कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साहित्य गंगा

विमल निभा

नेपाली साहित्यमा गंगाको व्यापक प्रभाव छ । यसलाई अझ प्रस्टसँग भन्ने हो भने गंगा याने गंगाप्रसादहरूकै कारण हालको साहित्य चलायमान रहेको छ भने पनि कुनै अतिशयोक्ति हुने छैन । हो, वर्तमान नेपाली साहित्य पूर्णतया गंगामय छ । र यसको एकमात्र जस नेपालको प्रगतिशील साहित्यलाई जान्छ ।

यद्यपि गैरप्रगतिशील साहित्यका पनि आफ्ना प्रिय गंगाप्रसादहरू नभएका होइनन् । परन्तु प्रगतिशील गंगाप्रसादहरूका कुरै अर्को छ । वस्तुतः यिनीहरू नै नेपाली साहित्यका सच्चा एवं अच्छा गंगाप्रसादहरू हुन् ।


हाम्रो प्राचीन साहित्यमा पनि गंगाको महिमा पर्याप्त गाइएको छ । उदाहरणका निम्ति पौराणिक कथानायक देवादिदेव महादेवलाई लिनोस् । सम्पूर्ण देवताका देवता महादेवता मानिएका महादेव । र महादेवको सिरमा केको बास रहेको छ ? यसको सरल तथा सटीक उत्तर गंगा हो ।


हिन्दुधर्मीहरूका सर्वोच्च ईश्वरको मायाको घना जटामा अवस्थित गंगाको धार्मिक आख्यानबाट को अनभिज्ञ छ ? यस अर्थमा महादेवता निकट गंगाको महत्ता प्रारम्भिक अवस्थादेखि नै बलवती रहेको स्पष्ट हुन्छ । र त्यससमयदेखि नै गंगा साहित्यमा प्रभावी हुँदै आएको छ । मेरो भन्नुको अभिप्राय के हो भने पुरानो साहित्यदेखि अहिलेको साहित्यसम्ममा गंगाको निरन्तरता अविच्छिन्न रहेको छ । र यही चालु शृंखलाको अधुनातन नमुना हो गंगाप्रसाद । अर्थात् नेपाली साहित्यका गंगाप्रसादहरू ।


नेपाली साहित्यमा मोटामोटी रूपमा दुई प्रकारका गंगाप्रसादहरूका उपलब्धता रहेको तथ्य अघि नै स्पष्ट गरिसकिएको छ । एक, प्रगतिशील गंगाप्रसाद र दुई, गैरप्रगतिशील गंगाप्रसाद । यसलाई अरू सूक्ष्म ढंगले अवलोकन गर्ने हो भने नेपाली साहित्यमा भाँत–भाँतका गंगाप्रसादहरू दृष्टिगोचर हुनेछन् । यिनीहरूमध्ये एकाध प्रतिनिधि गंगाप्रसादबारे तल चर्चा गरिनेछ ।


नेपाली साहित्यका यावत् गंगाप्रसादहरूमा प्राज्ञिक गंगाप्रसादको साहित्यिक हैसियत सबभन्दा उच्च रहेकामा कुनै सन्देह छैन । यिनीहरूमा अन्तर्निहित प्रज्ञा सन्देहास्पद रहे पनि त्यसको खास गंगाप्रसादीय उच्चतामा सन्देह गर्नु सर्वथा निषेध छ । यसको कारण महादेव हो । परन्तु पौराणिक साहित्यमा वर्णित महादेव नभएर आजका जिउँदाजाग्दा महादेव ।


मेरो संकेत सत्ताको कैलाशपर्वतमा विराजमान अत्याधुनिक महादेवतिर नै हो । जस्तैः राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सहायकमन्त्री आदि (यसमा सत्ताधारी पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपसचिव आदिलाई पनि समावेश गर्न सकिन्छ) । अब सर्वशक्तिमान सरकारी महादेवको वरदहस्त प्राप्त गरेका कुनै पनि गंगाप्रसादको उच्चतालाई सन्देहको घेरामा कसरी ल्याउन सकिन्छ ? चाहे त्यो एक सय एक प्रतिशत प्रज्ञाशून्य अनि बिल्कुलै साहित्यविमूढ गंगाप्रसाद नै किन नहोस् !


