राज्यको उपेक्षामा संग्रहालय

डा. प्रेमसिंह बस्न्यात

काठमाडौँ — सभ्यताबाट संस्कार जन्मन्छ । संस्कारलाई जीवन्त राख्न कला, सम्पदा, इतिहास, संस्कृति आदिले सात घोडे बग्गीले काम गरेझैं देश-विदेशमा संस्कारलाई फैलाउँछ । हिजोको दिनसम्मका घटना, विकास, विनाश, मिलाप, भाषा, संस्कृति लगायतका बारेमा अक्षर, चित्र, सामान र आवाजबाट समेतले शिक्षा दिने ठाउँ संग्रहालय हो ।

नयाँ परिभाषामा संग्रहालयले आजका दिनमा समेत भैरहेको उद्योग, बस्ती, खेती, मन्दिर, गुम्बा, चर्च, मस्जिद, पर्व, नाचगान, किरियापुत्री घर, दाहसंस्कार स्थल, भाँडा बनाउने, लुगा सिलाउने स्थल, भेँडा-भैँसी, गाई पालेको स्थल आदिसमेत समेट्छ । अचेल गाडी र रेलमा लगेर टाढा-टाढा पनि चलायमान संग्रहालयहरू प्रदर्शनी गर्ने काम सुरु भएका छन् ।

नेपालमा संग्रहालय
काठमाडौंमा पहिला सिलखाना संग्रहालय थियो । त्यसलाई पछि नेपाल संग्रहालय नामकरण गरियो । आधिकारिक रूपले काठमाडौं छाउनीमा जुद्धशमशेर राणा प्रधानमन्त्री हुँदा सरकारी लगानीमा नेपालमा पहिलो संग्रहालय स्थापना भएको मानिन्छ । पछि त्यसलाई विस्तार गरेर राष्ट्रिय संग्रहालय नाम दिइयो । जुद्धशमशेरले बनाएको एउटा भवन बाहेकको ठूलो दरबार र संरचनाहरू प्रधानसेनापति भीमसेन थापाले बनाएका थिए । उनले युरोपेली पाराको सेना, जंगी पोसाक, हातहतियार, फौजी संगठन र व्यारेक निर्माण गरेर जंगी अड्डा अर्थात आर्मी हेडक्वार्टर पनि बनाए ।

त्यही भवनमा अहिले हातहतियारसहित सैनिक महत्त्वका सामान प्रदर्शनीमा छन् । नेपाली सेनाको विधिवत रूपले बनाएको पहिलो जंगी अड्डा हो त्यो । ब्यारेक बसाइएको स्थानलाई छाउनी भनियो । त्यसको अलि पर स्वयंभूमा बारुदखाना र अलि पर बालाजुमा पानीबाट चल्ने बन्दुक बनाउने कारखाना र भक्तपुरको ठिमीमा तोपका गोला, बन्दुकका गोली, बारुद लगायत भण्डारण गर्ने ‘गठ्ठाघर’ स्थापना गरियो । आगोलागी, चट्याङ आदिबाट गठ्ठाघर विस्फोटन भएमा जनधनको ठूलो क्षति हुने भएकोले सुनसान ठाउँ ठिमीमा गठ्ठाघर बनाइयो ।

गठ्ठाघर भन्दा करिब १ कोस पूर्व गोली गठ्ठा बनाउने कारखाना पनि रहेकोले त्यसकै नजिक गठ्ठाघर खडा गरिएको हुनसक्छ । युरोपेली पाराको फौज, ब्यारेक, पोसाक, हतियार, गठ्ठाघर, हतियार र गठ्ठा बनाउने कारखाना व्यवस्थापनमा फ्रान्सेली सहयोग थियो । तसर्थ हाल काठमाडौंको छाउनीमा रहेका राष्ट्रिय संग्रहालयको ठूलो भवनसँंग धेरै पक्ष जेलिएका छन् ।

राष्ट्रिय संग्रहालयपछि सरकारी लगानीमै भक्तपुर, हनुमानढोका, नारायणहिटी, गणतान्त्रिक, गोर्खा, सुर्खेत लगायतका नगन्य स्थानमा खडा हुँदै गए । पुरातत्त्व विभागलाई संग्रहालयको रेखदेख र व्यवस्थापन गर्ने जिम्मा दिइयो । जुन अद्यापि छ ।

