१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

तल्लो मनाङको भाइटीका

जीवनमणि पौडेल

आउँदो मंगलबार नेपालभित्र र नेपाल बाहिर रहेका विभिन्न हिन्दु समुदायहरूमा आफ्ना दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई सप्तरङ्गी टीका लगाउने र मिठो-मिठो खानेकुरा खान दिने र दाजुभाइहरूले पनि आफ्नो क्षमता अनुसार दक्षिणा दिनेछन् ।

तल्लो मनाङको भाइटीका

वास्तवमा दाजुभाइ र दिदीबहिनीको बीचमा मनाइने तिहार चाडले उनीहरू बीचको आत्मीयताको धागोलाई बलियो बनाउँदै ल्याएको छ ।

भाइटीका एउटै कोखमा जन्मिएका दाजुभाइ र दिदीबहिनीको माझमा मनाइने गरेको पाइन्छ । दिदीबहिनी नभएको अवस्थामा दाजुभाइले ठूलोबुबा वा काकाका छोरीहरूसँग भाइटीका लगाउने चलन छ ।

यो बाहेक दिदीबहिनी र दाजुभाइका छोराछोरीहरूका बीचमा पनि तिहारको टीका लगाउने चलन मामाचेला, फुपूचेली विवाह नगर्ने समुदायमा रहेको पाइन्छ । नजिकका नातेदार नभएकाले दिदीबहिनी वा दाजुभाइ बनाएर पनि तिहारमा भाइटीका लगाउने चलन छ । तर तल्लो मनाङका गुरुङहरूले मनाउने भाइटीका माथि उल्लेख गरिएको भाइटीकाभन्दा फरक छ । तिनीहरूको भाइटीका व्यक्ति वा पारिवारिक घेराभन्दा माथि उठेको छ ।

मनाङ जिल्ला भौगोलिक रूपमा न्हासोंँरग्याल्सुम्दो (तल्लो मनाङ), ङिसाङ (माथिल्लो मनाङ) र नारफुमा विभाजित छ । फरक-फरक भौगोलिक क्षेत्रमा बसोबास गर्ने समुदायको सांस्कृतिक चलन पनि फरक छ ।

ङिसाङ र नारफुमा तिव्बती संस्कृतिको प्रभाव बढी छ । न्हासोँंमा लामा र गुरुङहरूको बसोबास छ । लामाहरूमा तिब्बती बौद्ध संस्कृतिबाट बढी प्रभावित छन् । आफ्नो छुट्टै सांस्कृतिक पहिचान र प्रचलनहरू हुँदाहुँदै पनि गुरुङहरूले हिन्दु र बौद्ध संस्कृति तथा चाडपर्वलाई आत्मसात गरेको पाइन्छ । यद्यपि लम्जुङसँग सामाजिक रूपमा बढी नजिक रहेकोले उनीहरूको संस्कृतिमा हिन्दु धर्म र संस्कृतिको प्रभाव बढी छ । तर पनि उनीहरूले मनाउने हिन्दु चाडपर्वहरू अन्य भेगका हिन्दु धर्मावलम्बीहरूले मनाउने विधिभन्दा फरक छ । यसको उदाहरण तिहारको भाइटीकालाई लिन सकिन्छ ।

हिन्दु पात्रो अनुसार तिहार पाँच दिनसम्म मनाउने गरिन्छ । त्यसैले यसलाई यमपञ्चक पनि भनिन्छ । पहिलो दिन काग तिहार अर्थात यमको सूचनाको संवाहकको रूपमा कागलाई खाना दिएर पूजा गर्ने चलन छ । दोस्रो दिन कुकुरलाई यमको वाहनको रूपमा पूजा गर्ने चलन छ । न्हासोँंका गुरुङहरूले पनि तिहारका पहिला दुई दिनलाई खासै महत्त्व दिँदैनन् ।