जे होस्, प्राज्ञिक गंगाप्रसाद सरह सत्ताको मायासम्म पहुँच नभए पनि त्यसको सग्लो शरीरको अन्य अंगप्रत्यंगसम्म पुग्न सफल गंगाप्रसादहरूको उपस्थिति पनि नेपाली साहित्यमा नगण्य छैन । त्यसकारण यिनीहरूका उपेक्षा पनि असम्भवप्रायः छ किनभने यस्ता गंगाप्रसादहरू कवि, महाकवि, कथाकार, लघुकथाकार, समालोचक, निबन्धकार, खण्डकाव्यकार, नियात्राकार, आत्मकथाकार, नाटककार, गीतकार आदिका साथसाथै प्रमुख सचिव, सचिव, सीडीओ, सहायक सीडीओ, एलडीओ, सेक्सन अफिसर, एसपी, डीएसपी, इन्सपेक्टर, महाप्रबन्धक, बोर्ड डाइरेक्टर, कार्यकारी अध्यक्ष, चेयरमेनजस्ता अतिरिक्त पदसम्पन्न पनि हुने गर्छन् ।


प्रथमतः सरकारी पदाधिकारी, तत्पश्चात् समानान्तर ढंगले साहित्यकार । अतएव यस्ता परम पदीय गंगाप्रसादहरूलाई सहजै स्वीकार गर्नुको अन्य विकल्प के छ ? यही सिलसिलामा सोझै आउने अरू गंगाप्रसादहरू पनि कम्ता गंगाप्रसाद होइनन् । यिनीहरू साहित्य छाप्ने प्रेस चलाउँछन्, साहित्यिक पत्रपत्रिकाहरू निकाल्छन् र आकर्षक नगदसहितका साहित्यिक पुरस्कार प्रदान गर्छन् । यही सिलसिलामा यदाकदा आफैँ साहित्यकार हुने जाँगर पनि चलाउँछन् ।


यस्ता गंगाप्रसादहरू जिल्ला कविदेखि विश्वकविसम्म भइसकेका उदाहरण छ । यसो त यिनीहरूमा केही मतभेद पनि नभएको होइन । कतिपयका भनाइअनुसार यी आफैं लेख्दैनन् । मतलव, यस्ता गंगाप्रसादहरूका कलम बोक्ने अरू नै हुन्छन् । किन्तु यो त्यति सही कुरो होइन किनभने यिनीहरूका लेखनको जुन स्तर छ, त्यसले यी गंगाप्रसादहरू साहित्यका पूर्णतः मौलिक साहित्यकार हुन् भनी प्रमाणित गर्छ ।


अन्त्यमा

जहाँ गंगाप्रसादको सशरीर उपस्थिति हुने गर्छ, त्यहाँ जमुनाप्रसादहरू नहुने प्रश्नै छैन । यिनीहरू आआफ्ना एक थान विशेष पुच्छरसहित गंगाप्रसाद वरिपरि नित्य/निरन्तर परिक्रमा गरिरहेका हुन्छन् । यही यिनीहरूको एकलौटी काम–कर्तव्य हो भने पनि फरक पर्दैन ।


यसरी गंगाप्रसादका पछि पुच्छर हल्लाउँदा–हल्लाउँदै जमुनाप्रसादहरू शनैः शनैः गंगाप्रसाद हुने दिशातर्फ अग्रसर भइरहेका हुन्छन्  र एकदिन साँच्चिकै जमुनाप्रसादबाट नेपाली साहित्यको गंगाप्रसादमा परिणत हुने गर्छन् । अर्थात् प्रज्ञाहीनतामा अब्बल साहित्यकार गंगाप्रसाद ।

प्रकाशित : भाद्र २८, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?