लामो छुट्टीमा गृहकार्य : कति उचित ?

मेदिनबहादुर लामिछाने

काठमाडौँ — हाम्रा विद्यालयहरूले एक शैक्षिक सत्रमा कम्तीमा चारवटा लामा छुट्टीहरू दिने गर्छन् । पहिलो छुट्टी वर्षे विदाको रूपमा दिइन्छ । यो छुट्टी काठमाडौं उपत्यकामा दुई हप्तासम्म र उपत्यका बाहिर सात हप्तासम्मको दिइन्छ ।

दोस्रो लामो छुट्टी दसैं र तिहारको बेला दिइन्छ । यो छुट्टी एक हप्तादेखि चार हप्तासम्म हुन्छ । त्यसैगरी तेस्रो लामो छुट्टी हिउँदे विदाको रूपमा पुस–माघ महिनामा दिइन्छ । यो छुट्टी काठमाडौं उपत्यकामा सात हप्तासम्मको हुन्छ भने काठमाडौं उपत्यका बाहिर केही दिनको लागिमात्र हुन्छ । चौथो लामो छुट्टी शैक्षिक सत्रको अन्त्यमा दिइन्छ ।

यो छुट्टी दुई हप्तासम्मको हुन्छ । । भूगोल र विद्यालय अनुसार लामा छुट्टीको समय र अवधि केही तलमाथि भए पनि मूल रूपमा दिइने लामा छुट्टीहरू यिनै हुन् । यी चारवटा लामा छुट्टीहरूमा विद्यार्थीले सबैभन्दा बढी मनपराउने छुट्टी शैक्षिक सत्रको अन्त्यमा दिइने छुट्टी हो । किनभने शैक्षिक सत्रको अन्त्यमा दिइने छुट्टीमा विद्यार्थीहरूलाई शिक्षकहरूले गृहकार्य दिँदैनन् । विद्यार्थीहरूले यो छुट्टीको वास्तविक अर्थमा भरपुर उपयोग गर्छन् र पूर्णरूपमा आरामको महसुस गर्छन् ।

अरु बेलामा भन्दा लामा छुट्टीको आगाडि शिक्षकहरू धेरै नै व्यस्त हुन्छन् । दसैं–तिहारको छुट्टीको आगमनसँगै विद्यालयहरूमा शिक्षकहरूलाई कामको चटारो बढने गर्छ । उनीहरूको यो व्यस्तता र चटारो चाडपर्व मनाउनका लागि भने होइन । न त विद्यालयमा गरिने क्रियाकलापको कारणले भएको हो । नियमित कामको अलावा विद्यार्थीका लागि छुट्टीभरिको कामको व्यवस्था गरिदिनुपरेकाले शिक्षकहरू अरु बेलाभन्दा अलि बढी नै व्यस्त भएका हुन् ।

शिक्षकहरूले विद्यार्थीहरूलाई छुट्टीमा जानुपूर्व छुट्टीभरिको लागि गृहकार्य दिनुपर्ने बाध्यता छ । छुट्टीको बेला दिइने गृहकार्यले शिक्षकहरूमा अतिरिक्त बोझ थपिदिन्छ । किनभने उनीहरूले विद्यार्थीहरूलाई अतिरिक्त काम दिनुपर्ने हुन्छ । अभिभावकहरूको माग पनि यस्तै प्रकृतिको हुने गर्छ । विद्यालय सञ्चालकहरू पनि यही चाहन्छन् । लामो छुट्टीमा विद्यार्थीहरूलाई गृहकार्यको पहाड बोकाउनु आवश्यक छ कि छैन ?

त्यस्ता छुट्टीमा दिइने गृहकार्यले सीप सिकाइ र ज्ञान निर्माणमा मद्दत गर्छ कि गर्दैन ? लामा छुट्टीहरूमा विद्यार्थीलाई गृहकार्य दिनु उचित हो कि हैन ? यदि उचित हो भने कस्ता खालका गृहकार्य दिनु उचित हो ? विद्यार्थीलाई व्यस्त बनाउने नाममा अनावश्यक कामको भारी बोकाउनु संज्ञानात्मक, भावनात्मक र मनोवैज्ञानिक हिसाबले कति ठिक हो ? विद्यालय, शिक्षक, अभिभावक र सरोकारवालाहरूले यस विषयमा गम्भीरतापूर्वक सोच्ने बेला भएको छ ।

