उज्यालो पर्व तिहार

डा. गोविन्द टन्डन

दसैंको रमझम सकिएपछि उल्लास र उज्यालोको पर्व तिहार आउँछ । कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्त्व छ । यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ । तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही न केही इतिहास बताइरहेको छ ।


तिहारको रौनक पशुपन्क्षीहरूदेखि दाजुभाइ-दिदीबहिनीहरूबीच एकआपसमा तथा आफूले आफैलाई ‘म्ह:पूजा’को रूपमा आत्मसम्मान गर्नुमा पनि छ । यो फूलैफूलले घरबारी, बगैंचा र आँगनमात्र होइन, दाजुभाइलाई मखमली, दुबो, सयपत्री र गोदावरी फूलका सुन्दर मालाहरू लगाइदिएर आशिर्वाद र स्नेहले भरिपूर्ण तुल्याइदिने पर्व हो ।

तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्दा फरक पर्दैन । यस पर्वमा के केटाकेटी, के वृद्धवृद्धा, सबैजसो फलफूल र थरीथरीका मिठाइमा रमाएका हुन्छन् । सेल, अनर्साजस्ता परम्परागत मिठाइहरू घर-घरमा बनाएर ताजा खाने परम्परा नेपालभरि नै छ । लक्ष्मीपूजाको दिन घरमै बनाएको विभिन्न प्रकारका मिठाइ एवं सेलरोटी लक्ष्मीलाई चढाउने चलन छ ।

तिहारको पहिलो दिन कागको पूजा गरी दुनाबोतामा दालभात, तरकारीसहितका पक्वान्न खान दिने चलन छ । कागलाई किन पूजा गरेको होला ? काग कुनै बखत समाचारको संवाहक मानिन्थ्यो । उसको बसाइ, बोलीको शैली, हाउभाउले हाम्रा पुर्खाहरू शुभ र अशुभ कुराको लख काटेर समय कटाउँथे, आफन्त नआउन्जेलसम्म । हिजोआज यस्ता कुरालाई रुढीबुढी र अन्धविश्वास भनिन्छ । यस्ता चलन हराउँदै जानथालेका छन् । कागलाई वर्षमा एकदिन सम्झिने चलन भने अझै छ । कागले कतिपय रोगका कारक तत्त्वहरू मानिएका फोहोरलाई खाएर वरपरको वातावरण सफासुग्घर तुल्याइदिन्छ र मानिसको भलो गरिरहेको हुन्छ ।

कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोबर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्ह:पूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको आफ्नै प्रकारको आख्यान पाइन्छ । मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यो पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको माहात्म्य पाइन्छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइहरूलाई असमयमैनडाकुन् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ, प्रकारान्तरले । कुकुर पूजाकै दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

चौथो दिन गाईपूजा गर्ने प्रचलन छ, यसलाई गोबर्धनपूजा पनि भन्छन् । उहिल्यै मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई छ, त्यसबाट अडकल काटिन्थ्यो । दुहुना गाईलाई समृद्धिको प्रतीक मान्ने चलन थियो । गाईवस्तुलाई ‘गोधन’ भनिन्थ्यो । अहिले समय परिवर्तन भएको छ । गाईवस्तुले जति सम्मान पाउनुपर्थ्यो, त्यसबाट समाज विचलित हुँदैछ ।

गाईपूजाका दिन गोबर्धन पर्वत तथा बलिराजाको पनि पूजा हुन्छ । गोबर्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको छ । गोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्‍याउने भएकाले पर्वतको प्रतिनिधिस्वरूप गोबर्धन पर्वतको पूजा हुन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोबर्धन पूजा गरिन्छ ।

समयको अन्तरालमा विस्तारै सम्पत्ति भनेको अरू धनदौलत आउन थाले । एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन अर्कोतिर गाईको दूध, दही, घियु, गहुँत, गोबरसमेतको शास्त्रीय महत्त्व र मान्यताको कारण पनि गाईलाई नेपाली संस्कृतिमा धेरै महत्त्व दिइएको छ ।

