२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जापानमा जे देखेँ

प्रभा बराल

दुई वर्ष जापानमा रहँदा जापनिज नागरिकको दैनिकी बुझ्ने अवसर प्राप्त भयो । धेरै जापनिज साथी बने । मनमा लागेका जिज्ञासा तिनैलाई सोधेर मनको खसखस मेटाउन पाएँ । अंग्रेजी भाषाभन्दा जापनिजको जीवनशैली बुझ्न जापानी भाषा नै सिक्नुपर्‍यो । 

विकासको मूलधारलाई पछ्याउन वामे सर्दै गरेको मेरो देश र विकास गर्न अब के बाँकी छ र भन्ने अवस्थामा पुगेको सम्पन्न मुलुक जापानको अवस्था देखेर म हर्ष अनि विस्मात दुवैले रन्थनिन्थेंँ । तर जापानले यो विकासको चरम उत्कर्ष सजिलै हासिल गरेको होइन भन्ने कुरा जापानीहरूको मुखबाट सुनेपछि हामी नेपालीको अकर्मण्ययता आँखाभरि नाच्न थाल्थ्यो ।


‘जापानीहरूको अथक मिहिनेत, नेतृत्व वर्गको इमानदारीपूर्ण सुशासनले नै आज हामी यो स्थानमा आएका हौं, उनले भनिन् । उनले थप भनिन्, ‘हामीलाई हाम्रो सरकारप्रति पूर्ण भरोसा छ । त्यही भरोसाले नै हरेक काम गर्ने ऊर्जा दिँदो रहेछ । हाम्रो सफलताको कारण यत्ति हो । हामी हाम्रो दैनिकीमा कर्तव्यपरायण छौं, सरकार आफ्नो नागरिकको सुखशान्तिको लागि कर्तव्यपरायण छ । युद्धपछिको जर्जर अवस्थाबाट ७०/८० वर्षमै जापानले गरेको चमत्कार हामी तेस्रो विश्वका मानिसलाई प्रेरणादायी छ । मिहिनेतका कारण आज अनेकौं आश्चर्यजनक क्रियाकलाप गरेर विश्वको ध्यान आफूतिर खिच्न जापान सफल बनेको छ । अटोमोबाइल निर्माणमा जापान अग्रणी स्थान छ ।


जापानमा देखेका केही रोचक कुरा पाठकहरू समक्ष बाँड्न चाहन्छु । हामी काम गरिरहेको ठाउँमा सुत्दा अल्छी र निस्क्रिय छविका कारण आत्तिन्छौं, तर जापानमा त्यसरी काम गर्ने ठाउँमा सुतेको छ भने बरा ! उसलाई कति कामको लोड रहेछ भनेर सहानुभूति दिने गरिँदो रहेछ । जापानमा हरेक साल १५ सय भूकम्प आउँछ, तर भूकम्पले घर भत्कँदैनन् । सबै घर भूकम्प प्रतिरोधी छन् । भूकम्प लगायत जापानमा बाढी, पहिरो, सुनामी, ज्वालामुखी र टाइफुनजस्ता दैवीप्रकोप हरेक साल आउँछन् । यस्ता प्रकोपले भौतिक लगायत अन्य क्षति धेरै पुर्‍याइरहे पनि विपद्सँग सामना गरेर आफूलाई सामान्य बनाउने प्रयास गर्छन्, धेरै हल्लाखल्ला गर्दैनन् । अहोरात्र काममा खटेर जापानीहरू छिट्टै पहिलेकै अवस्थामा पुर्‍याउँछन् । यस्ता बेला प्रधानमन्त्रीले नै पीडित समुदायको आँसु पुछेर मानवताको नमुना देखाउँछन् ।