निजी विद्यालयहरूमा विद्यार्थीहरूलाई वर्षे, हिउँदे र चाडपर्वको विदामा गृहकार्यको पहाडै बोकाउने चलन छ । यस्तो गृहकार्य दिने चलन सार्वजनिक विद्यालयमा केही कम नै छ । विद्यार्थीहरूले छुट्टी पाउँदा खुसी हुन्छन्, चाहे त्यो छोटो अवधिको होस् वा लामो । तर विद्यालयहरूले ती छुट्टीहरूमा गृहकार्यको बोझ थपेर उनीहरूको खुसीलाई संकुचित बनाइदिन्छन् । छुट्टीमा गृहकार्य नदिने शिक्षकहरू विद्यार्थीका प्रिय पात्र हुन्छन् भने गृहकार्य दिने शिक्षकहरू अभिभावकका प्रिय पात्र हुन्छन् । छुट्टीमा विद्यार्थीलाई गृहकार्य चाहिएको छैन । चाहिएको छ त केवल अभिभावकको लागि । बाध्य पारेर गर्न लगाइएका कामबाट सकारात्मक परिणामको अपेक्षा गर्न सकिँदैन । छुट्टीमा दिइएको गृहकार्य विद्यार्थीको हितमा छ कि छैन, यसैबाट प्रस्ट हुन्छ ।

अभिभावक र शिक्षक दुबैमा के भ्रम छ भने जुन शिक्षकले लामो वा छोटो छुट्टीमा धेरै गृहकार्य दिन्छन्, उनीहरू असल र प्रभावकारी शिक्षक हुन् । छुट्टीमा गृहकार्य दिनु नराम्रो पक्कै होइन । विद्यार्थीको सिकाइलाई थप काम र अभ्यास दिएर सबल र सुदृढ बनाउनु पनि नराम्रो होइन । विद्यार्थीलाई दिइएका गृहकार्य सिकाइसँग जोडिएका छन् कि छैनन् ? ज्ञान निर्माणसँग जोडिएका छन् कि छैनन् भन्ने कुरा मुख्य कुरा हो । छुट्टीमा विद्यार्थीलाई दिने गृहकार्य सिकाइ र ज्ञान निर्माणसँग जोडिएका हुँदैनन् । ती कार्यहरू पाठ्यक्रम र सिकाइ उपलब्धिसँग जोडिएका हुँदैनन् । ती कार्यहरू त उनीहरूलाई घरमा व्यस्त राख्न दिइएको हुनाले जे काम दिँदा विद्यार्थीलाई व्यस्त राख्न सकिन्छ, त्यही काममात्र दिने गरिन्छ । यस्ता कामले वास्तविक सिकाइ र ज्ञान निर्माणलाई प्रोत्साहन गर्दैन र तिनीहरूको प्राज्ञिक मूल्य पनि हुँदैन ।
मिहेनती छात्रछात्राहरूले उनीहरूलाई दिइएको गृहकार्य छुट्टी सुरु भएको केही दिनमा नै सक्छन् र छुट्टीको मज्जा लिन्छन् । तर अधिकांश छात्रछात्राहरूले छुट्टी सकिनु केही दिन रहँदा हतार–हतार दिइएको गृहकार्य पूरा गर्छन् । जसले जतिबेला गृहकार्य गरे पनि ती गरिएका काममा भने कसैको गम्भीरता देखिँदैन । जसले गृहकार्य दियो, उसले त्यो काम उनीहरूलाई व्यस्त बनाउन दिएको हुनाले उनीहरूले दिएको काममा गम्भीरता देखिँदैन । विद्यार्थीहरूलाई पनि के थाहा छ भने उनीहरूलाई गर्न दिइएको कामको सिकाइ र ज्ञान निर्माणसँग कुनै साइनो छैन ।