तिहारको तेस्रो दिन अर्थात लक्ष्मीपूजाको दिन । यो दिन न्हासोंँका गुरुङहरूका लागि महत्त्वपूर्ण छ । महिलाहरू बिहान घरको लिपपोत गरेर चोखो पार्ने काममा व्यस्त रहन्छन् । सयपत्री फूलको माला घरका ढोकामा झुन्ड्याएर धनधान्यकी देवी लक्ष्मीलाई हरेक घरले स्वागत गर्छन् । गाईगोठ हुने घरपरिवारले गोठमा गएर गाईलाई सयपत्री फूलको माला लगाएर खानेकुरा दिएर गाईपूजा गर्छन् । दिनभरि चोखो पारिएका भाँडाकुँडामा महिलाहरू अन्न, खानेकुरा र पैसा राख्छन् ।

भाँडाको माथि बलेको दीयो राखी घरका सबै सदस्यहरूले धनधान्यकी देवीको पूजापाठमा गर्छन् । धनधान्यकी देवीको पूजापाठले लक्ष्मीको घरमा बास हुने हुँदा आर्थिक समस्या नहुने जनविश्वास मनाङका गुरुङहरूमा रहेको छ । रातमा महिला तथा पुरुषहरू देउसीभैली खेलेर रमाइलो गर्छन् ।

तिहारको चौथो दिन गोरुको पूजा । अघिल्लो दिनझैं गाईगोठ हुने घरपरिवारले गोठमा गएर गोरुलाई सयपत्री फूलको माला लगाएर खानेकुरा दिन्छन् । दिउँसो केटा र युवाहरू देउसी खेल्छन् ।

तिहारको अन्तिम दिन भाइटीका । दाजुभाइ र दिदीबहिनीहरूको बीचमा टीका साटासाट गर्ने भएकोले यो दिनको बढी महत्त्व छ । दाजुभाइहरूलाई खुवाउनका लागि दिदीबहिनीहरूले सेलरोटी र रक्सी अघिदेखि नै बनाउँछन् । गाउँभन्दा बाहिर भएका दिदीबहिनीहरूले आफ्नो घरमा नै सेलरोटी र रक्सी बनाई दाजुभाइहरूलाई खुवाउन ल्याउँछन् । यसरी दिदीबहिनीले तिहारमा दाजुभाइका लागि खुवाउन बनाएको परिकारलाई गुरुङ भाषामा ‘रोमे’ भनिन्छ ।

धेरैजसो जातजातिमा भाइटीका लगाउँदा भएसम्म एकै कोख वा बाबुबाट जन्मिएका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा लगाउने चलन पाइन्छ । त्यसैले छोराहरू वा छोरीहरू मात्र भएका घरपरिवारमा तिहार मिठोसित आउँदैन भनिन्छ । तर मनाङको न्हासोंँ गाउँमा पुग्दा यो दृश्य फरक देखिन्छ । त्यहाँका गुरुङहरूमा भाइटीका लगाउन एकै कोखबाट जन्मिएका दाजुभाइ-दिदीबहिनी नै हुनुपर्छ भन्ने छैन । यो गाउँमा एकै कोखबाट जन्मिएका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा मात्र भाइटीका लगाउनेभन्दा आफ्नो खलकका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा सामूहिक रूपमा भाइटीका लगाउने प्रचलन छ ।

जस्तै- क्रोम्चे थर भएका गुरुङ दाजुभाइ दिदीबहिनीले एक ठाउँमा भेला भएर भाइटीका लगाउँछन् भने पच्यु थरकाले अर्को घरमा भेला भएर भाइटीका लगाउँछन् । यसले पनि यहाँका बासिन्दामा संकुचित व्यक्तिवाद वा परिवारवादभन्दा अन्तरपरिवारवादको सामूहिक भावना बढी छ भन्ने प्रतिविम्बित हुन्छ ।

गुरुङ समुदायमा छोराहरूको विवाहपश्चात पारिवारिक रूपमा अलग हुँदै जाँदा बाबुआमा पाल्ने कर्तव्य कान्छो छोरोमा जान्छ ।