गाईलाई गरेको सेवाले वैतरणी नदी तर्न सहयोग पुर्‍याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ । गाईको सेवाले मानिसलाई रोगव्याधिदेखि मुक्त राख्न दूध, दही, घियुले मद्दत पुर्‍याउँछ । त्यसैले गाईलाई लक्ष्मीजस्तो ठान र आमा बराबर सेवा गर भनेको संकेत बुझ्न नसक्दा हिजोआज गाईलाई व्यावसायिक रूपले कसरी दोहन गरिरहेका छन् र अमृतमय हुनुपर्ने गोरस विषसमान बन्दै गइरहेको स्मरणीय छ । जसको कारण भेगन आन्दोलन विश्वव्यापी बन्दै गइरहेको पनि सम्झनुपर्छ ।

धार्मिक, वैज्ञानिक एवं आयुर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घियु, महीको ठूलो महत्त्व छ । त्यत्तिमात्र होइन, गोबर र गहुँतसमेत उच्चकोटीको प्राङ्गारिक मलको रूपमा प्रसिद्ध मानिन्छ । यसैले हाम्रो संस्कृतिमा गाईपूजनलाई स्थान दिइयो । तर पूजनले मात्र पुग्दैन, गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको सेवा पनि हुन्छ भन्ने संकेत संस्कृतिले दिइरहेको कुरालाई बुझ्न सकेनौं भने हामी पछि पर्छौं ।

दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार । दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ । दाजुभाइ र दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको ठूलो भूमिका छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ । यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै छैन भने हुन्छ । धेरै दाजुभाइहरू भाइटीकामा दिदीबहिनीहरू आउलान् र निधारमा सप्तरङ्गी इन्द्रेणी टीकाले आफ्नो निधार सजाउन पाइएला भनेर पर्खेर बसेका हुन्छन् । कतिको पर्खाइ काम लाग्छ, कति त्यसबेला भक्कानिन्छन्, दिदीबहिनीहरू आउन नसकेर निधार खाली भएकोमा । आफूले सम्झेजस्तो समय, परिस्थिति कहाँ हुन्छ र ?

काठमाडौंका दिदीबहिनीहरूले आआफ्ना दाजुभाइ नभएको रिक्ततामा भाइटीकाको दिन रानीपोखरीको बीचमा रहेको मन्दिरभित्रको बालगोपाल अर्थात् भगवान् श्रीकृष्णको बालस्वरूपलाई दर्शनपूजन गर्ने गर्छन् । हिजोआज केही दिदीबहिनीहरूले ठाउँ-ठाउँमा सामूहिक भाइटीकाको माहोल सिर्जना गरेका छन् । हनुमानढोका नजिकको काष्ठमण्डपबाट विगत बाह्र/तेह्र वर्षअघि सुरु भएको यो चलनले नेपालका विभिन्न ठाउँका दिदीबहिनीहरूलाई प्रेरित गरेको छ र त्यस दिन दिदीबहिनी नभएका दाजुभाइहरू त्यसरी आयोजना हुने समारोहमा पुग्न भ्याई-नभ्याई गरिरहेको दृश्य देख्न सकिन्छ ।

तिहारको अर्को रौनकता भनेको दीपावली र देउसीभैलो हो । घर-घर, मठमन्दिर र ठूलठूला भवन र कार्यालयहरूमा रङ्गीविरङ्गी बत्तीले झिलीमिली पारी आँगन सजाउने चलनले वातावरण नै मनमोहक बनेको हुन्छ । पहिले-पहिले माटोले बनेको ‘पाला’मा काँचो धागोले बनाएको बत्तीमा तोरीको तेल हालेर बालेको दीयोबत्ती घर, आँगन, चोटाभरि ठाउँ-ठाउँमा लहरै बाल्ने चलन थियो । अहिले गाउँघरमा कहीं कतै केही मात्रामा पालाको चलन भए पनि सुगम, दुर्गम सबैतिर लहरे बिजुलीका ससाना बल्बहरूको मालाले घर सिँगारपटार गर्ने चलनले व्यापकता पाइरहेको छ ।

लक्ष्मीपूजाका दिनमा भैलो र गोबर्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । पहिले-पहिले भैलो महिलाले र देउसी पुरुषले खेल्ने गरिन्थ्यो । आजकाल यो बिर्से जस्तो छ । अहिले महिला-पुरुष दुवैले देउसी-भैलो खेल्न थालेका छन् । यसबेला भट्टयाइने गाथाहरू थरीथरीका हुन्छन् । देउसी र भैलीकै लागि केटाकेटीहरूले अनेक प्रकारका गीत, सङ्गीत र भाकाहरू तयार पारेका हुन्छन् र घर-घरमा गएर आफ्नो प्रतिभा देखाउन लामो समयदेखि तयारी गरिरहेका हुन्छन् । देउसी-भैलीहरूले आशिर्वाद दिन्छन् ।