छुट्टीमा दिइने गृहकार्यलाई शिक्षकले व्यवस्थित रूपमा अनुगमन गर्न सक्दैनन् । विद्यार्थीले गरेका काम कति प्रामाणिक हो ? शिक्षकलाई छुट्याउन कठिन हुन्छ । विद्यार्थीले गरेका काम उनीहरू आफैंले गरेका हुन् कि अरुको सहयोग लिएर गरेका हुन् ? निर्क्योल गर्न सकिँदैन । अरु देशको उदाहरण हेर्ने हो भने जुन–जुन देशले गृहकार्यमा बढी ध्यान केन्द्रित गरेका छन्, तिनीहरूको शैक्षिक उपलब्धि गृहकार्यलाई निरुत्साहित गर्ने वा नाम मात्रको गृहकार्य दिने देशको तुलनामा कम नै हासिल गरेको कुरा अध्ययन–अनुसन्धानले पनि पुष्टि गरेका छन् ।

विद्यालयमा दिइने छुट्टी पढ्ने र पढाउने दुबैको लागि हो । पढाउनेले छुट्टीमा भरपूर मनोरञ्जन गर्न पाउँछन् भने पढनेका लागि पनि त्यो अवसर दिनुपर्छ । एउटा पक्षले छुट्टी प्रयोग गरेर घुम्ने, सामाजिकीकरण गर्ने, आराम गर्ने मौका पाउँछन् भने त्यो मौका विद्यार्थीका लागि पनि प्राप्त हुनुपर्छ । यसबाट उनीहरूलाई बञ्चित गर्न हुँदैन । हामीले विद्यार्थीहरू छुट्टीपछि विद्यालय आउँदा ताजा र स्फुर्त मन र मस्तिष्क लिएर सिकाइ र ज्ञान निर्माणका लागि तयार भएर आउने वातावरण सिर्जना गर्नुपर्छ ।

छुट्टीमा दिइने गृहकार्यले विद्यार्थीको सिकाइ उपलब्धि बढाएको, ज्ञान निर्माण गरेको, सीप तथा कौशल सिकाएको अनुभव हाम्रा अभिभावकहरूले विरलै रूपमा अनुभव गर्न पाएका छन् । मेरो तीन दशक लामो शिक्षण यात्रामा छुट्टीमा विद्यार्थीहरूलाई दिइएको गृहकार्यले विद्यार्थीको सिकाइ सुधारेको र ज्ञान निर्माण मजबुत बनाएको देखिन । यसले दुईवटा प्रश्न उब्जायो । या त हामीले विद्यार्थीलाई छुट्टीमा गर्न दिएको गृहकार्य नै बेठिक छ, या छुट्टीमा गृहकार्य दिनु नै ठिक छैन । यदि शिक्षकहरूले दिएका गृहकार्य बेठिक छन् भने ती कामलाई कसरी पाठ्यक्रम र सिकाइ उपलब्धिसँग जोड्न सकिन्छ भनेर शिक्षकहरूले विचार गर्नुपर्‍यो र सोही बमोजिम काम दिनुपर्‍यो । हैन छुट्टीमा गृहकार्य दिनु नै अनुचित हो भने गृहकार्य दिन बन्द गर्नुपर्‍यो । सीप तथा कौशल सिकाइ र ज्ञान निर्माणसँग नजोडिएका काम दिएर विद्यार्थीको लागि अनावश्यक बोझ थप्नुभन्दा नदिनु नै उचित हुन्छ । हैन दिनैपर्ने हो भने जसरी पनि विद्यार्थीलाई दिइएका काम उनीहरूको सीप सिकाइ, अवधारणा बुझाइ र ज्ञान निर्माणसँग जोडिन सक्नुपर्‍यो ।
विद्यालयले शैक्षिक सत्र सुरु हुनु अगावै लामा छुट्टीको योजना बनाउनुपर्छ । पाठ्यक्रमका कस्ता विषय–वस्तु लामा छुट्टीको अगाडि पढाउने भन्ने कुरा शैक्षिक सत्रको सुरुवातमा नै निर्क्योल गरियो भने विद्यार्थीहरू छुट्टीमा जाँदा ती विषयको सम्बन्ध आफ्नो दैनिक व्यवहारमा खोज्न र अध्ययन गर्न सक्छन् । विद्यार्थीले कक्षाकोठामा सिकेका कुराको सम्बन्ध आफ्नो जीवन र जगतमा देखे भने सीप तथा कौशल सिकाइ, ज्ञान निर्माण र अवधारणा विकासमा उत्साहित र प्रेरित हुन्छन् । लामा छुट्टीमा विद्यार्थीहरूलाई गृहकार्यको रूपमा ती विषयबारे खोज र अनुसन्धान गर्न लगाउन सकिन्छ । यस्ता गृहकार्यले विद्यार्थीलाई सिक्न र खोज्न अभिप्रेरित गर्छ ।

