नमस्ते कि गुड मर्निङ ?

मधु राई

युकेजीको कक्षाकोठामा प्रवेश गरेपछि म विद्यार्थीहरूलाई दुई हात जोडी अभिवादन गर्ने गर्छु  । पहिले ‘नमस्ते’ वा ‘नमस्कार’ भन्ने गरेकी छु अनि ‘गुड मर्निङ’  ।

त्यसपछि समुदायविशेषले प्रयोग गर्ने अभिवादनका शब्द सिकाउँछु । जस्तै— मधेसीमूलका विद्यार्थीहरूलाई ‘जय महादेव’ र आफू किराती भएकाले ‘सेवारो’ पनि भन्न सिकाउँछु । त्यही सिको गर्दै बालविकास र शिशु कक्षाका कतिपय विद्यार्थीले भेटेपिच्छे मलाई हँसिलो अनुहारसाथ ‘नमस्ते म्याम’ भन्ने गरेका छन् ।

तर, बालविकास कक्षामा केही दिनमै सिकेका यस्ता शब्दहरू विद्यार्थीले निजी विद्यालयको प्राथमिक तहमा जान थालेको केही महिनामै बिर्सने गरेको मैले पाएकी छु । बाटाघाटामा भेट्दा अभिभावकहरूले आफ्ना छोराछोरीलाई ‘एइ चिनेनस् ? म्यामलाई नमस्ते गर् !’ भन्ने गर्छन् । अभिभावकको करबलले गरेको नमस्ते स्विकार्न मलाई बेलाबेला असहज महसुस हुने गर्छ ।

जुनसुकै समाजमा संस्कारयुक्त शिक्षाको कुरा गर्दा सर्वप्रथम शिष्टाचारको सन्दर्भ आउँछ । नेपाली समाजमा सिकाइने शिष्टाचारको पहिलो पाठ भनेकै नमस्ते हो । तर, शिक्षक, अभिभावक र विद्यार्थीहरू यसबारे अनभिज्ञ हुँदा साना कक्षामा सिकेका अभिवादनका शब्दहरू कतिपय विद्यार्थीले कालान्तरमा करबलमा मात्र प्रयोग गर्ने गरेका छन् । यसो हुनुमा निजी विद्यालयको अंग्रेजी वातावरण पनि एक हो भन्नेमा दुईमत छैन ।

प्रायः निजी विद्यालयले विद्यालय परिसरमा ‘इङ्लिस स्पिकिङ जोन’ लेखिएका सूचना टाँसेका हुन्छन् । बिर्सेर नेपाली बोले पनि जरिवाना तिराइन्छ वा सजाय दिइन्छ । नेपाली बोल्ने विद्यार्थीको हुर्मत लिने विद्यालय व्यवस्थापन र शिक्षकका कारण अभिभावादनका हाम्रा मौलिक शब्दहरू लोप हुने जोखिम बढ्दै गएको छ ।

अझ कतिपय शिक्षक र अभिभावक त शिष्टाचारबाटै अनभिज्ञ रहे जस्ता देखिने गरेका छन् । त्यस्ता व्यक्तिको अनुहार सधैं रिसाएको वा ठुस्स परेको देखिन्छ । विभिन्न अध्ययनले देखाएका छन्, अभिभावक र शिक्षकको प्रायः गुण वा विशेषता छोराछोरीमा स्वतः सर्दै जान्छ । अनि यस्ता अभिभावक र शिक्षकसँग दिनहुँ उठबस गर्ने छोराछोरी र विद्यार्थीले पनि शिष्टाचार भुल्दै जान्छन्, संवेदनहीन
बन्दै जान्छन् ।

औपचारिक शिक्षालाई मानिसको जनजीवनसँग जोड्न शिष्टाचारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । ससाना विद्यार्थीले दुवै हात जोडी अनुहार हँसिलो बनाई ‘नमस्ते म्याम’ भन्दा र हामीले पनि सोही मुद्रामा अभिवादन फर्काउँदा शिक्षक–विद्यार्थीकै मन फुरुङ्ग हुने गर्छ ।
यसबाट शिक्षक–विद्यार्थी सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्छ । दुवैमा सकारात्मक ऊर्जा थपिन्छ । दुवैबीच अपनत्व बढ्छ । सिक्ने र सिकाउनेबीच राम्रो सम्बन्ध स्थापित भए मात्र शिक्षण सिकाइ प्रभावकारी हुन्छ भन्ने अध्ययन–अनुसन्धानले देखाएका छन् ।

