१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सिकाइ उपलब्धिका चुनौती

उमा भण्डारी

नयाँ शैक्षिक सत्र सुरु भएको एक/डेढ महिनादेखि नै विद्यालयले परीक्षा लिन सुरु गर्छ । अनि सुरु हुन्छ, विद्यार्थी र अविभावकको तनाव खेप्ने दिन । कतिपय परिवारमा आमाबाबु र छोराछोरीबीच द्वन्द्व चर्कन्छ । अहिलेका छोराछोरी टसको मस गर्दैनन् । उनीहरूसँग जति तर्क कसैसँग हुँदैन ।

सिकाइ उपलब्धिका चुनौती

आश्चर्य लाग्छ, उनीहरूको त्यो ‘डिफेन्ड’ गर्ने तागत देख्दा । तर पनि औपचारिक अध्ययनमा भने उनीहरूलाई राम्रो अंक ल्याउन कठिन परिरहेको हुन्छ ।

पढाइमा कमजोर हुँदैमा वा घरको काम नसघाउँदैमा छोराछोरीले केही सिकेनन् भन्नेचाहिँ होइन । आमाबाबुको कमी–कमजोरी, विद्यालयको परिधि र साथीहरू कोसँग कसरी डिल गर्नुपर्छ, सिकेका हुन्छन् । कुन च्यानलमा कति बजे कुन कार्यक्रम आउँछदेखि मनपर्ने हिरो/हिरोइनको लभ अफेयर र ब्रेकअपबारे कण्ठै हुन्छ । भलै, देशको प्रधानमन्त्री वा राष्ट्रपतिको नाम थाहा नहोस् ।


कारण

औपचारिक सिकाइमा कमजोरी हुनुका विविध कारण हुनसक्छन् । तीमध्ये केही कारण यस प्रकार छन् ।

१. व्यस्तता : शिक्षाविद विद्यानाथ कोइरालाका अनुसार विद्यार्थी पढाइमा कमजोर हुनुको कारण बेवास्ते आमाबाबु, नियन्त्रणमुखी विद्यालय प्रणाली र उन्मुिक्त खोज्ने प्रवृत्तिका केटाकेटी हुन् । यी तीनबीच तालमेल ल्याउनसके बालबच्चाको सिकाइ क्षमतामा वा रुचिमा परिवर्तन गर्न सकिन्छ । शिक्षाविद कोइरालाले भनेजस्तै आमाबाबुको व्यस्तता केटाकेटी निराश पार्ने पहिलो कारण बनेको देखिन्छ । हरेकजसो परिवारका आमाबाबु कमाइ गर्न गएका हुन्छन् । छोराछोरी घरमा आउँदा उनीहरू घरमा हुँदैनन् । छोराछोरी माथिको निगरानी कम हुने बित्तिकै उनीहरूको मनोमानी बढ्दै जान्छ ।


२. गलत सोचाइ : आमाबाबु घरमै भए पनि कतिपय परिवारमा छोरीछोरालाई समय दिनु जरुरी ठान्दैनन् । पैसाको बिटो तेर्स्याएर पढ्न पठाएकै छ, अरु के गर्नुपर्‍यो भन्ने मान्यता हुन्छ । छोराछोरीको पढाइलाई पैसासँग तुलना गरेर समस्या समाधान हुँदैन । कतिपय परिवारमा नियन्त्रणमुखी अवधारणा पनि छ । हिजोको जस्तो धेरै दाजुभाइ, दिदीबहिनीको जमातमा हुर्किन नपाएको एक्लो बच्चालाई बाबुआमाले पनि उसको रुचिमैत्री व्यवहार गरेन भने ऊ साँच्चिकै एक्लिँंदै जान्छ । अनि उसले बाबुआमालाई शत्रु देख्न थाल्छ ।


३. घरायसी क्रियाकलाप : कतिपय अभिभावक आफै पनि मोबाइल वा टीभीको किरो हुन्छन् । यस्ता किराले भनेको कुरा उनीहरूका छोरीछोराले सुन्ने कुरै भएन । गृहकार्य किन नगरेको भन्यो भने तपाईंलाई मोबाइल हेर्न मनलाग्छ, हामीलाई चाहिँ लाग्दैन भनिहाल्छन् । उनीहरूसँग रेडिमेड जवाफ हुन्छ ।