सिक्ने भनेको शिक्षकसँग मात्र हो । सिक्ने ठाउँ भनेको कक्षाकोठा मात्र हो । अनि सिक्न पाठ्य–पुस्तकले मात्र सघाउँछ भन्ने भ्रम आज पनि समाजमा उत्तिकै सशक्त रूपमा उपस्थित छ । विद्यार्थीको सिकाइ कक्षाकोठा, पाठ्य–पुस्तक र शिक्षकसँग मात्र जोडियो भने शिक्षकले छुट्टीमा दिने गृहकार्य तिनै कक्षाकोठा, पाठ्य–पुस्तक र शिक्षकसँग मात्र जोडिएका हुन्छन् । सिकाइ कक्षाकोठा, शिक्षक र पाठ्य–पुस्तकमा मात्र सीमित हुनुहुँदैन । हाम्रा विद्यालयहरूले विद्यार्थीको सिकाइलाई कक्षाकोठा, पाठ्य–पुस्तक र शिक्षकसँग मात्र नजोडी त्यसलाई विद्यार्थीको घर, परिवार, उसको दैनिक जीवन, ऊ बस्ने समुदाय र समाज, उसको आफन्त र छरछिमेक अनि अन्य पाठ्य सामग्रीसँग जोड्नसके भने विद्यार्थीलाई छुट्टीहरूमा दिइने गृहकार्य दिनै पर्दैन । विद्यार्थी जहाँ–जहाँ जान्छ, उसले सिकाइलाई त्यहाँ–त्यहाँ जोड्न सक्छ ।

छुट्टी भनेको विद्यार्थीका लागि सीप सिकाइ, अवधारणा बुझाइ र ज्ञान निर्माणबाट केही समय आराम गर्ने अवसर हो । यस्तै छुट्टीहरूमा विद्यार्थीहरूले आफूले सिकेका सीप, विकास गरेका अवधारणा र निर्माण गरेका ज्ञानहरूको व्यवहारमा प्रयोग गर्ने मौका पाउँछन् । सिकेका सीप, विकास गरेका अवधारणा र निर्माण गरेका ज्ञानको प्रतिविम्बन, चिन्तन र मनन गर्ने अवसर पनि हो छुट्टी । विद्यार्थीलाई छुट्टी छुट्टीको रूपमा प्रयोग गर्न दिँदा यसले उनीहरूमा ध्यान केन्द्रित गर्नसक्ने क्षमताको विकास गराउँछ भने उनीहरूको तनावसमेत कम गरी सामाजिक कौशल तथा पारस्परिक र अन्तर्वैयक्तिक सीप तथा बुद्धि विकास गर्न सहयोगी हुन्छ ।

शिक्षकले दिएको गृहकार्यले अभिभावक र विद्यार्थी बीचको सम्बन्धमा सेतुको काम गर्नसक्ने हुनुपर्छ । छुट्टीमा दिइने कार्य विद्यार्थीको लागिमात्र भयो भने त्यो त्यति फलदायी र अर्थपूर्ण हुँदैन । विद्यार्थीहरूलाई छुट्टीको बेला घरपरिवारसँगको सम्बन्धलाई पुनर्ताजगी गर्ने समय दिनुपर्छ । शिक्षकले दिएको गृहकार्यले विद्यार्थीको वैयक्तिक जीवनलाई मात्र समेट्यो भने ओगट्यो वा भरियो भने उनीहरूको सामाजिकीकरणमा घर, परिवार र अभिभावकको लागि कुनै स्थान र भूमिका नरहन सक्छ । यसले विद्यार्थीको जीवनमा एकाकीपनको समस्या ल्याउन सक्छ ।