धेरै वर्षपछि आएर नेपालमा निजी, सामुदायिक, व्यक्तिगत र अर्ध-राज्यनियन्त्रित संग्रहालयहरू स्थापना हुनथाले । यी पनि नगन्य मात्रामै छन् । अष्ट्रिया सरकारको राम्रै सहयोग पाएको ‘पाटन म्युजियम’ले देशको राम्रो इज्जत राखेको छ । नेपाल गणतन्त्रात्मक राजनीतिमा गएपछि राजनीतिक नेता/नेतृ, विभिन्न जात-जातिको नाममा संग्रहालय खोल्ने क्रम सुरु भएको छ । कतिपय यस्ता संग्रहालय बोर्डमा नाममात्र झुन्डाएर मागीखाने भांँडोमात्र बनेका देखिन्छन् । त्यसमा पनि राज्यले प्रमाणित नगरेका र प्राज्ञिक क्षेत्रबाट पुष्टि नभएका विवरण र सामानहरू राखिएका छन् ।

नेपालका हरेक सरकारले आकाश-पाताल जोड्ने योजनाका घोषणा गर्दासमेत संग्रहालय बारे कहीं कतै केही सुनिन्न । राष्ट्रिय योजना आयोग भनेको आम बुझाइमा विद्वानहरूको थलो हो, त्यहाँबाट समेत नेपालमा संग्रहालय स्थापना, विकास र विस्तारमा केही पहल भएको थाहा छैन ।

नमिलेको व्यवस्थापन
श्री ३ जुद्धशमशेर राणादेखि आजको दिनसम्मको संग्रहालय इतिहासमा राज्यले उपेक्षा गरेको पाटो संग्रहालय व्यवस्थापन हो । संस्कृति मन्त्रालयले संग्रहालयलाई पुरातत्त्व विभाग अन्तर्गत राखेको छ । त्यसबखतका लागि यो व्यवस्था ठीक थियो । तर ५० औं वर्षसम्म पनि यसमा कसैले पुनरावलोकन गरेन । संग्रहालयलाई कमाण्ड गर्ने पक्ष पुरातत्त्वको होइन । अर्थात ‘आर्कियोलोजी’ र ‘म्युजियमोलोजी’ फरक विधा हुन् । वास्तवमा संग्रहालय व्यवस्थापनमा ‘आर्कियोलोजी’ लाई म्युजियमोलोजीभित्र राखेर प्रदर्शन गरिन्छ । उत्खनन गरेका वस्तु, इतिहास, संस्कार, संस्कृति आदि संग्रहालयमा रहन्छन् ।

अर्कोतर्फ पुरातत्त्वका कर्मचारीलाई म्युजियम क्युरेटर, व्यवस्थापक, प्रशासक बनाई पठाइन्छ । त्यो विलकुल प्राज्ञिक र पेसागत काम होइन । अनि पुरातत्त्व विभाग जहिले पनि ठूला बजेट लिएर ऐतिहासिक-पुरातात्त्विक उत्खनन भनेर परियोजना बनाएर काम गर्छ । तर संग्रहालयतर्फ छड्के आँखासमेत लगाउँदैन । महत्त्वपूर्ण पक्ष, पुरातत्त्वको ज्ञानमात्र हुनेले संग्रहालय व्यवस्थापन गर्न सक्दैन । जसको लागि म्युजियमोलोजी पढ्नैपर्छ र संग्रहालय सम्बन्धी धेरै तालिम लिनुपर्छ । यस लेखक आफू सैनिक संग्रहालयको पहिलो संस्थापक क्युरेटर हुँदा भोगेका अनुभवमा खट्केका कुरा हुन् यी । तसर्थ संग्रहालयको विकास र विस्तारमा भन्दा जागिर खाने र पेन्सन पकाउने संस्कारले सरकारी संग्रहालयहरूको स्थिति जहींको तहीं छ ।