देउसी र भैलोको दक्षिणा संकलनबाट ठाउँ-ठाउँमा विद्यालय, चौतारा, ढुङ्गेधारा, पाटीपौवा लगायत उल्लेख्य सामाजिक कार्य गर्ने संस्थाहरू पनि बनाइएका छन्, बनाइन्छन् । लक्ष्मीपूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ । चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुराको प्रसिद्धि छ ।

तिहारलाई आर्थिक-सामाजिक पक्षसँग पनि जोडेर हेर्न सकिन्छ । जङ्गली कटुस, ओखर, निबुवाजस्तो अरू बेला कसैले वास्ता नगर्ने तर तिहारको बेला हारालुछ हुने फलले कुनै पनि उपलब्ध वस्तु निकम्माको छैन, त्यसलाई समय अनुसार सदुपयोग गर्‍यो भने अर्थोपार्जन हुनसक्छ भनेर सिकाइरहेको हुन्छ ।

तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ । बाहिर मात्र उज्यालो ल्याउने र बनाउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ । त्यसैले तिहार उज्यालोको पर्व हो ।

प्रकाशित : कार्तिक ९, २०७६ ०९:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तल्लो मनाङको भाइटीका

जीवनमणि पौडेल

आउँदो मंगलबार नेपालभित्र र नेपाल बाहिर रहेका विभिन्न हिन्दु समुदायहरूमा आफ्ना दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई सप्तरङ्गी टीका लगाउने र मिठो-मिठो खानेकुरा खान दिने र दाजुभाइहरूले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिनेछन् ।

वास्तवमा दाजुभाइ र दिदीबहिनीको बीचमा मनाइने तिहार चाडले उनीहरू बीचको आत्मीयताको धागोलाई बलियो बनाउँदै ल्याएको छ ।

भाइटीका एउटै कोखमा जन्मिएका दाजुभाइ र दिदीबहिनीको माझमा मनाइने गरेको पाइन्छ । दिदीबहिनी नभएको अवस्थामा दाजुभाइले ठूलोबुबा वा काकाका छोरीहरूसँग भाइटीका लगाउने चलन छ ।

यो बाहेक दिदीबहिनी र दाजुभाइका छोराछोरीहरूका बीचमा पनि तिहारको टीका लगाउने चलन मामाचेला, फुपूचेली विवाह नगर्ने समुदायमा रहेको पाइन्छ । नजिकका नातेदार नभएकाले दिदीबहिनी वा दाजुभाइ बनाएर पनि तिहारमा भाइटीका लगाउने चलन छ । तर तल्लो मनाङका गुरुङहरूले मनाउने भाइटीका माथि उल्लेख गरिएको भाइटीकाभन्दा फरक छ । तिनीहरूको भाइटीका व्यक्ति वा पारिवारिक घेराभन्दा माथि उठेको छ ।

मनाङ जिल्ला भौगोलिक रूपमा न्हासोंँरग्याल्सुम्दो (तल्लो मनाङ), ङिसाङ (माथिल्लो मनाङ) र नारफुमा विभाजित छ । फरक-फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने समुदायको सांस्कृतिक चलन पनि फरक छ ।

ङिसाङ र नारफुमा तिव्बती संस्कृतिको प्रभाव बढी छ । न्हासोँंमा लामा र गुरुङहरूको बसोबास छ । लामाहरूमा तिब्बती बौद्ध संस्कृतिबाट बढी प्रभावित छन् । आफ्नो छुट्टै सांस्कृतिक पहिचान र प्रचलनहरू हुँदाहुँदै पनि गुरुङहरूले हिन्दु र बौद्ध संस्कृति तथा चाडपर्वलाई आत्मसात गरेको पाइन्छ । यद्यपि लम्जुङसँग सामाजिक रूपमा बढी नजिक रहेकोले उनीहरूको संस्कृतिमा हिन्दु धर्म र संस्कृतिको प्रभाव बढी छ । तर पनि उनीहरूले मनाउने हिन्दु चाडपर्वहरू अन्य भेगका हिन्दु धर्मावलम्बीहरूले मनाउने विधिभन्दा फरक छ । यसको उदाहरण तिहारको भाइटीकालाई लिन सकिन्छ ।