४. पारिवारिक कलह : घरपरिवारमा श्रीमान/श्रीमती बीचको कलह अहिलेको समाजको अभिन्न दिनचर्या भइसकेको छ । जुन घरमा लैंगिक विभेदजन्य झैझगडा बढी हुन्छ, त्यो घरका बालबच्चा यसै पनि पीडित हुन्छन् । बाबुआमाको झगडाबाट छोराछोरीले कस्तो संस्कार सिक्छन् ? मेरा आमाबाबु खराबै हुन् भन्ने कुरा मनमा गढेको हुन्छ, जसबाट छुट्कारा पाउन वैकल्पिक मार्ग खोज्छन् । कतिपय अवस्थामा आमा वा बाबुमध्ये एउटाको पक्ष लिने र अर्कोलाई घृणा गर्ने अवस्था पनि सिर्जना हुनसक्छ ।


५. साथीभाइको संगत : साथीभाइको संगतले पनि बालबच्चाको सिकाइ प्रक्रियामा सकारात्मक वा नकारात्मक प्रभाव पार्छ । पढ्ने साथीको संगतमा रहेका केटाकेटीले कालान्तरमा आफ्नो सिकाइलाई सकारात्मक बाटोतिर हिँडाउन सक्छन् । उनीहरूको आनीबानीमा पनि त्यस्तै खालको परिवर्तन देखिन सक्छ । कतिपय अवस्थामा त राम्रो पढाइमा राम्रो गर्दै गएका केटाकेटी पनि गलत बाटो समातेका साथी सर्कलमा परेर बाटो परिवर्तन गर्न पुग्छन् ।


६. पढेर के हुन्छ भन्ने मानसिकता : अहिलेको समयमा पठित बेरोजगारहरू टन्नै छन् । हरेक घरपरिवारमा उच्चशिक्षा हासिल गरेका व्यक्तिसमेत प्रमाणपत्र दराजमा थन्क्याएर अनेकतिर बाँच्नका लागि अनेकतिर भौंतारिनुपरेको सत्य हाम्रै समाजमा देखिएको छ । यसले गर्दा हाम्रा बच्चाहरूले पनि पढाइमा आफ्नो भविष्य नदेखेका हुनसक्छन् ।


पढेर के हुन्छ र ? फलानो त्यत्तिकै छ । के खान पढ्नुपर्‍यो भन्ने सोचाइ आउने गर्छ । यस्ता सोचाइलाई चिर्न पढेर के हुँदैन र भन्ने अनुभूति दिलाउन सक्नुपर्छ । यसका लागि सैद्धान्तिकको साथै व्यावहारिक शिक्षालाई महत्त्व दिनुपर्छ ।

समाधान

शिक्षाविद विद्यानाथ कोइरालाका अनुसार हाम्रो शिक्षा प्रणाली व्यावहारिक, केही लचिलो र पारिवारिक प्रणाली केटाकेटीमैत्री हुने हो भने सी प्लस वा अव्यावहारिक भनिएका केटाकेटीहरू पनि त्यति ठूलो समस्या होइनन् । त्यसको लागि विद्यालय वा अविभावक दुबैले केही प्रयत्न गर्नुपर्छ ।


प्रविधिमा आधारित गृहकार्य : अहिलेका किशोरी–किशोरलाई पढाइभन्दा प्यारो लाग्ने धेरै साधन विकास भइसकेका छन् । तीमध्ये मोबाइल वा टीभी प्रमुख हुन् । मोबाइल नभइकन अहिलेका केटाकेटी टिक्नै सक्दैनन् । प्रविधिको युगमा यो अपरिहार्य पनि भइसकेको छ । मोबाइलबाट पनि उनीहरूले धेरै ज्ञान हासिल गरिरहेका हुन्छन् । यदि कुनै विद्यार्थी मोबाइलमै बढी रुचि राख्छ, गेम खेल्छ वा कार्टुन हेर्छ भने उसलाई त्यसैबारे गृहकार्य दिए कसो होला ?


