हिन्दु र बौद्धको संगमस्थल- काँक्रे विहार- विविधा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिन्दु र बौद्धको संगमस्थल- काँक्रे विहार

डा. नारायण मरासिनी

काँक्रे विहार सुर्खेत उपत्यकाको सानो पहाडको थुम्कोमा अवस्थित हिन्दु-बौद्ध मन्दिर हो । यस मन्दिरको आकार काँक्राको बीउजस्तो भएकाले काँक्रे विहार नाम रहन गएको भन्ने भनाइ भेटिन्छ । यो मन्दिर कुँदेको ढुङ्गा प्रयोग गरेर १२ औं शताब्दीमा निर्माण गरिएको मानिन्छ ।

जसले उक्त समयमा यस क्षेत्रका मानिसले हिन्दु धर्मको साथमा बौद्ध धर्मको अभ्यास गरेको देखाउँछ । कुँदिएका ढुङ्गा र काँसका मूर्तिहरूमा बुद्घका साथै सरस्वती र गणेश लगायत थुप्रै हिन्दु देवीदेवताको प्रतिमा छन् । यो मन्दिर भत्किएर लामो समयसम्म भग्नावशेषको रूपमा रह्यो । भर्खरै पुरातत्त्व विभागले मन्दिरलाई मौलिक आकारमै पुनर्निर्माण गरेको छ । यो मन्दिर कसरी भत्कियो भन्नेमा विभिन्न मत छन् ।


काँक्रे विहार सिन्जा राज्य (वर्तमान जुम्ला क्षेत्र) का राजा अशोक चालियाको शासनकालमा लगभग सन् १२६८ मा निर्माण भएको ऐतिहासिक दस्तावेजमा उल्लेख भएको पाइन्छ । राजा अशोक चालियाले सन् १२५५-१२७८ सम्म सिन्जा राज्यमा शासन गरेका थिए । उनी ‘क्रा चालिया’ का छोरा थिए जसको अर्को छोरा राजा जितारी चालियाले ‘मल्ल’ थर ग्रहण गरे । त्यसपछि ‘चाल’ राजवंश नेपालको इतिहासमा ‘मल्ल’ भनेर चिनियो ।


राजा अशोक महायान बुद्धिजमका अनुयायी थिए र यो विहार उनको भगवान बुद्धप्रति भक्तिको प्रतीक हो । उक्त समयमा सिन्जा राज्य पूर्वमा त्रिशूली नदी, पश्चिममा सतलज नदी गढवाल-लद्दाख, उत्तरमा तिब्बतको खारी क्षेत्र र दक्षिणमा तराईसम्म फैलिएको थियो । त्यतिबेला यो राज्यले विशाल नेपाल (जो पूर्वमा सिक्किम र पश्चिममा गढवाल) को करिब आधा हिस्सा ओगटेको थियो । केही शैलवर्णनमा उल्लेख भए अनुसार उनको राजनीतिक प्रभाव भारतको बोधगयासम्म फैलिएको थियो ।


काँक्रे विहार मन्दिरको निर्माणमा प्रयोग भएका कुँदिएका विशाल ढुङ्गाहरू देख्दा यी ढुङ्गाहरू कहाँबाट ल्याइए होलान् भन्ने जिज्ञासा हरेकको मनमा उठ्छ । अझै स्थानीयसँग बुझ्दा ३०-४० किमि वरिपरि यस्ता ढुङ्गाहरू नरहेको बताउँछन् । बाटोघाटो र ढुवानीको सुविधा नभएको त्यो समयमा यत्रा अजङ्गका ढुङ्गाहरू कसरी यो थुम्कोमा पुर्‍याइए होलान् ? कति मानिसको श्रम, पसिना लाग्यो होला ? यत्रो अदम्य आँट तत्कालीन राजामा कसरी आयो होला ? सुन्दर मन्दिर भत्किएर त्यत्रा ठूला कुँदिएका ढुङ्गाहरू मन्दिरको मुख्य स्थानबाट ४००-५०० मिटरसम्म कसरी छरपस्ट हुनपुग्यो होला भन्ने प्रश्न जोकोहीको मनमा आउँछ । अहिले मन्दिरको मुख्य पुनर्निर्माण लगभग सकिएको छ ।