औपचारिक शिक्षाका प्रारम्भिक वर्षहरूमा विद्यालयमा अभिवादन दर्शाउने शब्द सिकाउन सके शिक्षणसिकाइ रमाइलो र प्रभावकारी हुन्छ भन्ने विकसित मुलुकको अभ्यासले देखाउँछ ।

हामीकहाँ पनि यस्तो चलन सुरु गर्नु जरुरी छ । बालबालिकालाई अभिभावकले घरमा र शिक्षकले विद्यालयमा अभिवादनको महत्त्व बुझाउन सके त्यो संस्कारयुक्त शिक्षणसिकाइको प्रवेशविन्दु हुन सक्छ । तर, यसका लागि अभिभावक र शिक्षकले पहिले अभिवादनलाई आत्मसात् गर्नुपर्छ ।

प्रकाशित : कार्तिक १०, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्

प्लास्टिकसँग गाँसिएको जनजीवन

मधु राई

प्लास्टिकको पाँच लिटरको जार र चिसोको जम्बो बोतललाई गमलाको रूपमा प्रयोग गर्न थालेको २ वर्ष भयो । बीचमा आधा हुने गरी काटेपछि माथिको भागमा केही मसिना ढुंगा र माटो राख्नुपर्छ । त्यसपछि आधा काटिएको तलको भागमा पानी हालेर माथिबाट आधा भाग राखेपछि गमला तयार हुन्छ । यसरी गमला बनाउँदा दिनहुँ बिरुवामा पानीसमेत हालिराख्नुपर्दैन ।


एक लिटरको मिनरल वाटरको बोतललाई कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने भाँडोका रूपमा प्रयोग गर्न थालेको पनि २ महिना जति भयो । यसलाई प्रयोग गर्दा सुरुमा बिर्को निकालेर बिर्कोपट्टि केही पुराना पत्रपत्रिका राख्नुपर्छ । त्यसपछि पिँधबाट माथि दुई इञ्च जतिको भाग राखी गोलाकार काट्नुपर्छ । यसरी काट्दा एक इञ्चजति छाड्नुपर्छ ताकि कुहिने फोहोर भरिएपछि पुन: छोप्न सकियोस् । मिनरल वाटरको बोतलमा कुहिने फोहोर भरिएपछि माथिबाट एक इञ्चजति माटो हालेर पानीले भिजाउनुपर्छ र दूधको पोका वा प्लास्टिकको जुनसुकै पोकाले छोपी बिरुवाको फेद नजिकै ३/४ इञ्च गहिरो खाल्डो बनाई गाड्नुपर्छ । यसरी मिनरल वाटरको बोतललाई प्रयोग गर्दा एकातिर भान्सामा छुट्टै कुहिने फोहोरको भाँडा राख्नुपर्ने समस्याबाट सदाका लागि छुट्कारा पाइन्छ भने अर्कोतिर बोटबिरुवालाई चाहिने कम्पोस्ट मल कुहिने फोहोरबाट प्राप्त हुन्छ ।

पाँच लिटरको जारलगायत जम्बोको बोतल र मिनरल वाटरको बोतललाई पुन: प्रयोग गरी बोटबिरुवालाई चाहिने पानी हाल्न सेल्फ वाटरिङ विधि अपनाउन सकिन्छ । यसका लागि बिर्कोमा एउटा सानो प्वाल बनाई कम्पोस्ट मल बनाउँदा जस्तै पिँधमा काटेर बिरुवाको फेद नजिकै बिर्कोसँगै तल गाड्नुपर्छ । त्यसपछि काटेको पिँधबाट पानी भर्दै जानुपर्छ । यस्तो विधिले एकातिर बिरुवाको वरिपरि चिस्यान भइरहन्छ भने अर्कोतिर दिनहुँ पानी हालिराख्नुपर्ने समस्याबाट छुट्कारा पाइन्छ र जतिबेला बोतलको पानी घट्छ त्यतिबेला भर्न सकिन्छ ।