वास्तविक पात्रबारे : गृहकार्य दिन सकिने अर्को सन्दर्भ उनीहरूलाई मनपर्ने, उनीहरूलाई साह्रै जाती वा आदर्श लाग्ने वास्तविक जीवनका पात्रको बारेमा लेख्न दिने र ती पात्रका कुन–कुन कुराबाट उनीहरू प्रभावित भएका हुन्, सो उल्लेख गर्न लगाउने । यसो गर्दा उनीहरूभित्र दबिएर बसेका कुण्ठा विस्तारै प्रकट हुन्छ ।


घरायसी कामबारे : गृहकार्य दिन सकिने अर्को विषय हो, घरायसी कामबारे खोजखाज गरेर लेख्ने । जुन विद्यार्थीलाई किताब पल्टाउनै मनलाग्दैन, उसलाई त्यही किताब पढ भनेर विवश बनाउनुभन्दा घरमा आमाले खाना कसरी पकाउनु हुँदोरहेछ, के–के सामान चाहिँदो रहेछ, पकाउन कतिबेर लाग्ने रहेछ, कति मात्राको खाद्य सामग्री चाहिने रहेछ, सबै उतार्ने खालको परियोजना कार्य गर्न दिए हुन्छ ।


करेसाबारी छ भने त्यतातिर के–के पाइन्छ सोधखोज गर्न लगाए हुन्छ । अलि उमेर पुगेका विद्यार्थीलाई घरमा खाना पकाउने गृहकार्य दिए हुन्छ । सिरकको खोल नाप्ने, तन्नाको साइज नाप्ने, घरका सामान सफा गर्ने वा टल्काउने उपाय पत्ता लगाउने, खाद्य भण्डारण तरिका बुझ्ने आदि ।


यस्तो गृहकार्य दिँदा छात्र र छात्रा दुबैलाई सकेसम्म एकै प्रकारको कार्य दिन सकिन्छ, जसले गर्दा छोरी र छोरा बीचको लैंगिक खाडल पुरिन मद्दत गर्छ । यसो गर्दा बाबुआमा पनि छोराछोरीसँग सम्मिलित हुन पाउँछन् । घरको काम पनि सघाइन्छ ।


सानाबाट ठूलाले सिक्ने : बाबुआमा तथा शिक्षक/शिक्षिकाले छोराछोरी वा विद्यार्थीबाट सिक्ने बानीको विकास गरेमा विद्यार्थीमा आत्मजागरुकताको विकास हुन्छ । सानाले सिकेका कुरालाई महत्त्व दिने हो र सिक्न खोज्ने हो भने पुस्ता बीचको दूरी कम हुन्छ । कम्तीमा पनि हप्ताको एकपटक सानाले जानेका प्रविधि, पढाइ, उनीहरूले भोगेका अनुभव सुन्ने र आफू सानो हुँदाको अनुभव उनीहरूलाई पनि सुनाउने गरे केटीकेटाहरू निकै खुसी हुन्छन् ।


व्यावहारिक गतिविधि सम्बन्धी : व्यावहारिक जीवनमा उपयोगी हुने विद्युतीय साधनहरू, बिजुलीका बल्बहरू फेर्ने, पानीधाराका पाइपहरू मर्मत गर्ने, मोबाइल र ल्यापटप मर्मत गर्ने, बेसिनमा जमेको पानी पाइपबाट निकास गराउने, कुहिने र नकुहिने फोहोर छुट्याउने, गमला वा करेसाबारीमा तरकारी खेती गर्ने, तरकारी केलाउने, सर्टको टाँक सिलाउने, प्रेसर कुकरहरू मर्मत गर्ने, इमर्जेन्सी फोनकल संकलन गर्ने लगायतका काम विद्यालयले परियोजना कार्य अन्तर्गत गराउन सक्छ, जसले गर्दा विद्यार्थीहरूले दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्न सक्छन् । यसले उनीहरूमा व्यावहारिक ज्ञानको आत्मविश्वास बढ्छ ।


घुमघामको वातावरण : घरमा पनि बाबुआमाले आफ्ना बालबच्चालाई फरक–फरक स्थानमा घुमाउन लैजान सक्छन् । यसो गर्दा बालबच्चामा नयाँपन आउँछ र पढ्ने स्फुर्ती पनि बढ्छ । घुमेका ठाउँबारे लेख्न वा चित्र बनाउन लगाउन पनि सकिन्छ ।


उनीहरूले गरेका ससाना कुरालाई पनि ताली बजाइदिने, स्यावास भन्ने, उनीहरूलाई खान मनलागेका खानेकुरा, लाउने कुरा किनिदिने, घरायसी समस्याबारे अवगत गराउने गर्नाले पनि कालान्तरमा केटाकेटीहरू सकारात्मक सिकाइतर्फ अग्रसर हुन सक्छन् ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?