यसको लागि नेपाल सरकारले पुरातत्त्व विभाग समानान्तरकोछुट्टै संग्रहालय व्यवस्थापन निर्देशनालय’खडा गरी, लोकसेवा आयोगमार्फतसंग्रहालय सम्बन्धी पढेका र तालिम प्राप्त गरेकोलाई प्राविधिक सेवाको रूपमा छुट्टै संरचना गर्न ढिला भैसकेको छ । अर्कोपक्ष, पहिलो एक दशक जतिका लागि स्वदेश तथा विदेशबाट संग्रहालय सम्बन्धी विज्ञ प्राज्ञिक र पेसागत व्यक्तिलाई करार सेवामा नियुक्ति गर्न पनि सकिन्छ । अर्कोतिर संस्कृति मन्त्रालयको संग्रहालय हेर्ने शाखा-उपशाखाहरूले संग्रहालयको विकासमा काम गरेको देखिँदैन ।

अर्को संगीन पक्ष भनेको संग्रहालय सम्बन्धित नियम-कानुन नहुनु हो । पुरातत्त्व विभाग र त्यहाँको नेतृत्वले पनि पुरातत्त्व र उत्खनन सम्बन्धी नियम-कानुन बनाए, तर संग्रहालय सम्बन्धी नियम-कानुन बनाएनन् । पुरातत्त्व विभागको नियम-कानुनले संग्रहालय चल्दैन । पंक्तिकारको अनुभवमा नियम-कानुन विना संग्रहालय चलाउने देश सायद नेपालमात्र होला । संग्रहालयको विश्व छाता संगठन इन्टरनेसनल काउन्सिल अफ म्युजियम (आइकम) ले यसबारे नेपालका संग्रहालयमा काम गर्ने र नेपाल आइकम (गैसस) लाई पटक-पटक सोधेको छ । युनेस्को र छिमेकी देशमा रहेका संग्रहालय सम्बन्धी नियम-कानुनलाई समेत अध्ययन गरेर नेपालको मौलिक नियम-कानुन बनाउनुपर्ने खाँचो टड्कारो छ ।

अर्को सवाल, हाल खुलिरहेका सरकारी, अर्धसरकारी, निजी, व्यक्तिगत संग्रहालयमा राखिएका र प्रदर्शित सामानहरूको आधिकारिकता जाँच्ने को हो ? तिनका नैतिक बन्धन के हुन् ? ती संस्थाहरूले स्वदेश तथा विदेशबाट सिधै लिइरहेका आर्थिक तथा अन्य स्रोतलाई नियमन गर्ने संस्था के छ ? त्यसैगरी राजनीतिक नेता-नेतृत्वको नाममा खोलिएका संग्रहालयको नियमन गर्ने निकाय कुन हो ? संग्रहालय भनेको आफै बोल्ने विद्यालय हो । यस्तो संस्थामा बेथिति भयो भने देशकै बेइज्जती हुनेछ ।

उल्लेख गर्नैपर्ने अर्को पक्ष हो— सैनिक हातहतियार, पोसाक, गोलीगठ्ठा, इतिहासलाई गैरसैनिक संग्रहालयमा प्रदर्शन गरिनु हो । संग्रहालयमा प्रदर्शित अक्षरदेखि वाक्यसम्म र सियोदेखिघ्याम्पोसम्मका बारेमा बताउन सक्नुपर्छ । हाल राष्ट्रिय संग्रहालय छाउनी काठमाडौंको अवस्था यही छ । त्यहाँका सैनिक तोप, हतियार, गोलीगठ्ठा, पोसाकका बारेमा कोही बताउन सक्तैन । नाम मात्र होइन, तिनको विशेषता पनि बताउनुपर्छ ।

अनि प्रदर्शनीमा राखिएका राइफल-हतियारहरू अहिले पनि प्रयोग गर्न मिल्छ । सुरक्षाको हिसाबले पनि सैनिक संग्रहालयमा मात्र त्यस्ता हतियार गोलीगठ्ठा राखिनुपर्छ । यही कारणले गर्दा राष्ट्रिय संग्रहालयले हाल ठूलो संस्थामा सैनिक पालोपहरा राखेको छ ।