छुट्टीमा बालबालिकाहरूलाई व्यस्त बनाउने नाममा गृहकार्यको चाङ पठाएर छुट्टीको उद्देश्य पूरा हुँदैन । चाडपर्वमा दिइने छुट्टी भनेको चाडपर्व मनाउनका लागि हो । अभिभावकहरूले पनि यो कुरा बुझ्नुपर्छ । चौबीसै घन्टा घर होस् वा विद्यालय खालि सिकाइमा मात्र बालबालिकालाई व्यस्त राख्दा त्यो प्रत्युत्पादक पनि बन्न सक्छ । आम शिक्षकहरूले भोगेको र अनुभव गरेको एउटा कुरा के हो भने जुन विद्यार्थीलाई अतिरिक्त अभ्यासको खाँचो पर्छ, ती विद्यार्थीहरूले लामो छुट्टीमा दिइएका गृहकार्य या त गर्दैनन्, गरिहाले पनि आंशिक रूपमा मात्र गर्छन् । जुन विद्यार्थीलाई अतिरिक्त अभ्यासको खाँचो पर्दैन, ती विद्यार्थीहरूले जसरी पनि काम पूरा गरेका हुन्छन् । जसलाई आवश्यक छ, उसले नगर्ने र जसलाई आवश्यक छैन, उसले दिएको काम नगर्ने हो भने त्यो गृहकार्यको के अर्थ ?

छुट्टीको समय भनेको पारिवारिक समय पनि हो । विद्यार्थीहरूले छुट्टीमा भरपुर मात्रामा परिवारका सदस्यहरूसँग अन्तरक्रिया र संवाद गर्ने मौका पाउनुपर्छ । विद्यालयले यस्तो छुट्टीमा गृहकार्यको भार थप्ने भनेको प्रकारान्तरले बालबालिकाको पारिवारिक समय खोस्नु नै हो । विद्यालय जाने दिनमा बालबालिकहरूले आफ्ना परिवारका सदस्यहरूसँग खुलेर अन्तरक्रिया गर्ने समय कम हुनेहुनाले पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउन पनि छुट्टीमा बालबालिकाहरूलाई गृहकार्य नदिनु नै वेश हुन्छ । यदि दिनु नै पर्ने अवस्था आएमा यस्तो गृहकार्य दिनुपर्छ, जहाँ बालबालिकाको परिवारका सदस्यहरूको उपस्थिति आवश्यक परोस् र उनीहरूको सहभागिताको जरुरत होस् ।
छुट्टीको बेला गृहकार्य नदिँदैमा सिकाइ र ज्ञान निर्माण नहुने होइन ।

आफ्ना नानीबाबुहरूलाई घरमै वैकल्पिक क्रियाकलापमा संलग्न गराई सिकाइ र ज्ञान निर्माणलाई निरन्तरता दिन सकिन्छ । यस्तो छुट्टीमा परिवारका सदस्यहरूले आफ्ना नानीबाबुहरूलाई सामाजिक संस्था र सांस्कृतिक सम्पदाको भ्रमण गर्न लगाई ती संस्था र सम्पदाको बारेमा अध्ययन गर्न लगाउन सक्छन् । यसरी आफ्ना नानीबाबुहरूसँग सामाजिक संस्था र सांस्कृतिक सम्पदाको भ्रमण गर्दा नानीबाबुहरूले आफ्ना मनमा लागेका कुरा व्यक्त गर्ने र सोध्ने मौका पाउँछन् । यस्तो भ्रमण अनौपचारिक हुनेहुनाले नानीबाबुहरूले मनमा लागेका जिज्ञासा खोज गर्न थप सहजतासमेत महसुस गर्छन् ।

शिक्षकले विद्यार्थीहरूलाई छुट्टीको बेलामा उनीहरूको उमेर, कक्षा र स्तर सुहाउँदा पढ्ने किताबहरूको सूची तयार पारी पढ्न दिन सकिन्छ । विद्यार्थीहरूले आफूले चाहेको किताब पढ्न पाउने र भ्याउने उपयुक्त समय भनेको छुट्टी नै हो । अरु बेलामा विद्यार्थीहरू पाठ्यक्रमले तोकेका पाठ्य–पुस्तकहरू पढ्दैमा व्यस्त हुनेहुनाले उनीहरूले आफ्नो रुचि र क्षमता अनुसारको किताब पढ्न पाउने यो नै उपयुक्त समय हो । त्यसैले अभिभावकहरूले पनि यो समयमा आफ्ना नानीबाबुसँग बसेर आफूलाई मनपरेका किताबहरू अध्ययन गर्दा घरमा पठन संस्कृतिको विकास हुन्छ ।

छुट्टीमा अभिभावकहरूले आफूले पढेका किताबको विषय–वस्तु आफ्ना नानीबाबुहरूसँग बाँड्दा र नानीबाबुहरूले पनि आफूले पढेका किताबको विषय अभिभावकसँग बाँड्दा उनीहरूको सिकाइ र ज्ञान निर्माण थप मजबुत हुन जान्छ । एउटा लामो छुट्टीमा एउटा विद्यार्थीले उसलाई मनपरेका ३ वटा किताब पढ्यो भने दस कक्षासम्म पढ्दा कम्तीमा पनि उसले १२० वटा मनपरेका किताबहरू पढ्न सक्छ । यो सङ्ख्या भनेको पठन संस्कृति विकास गराउन पर्याप्त सङ्ख्या हो । हाम्रा विद्यार्थीहरूले सायदै यति धेरै किताब विद्यालयमा पढेका हुन्छन् ।

एक्काइसौं शताब्दीमा विद्यार्थीहरूले हरेक मिनेट सिकिरहेका हुन्छन् । सूचना र प्रविधिको विकास र विस्तारको कारणले विद्यार्थीसँग सिक्नका लागि प्रशस्त स्रोत र साधन उपलब्ध छ । पहिले सिक्न र ज्ञान निर्माण गर्न विद्यालय जानुपर्ने बाध्यता थियो । सिक्ने र ज्ञान निर्माण गर्ने भनेको विद्यालयको ६ घन्टाको समयमात्र थियो । अहिले प्रविधिको कारणले सिकाइ र ज्ञान निर्माण चौबीसै घन्टा सातै दिन सम्भव भएको छ ।

विद्यार्थीसँग इन्टरनेटको सुविधा छ भने खान एकेडेमी, आईएक्सएल जस्ता वेब साइटमा गएर सिक्न र ज्ञान निर्माण गर्न सकिन्छ । प्रविधिको विकास यसैगरी हुने हो भने अबको एक दशकपछि विद्यालय र घरको बीचको परम्परागत सीमा नरहन सक्छ । सिकाइ र ज्ञान निर्माण अब शिक्षक र पाठ्य–पुस्तकबाट मात्र हुनसक्छ भन्ने अवधारणालाई प्रविधिले चुनौती दिइसक्यो ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

कता हराए १० लाख विद्यार्थी ?

मेदिनबहादुर लामिछाने

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको फ्ल्यास रिपोर्ट २००९/२०१० अनुसार त्यस वर्ष कक्षा १ मा १४ लाख ७२ हजार १३ विद्यार्थी भर्ना भएका थिए । तीमध्ये १० लाख १३ हजार ५ सय ५ जना मात्र कक्षा २ मा पुगे । कक्षा २ मा भर्ना भएकामध्ये ८ लाख ९३ हजार १ सय ६८ जना कक्षा ३ मा भर्ना भए ।

कक्षा ६ मा पुग्दा ६ लाख ३९ हजार ५ सय ५० मात्र बाँकी रहे । तिनै विद्यार्थी २०७५ को एसईईसम्म पुग्दा ४ लाख ५० हजार १ सय ८६ बाँकी रहे । यसरी कक्षा १ मा भर्ना भएका १४ लाख ७२ हजार १३ विद्यार्थीमध्ये कक्षा १० सम्मको यात्रा सक्दा ४ लाख ५० हजार १ सय ८६ बाँकी रहे । १० वर्षको शैक्षिक यात्रामा १० लाख २१ हजार ८ सय २७ विद्यार्थी हराए ।

यो तथ्याङ्कले हामीले कक्षाकोठामा विद्यार्थी टिकाउन नसकेको देखाउँछ । यो समस्या तल्ला कक्षाहरूमा झन् भयावह देखिन्छ । ५७ प्रतिशत विद्यार्थीले किन विद्यालय छाडे र कहाँ गए ? के समस्या आइलाग्यो, जसले उनीहरूलाई विद्यालय छाड्न बाध्य बनायो ? कारण व्यक्तिगत हो कि पारिवारिक ? सामाजिक हो कि आर्थिक ? राजनीतिक हो वा शैक्षिक ? भौगोलिक हो वा सांस्कृतिक ? तिनले विद्यालय छाड्नुको कारण पहिचान गरेर बढ्न सकिएन भने सरकारी नीति र बजेटले तात्त्विक भिन्नता ल्याउन सक्दैन । नीति र कार्यक्रमले मात्र परिवर्तन ल्याउन सक्थ्यो भने, हरेक वर्ष एसईईमा झन्डै १४ लाख विद्यार्थी सामेल भइरहेका हुने थिए ।

शिक्षा मन्त्रालयको काम विद्यालयमा विद्यार्थी ल्याउने, भर्ना भएकालाई टिकाउने, तिनलाई आवश्यक ज्ञान निर्माण र सीप सिकाउने अनि विद्यालय तहबाट दीक्षित भएपछि रोजगारीको बजारमा बिक्न सक्ने बनाउने हो । कक्षा १ को भर्नादर हेर्‍यौं भने विद्यार्थी ल्याउन विद्यालय केही हदसम्म सफल देखिन्छन् ।

त्यसपछि उनीहरूलाई विद्यालयमा टिकाउने र बिकाउने कुरामा भने स्थिति दयनीय छ । शिक्षा मन्त्रालयको प्रयास विद्यालयमा विद्यार्थीलाई टिकाउन, सिकाउन र रोजगारीको बजारमा बिक्न सक्ने बनाउनमा केन्द्रित हुनुपर्छ । यसमा जति ढिलाइ भयो, त्यति सार्वजनिक शिक्षालयप्रति आमनागरिक र समुदायको विश्वास गुम्दै जान्छ ।

राज्यले सार्वजनिक शिक्षा सबैको पहुँचमा पुर्‍याउन कोसिस गरिरहेको भए पनि त्यसमा आमजनताको विश्वास देखिँदैन । जबसम्म अभिभावकको पहिलो रोजाइमा निजी विद्यालयहरू रहिरहन्छन्, तबसम्म सरकारले सार्वजनिक शिक्षालयलाई सबल र सुदृढ बनाएको मानिँदैन । हुनेखानेले आफ्ना नानीबाबुलाई सार्वजनिक शिक्षालयमा पठाउँदैनन् । समाजका अगुवाहरूले नै सार्वजनिक शिक्षाप्रति विश्वास नगरेपछि हुँदाखाने वर्गसमेत त्यति आकर्षित हुन्नन् ।

विद्यार्थीलाई विद्यालयमा टिकाउन सरकारले अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । जति कार्यक्रम आए, हचुवामा आए । समस्या समाधान गर्ने हेतुले भन्दा पनि सरकारका नीति तथा कार्यक्रमलाई कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने अभिप्रायले ल्याए जस्तो ! दिवा खाजा कार्यक्रम ल्याइयो, निःशुल्क पाठ्यपुस्तकको व्यवस्था गरियो, छात्रवृत्ति कार्यक्रम ल्याइयो, स्यानेटरी प्याडको व्यवस्था गरियो । तर, कुनै पनि प्रयास सहयोगी बन्न सकेन ।

विद्यालयमा टिक्नु वा नटिक्नुमा विद्यार्थीविशेषको व्यक्तिगत–पारिवारिक पृष्ठभूमि, सामाजिक–आर्थिक–भौगौलिक अवस्था, विद्यालयप्रति अभिभावकको मनोवृत्ति, विद्यालयको सिकाइ वातावरण, शिक्षकहरूको व्यवहार, शिक्षण विधि, विद्यार्थीलाई दिइने थप सहयोग आदिले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

विद्यार्थी टिकाउने हो भने विद्यालयको वातावरण पढ्नलायक बनाउनुपर्छ । सिकाइमैत्री, अभिभावकमैत्री र बालमैत्री वातावरण हुनुपर्छ । शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्र (ईआरओ) ले हालै गरेको एउटा अध्ययनले देशका नमुना विद्यालय नै पढ्नलायक नभएको देखाएको छ । विद्यालयको वातावरणनै सिक्न र पढ्नलायक नभएपछि विद्यार्थी