बुबाआमासँग कान्छो छोरो बसेकोले उनीहरूको शेषपछि मूलघर पनि उसैको नै हुन्छ । त्यसैले यस गाउँका गुरुङहरूमा कान्छो छोराको घर मूलघर मानिन्छ । तिहारमा पनि आफ्नो खलकका दाजुभाइ-दिदीबहिनीहरू टीका लगाउन मूलघरमा जम्मा हुन्छन् । ताचे गाउँमा पाँच गुरुङ खलक- साप्री घले, रिल्थे घले, थिमे गुरुङ, क्रोमे गुरुङ र पच्यु गुरुङ रहेकाले पाँच घरमा भेला हुन्छन् । अन्य थरका मानिसहरू मितेरी नाता रहेका गुरुङसँग बसेर भाइटीका लगाउने गर्छन् ।

भाइटीका लगाउँदा दाजुभाइ र दिदीबहिनी मात्र बसेर लगाएको देखेका जोकोहीलाई न्हासोंँको ताचे बस्तीको गुरुङ समुदायमा प्रचलन देख्दा नौलो लाग्न सक्छ । यहाँ बाजेदेखि नातिसम्म एकै लहरमा बसेर भाइटीका लगाउने अनौठो चलन छ ।

अनौठो त हरेक दिदीबहिनीहरूको अलग-अलग ठाडा धर्सा बनाएर सप्तरङी टीका लगाउने चलन छ । निधारमा देखिने टीकाका ठाडा धर्साले कुनै दाजुभाइका कतिजना दिदीबहिनी रहेछन् भन्ने बुझ्न गाह्रो पर्दैन । जति धेरै दिदीबहिनी त्यति नै धेरै संख्यामा दाजुभाइका निधारमा टीकाका धर्सा हुन्छन् ।

तिहारमा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिने, मिठो-मिठो खुवाउने र उपहार दिने र दाजुभाइले पनि दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन जहाँकहीँ देख्न सकिन्छ । न्हासोंँका दिदीबहिनीहरू भाइटीकाको अघिल्लो दिनदेखि नै दाजुभाइलाई खुवाउने परिकारको जोरजाममा लाग्छन् ।

सेलरोटी, तरकारी र रक्सी नै दाजुभाइलाई खुवाउने मुख्य परिकारहरू हुन् । सामूहिक रूपमा भाइटीका लगाउने भएकाले दाजुभाइलाई खुवाउने परिकारहरू तयार पार्न लाग्ने खर्च पनि दिदीबहिनीहरूले दामासाही रूपमा उठाउने गर्छन् । लहरै बसेका दाजुभाइलाई दिदीबहिनीले भाइटीका लगाइसकेपछि सयपत्री फूलको माला दाजुभाइको गलामा पहिरिने र शिरमा ढाकाटोपी लगाइदिन्छन् ।

दिदीबहिनीहरूले दाजुभाइहरूका शिरमा लगाइदिने ढाकाको टोपी पनि एकै किसिमका हुन्छन् । अलग-अलग परिवारका दाजुभाइ-दिदीबहिनीहरू एकै लहरमा, एकै किसिमका परिकार ग्रहण गर्दै र एकै किसिमका उपहार दिएको देख्दा यस भेगका गुरुङहरूमा सामाजिक समानताको भावना उच्च रहेको प्रतिविम्बित हुन्छ । अन्य समाजमा भन्दा यहाँका दाजुभाइले दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन पनि फरक छ । दाजुभाइले दिदीबहिनीलाई व्यक्तिगत रूपमा दक्षिणा नदिई सामूहिक रूपमा दिने चलन छ ।

यसरी संकलन भएको रकम पनि दिदीबहिनीहरूले तिहारको खर्च गर्न र दाजुभाइका लागि सामूहिक भोजमा खर्च गर्छन् । तिहारको टीका लगाउने काम समाप्त भइसकेपछि दाजुभाइ र दिदीबहिनीहरू नाचगान गरेर रमाउने गर्छन् । नाचगान सँगसँगै दाजुभाइहरूले आफ्नो खलकभन्दा बाहिरका दिदीबहिनीहरूलाई पैसा दिन्छन् । यसलाई ‘फूल’ लगाउने भनिन्छ ।

पौडेल मानवशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा उपप्राध्यापक छन् ।

प्रकाशित : कार्तिक ९, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?