सबैको पहुँचमा छैन कन्डम

डा प्रकाश बुढाथोकी

आधुनिकतासँगै अब कन्डम ढाकछोप, लज्जा र कौतुहलको विषय नभई किराना पसल, पान पसल, डिपार्टमेन्ट स्टोर जताततै पाइन्छ । संसारमा दैनिक १५ करोडपटक हुने यौन सम्पर्कमा २ करोड पटकभन्दा बढी कन्डमको प्रयोग हुने गरेको पाइन्छ । जति कन्डम लोकप्रिय भएको छ, त्यति चर्चायोग्य पनि छै, तर प्रयोगकर्ता घटेको समाचारले सबैलाई चिन्तित बनाएको छ । 

सबैको पहुँचमा छैन कन्डम

नेपालमा एक वर्षमा ५ करोडभन्दा बढी (आधा सरकारबाट निःशुल्क तथा अन्य किनेर) संख्यामा खपत हुने गरेको युनाइटेड नेसन पपुलेसन फन्डले प्रमुख ६ सहरमा गरेको सर्वेक्षणले देखाएको छ । ६३ प्रकारका कन्डम उपलब्ध भए पनि २१ प्रकारका मात्र आधिकारिक बिक्रेतामार्फत नेपाल भित्रिएका छन् । अवैधानिक तवरले भित्रिने कन्डममा न बनेको मिति छ, न समाप्ति मिति । २५० मिलिग्राम लुब्रिकेन्ट (चिप्लो पदार्थ) पनि छैन । ४३ प्रतिशत कन्डम विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा कमसल छन् ।

स्वास्थ्यसेवा विभागको वार्षिक प्रतिवेदनमा कन्डमको प्रयोग ८ प्रतिशत मात्र छ । नेपालमा कन्डमबिना यौन सम्पर्क गर्दा ७७ प्रतिशत एचआईभी पीडित भएको देखिन्छ । जागरुक गराउन सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय स्तरका धेरै योजना, कार्यक्रम, परियोजना सञ्चालित छन् । तर साधनहरूको प्रयोग गर्ने भने आश्चर्यजनक संख्यामा कम पाइएको छ । बजेट, लगानी, जनचेतना र उपयोगबीच ठूलो र गहिरो खाडल परिवार नियोजनको साधन कन्डममा अत्यधिक सहरी क्षेत्रमा ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ६५ प्रतिशतभन्दा बढी भेटिन्छ । श्रम, लगानी बालुवामा पानी हालेजस्तो भएको छ ।


फाइदा

यौनरोगबाट सुरक्षित रहन, असुरक्षित यौन सम्पर्कबाट टाढा रहनु पहिलो सर्त हो र सुरक्षित यौन सम्पर्कमा कन्डमको विकल्प छैन । यद्यपि परिवार नियोजनका लागि कन्डमका थुप्रै विकल्प छन् । सजिलैसँग चारैतिर पाउन सकिने, सुरक्षित, सस्तो, प्रयोग गर्न सजिलो, स्वास्थ्यकर्मीको सहयोग नचाहिने, नकारात्मक असर नभएको, हल्का, सानो, प्रयोगपश्चात फ्याँक्न सकिने, प्रत्येकपटक नयाँ-नयाँ प्रयोग हुने र गर्भान्तर, गर्भ रहन नदिने मात्र नभई यौन सम्पर्कबाट सर्ने रोग एस.टी.डी.बाट जोगाउने गर्छ । यौनक्रियामा थप आनन्द प्राप्त गर्न गराउन, शीघ्रस्खलन कम गराउन, यौन अवधि लम्ब्याउन, यौनानन्द प्रदान गर्न वीर्य र योनिरसको एलर्जी रोक्न, गर्भावस्थामा पनि यौन गर्न र भ्रूणको संजीवनी, गर्भनिरोध तथा यौनजन्य संक्रमणबाट रोक्न पनि कन्डम सफल छ ।

यौनसाथीको संसर्गबाट थप आनन्द प्राप्त गर्न, असर शतप्रतिशत बनाउन र फाइदालाई थप विश्वासिलो बनाउन विभिन्न सुगन्ध, आकार-प्रकार, चिप्लोपना, खस्रोपना, काँडा तथा शंखाकारमा विभिन्न ब्रान्डका कन्डम भिओभर, कामसूत्र, इन्सपायरल, मेनफोर्स, म्याक्स, माया, सुपरडटेड अनेकन नाममा बजारमा यत्रतत्र उपलब्ध छन् । सही तरिकाले कन्डम लगाएर सम्भोग गर्दा पुरुषको लिङ्ग र महिलाको योनिबीच प्रत्यक्ष स्पर्श हुन पाउँदैन । जसबाट महिलाको गर्भ रहन, पुरुष तथा महिलामा एकअर्कामा रोग संक्रमण हुन, एलर्जी तथा गर्भवती महिलामा पेटमा रहेको बच्चामा रोग संक्रमण हुनबाट बचाउँछ ।