कसरी टिक्छन् ?
हाम्रो सन्दर्भमा विद्यार्थीले विद्यालय छाड्नुमा अभिभावकको आर्थिक अवस्था र शिक्षामा उनीहरूको पहुँचको ठूलो हात हुन्छ । छोराछोरीलाई विद्यालयमा भर्ना गरिसकेपछि अभिभावकमा केही उत्तरदायित्व स्वतः थपिन्छ । कापी–किताबको जोहो गरिदिनैपर्‍यो, शिक्षा निःशुल्क भए पनि परीक्षाशुल्क र अन्य बहानामा उठाइने शुल्क तिरिदिनैपर्‍यो, एकसरो लुगाको व्यवस्था गरिदिनैपर्‍यो, खाजाको व्यवस्था गरिदिनै पर्‍यो । चरम गरिबीमा रहेका अभिभावकहरूको कमाइले यो सब गर्न सम्भवै छैन । जब शिक्षा अभिभावकको कमाइले नधान्ने अवस्थामा पुग्छ, त्यसबाट भाग्नुबाहेक अर्को विकल्प विद्यार्थी र अभिभावक दुवैसँग हुँदैन । छाडेर जान खोज्ने विद्यार्थीलाई रोक्न विद्यालयसँग कुनै स्रोतसाधन छैन, न त सरकारले स्रोतसाधन गराएको छ ।

राज्यले शिक्षकको तलब–भत्ताबाहेक केही मसलन्द खर्च मात्र उपलब्ध गराउँछ, जसबाट चक र डस्टरबाहेक अर्थोक किन्न पुग्दैन । विद्यार्थीलाई विद्यालयमा टिकाउने विकल्प राज्यसँग मात्र छ, तर उही हात बाँधेर बसेको छ ।

जातीय अल्पसङ्ख्यक समूहबाट आएका र सामाजिक–आर्थिक स्थिति कमजोर भएका विद्यार्थीले विद्यालय छाड्ने दर उच्च हुन्छ । जुन विद्यार्थीले घरमा सिकाइका लागि सहयोग पाउँदैनन्, जसका घरमा सिकाइका लागि सामग्री छैनन्, जसका अभिभावक घरमा हुन्नन् र विद्यालयमा हुने क्रियाकलाप र सिकाइप्रति कम चासो राख्छन्, तिनको विद्यालय छाड्ने दर उच्च हुन्छ । शैक्षिक उपलब्धि र परीक्षाको ग्रेड न्यूनस्तरको हुने, गृहकार्य नगर्ने या कम नगर्ने विद्यार्थीले पनि विद्यालय छाड्न सक्छन् । साथीसँगीसँग राम्रो व्यवहार नभएका विद्यार्थीले पनि बीचैमा कक्षा छाड्न सक्छन् ।
प्राथमिक तहमा विद्यार्थीको सिकाइ सीप, पढाइ सीप, गणितीय सीप, सामाजिक सीप, वैयक्तिक सीप कस्तो छ, त्यसले विद्यालय छाड्ने वा निरन्तरता दिने भन्नेमा प्रभाव पार्छ । कक्षाकोठाको सिकाइ सक्रिय छ कि निष्क्रिय, त्यसले पनि भूमिका खेल्छ । कक्षाकोठाको सिकाइ सक्रिय छ, सिक्न प्रशस्त मौका पाइन्छ, शिक्षकसँगको संवाद र अन्तरक्रिया उच्च स्तरको छ भने, त्यस्ता विद्यार्थीले पनि कक्षाकोठा कमै छाड्छन् ।

अभिभावकको कमजोर आर्थिक अवस्था र विद्यार्थीले घरमा गर्नुपर्ने कामको बोझका कारण पनि विद्यालय छाड्ने दर बढेको हुनसक्छ । बसाइँसराइ, विद्यालयमा अनियमित, कक्षा दोहोर्‍याउनुपर्ने अवस्था आदिले पनि कहीं न कहीं उनीहरूलाई कक्षाकोठाबाट बाहिर धकेलिरहेको पाइन्छ ।

विद्यालयमा शारीरिक तथा मानसिक दण्ड र स्वीकार्यता, ज्ञान निर्माण, सीप सिकाइ र अवधारणा बुझाइलाई वास्तविक जीवन र जगत्सँग जोड्न नसक्नु, सिकाइ पाठ्यपुस्तकमा मात्र केन्द्रित हुनु, मूल्याङ्कनको आधार लेखाइलाई मात्र मान्नु जस्ता विषयले पनि विद्यार्थीलाई विद्यालय छाड्ने अवस्थामा पुर्‍याउँछन्।

प्रकाशित : भाद्र २५, २०७६ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्