काँक्रे विहार मन्दिर कसरी र कहिले भत्कियो भन्ने सवालमा दुई मुख्य विचार सुन्न र विभिन्न अध्ययन, अनुसन्धानका दस्तावेजमा पढ्न पाइन्छ । पुरातत्त्वविदहरूका भनाइमा सोह्रौं शताब्दीतिर शंकराचार्यका अनुयायीहरूले बौद्ध धर्मको फैलँदो प्रभावलाई रोक्न यो मन्दिर भत्काए भन्नेछ । तर यो कुनै प्रमाणको आधारमा भन्दा पनि फगत अनुमान हो ।


पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले मन्दिरको हाताभित्र खडा गरेको अभिलेखमा यो विहार वि.सं. १८९० को ठूलो भुइँचालोको कारणले भत्केको उल्लेख गरेका छन् । तर यी दुवै तर्कमा प्रश्न गर्ने आधार छन् । पहिलो तर्क सर्वथा अनुमानको भरमा भनिएको र अरु यस्तै थुप्रै मन्दिर उक्त क्षेत्र लगायत तराईमा रहेको तर यो मन्दिरमात्र भत्काउन शंकराचार्यका अनुयायी त्यहाँसम्म कसरी पुगे अनि भत्काउँदा पनि कसरी मन्दिरमा प्रयोग भएका कुँदिएका त्यत्रा ढुङ्गाहरू ४००-५०० मिटर परसम्म फैलिए भन्ने कुराले यो अनुमानमा विश्वास गर्न गाह्रो हुन्छ ।


१८९० को भूकम्पको केन्द्रविन्दु काठमाडौंको उत्तर-पूर्वमा रहेको र उक्त भूकम्पले काठमाडौंको भक्तपुर र ठिमी क्षेत्रमा ठूलो क्षति भएको कुरा कोलोराडो विश्वविद्यालयका भू-वैज्ञानिक प्राध्यापक रोजर विलहमद्वारा सन् १९९५ मा प्रकाशित अनुसन्धानात्मक लेखमा उल्लेख छ । पूर्व-उत्तरमा केन्द्रविन्दु भएर गएको वि.सं. १९९० सालको भन्दा कम अर्थात रेक्टर स्केलमा ७.८ को भूकम्पले कसरी काठमाडौंबाट हवाई दूरी नै करिब ४ सय कि.मि. टाढा रहेको संरचनालाई क्षति गर्न सक्छ ? यो तर्कमा पनि विश्वासिलो आधार भेटिँदैन ।


प्रश्न उठ्छ, कसरी विशाल ढुङ्गा ल्याएर मन्दिर निर्माण गर्न सम्भव भयो होला ? र के कारण मन्दिर भत्किन पुग्यो होला ? यसमा अनुसन्धान गरेर विश्वासिलो आधारसहित सत्य-तथ्य बाहिर ल्याउन ढिला भइसक्यो । सन् १५०५ मा नेपालको पश्चिम-उत्तर भूभाग वर्तमानमा शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जुन डोल्पा र मुगु जिल्लामा फैलिएको छ, उक्त क्षेत्रमा केन्द्रविन्दु पारेर करिब ८.२ देखि ८.८ म्याग्निच्युड बीचको महाभूकम्प गएको प्राध्यापक रोजर विलहम र इम्पेरियल कलेज, लन्डनका प्राध्यापक निकोलस एमनसेयसले सन् २००५ मा करेन्ट साइन्सको मे अंकमा प्रकाशित अनुसन्धानात्मक लेखमा उल्लेख गरेका छन् ।


यो महाभूकम्पको क्षतिको विवरण भने कतै भेटिँदैन । काँक्रे विहार र यो महाभूकम्पको केन्द्रविन्दु बीचको दूरी त्यति टाढा नरहेको र पुरातत्त्वविद्हरूको भनाइमा पनि यो विहार १६ औं शताब्दीको आसपासमा भत्किएको अनुमान रहेकाले कतै सन् १५०५ को महाभूकम्पको दौरान भत्किन गएको त होइन ? यो पनि अनुमान नै भएकाले विस्तृत अध्ययन, अनुसन्धानबाट मात्र बलियो आधारसहित यसको पुष्टि हुनसक्छ ।


थोरै अनुमानको थप चर्चा गरौं । सुर्खेत उपत्यका परापूर्व कालमा ठूलो ताल रहेको अनुमान गर्न सकिन्छ । काँक्रे विहार अवस्थित स्थान त्यही तालको बीचको सानो पहाडको थुम्को हुनुपर्छ । तत्कालीन खस राज्यका राजा अशोकलाई तालको बीचमा रहेको थुम्कोको मनोरम प्राकृतिक सौन्दर्यले आकर्षित गरेर यो विहारको निर्माण गरी सयर गर्न प्रेरित गरेको हुनुपर्छ ।


सन् १५०५ को महाभूकम्पको दौरान तालको पश्चिम क्षेत्रको जमिन फाट्न गई एक्कासी तालको पानीको निकास भएको हुनुपर्छ । सामान्यतया तालको पानी एक्कासी निकास हुँदा पानीको जोडले पहाडको थुम्कोको बाहिरी सतहको कमजोर भूभाग लेदोको रूपमा बग्ने क्रममा भूकम्पले भत्काएको र विहारमा प्रयोग भएका ढुङ्गाहरू सँगै बगेर ४००-५०० मिटर परसम्म पुगेको अनुमान गर्न सकिन्छ ।

१२ औं शताब्दीमा निर्माण भएको यो विहारको पुरातत्त्व विभागले भर्खरै पुनर्निर्माण सम्पन्न गरेको छ ।


भक्तपुरबाट आठ शिल्पकर्मीलाई ल्याएर मन्दिरको पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण गर्नुभन्दा अगाडि करिब १८ वर्षसम्म उत्खनन गरेर हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित धेरै मूर्तिहरू र अन्य कलाकृति पत्ता लगाइएको थियो । पुरातत्त्व विभागले उत्खननको क्रममा पत्ता लगाइएका सामग्रीहरूसहित मन्दिरलाई यसको पुरानो स्वरुप नै कायम हुनेगरी पुनर्निर्माण गरेको छ । यो मन्दिरको निर्माण भारतीय कालिगढहरूले गरेको हुनुपर्छ, किनकि नेपालमा यस प्रकारको डिजाइनको मन्दिर अन्त कतै भेटिँदैन ।


(भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालमा कार्यरत मरासिनीले जमिन तरलीकरणको जोखिम पहिचान तथा न्यूनीकरणमा विद्यावारिधि गरेका छन् ।)

प्रकाशित : आश्विन ११, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

खान्छौं, तर पच्दैन

रामचन्द्र अधिकारी

दैनिक भोजनमा आलु नखाने विरलै हौँला । गोलभेडाको खाद्य महत्त्व अति राम्रो भएको कारणले सबैजसो मानिसले छाकैपिच्छे खाने गरेका हुन्छन् । दूध अनिवार्य खाद्यवस्तुको रूपमा स्थापित भएको छ । पछिल्ला वर्षहरूमा कतिपयको भान्साबाट दूधका परिकारले मासुजन्य खानालाई विस्थापित गरिसकेका छन् । सागलाई पनि स्वास्थ्यकर र अति उपयोगी खानेकुराका रूपमा लिइन्छ । मांसाहारीका लागि मासु नै सबैभन्दा आकर्षक खानेकुरा मानिन्छ, कुनै पनि चाडपर्व र खुसियाली-भोजमा यसैले सबैभन्दा महत्त्वपूर्ण स्थान जमाउँछ ।

उद्योग तथा खुल्ला ठाउँमा पकाइएका र बजारमा बेच्न ल्याइएका खानेकुरामा बालबच्चा निकै आकर्षित भएको पाइन्छ । यी वस्तुले हानि गर्छ भन्ने हेक्का धेरैलाई भइसकेको पनि होला । पोलेको मकैलाई अर्गानिक तथा स्वास्थ्यकर खाजा मानेर निस्फिक्री खाएको पाइन्छ । कोशेलीपातको नाममा बजारमा पाइने मिठाइहरूले मूल्यवान स्थान पाउँछन् । ऊर्जा दिन्छ, दिमाग उत्साहित बनाउँछ र मुड परिवर्तन गरिदिन्छ भन्दै कफी खाने र यसैको लतमा लागेकाहरू पनि कम नहोलान् ।

धेरैजसोलाई हेक्का छैन, यी खानेकुरा पच्दैनन् भनेर । पच्दैनन् भने किन खाने त भन्ने सवालमा पछि चर्चा गरौँला । पहिला यी लगायत थुप्रै खाद्यवस्तु छन्, जुन हामी छाकैपिच्छे खान्छौँ, तर पच्दैनन्, तिनका कारणहरू खोतलौं ।

दूधमा ल्याक्टोज भनिने एक प्रकारको खाद्यतत्त्व हुन्छ, जसलाई पचाउन ल्याक्टेज (ल्याक्टेज फ्लोरिजिन हाइड्रोलेज) इन्जाइम चाहिन्छ, यो इन्जाइम पाँच वर्षको उमेरपछि अधिकांश मानिसमा हराएर जान्छ । अनि त दूधमा भएको मुख्य खाद्यतत्त्व ल्याक्टोजचाहिँ पच्दैन । अरु भिटामिन, चिल्लो पदार्थ र खनिज तत्त्वहरू मात्र पच्ने हुन् । त्यसैगरी रेनिन (काइमोसिन) भनिने अर्को मुख्य इन्जाइम हुन्छ, जसले दूधलाई दहीजस्तो पारी पाचन प्रक्रियामा अघि बढाउँछ । यसले दूधमा भएको केसिनोजिनलाई केसिनमा रूपान्तरण गरिदिन्छ । यो इन्जाइम बच्चाहरूमा मात्र रहन्छ । त्यसैले बच्चाहरूले दूध राम्ररी पचाउँछन्, उनीहरूको प्रमुख खाना नै त्यही हो । तर पाँच वर्ष उमेर कटेपछि विस्तारै यो हराउँदै जान्छ । अनि त दूधमा भएका धेरै पौष्टिक तत्त्व पचाउन सकिँदैन । बच्चाहरूले चिसो दूध पनि पचाउँछन् । तर ठूला मानिसलाई चिसो दूध, दही या अन्य परिकार नपचेर उल्टै पेट गडबडी हुने, झाडापखाला लाग्ने र ग्यास उत्पन्न हुने समस्या देखापर्छ । रेनिन पाडा, बाछाहरूमा प्रशस्त हुन्छ । त्यसैले उनीहरूले दूध मजाले पचाउँछन् ।

स्तनधारी जनावर (खसी, राँगा, सुँगुर आदि) को मासु छालासहित खाइन्छ भने छालामा भएका धेरै वस्तु हाम्रो शरीरले पचाउन सक्दैन । बाहिरका रौँ जति नै राम्ररी खुर्किए पनि रौँको जरा छालाभित्रसम्म गाडिएकै हुन्छ । ती ठूटाहरू पच्दैनन् । रौँमा केराटिन भनिने वस्तु हुन्छ, जसलाई गलाउने इन्जाइम हामीसँग छैन । यो व्याक्टेरिया र फन्जाइले निकाल्न भने सक्छन् । हामीसँग भएका प्रोटिन पचाउने प्रोटिओजेज इन्जाइमले केराटिन प्रोटिनमाथि कुनै कारबाही गर्न सक्दैनन् । छालामा र त्यसमा रहेका रौँमा मेलानिन भनिने कण हुन्छ, जसले रौँलाई कालो रंग दिएको हुन्छ, त्यो वस्तु पचाउने इन्जाइम मानिसको जीउमा छैन ।

त्यति मात्र होइन, जनावरको शरीरमा प्रवेश गरेको अति नै हानिकारक मानिने निकै गह्रौँ धातु पारो (मर्करी) निश्कासन रौँले गर्ने भएकोले यसका ठुटा भएको वा छालावाला मासु खाएमा पारो पनि खाइन्छ । यसलाई पचाउने सामर्थ्य हामीमा छैन । यसले सिधै मृगौला र दिमागलाई असर गर्छ । रौँमा मात्र होइन, प्वाँखका ठुटाहरू, नंग्राहरूमा पनि केराटिन हुन्छ । मासुमा यस्ता वस्तुको सूक्ष्म मात्रामा भए पनि उपस्थिति हुन्छ नै । रौँले अमाशय र आन्द्राको भित्री भित्ता (म्युकोसा) मा बसेर अरु वस्तुहरू पनि अल्झाउँछन्, अनि पेटमा डल्लो परी बस्छ । यसले पाचन नली पूरै अवरोध गरिदिन्छ ।

मासुसँगै बोसो पनि पूरापुर पच्दैन । यद्यपि बोसोलाई लाइपेज इन्जाइमले फ्याटिएसिड र ग्लिसेरोलमा रूपान्तरण गर्छ । अत: पच्छ, मानौं । तर बोसोले डाइअक्सिन, नाइट्रेटस लगायतका फोहोर र हानिकारक अवयवहरूलाई पनि संरक्षित गरेर राख्ने हुनाले यस्ता वस्तु जीउले पचाउँदैन । बोसोमार्फत यस्ता वस्तु खाइनु स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउनु हो ।

वैज्ञानिकहरूले पुष्टि गरेका छन् कि आलुको बोक्रा, गोलभेडाका बोक्रा, खोर्सानीका बोक्रा पच्दै पच्दैनन् । सागको हरियो भाग, अरु तरकारीका बोक्रा, फलफूलका बोक्रा, मकैका बोक्रा पनि पच्दैनन् । यी चिज हामीले जति केलाइ-कुलाइ गरे पनि खाइनै रहेका हुन्छौँ । यिनीहरूमा सेलुलोज भनिने एक प्रकारको कार्बोहाइड्रेड हुन्छ, जसलाई पचाउन सेलुलेज नामक इन्जाइम चाहिन्छ, त्यो हाम्रो जीउमा छैन । घाँस खाने जनावरहरूमा भने यो प्रशस्तै उत्पादन हुन्छ । गहुँको ब्रान, गेडागुडीका बोक्रा, ल्वाङ, मरिच पनि पच्दैनन् । मरिचको बोक्रा, सूर्यमुखी फूलको बीउ, तिल आदिका बीउ नपच्नेमात्र होइन, यिनमा हुने फाइटिक एसिडले पेट पोल्ने विराम लाग्छ । नरिवलको गुदी, सुख्खा गरिएका फलफूलका चाना, भुइँकटहर, जुसमा भएका फलफूलका अंश (पल्प), बजारमा बनाइएका कति तयारी खानेकुराहरू पनि हाम्रो शरीरले पचाउँदैन ।