हिन्दु पात्रो अनुसार तिहार पाँच दिनसम्म मनाउने गरिन्छ । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन काग तिहार अर्थात यमको सूचनाको संवाहकको रूपमा कागलाई खाना दिएर पूजा गर्ने चलन छ । दोस्रो दिन कुकुरलाई यमको वाहनको रूपमा पूजा गर्ने चलन छ । न्हासोँंका गुरुङहरूले पनि तिहारका पहिला दुई दिनलाई खासै महत्त्व दिँदैनन् ।

तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजाको दिन । यो दिन न्हासोंँका गुरुङहरूका लागि महत्त्वपूर्ण छ । महिलाहरू बिहान घरको लिपपोत गरेर चोखो पार्ने काममा व्यस्त रहन्छन् । सयपत्री फूलको माला घरका ढोकामा झुन्ड्याएर धनधान्यकी देवी लक्ष्मीलाई हरेक घरले स्वागत गर्छन् । गाईगोठ हुने घरपरिवारले गोठमा गएर गाईलाई सयपत्री फूलको माला लगाएर खानेकुरा दिएर गाईपूजा गर्छन् । दिनभरि चोखो पारिएका भाँडाकुँडामा महिलाहरू अन्न, खानेकुरा र पैसा राख्छन् ।

भाँडाको माथि बलेको दीयो राखी घरका सबै सदस्यहरूले धनधान्यकी देवीको पूजापाठमा गर्छन् । धनधान्यकी देवीको पूजापाठले लक्ष्मीको घरमा बास हुने हुँदा आर्थिक समस्या नहुने जनविश्वास मनाङका गुरुङहरूमा रहेको छ । रातमा महिला तथा पुरुषहरू देउसीभैली खेलेर रमाइलो गर्छन् ।

तिहारको चौथो दिन गोरुको पूजा । अघिल्लो दिनझैं गाईगोठ हुने घरपरिवारले गोठमा गएर गोरुलाई सयपत्री फूलको माला लगाएर खानेकुरा दिन्छन् । दिउँसो केटा र युवाहरू देउसी खेल्छन् ।

तिहारको अन्तिम दिन भाइटीका । दाजुभाइ र दिदीबहिनीहरूको बीचमा टीका साटासाट गर्ने भएकोले यो दिनको बढी महत्त्व छ । दाजुभाइहरूलाई खुवाउनका लागि दिदीबहिनीहरूले सेलरोटी र रक्सी अघिदेखि नै बनाउँछन् । गाउँभन्दा बाहिर भएका दिदीबहिनीहरूले आफ्नो घरमा नै सेलरोटी र रक्सी बनाई दाजुभाइहरूलाई खुवाउन ल्याउँछन् । यसरी दिदीबहिनीले तिहारमा दाजुभाइका लागि खुवाउन बनाएको परिकारलाई गुरुङ भाषामा ‘रोमे’ भनिन्छ ।

धेरैजसो जातजातिमा भाइटीका लगाउँदा भएसम्म एकै कोख वा बाबुबाट जन्मिएका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा लगाउने चलन पाइन्छ । त्यसैले छोराहरू वा छोरीहरू मात्र भएका घरपरिवारमा तिहार मिठोसित आउँदैन भनिन्छ । तर मनाङको न्हासोंँ गाउँमा पुग्दा यो दृश्य फरक देखिन्छ । त्यहाँका गुरुङहरूमा भाइटीका लगाउन एकै कोखबाट जन्मिएका दाजुभाइ-दिदीबहिनी नै हुनुपर्छ भन्ने छैन । यो गाउँमा एकै कोखबाट जन्मिएका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा मात्र भाइटीका लगाउनेभन्दा आफ्नो खलकका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा सामूहिक रूपमा भाइटीका लगाउने प्रचलन छ ।

जस्तै- क्रोम्चे थर भएका गुरुङ दाजुभाइ दिदीबहिनीले एक ठाउँमा भेला भएर भाइटीका लगाउँछन् भने पच्यु थरकाले अर्को घरमा भेला भएर भाइटीका लगाउँछन् । यसले पनि यहाँका बासिन्दामा संकुचित व्यक्तिवाद वा परिवारवादभन्दा अन्तरपरिवारवादको सामूहिक भावना बढी छ भन्ने प्रतिविम्बित हुन्छ ।