निःशुल्क छोडी बास्नादार कन्डम

स्वास्थ्यसेवा विभागले नेपाल स्वास्थ्य सर्वेक्षण २०१६ मार्फत गरेको अध्ययनमा कन्डमप्रतिको गलत आमधारणा हट्न नसकेका कारण यसको प्रयोग बढ्न नसकी प्रजनन उमेर ४.२ प्रतिशत मात्र छ । सरकारले निःशुल्क पठाइदिने कन्डम हरेक स्वास्थ्य संस्थाले राख्न छाडेका छन् । म्याद जाने र खपत नै नभएपछि बक्स राख्न र झुन्ड्याउन छाडेका छन् । बजारमा गोपनीयता, रंगीन, चिप्लो, डटेड र बास्नादार कन्डम पाउनथालेपछि सरकारी कन्डम खपत ह्वात्तै घटेको हो । तथापि सरकारी संस्थामा भने पिल्स, डिपोको माग अत्यधिक छ । कन्डम पहिले-पहिले पुरुषका लागिमात्र भए पनि अहिले महिलाका लागि पनि उपलब्ध छन् । सार्‍है पातलो रबर वा प्लाष्टिकले कन्डम बनाइएको हुन्छ र कसै-कसैमा शुक्राणु नष्ट गर्ने, विषाणु नष्ट गर्ने तत्त्व पनि मिसाइएको हुन्छ ।


चुनौती

सारै पातलो, मसिना छिद्र भएका कन्डम गर्भान्तरको लागि भए पनि भाइरस तथा यौनजन्य रोग संक्रमण रोक्न सक्दैनन् । समय क्रमसँगै स्कुले छात्रछात्राले पनि यौन सम्पर्क राख्ने भएकाले बजारमा उपलव्ध कन्डमको आकार ती १२-१६ वर्षका बच्चालाई नमिल्ने भएकाले वीर्य पोखिएर गर्भ रहने, यौनजन्य रोगको संक्रमण हुने जस्ता असुरक्षित यौन सम्पर्क कायम रहन्छ । कन्डम प्रयोग गर्दा साइडबाट कैंचीले काटी खोल्ने, दाँतले नखोल्ने तरिका, लुब्रिकेन्ट्सको प्रयोग, मिति गुज्रेको, हावा रहन नदिने, कन्डम खोल्नु अघि र प्रयोगपश्चात सरसफाइमा ध्यान, सही उपयोग, पुन:प्रयोग नगर्ने, जोडी दुबैले एकैसाथ प्रयोग नगर्ने र भए/गरेका भ्रम मनबाटै हटाई सुरक्षित यौन सम्बन्धका लागि ध्यान दिनु पर्नेछ । कन्डमले पनि बचाउन नसक्ने यौनरोगमा यौनांग वरिपरिको दाग रोग—हर्पिस, एक सय पचास बढी विषाणुको समूहले छालामा मुसाजस्तो गिर्खा— एचपीभी जसले यौनांग, छाला, मुख घाँटी र मलद्वारको क्यान्सर बनाउन सक्छ । कडा दुखाइ हुने भाइरल छालामा फोका— मोलुस्कुम तथा मुटु र दिमागमा नकारात्मक असर पार्न सक्ने— सिफिलिस पर्छन् । यस्ता रोग पूर्णरुपेण ठिक नभई यौन जोडीसँग यौन सम्पर्क राख्नु हुँदैन ।

पावन पर्व दसैं, तिहारमा देश/विदेशमा रहेका आफन्त घरमा आई जमघट हुने अवसर पारी परिवार नियोजन तथा साधनहरूको प्रोत्साहन गर्ने, यौनरोग तथा एचआईभी, एड्सको सचेतना, जन्मान्तर र कन्डम प्रयोगमा के पुरुष, के महिला सबैलाई चेतना जागृत गर्ने उद्देश्य साथ मनाउनसके मानव स्वास्थ्यमा हित हुनेछ ।

अन्त्यमा, यौनसुख प्राप्त गर्नु मानिसको नैसर्गिक अधिकार हो । तर यसैसँग हुने जोखिमको बारेमा पनि विचार पुर्‍याउनुपर्छ । जोखिमको कुरा हाम्रो प्रत्येक दैनिक क्रियाकलापमा हुन्छन् । पानी नै पिउनुस्, पखाला लाग्ने जोखिम, उमालेर पिउनुस्, निकै कम जोखिम । सडकमा हिँड्नुस्, दुर्घटनामा पर्ने जोखिम, सावधानीपूर्वक ट्राफिक नियम पालना गरेर हिँडनुस्, कम जोखिम । शतप्रतिशत खोज्दैनौं । अभ्यस्त भएकाले यसमा जोखिम भएजस्तो पनि लाग्दैन । यो कुरा यौन सम्पर्कको सन्दर्भमा पनि लागू गरौं ।

स्वास्थ्यसेवा विभागमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?