गर्न सकिने
अर्को महत्त्वपूर्ण सवाल नारायणहिटी राजदरबार संग्रहालय व्यवस्थापनको हो । यसको उचित व्यवस्थापन गर्ने हो भने हरेक ५ वर्षको यसको आम्दानीले दुर्गम स्थानमा अरु ठूला ५ वटा संग्रहालय बनाउन सकिन्छ । राजा द्रव्यशाहका सन्तानले नेपालको एकीकरण गरेकाले यस संग्रहालयमा वि.सं. १८०१ भन्दा अगाडिको खण्डित नेपाल भित्रका बाइसे-चौबिसे राज्यहरू र उसबखतको ग्रेटर नेपाल समेतका प्रतिविम्ब आउनुपर्छ । यो संग्रहालयलाई फ्रान्सको भर्सेलिज दरबार र बेलायतको बकिङघम दरबारलाई जस्तै पर्यटकीय केन्द्र बनाउन सकिन्छ । यस क्षेत्रमै ‘इमोसनल डिसिजन’ गरेर डा. बाबुराम भट्टराईको सरकारले नागपोखरी पाटोमा ‘गणतान्त्रिक संग्रहालय’ बनाउने निर्णय गरेर हाल उद्घाटन पनि भैसक्यो । यो संस्कृति, कला र संग्रहालयको महत्त्व नबुझी गरेको गलत निर्णय थियो । गणतान्त्रिक संग्रहालयलाई अर्कै स्थानमा बनाउँदा असाध्यै राम्रो हुने थियो ।

गरिहाल्नु पर्ने
नेपालका संग्रहालयबाट धेरै राम्रा काम पनि भएका छन् । नेपालका प्राय:जसो राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचिवदेखि तलसम्मका कर्मचारी र नागरिक समाजले समेत अन्य देशको संग्रहालय घुमेकै छन् । संग्रहालयको महत्त्व बुझेकै छन् । तसर्थ संस्कृति मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा पुरातत्त्व विभागसमेत मिलेर नेपालमा संग्रहालय व्यवस्थापन र विकासमा के-के गर्नुपर्छ भन्ने बारेमा छलफल गरेर नियम-कानुन बनाइहालौं । सरकारी, अर्धसरकारी, निजी र व्यक्तिगत संग्रहालयको परिभाषा लेखी तिनलाई नियमन गरौं । अनि हरेक गाउँपालिका, नगरपालिकाले संग्रहालय बनाउने नीति बनाऊँ । संग्रहालयलाई
बुझ्नसकेमा हाम्रो घर, सहर, बजार, गाउँ, खेती, बगैंचा, मन्दिर, मस्जिद, गुम्बा लगायतमा समेत संग्रहालय भेटिनेछ ।

लेखक नेपाल म्युजियमएसोसियसनका अध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक ९, २०७६ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

हाड मक्किने समस्या बढ्दो

वृद्ध अवस्थाका पुरुष तथा महिनावारी सुकेका सहरिया महिलाहरु बढी पीडित रहेका अध्ययनले देखाएको छ
अतुल मिश्र

काठमाडौँ — विशेषज्ञका अनुसार मुलुकमा हाड मक्किने समस्या ‘अस्टियोपोरोसिस’ बढ्दो छ । यस रोग बूढापाका र अझ खासगरी महिलाहरूमा हाड भाँच्चिने समस्याकै रूपमा देखा परिरहेको छ । 

बदलिँदो समयमा हाम्रो खानपान, जीवशैली, शारीरिक सक्रियता, घाममा बस्ने समयावधिमा आइरहेको परिवर्तनको परिणाम नै विभिन्न शारीरिकसँगै हाडको स्वास्थ्यमा समेत समस्या परिरहेको छ । महिलाहरूमा रजोनिवृत्तिपछि अस्टियोपोरोसिस हुने थप जोखिम बढी भए पनि मुलुकमा पुरुषहरूसमेत यस समस्याले ग्रस्त छन् । ‘हाड मक्किने समस्या महिलामा बढी देखिए पनि पुरुषहरूलाई समेत छ । बाजेहरू ढाड कुप्रो भएर जचाउन आउने गरेका छन्,’ हाड रोग विशेषज्ञ डा. शैलज रञ्जितकार भन्छन्, ‘बूढापाकाका नितम्ब (हिप) लगायतका हाड भाँच्चिनुको मुख्य कारण अस्टियोपोरोसिस नै हुने गरेको छ ।’