गुरुङ समुदायमा छोराहरूको विवाहपश्चात पारिवारिक रूपमा अलग हुँदै जाँदा बाबुआमा पाल्ने कर्तव्य कान्छो छोरोमा जान्छ ।

बुबाआमासँग कान्छो छोरो बसेकोले उनीहरूको शेषपछि मूलघर पनि उसैको नै हुन्छ । त्यसैले यस गाउँका गुरुङहरूमा कान्छो छोराको घर मूलघर मानिन्छ । तिहारमा पनि आफ्नो खलकका दाजुभाइ-दिदीबहिनीहरू टीका लगाउन मूलघरमा जम्मा हुन्छन् । ताचे गाउँमा पाँच गुरुङ खलक- साप्री घले, रिल्थे घले, थिमे गुरुङ, क्रोमे गुरुङ र पच्यु गुरुङ रहेकाले पाँच घरमा भेला हुन्छन् । अन्य थरका मानिसहरू मितेरी नाता रहेका गुरुङसँग बसेर भाइटीका लगाउने गर्छन् ।

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी मात्र बसेर लगाएको देखेका जोकोहीलाई न्हासोंँको ताचे बस्तीको गुरुङ समुदायमा प्रचलन देख्दा नौलो लाग्न सक्छ । यहाँ बाजेदेखि नातिसम्म एकै लहरमा बसेर भाइटीका लगाउने अनौठो चलन छ ।

अनौठो त हरेक दिदीबहिनीहरूको अलग-अलग ठाडा धर्सा बनाएर सप्तरङी टीका लगाउने चलन छ । निधारमा देखिने टीकाका ठाडा धर्साले कुनै दाजुभाइका कतिजना दिदीबहिनी रहेछन् भन्ने बुझ्न गाह्रो पर्दैन । जति धेरै दिदीबहिनी त्यति नै धेरै संख्यामा दाजुभाइका निधारमा टीकाका धर्सा हुन्छन् ।

तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, मिठो-मिठो खुवाउने र उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन जहाँकहीँ देख्न सकिन्छ । न्हासोंँका दिदीबहिनीहरू भाइटीकाको अघिल्लो दिनदेखि नै दाजुभाइलाई खुवाउने परिकारको जोरजाममा लाग्छन् ।

सेलरोटी, तरकारी र रक्सी नै दाजुभाइलाई खुवाउने मुख्य परिकारहरू हुन् । सामूहिक रूपमा भाइटीका लगाउने भएकाले दाजुभाइलाई खुवाउने परिकारहरू तयार पार्न लाग्ने खर्च पनि दिदीबहिनीहरूले दामासाही रूपमा उठाउने गर्छन् । लहरै बसेका दाजुभाइलाई दिदीबहिनीले भाइटीका लगाइसकेपछि सयपत्री फूलको माला दाजुभाइको गलामा पहिरिने र शिरमा ढाकाटोपी लगाइदिन्छन् ।

दिदीबहिनीहरूले दाजुभाइहरूका शिरमा लगाइदिने ढाकाको टोपी पनि एकै किसिमका हुन्छन् । अलग-अलग परिवारका दाजुभाइ-दिदीबहिनीहरू एकै लहरमा, एकै किसिमका परिकार ग्रहण गर्दै र एकै किसिमका उपहार दिएको देख्दा यस भेगका गुरुङहरूमा सामाजिक समानताको भावना उच्च रहेको प्रतिविम्बित हुन्छ । अन्य समाजमा भन्दा यहाँका दाजुभाइले दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन पनि फरक छ । दाजुभाइले दिदीबहिनीलाई व्यक्तिगत रूपमा दक्षिणा नदिई सामूहिक रूपमा दिने चलन छ ।

यसरी संकलन भएको रकम पनि दिदीबहिनीहरूले तिहारको खर्च गर्न र दाजुभाइका लागि सामूहिक भोजमा खर्च गर्छन् । तिहारको टीका लगाउने काम समाप्त भइसकेपछि दाजुभाइ र दिदीबहिनीहरू नाचगान गरेर रमाउने गर्छन् । नाचगान सँगसँगै दाजुभाइहरूले आफ्नो खलकभन्दा बाहिरका दिदीबहिनीहरूलाई पैसा दिन्छन् । यसलाई ‘फूल’ लगाउने भनिन्छ ।

पौडेल मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा उपप्राध्यापक छन्।

प्रकाशित : कार्तिक ९, २०७६ ०९:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT