सिउँडी : मनयुद्ध

विमल निभा

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युगल अध्यक्षमध्ये एक अध्यक्ष अध्यक्ष कमरेड पुष्पलाल दाहाल ‘प्रचण्ड’ एकपटक फेरि आन्दोलन गर्ने आकस्मिक मुडमा देखिएका छन् ।

एक अर्धसरकारी समारोहमा उनले महाप्रचण्ड शैलीमा उद्घोष गरे- ‘म पुन: क्रान्तिमा जान सक्छु ।’ अब खुद क्रान्तिले चाहिँं कमरेड प्रचण्डलाई उही जोश एवं स्फुर्तीका साथ स्वीकार गर्ने हो या होइन, यो बेग्लै कुरो हो । म त्यतातिर नगएर फगत के भन्न चाहन्छु भने

कदाचित पुराना माओवादी कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक फेरि क्रान्तिको दुनियाँमा प्रवेश गरे के हुनेछ !


१. कुनै समय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साँच्चिकै जनयुद्धमा नेतृत्वदायी भूमिकाको निर्वाह गरेका थिए । उनकै पहलमा क्रान्ति भएकोमा कुनै सन्देह छैन । यद्यपि जनयुद्धले एक प्रकारको अपूर्णता बेहोर्नुपरेको पनि सम्पूर्ण सत्य हो । जे होस्, कमरेड प्रचण्डले एकपटक फेरि क्रान्तिमा जाने मनस्थिति बनाएका छन् । त्यसउसले अबको युद्ध मनयुद्ध हुने निष्कर्षमा सहजै पुग्न सकिन्छ ।

यस्तो हुने हो भने यो क्रान्तिको नितान्त नयाँ मोडल हुनेछ । अर्थात फरक मोडल । कुन्नि, मनयुद्धको सार, स्वरुप र पहिचान के हुनेछ !


२. यो मनयुद्ध महान चिनियाँ क्रान्तिका सूत्रधार कमरेड माओत्सेतुङको वैचारिक ढबढाचा बमोजिम हुने कुनै सम्भावना छैन । यसको कारण के हो भने एकदमसँग मनयुद्ध गर्न तम्सिएका कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् नै गैरमाओवादीमा परिणत भइसकेका छन् । तसर्थ वैकल्पिक हिसाब-किताबले कमरेड माओका समकालीन अर्का चिनियाँ नेता च्याङकाइसेकको नीति तथा नियममा मनयुद्ध हुने हो कि ?


३. कुनै बेलाको जनयुद्धका अर्का समानान्तर नेता अर्थात् पहिलेका कमरेड बाबुराम भट्टराई (मतलब लालध्वज कमरेड) को साथ कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनयुद्धमा हुनेछ अथवा हुने छैन, यो ज्ञात हुनसकेको छैन । मेरो विचारमा त उनले बाबुरामको सरसहयोग पाउने पक्कापक्की रहेको छ । किनभने यो जनयुद्ध नभएर मनयुद्ध हो । शतप्रतिशत मनयुद्ध । र मनयुद्धका लागि हालका बाबुराम भट्टराई जतिका उपयुक्त योद्धा अरु को हुनसक्छ ?


४. जनयुद्धकालको ‘प्रचण्डपथ’को कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनयुद्धमा के गर्नेछन्, यो पनि एउटा रोचक विषय हो । मलाई त उनले मनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष याने वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको पथको पूर्णतया अनुशरण गर्नु हुनेछ भन्ने लागेको छ । किनभने मनयुद्धका निम्ति ओलीपथ जतिको व्यावहारिक एवं भरपर्दो अरु हुनै सक्दैन ।


५. यस सन्दर्भमा मेरो ‘मनयुद्ध’ गर्न अग्रसर कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटा व्यक्तिगत सुझाव रहेको छ । मेरो भन्नु के हो भने उनले तमाम झञ्झट-सञ्झटको त्याग गरेर सोझै कुनै विदेशी अथवा स्वदेशी एनजीओलाई मनयुद्धको सम्पूर्ण अभिमारा किन नदिने ? यसले एकसाथ दुई लाभ हुनेछ । एक, आफ्नो आरामीमा कुनै खलल पुग्ने छैन । र अर्को के भने एनजीओको देशी/विदेशी सम्बद्धताले मनयुद्ध सुचारु ढंगले हुने ग्यारेन्टी प्राप्त हुनेछ ।


अन्त्यमा,

ऐतिहासिक जनयुद्ध बाह्र बुँदेमा टुंगिएको थियो । अब मनयुद्धको समाप्तिचाहिँं कति बुँदामा हुनेछ, यो पनि कम्ता रोचक विषय होइन । अर्थात् एकचोटी फेरि बाह्र बुँदेमा मनयुद्ध पनि सकिनेछ या यसमा अरु एकाध बुँदा थपथाप हुनेछ, यो प्रतीक्षाको विषय हो ।


प्रकाशित : कार्तिक ९, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?