हाड जीवित तन्तु हो । हाम्रो सम्पूर्ण जीवन अवधिमा पुरानो हाडको ठाउँमा नयाँ हाड आइरहेको हुन्छ । युवावस्थामा हाड बलियो भए पनि करिब ३५ वर्षपछि हाड जति कमजोर हुन्छ त्यति नयाँ हाडबन्दैन र विस्तारै अस्टियोपोरोसिसले आफ्नो फन्दामा पार्दै लैजान्छ । यो रोग लाग्दा हाडको बाहिरी सतह पूर्ण स्वस्थ जस्तो देखिए पनि हाडको भित्री भाग भित्रभित्रै खोक्रो भइसकेको हुन्छ । यो समस्याले हामीलाई मात्र गाँजेको छैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अस्टियोपोरोसिस विश्वव्यापी समस्याको रूपमा मुटु रोगपछि दोस्रो स्थानमा छ ।

डब्लूएचओको एउटा अनुसन्धान अध्ययनअनुसार, विश्वभर हरेक तीनमध्ये एक महिला र आठमध्ये एक जना पुरुष अस्टियोपोरोसिसले पीडित छन् । नेपाल, भारतजस्ता मुलुकमा महिनावारी सुकेका ६० देखि ७० प्रतिशत महिलाहरूमा अस्टियोपोरोसिसको समस्यारहेको चेन्नई, भारतका इन्स्टिच्युट फर स्पेसल अर्थोपेडिक्सका निर्देशक एवं वरिष्ठ हाड रोग विशेषज्ञ डा. एल प्रकाश बताउँछन् ।

रजोनिवृत्तिपछि हाडको सघनतामा कमी आउँदा यसले मेरुदण्ड, नितम्ब, नाडी भाँच्चिएर महिलालाई अक्षम बनाउने जोखिम बढ्छ । खराब जीवनशैली, व्यायाममा कमी, घामको प्रकाशसँग न्यून सम्पर्क, प्रोसेस्ड खाद्य पदार्थको उपयोग, आहारमा सलाद, हरियो तरकारी, फलफूलको कमी, उचित रूपमा प्रोटिनको सेवन नगर्नाले अस्टियोपोरोसिसको समस्या झन् बढ्छ ।

अस्टियोपोरोसिसबाट बच्न र यसको उपचार दुवैका लागि व्यायाम अत्यन्त आवश्यक मानिन्छ । हाडको जुन ठाउँमा बारम्बार दवाव र तनाव पर्छ त्यो क्षेत्रमा क्याल्सियम र मिनरल बढी निर्माण हुन्छ, जसलेहाडलाई बलियो वनाउँछ । यसैले तौल सहन सक्ने व्यायाम, घुम्नु, दौडनु, भर्‍याङ चढ्नु आदि कार्यले हाडलाई क्षति हुनबाट जोगाउँछ ।

अध्ययनहरूमा के पाइएको छ भने, व्यायाम गर्नाले मांसपेसी तन्कने भई हाडको घनत्व बढ्छ । त्यसैगरी, दिनहुँ आधा घन्टाका लागि तौल उठाउने व्यायामसहित मध्यम गतिको शारीरिक व्यायाम स्वास्थ्यका लागि फायदाकारी हुन्छ । डा. एल प्रकाशका अनुसार, भारतीय उपमहाद्वीपमा ‘अस्टियोपोरोसिस’ बढ्नुको कारण आनुवांशिक (जेनेटिक) र जीवनशैली परिवर्तन हुनु हो । उनका अनुसार, अस्टियोपोरोसिबाट बच्न मुख्य रूपमा महिनावारी सुकेका महिलासँगै पुरुषहरूले समेत दिनहुँ औषधि खानुको सट्टा एक घन्टा घामको प्रकाशमा बिताउने, योगलगायतका व्यायाम गर्दै सक्रिय जीवन बिताउने, फलफूल, गेडागुडी, उच्च क्याल्सियम भएको खाद्य पदार्थ, प्रोटिन भएको आहार खानुपर्छ ।

