनाका लागि रोजगारीका अवसर सिर्जना भएका थिए । तर गएको आर्थिक वर्षमा दुईतिहाइको सरकारको नीतिका कारण निजी क्षेत्रले २८ हजारभन्दा कम रोजगारी मात्र सिर्जना गर्‍यो । ५० को दशकमा सुरु भएको सशस्त्र द्वन्द्व, राजाको निरंकुश शासन, राजनीतिक आन्दोलन, बन्द–हडताल र लोडसेडिङ जस्ता समस्याले उद्योग–व्यवसाय प्रायः ठप्पै भए । स्वदेशी तथा विदेशी लगानी बन्द भयो । यही कारण रोजगारी सिर्जना हुन सकेन । युवाहरू विदेसिन बाध्य भए । अहिले पनि लगानी बढेको

छैन, वैदेशिक लगानी घटेको छ ।

नेपालमा २० देखि ४० वर्षसम्मका युवाहरूको संख्या करिब ५० लाख छ । योजना आयोगको प्रतिवेदन अनुसार, आगामी ९ वर्षमा ७ प्रतिशतभन्दा बढी र ३५ वर्षमा करिब १४ प्रतिशत नेपाली ६५ वर्षमाथिका हुनेछन्, जुन अवस्थालाई बुढ्यौली समाज भनिन्छ । यसको अर्थ युवाहरूलाई उत्पादनशील बनाउने समय निकै कम छ । यति ठूलो चुनौती सामना गर्न र यही पुस्तामा युवाहरूको समृद्धिको सपनालाई साकार पार्न आर्थिक सुधार, स्रोतको परिचालन र लगानीको माहोल सिर्जना गर्नुपर्छ । २०४८ को कांग्रेस सरकारले बसालेको आर्थिक जगमा अहिलेसम्मको नेपालको अर्थतन्त्र टिकेको छ । अब विश्वपरिवेश अनुसार चल्नका लागि २०४८ को जस्तो जोखिम मोलेर मात्रै सुधार गर्न सकिन्छ ।

विश्वमा ६० प्रतिशतभन्दा बढी रोजगारीका अवसर साना तथा मझौला उद्योगहरूले नै दिएका छन् । यस्ता उद्योग स्थापनाका लागि वातावरण, लगानी पुँजीमा पहुँच, प्रविधिमैत्री शासन, प्रविधि प्रयोगमा ‘इन्सेन्टिभ’, बजारको व्यवस्थापन, सुरुआतमा कर छुट लगायतका सुविधा दिए मात्र युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न सकिन्छ । कम्युनिस्ट सरकारको ध्यान उद्योग बढाउनतिर गएको देखिँदैन । नेपाली कांग्रेसको सरकारले हवाई, बैंकिङ र कृषिजन्य पदार्थ सम्बन्धी उद्योग निजी क्षेत्रलाई खुला गरेकाले अहिले धेरै उद्यमीले प्रगति गरेका छन्, रोजगारीका अवसर सिर्जना गरेका छन् । साधारण किसान र मजदुर पनि उत्पादनमा सहभागी भएर मालिक बनून् भन्ने उद्देश्यका साथ कांग्रेसले सहकारी ऐन ल्याएको हो । त्यसैले अब फेरि कृषि, खनिज, ऊर्जा र सेवा, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता युवालक्षित उत्पादनका क्षेत्रमा उद्यमशीलताको अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्छ ।