प्लास्टिकका सानाठूला बोतलहरू कौसीखेती र करेसाबारीका लागि उत्तम हुन्छ । घरको कुहिने फोहोर अपुग हुने भए छिमेकीसँग संकलन गर्न सकिन्छ । यसरी प्लास्टिको जार वा सानाठूला बोतललाई घरेलु विधि अपनाई पुन: प्रयोग गर्न सकिए पनि अत्यधिक प्रयोग हुने प्लास्टिकको झोलालाई पुन: प्रयोग गर्न सकिएको छ्रैन । यसले गर्दा सहरबजारको बाटोघाटो प्लास्टिकजन्य झोलालगायत अन्य फोहोरले कुरूप बनाउँदै लगेको छ । किराना पसलेलगायत खुद्रे व्यापारीहरूले प्रयोग गर्दै आएका प्लास्टिक झोला अहिले सानाठूला मलहरूले समेत आफ्ना ग्राहकहरूलाई सामान दिन प्रयोग गर्न थालेका छन् । तर राजधानीका कतिपय मललगायत धरानको भाटभटेनी सुपर मार्केटले प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोगमा ल्याउन थालेको धेरै भयो । यसबारे विराटनगर महानगरपालिका भने मौन देखिन्छ । यसैको परिणाम भन्नुपर्छ महानगरको निर्माणाधीन सडक र नालामा प्रयोगकर्ताहरूले निर्वाध रूपमा जताततै प्लास्टिकजन्य फोहोर फ्याँक्ने गरेका छन ।

प्लास्टिकजन्य फोहोरसँग हाम्रो जनजीविका जोडिए पनि यसले पार्ने दूरगामी नकारात्मक प्रभावबारे सम्बन्धित निकायको मौनता बुझिनसक्नु छ । यस्ता विषयमा चासो, चिन्ता नलिने प्रवृत्तिका कारण प्लास्टिकजन्य फोहोरको व्यवस्थापन हुन सकेको छैन ।

विडम्बना भन्नुपर्छ, भौतिक विकासलाई मात्र समृद्धि र विकासको सूचक मान्ने सरकारको प्राथमिकतामा जनसरोकारसँग प्रत्यक्ष जोडिने प्लास्टिकजन्य फोहोरको उचित र वैज्ञानिक व्यवस्थापन गर्ने विषय पर्दैन । प्लास्टिकजन्य फोहोरबारे हाम्रा जनप्रतिनिधिहरू बेखबर जस्तै देखिन्छन् । यसो हुनुको प्रमुख कारण उनीहरूको वातावरणप्रतिको असंवेदनशीलता हो भने संघीय सरकारको विकास र समृद्धिबारेको अल्प बुझाइ हो । सरकार जनताको स्वस्थ रहन पाउने मौलिक अधिकारको प्रत्याभूति गर्नुभन्दा पर्यटकलाई आकर्षित गर्न भ्यु टावर निर्माण गर्न र जनतालाई पानीजहाज र रेल चढाउन आतुर छ ।

जनताको स्वास्थ्यलाई सर्वोपरी ठान्ने सरकारले जनस्वास्थ्यलाई नै विकास र समृद्धिको संवाहक मानेका हुन्छन् । जनतालाई स्वस्थ, खुसी र सुखी राख्न सक्ने सरकार मात्र लोकप्रिय हुन्छ भन्ने विकसित मुलुकहरूको विगत र वर्तमानले देखाउँछ भने हामीकहाँ विकास र समृद्धिप्रतिको बुझाइमै मतमतान्तर देखिन्छ । यसैको परिणाम नेपालीले भोगिरहेका छन् । सुकिलामुकिला नेपालीका प्लास्टिक झोला प्रयोग गर्ने पछिल्ला व्यवहारले दुना–टपरीलाई विस्थापित गर्दै लगेपछि घरेलु उद्यमसमेत संकटमा परेको छ ।

प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोगले मानवजाति लगायत जीवजन्तुहरूको स्वास्थ्यमा नकारात्मक असर पर्दर्छै । त्यसैले उपभोक्ताहरूले प्लास्टिकजन्य फोहोरको व्यवस्थापनबारे सजग हुन जरुरी छ । साथै पुन: प्रयोग गर्न सकिने प्लास्टिकजन्य वस्तुलाई घरेलु विधि अपनाई व्यवस्थापन गर्नेतिर लाग्नु वेश हुन्छ ।

प्रकाशित : आश्विन २४, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×