सामान्यत: यसको लक्षण स्पष्ट हुँदैन । तर शरीरमा निरन्तर थकाइ, हात खुट्टामा दुखाइ, कम्मर दुखाइ, स-सानो चोटपटकमा हाड भाँच्चिनु, काम गर्ने इच्छा नहुनु, कुप्रिनु, हातले समात्ने क्षमतामा कमीजस्ता लक्षण देखिए तुरुन्त चिकित्सकीय सल्लाह लिनुपर्छ ।
यदि तपाईंलाइ पिठ्युँ जोर्नीको हाड दुखाइजस्तो समस्या देखिए हाडजोर्नी विशेषज्ञसँग जचाउनुपर्छ । यस्तो स्थितिमा बीएमडी, डेक्सा, भिटामिन डी -३ को स्तरसमेत जचाउनु फाइदाजनक हुन्छ । ‘आवश्यक पर्दा विशेषज्ञसँग उपचार गराउनुपर्छ । यसका लागि केही आधुनिक औषधि छ,’ उनी भन्छन् ।

महिनावारी सुकेको ५ देखि ७ वर्षमा महिलाहरूको हाडको घनत्वमा २० प्रतिशत कमी आउने औंल्याउँदै डा. रञ्जितकार पहिलो केही वर्षसम्म महिलाहरूमा औसत हाडको क्षति तीन प्रतिशत र त्यसपछि बर्सेनि एक प्रतिशतसम्म देखिने बताउँछन् ।

मुलुकमा अस्टियोपोरोसिसका रोगीको कुनै आधिकारिक तथ्यांक नरहेको औंल्याउँदै नेपाल प्रहरी अस्पतालका हाड रोग विशेषज्ञ डा. गोपेश ठाकुर भन्छन्, ‘पुरुषमा ५० वर्षको उमेरमा ८ देखि १० प्रतिशतलाई यो समस्या हुन सक्छ भने यही उमेरका ३० प्रतिसत महिलासम्ममा यो समस्या देखिने सम्भावना बढी हुन्छ ।’ ठाकुर महिनावारी सुकेपछि महिला र ५० वर्ष नाघेपछि पुरुषले एकपटक आफ्नो हाडको सघनताको परीक्षण गराउनुपर्नेमा जोड दिन्छन् ।

भारत, चन्डीगढस्थित पोस्ट ग्र्याजुएट इन्स्टिच्युट (पीजीआई), एन्डोक्राइनोलोजी विभागको एउटा अनुसन्धान अनुसार, अस्टियोपोरोसिस भएपछि बिरामीको मृत्युदर धेरै बढ्छ । यस अध्ययनमा दुई सय ६४ अस्टियोपोरोसिसका बिरामीलाई संलग्न गरिएको थियो । यसमा के देखियो भने ठूला अस्पतालमा आउने अस्टियोपोरोसिसका करिब ८० प्रतिशत बिरामीमा नितम्बको हाड भाँच्चिएको थियो । हाड भाँच्चिएको एक वर्षभित्र यी सबै बिरामीमध्ये २० प्रतिशत रोगीको मृत्यु भएको थियो भने ६० प्रतिशत बिरामी जीवनभरका लागि परनिर्भर भएका थिए ।

अध्ययनअनुसार, अस्टियोपोरोसिसका ८० प्रतिशत बिरामीको नितम्बको हड्डी भाँच्चिएको थियो भने सबैको घरभित्रै हाड भाँच्चिएको थियो । यस्तै, सबैजसोको हाड भाँच्चिने घटना रातिको समय बाथरुम जाने क्रममा भएको थियो । विज्ञका अनुसार, रजोनिवृत्तिले गर्दा महिलाहरूमा ‘एस्ट्रोजन’, हार्मोनको स्तरमा कमी आउँछ जसले गर्दा हाड कमजोर हुन थाल्छ । यही हार्मोनले महिलालाई मुटु रोगको समस्याबाट समेत बचाउँछ । पुरुषमा समेत एन्ड्रोजन हार्मोनको कमीले यो रोगहुन सक्छ ।