नेपालमा युवाहरूलाई अहिले विभिन्न क्षेत्रमा थुप्रै अवसर उपलब्ध छन् । पहिलो, विप्रेषणले बढाएको माग र त्यसबाट भएको आपूर्तिलाई प्रतिस्थापन गर्ने उत्पादनतिर युवाहरूलाई समावेश गराउँदा भैरहेको बजारमा उनीहरूको उत्पादनले स्थान पाउँछ र कम जोखिम हुन्छ । दोस्रो, विदेशमा बस्ने ६० लाख नेपालीले प्रयोग गर्न सक्ने नेपाली सामान उत्पादन गरेर पनि डायस्पोरासँग सहकार्य गरी निर्यात गर्न सक्ने थुप्रै ठाउँ छन् । तेस्रो, नेपालको विविध मौसमका अर्गानिक उत्पादन खपत गर्ने देशहरूमा निर्यात गर्ने वा उच्चस्तरीय पर्यटकहरूका लागि प्रवर्द्धन गर्न सकिन्छ । यी सबै अवसरबाट युवाहरूलाई आयआर्जन गर्ने अवसर सिर्जना गर्न सक्ने आर्थिक नीति नेपाली कांग्रेसले मात्र ल्याउन सक्छ । सीटीईभीटी लगायतका संस्थाले वर्षमा ४० हजारभन्दा बढी मध्यम स्तरका प्राविधिक उत्पादन गर्ने गरेका छन् । व्यवसायतिर अभिमुखीकरण गरेर यो जमातलाई पनि उद्यमी बनाउन सकिन्छ या उद्यमीहरूका लागि श्रमशक्ति उपलब्ध गराउन सकिन्छ । सूचना प्रविधि क्षेत्रमा आवश्यक उदार नीति बनाएमा देशमै थप रोजागारीका अवसर उपलब्ध हुनेछन् ।

व्यक्तिगत स्वतन्त्रता, विश्वबजारमा पहुँच पुर्‍याउन उदार नीतिको अवलम्बन, सानो र चुस्त प्रशासन, पुँजी आर्जन गर्नेहरूको सम्मान, राज्यको स्रोत र साधनमा निष्पक्ष पहुँच पुर्‍याउने दर्शन नेपाली कांग्रेसले नै बोकेको छ । मुख्य कुरा त नेपाल बुढ्यौलीको समाज बन्नुअगावै विकास गर्ने अभिभारा युवामा छ ।अहिले नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ । पार्टीलाई आमूल परिवर्तन गरी युवामैत्री बनाउन जरुरी छ । अब पुरानो शैलीले न पार्टी चल्न सक्छ न त मुलुक नै । पार्टी सञ्चालन र देशको शासन व्यवस्थामा युवा सहभागिता अहिलेको अनिवार्य आवश्यकता हो । युवाका तमाम

मुद्दाको सम्बोधन गरी उनीहरूलाई शासन व्यवस्था सञ्चालनको मूलधारमा ल्याउने काम नेपाली कांग्रेसले मात्रै गर्छ ।

निरंकुशताविरुद्धको हरेक लोकतान्त्रिक आन्दोलनमा युवा नै अग्रमोर्चामा रहने गरेका छन् । तिनै युवाहरूको जगमा भएको सफल आन्दोलनले मुलुकलाई आज यो स्थानसम्म ल्याइपुर्‍याएको हो । एउटा सत्य कुरा के हो भने, राजनीतिक दलहरूले युवा जमातलाई सधैं सत्ताप्राप्तिको साधनका रूपमा मात्रै प्रयोग गरे । लोकतन्त्रप्राप्तिको आन्दोलनमा युवाले बगाएको रगत र गरेको बलिदानको हामीले कुनै मूल्यांकन गर्न सकेनौं । हामीले ठोस रूपले युवामैत्री शासन व्यवस्थाको परिकल्पना गर्न सकेनौं, युवामैत्री नीति तथा कार्यक्रम ल्याउन सकेनौं । पहाडको उर्वर जमिन बाँझो छ । युवाहरू खाडीमा पसिना बगाउन बाध्य छन् । बाँकी एकाध युवा सदरमुकाम तथा सहरकेन्द्रित छन् । गाउँघर प्रायः शून्य छन्, जसलाई वृद्धवृद्धाको जिम्मामा छोडिएको छ । अब हरेक क्षेत्र युवामैत्री बनाइनुपर्छ । युवालाई गाउँमै कमाउने र गाउँमै रमाउने वातावरणको सिर्जना नगरिएसम्म मुलुक समृद्धिको बाटोमा लाग्न सक्दैन ।

लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।

प्रकाशित : मंसिर २, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?