त्यति मात्र होइन, डढाएका खानेकुराहरू जस्तै पोलेका मकै, सेकुवा बनाइएको मासु पनि पच्दैनन् । बरु यिनमा हुने डढेका कणहरू क्यान्सर लगाउने विशेषताका हुन्छन् । फलफूलजन्य धेरै खानेकुरामा काइटिन पाइन्छ, तर यो पनि पचाउन सकिन्न । यसलाई पचाउन चाहिने काइटिनेज भनिने इन्जाइम मानिसमा छैन भनिन्छ । पछिल्ला वर्षहरूमा इटालीमा गरिएको एउटा अनुसन्धानले भने अमाशयको औधि अम्लीय माध्यममा काइटिनेज इन्जाइम निस्किएर काम गर्ने कुरा प्रस्ट्याएको भनी एक विज्ञान पत्रिकामा लेख छापिएको छ । पेडोभा विश्वविद्यालयका पेओलेत्ती लगायतले सो अनुसन्धान २००७ मा गरेका थिए ।

हाम्रो शरीरमा एक हजार तीन सय किसिमका इन्जाइमहरू उत्पादन भई काम गरिरहेका छन् । आन्द्राभुँडीका विभिन्न स्थानमा हजारौं प्रकारका अर्बौँको संख्यामा पाचनमा सहयोग गर्ने मित्रजीवहरू पनि छन् । तथापि उल्लेखित वस्तु पच्दैनन् । अनुसन्धानहरूले पुष्टि गरेका छन् कि हामी जति खानेकुरा खान्छौँ, तिनको ४० देखि ६० प्रतिशत पचाएर शक्तिमा बदल्न सक्छौँ । गाई बाख्रा लगायतका घाँसहारीले त २० देखि ४० प्रतिशतमात्र पचाउँछन् भने मांसाहारी जनावरले भने खाएको ९० प्रतिशतसम्म पचाएर शक्तिमा बदल्छन् । मानिसले खाएको २४ देखि ७२ घन्टाभित्रमा नपचेका वस्तुहरू दिसा बनेर बाहिरिइसक्नुपर्ने जैविक नियम छ । यसो भएन भने पाचन नलीमा खराबी र कब्जियतको सुरुआती भन्ने बुझिन्छ ।

यस लेखमा पच्दैनन् भनिएका खाद्यवस्तुहरू हामी महत्त्वका साथ खाइरहेका हुन्छौँ । किन त ? किनभने यी वस्तुमा भएका केही खाद्यतत्त्व पच्छन् । बाँकी रहेको वस्तु फाइबर हो, त्यसले पाचन नलीभित्र खानेकुरालाई चलायमान बनाई अगाडि बढाउने हो । कतिपय मानिसलाई भने खानाको गति पनि चाहिनेभन्दा द्रुत गरिदिने असरचाहिँ हुन्छ । जस्तै- कसैलाई भुइँकटहर खाने बित्तिकै दिसा लाग्छ । गेडागुडी, फलफूल र यिनका बोक्रा, आलुका बोक्रा, गोलभेडाका बोक्रा, खोर्सानी, मकै आदि रेसायुक्त भएका कारण पाचन नलीमा खानाको यात्रालाई सहयोग गरेका हुन्छन् । फलफूल या भिटामिनयुक्त खानेकुराका अधिकांश भाग नपचे पनि उक्त भिटामिनले अन्य खानेकुरा पाचन गर्न सारथीको भूमिका गरिरहेको हुन्छ । बाँकी चाहिँ हानिबर्द्धक नै हुने ग्याष्ट्रो इन्टेरोलोजिष्टहरूको राय भेटिन्छ ।

खाएको यदि नपचेको हो भने हुलुक्क अम्लीय पानी मुखमा फर्की आउने, पेटमा अपचका लक्षण आउने, नियमित दिसा नहुने, दिसाको मात्रा र आवृत्ति कम या बढी हुने र अन्य अतिरिक्त रोगहरू लाग्ने डर हुन्छ ।

अत: कुन खानेकुरा आफूलाई पचिरहेको छ कि छैन, आफैँले महसुस गर्ने हो । यदि पचेन भने त्यस्तो खानेकुराबाट सतर्क नै रहनुपर्‍यो । साथै पच्दै नपच्ने र पचाउन सहयोग पनि नगर्ने खानेकुरा सेवन गर्नु भएन ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्रका उपप्राध्यापक हुन् ।

प्रकाशित : आश्विन ११, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×