‘नेपाली महिलाहरूमा हाड कमजोर हुने समस्या धेरै देखिनुको कारण उनीहरू घरपरिवारको जिम्मेवारीसँगै आफ्नो खानपान र स्वास्थ्यको स्याहार नगर्नु हो,’ मेनोपोज सोसाइटी अफ नेपालकी अध्यक्ष एवं वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा.डा. अचला वैद्य भन्छिन् । महिनावारी सुकेकी महिलाको हाडको स्वास्थ्य राम्रो राख्नु एउटा चुनौती जस्तै रहेको औंल्याउँदै उनी भन्छिन्, ‘हाडको स्वास्थ्यमा ध्यान नदिने भएकोले ६० वर्षपछि महिलाहरूलाई बढी हाड भाँच्चिने समस्या देखिने गरेको छ ।’ तर हाड मक्किने समस्या महिनावारी सुकेका ग्रामीण महिलाको दाँजोमा सहरिया महिलाहरूमा बढी देखिएको छ ।

‘ग्रामीण महिला घाममा बस्छन्, शारीरिक सक्रियता बढी हुन्छ । काम बढी गर्छन् । स्वस्थकर खानपान बढी भएकाले उनीहरूमा हाड मक्किने समस्या सहरिया महिलाको दाँजोमा कम देखिएको छ,’ डा. वैद्य भन्छिन् । उनका अनुसार, महिलाहरूले महिनावारी सुक्नुभन्दा अगावै आफ्नो हाडको स्वास्थ्यबारे चिकित्सकीय सल्लाह लिनु र हाडलाई बलियो बनाउने खानपान, जीवनशैली अपनाउनु फाइदाजनक हुन्छ ।

हाड मक्किने समस्याबाट जोगाउन च्याउ, मासु, ब्रोकाउली, दूध र दूधजन्य उत्पादनलगायतका हाडलाई बलियो बनाउने क्याल्सियम र प्रोटिनयुक्त खाद्य पदार्थ सेवन गर्नुपर्छ । अत्यधिक मदिरा सेवन र धूमपानले समेत हाडलाई कमजोर बनाउँछ । विज्ञका अनुसार, मेडिटेरेनियन मुलुकको आहार हाडलाई बलियो बनाउन उपयुक्त मानिन्छ । यसअन्तर्गत फल, सागसब्जी, अन्न, आलु, जैतुनको तेल, माछा, कम मात्रामा सन्तृप्त बोसो, दुग्ध उत्पादन र रातो मासु आदि पर्छन् । यो खानाले मांसपेसी र हाड बलियो बनाउन प्रभावकारी मानिन्छ । यस्ता आहारले अस्टियोस्पोरोसिसको जोखिम कम गर्नुको साथै हार्मोनको सन्तुलन कायम राख्नसमेत सघाउँछ ।

सनस्क्रिन हानिकारक
चर्को घामबाट छालालाई कालो हुनबााट जोगाउन भन्दै धेरैजसो महिला र अचेल त पुरुषहरूसमेत दिनहुँ सनस्क्रिन लोसन लगाउने गर्छन् । तर सनस्क्रिन लोसनले गर्दा हाम्रो हाडको स्वास्थ्य नराम्ररी प्रभावित भइरहेको हुन्छ । अस्टियोपोरोसिस भएका महिला वा पुरुषले सनस्क्रिन लोसन लगाउनु हुँदैन ।

उसो त हाडको स्वास्थ्यका लागि जो सुकैले पनि सनस्क्रिन लगाउनु राम्रो मानिँदैन । ‘यसको उपयोग कहिले पनि गर्नु हुँदैन,’ डा. एल प्रकाशका अनुसार, सन स्क्रिन लोसन लगाउँदा घामको प्रकाशबाट प्राप्त हुने भिटामिन डीमध्ये करिब ९५ प्रतिशत शरीरले पाउनबाट रोकिन्छ । घामबाट जोगिन उनले छाताको उपयोग, सुतीको ओढ्नेले अनुहार छोप्नु, प्रशस्त तरल पदार्थको सेवन लगायतका सनस्क्रिनबाहेकको वैकल्पिक उपाय अपनाउनेसल्लाह दिन्छन् ।