जापानी स्कुलमा आया र पियन हुँदैनन् । शौचालयदेखि कक्षाकोठा लगायतका सरसफाइ विद्यार्थीे र शिक्षक मिलेर गर्छन् । विद्यार्थी र शिक्षकको एउटै शौचालय हुन्छ । विद्यालयमा लगाउने छुट्टै हरियो रङको हाफ क्लोज जुत्ता हुन्छ, विद्यार्थीले घरबाट लगाएर आएको जुत्ता र्‍याकमा थन्काउनुपर्छ । सबैभन्दा लामो आयु ८२ वर्ष बाँच्छन्, जापानीहरू । यो विश्वकै बढी आयु हो । साढे २ लाखभन्दा बढी भेन्डिङ मेसिन छन्, जहाँबाट इच्छाएको बेला चिया, कफी, पानी, जुस निकालेर खान सकिन्छ । छोटो-छोटो दूरीमा सफा शौचालयहरू छन् । जापानमा सय वर्षभन्दा माथिका मानिस नै पचास हजारभन्दा बढी छन् ।


टापु नै टापुले भरिएको जापानमा ६ हजार ८ सय टापु छन् । समुद्र र टापु जोड्ने सुन्दर बाटो र डिजाइन-डिजाइनका पुलहरू छन् । जापानीहरू घोडा तथा माछाको मासु काँचै पनि खान्छन्, जुन हामीलाई आश्चर्य लाग्छ । सबैभन्दा बढी मानिस बसोबास गर्ने ठाउँ जापानको राजधानी टोकियो हो, यहाँ तीन करोड जापनिज बसोबास गर्छन् । यो विश्वमै धेरै मानिस बसोबास गर्ने महँंगो सहर पनि हो । हामी मिलेको दाँतको प्रशंसा गर्छौं, तर जापानमा नमिलेको दाँतलाई विशेष मान्ने चलन छ र त्यस्तो दाँतलाई सबैले मनपराउँछन् ।


कतिपयले कस्मेटिक सर्जरी गरी दाँत बिगार्छन् । जापानमा रेष्टुरेन्ट वा होटल लगायत अन्य ठाउँमा कर्मचारीलाई ‘टिप्स’ दिनु अभद्र मानिन्छ, जुन करा सुन्दा हामीलाई अजीव लाग्छ । सुमो रेस्लिङ यहाँको राष्ट्रिय खेल भए पनि बेसबल लोकप्रिय बन्दै गएको छ । क्रिसमसको बेला केएफसी तथा होटल, रेष्टुरेन्ट गएर खाना खानु परम्परा नै मानिन्छ । सबैतिर सिसी क्यामेरा जडान गरिएको छ ।

हामी बिरालोलाई अपसगुनका रूपमा लिन्छौं, तर जापानमा बिरालोलाई सगुनका रूपमा लिइन्छ । कालो बिरालो त झन् प्रिय मानिन्छ । हरेक बिहान ५ बजेबाट नै घर-घरबाट कुचो बोकेर मानिस आफ्नो घरभन्दा पनि सार्वजनिक ठाउँ, चोक र बाटाघाटाहरू सफा गरिरहेका हुन्छन् । विवाह, वनभोज वा अन्य अभिप्रायले घुम्न गएका बखत खानेकुरालाई भन्दा फोहोर व्यवस्थापन सही ढंगले गर्न उत्तिकै दत्तचित्त भइरहेको देखिन्छ । आफूले पालेको कुकुरलाई समेत प्याड लगाइदिएर सार्वजनिक ठाउँ वा पार्कमा लगेको

दृश्य हाम्रालागि आश्चर्यको विषय बन्न पुग्छ । तर यो जापनिजहरूका लागि सरसफाइप्रतिको सचेतताको उच्चतम नमुना हो ।


जापानीहरूले जस्तै हामीले पनि समयको पालना, लगनशीलता र इमानदारितालाई ख्याल गर्‍यौं भने छोटो समयमा नै देशलाई कायापलट गर्न सक्छौं । कसैले कसैका कुरा काटेर समय बरबाद गर्ने समय जापानमा छैन । एक लाख हाराहारी नेपाली बसोबास गर्ने जापानमा पछिल्ला दिनमा उनीहरू शंकाको घेरामा पर्नथालेका छन् । जापानको नियम र अनुशासनमा नबस्नाले नेपालीहरूप्रति विश्वास कम हुँदै जानथालेको छ, जुन गम्भीर चिन्ताको विषय हो ।


प्रकाशित : कार्तिक २, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?