एक स्वस्थ व्यक्तिलाई दिनहुँ करिब दुई हजार युनिट भिटामिन ‘डी’ आवश्यक हुन्छ । यो मात्रा दिनहुँ केही समय घाममा बस्नाले र दुग्ध उत्पादन, फलफूल, सागसब्जी खाँदा पूरा हुन्छ । सनस्क्रिन लगाएर घाममा निस्किनाले यसले घामसँगै भिटामिन ‘डी’ लाई समेत शरीरभित्र छिर्नबाट रोक्छ । भिटामिन ‘डी’ को कमीले मुटुको समस्या, छातीको संक्रमण, मधुमेहको खतरा बढ्छ । यसले शरीरमा मेटाबोलिक प्रणाली प्रभावित भई पछि अस्टियोपोरोसिस हुनुको कारणसमेत बन्छ ।

परीक्षण
डेक्सा (डीईएक्सए) स्क्यान- ‘डुवेल इनर्जी एक्स-रे अब्सार्पटिओमेट्री’ विशेष प्रकारको एक्स-रे हो । यो एक्स-रेको माध्यमले हाडको घनत्वलाई नापिन्छ ।

अल्ट्रासाउन्ड- अल्ट्रासाउन्डले सामान्यत: खुट्टाको कुर्कुच्चाको जाँच गरिन्छ । तर यसले अस्टियोपोरोसिसको प्रारम्भिक लक्षण थाहा पाउन सकिन्छ ।

क्वान्टिटेटिभ कम्प्युटेड टोमोग्राफी- यो चिकित्सा प्रविधिअन्तर्गत सामान्य एक्स-रे कम्प्युटेड टोमोग्राफी (सीटी) स्क्यानरको उपयोग गरेर हाडको घनत्व नापिन्छ ।

हाड जीवित तन्तुको कठोर द्रव्यमान हो । यसले हाम्रो शरीरलाई टिकाएर सुरक्षित राख्नुको साथै आन्तरिक अंगलाई चोटपटक आदिबाट जोगाउँछ । हाडले गर्दा नै हाम्रो शरीरले आकार पाउँछ । यदि हाम्रो संरचना बिनाहाड कुनै जोर्नीले हुँदो हो त हामी एउटा ढुंगाजस्तै भएर कुनै गतिविधि गर्न सक्ने थिएनौं ।

वयस्कमा हाडको नवीकरणको एउटा निरन्तर प्रक्रिया चलिरहन्छ । जसमा हाडको सानो मात्रा टुट्छ (बोन रिजोर्पसन) र नयाँ हाडद्वारा प्रतिस्थापित हुन्छ । हाडभित्र बोनम्यारोले रक्तकोषहरू निर्माण गर्छ ।

हाम्रो शरीरका लागि हाड खनिजको एउटा आवश्यक भण्डार हो । हाडमा ९९ प्रतिशत क्याल्सियम हुन्छ र आवश्यकताअनुसार रगतमा घुलेर अंगहरूसम्म पुग्छ । क्याल्सियम फोस्फेट र क्याल्सियम कार्बोनेट, फ्लोराइड र क्लोराइडजस्ता खनिजलाई निरन्तर शरीरको अन्य भागबाट हाडमा स्थानान्तरित गरिन्छ र हार्मोन, विशेष हाडको कोष, तौल थेग्ने गतिविधिको प्रभावमा पुन: फर्काइन्छ । हाम्रो शरीरमा २ सय ६ वटा हाड हुन्छन् । हाम्रो हाडमा भएको खनिजको मात्रा यसको कडापनका लागि धेरै हदसम्म जिम्मेवार हुन्छ ।

कारण
  • शरीरमा न्यून बडी मास इन्डेक्स (बीएमआई) हुनु
  • लामो समयसम्म उच्च मात्रामा ‘कोर्टिकोस्टेरायड’ उपयोग गर्नु
  • बढी मात्रामा मदिरा सेवन वा धूमपान
  • अस्टियोपोरोसिसको पारिवारिक इतिहास
  • सुन्निनु, हार्मोनसँग सम्बन्धित परिस्थिति
  • मदिरा र धूमपानको अधिक प्रयोग

प्रकाशित : कार्तिक ९, २०७६ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT