२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सडक दुर्घटना कसरी कम गर्ने ?

बाबुराम गुरुङ

बढ्दो सवारी साधन सँगसँगै संसारभरि नै अल्पविकसित तथा विकासशील देशहरूमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दैछ । यसबाट नेपाल पनि अछुतो छैन । हाल नेपालमा १ दिनमा सरदर ६/७ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेको विभिन्न समाचार माध्यममा पढ्न र देख्न पाइन्छ ।

सडक दुर्घटना कसरी कम गर्ने ?

एकदिनमा यति धेरै मानिस हताहत हुनु भनेको निश्चय नै गम्भीर विषय हो । यसलाई समयमै नियन्त्रण गर्नुपर्छ ।

दुर्घटनाबारे झट्ट सुन्दा यतिजना हताहत भएछन् भन्ने कुरामात्र थाहा पाइन्छ । तर यसबाट कुनै एक बालकले अभिभावक गुमाएको, वृद्ध आमाबाबुले एकमात्र सन्तान गुमाएको र कुनै दम्पतीले आफ्नो जीवनसाथी गुमाएको पनि हुनसक्छ । दुर्घटनाबाट समाजमा पर्ने अप्रत्यक्ष असरबारे अध्ययन गर्ने हो भने स्थिति चिन्ताजनक भेटिन्छ ।

सडक दुर्घटना कम गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, सडक विभाग तथा स्थानीय प्रशासनले प्रयास नगरेका होइनन् । तर अपेक्षित नतिजा हासिल गर्नसकेका छैनन् । यसलाई पूर्णरूपमा रोक्न त सकिँंदैन, तर न्यूनीकरण गर्नचाहिँ सकिन्छ । दुर्घटनाका कारणर न्यूनीकरणका उपाय यस प्रकार छन् ।

१. चप्पल प्रयोगमा बन्देज : सडक दुर्घटनाको (चार पाङ्ग्रे सवारीबाट) विभिन्न सम्भावित कारणमध्ये चालकले चप्पल लगाएर सवारी चलाउनु पनि एक हो । सवारी चलाउँदा अचानक ब्रेक लगाउनुपर्दा चप्पल अल्झेर ढिला गरी ब्रेक पाइडल थिच्न पुगिन्छ । ब्रेक सेकेन्ड अघि वा पछि लगाउनाले जीवन–मरणकै कारण बन्न सक्छ । तसर्थ सवारी चालकहरूले चप्पल प्रयोग नगरी जुत्तामात्र प्रयोग गर्ने व्यवस्था हुनुपर्छ ।

२. विन्डसिल्डमा स्टीकर बन्देज : बस, ट्रक, पानीका ट्यांकरहरूजस्ता साधनका अगाडिको विन्डसिल्ड बाहिर आधा भागजति नै ढाक्नेगरी स्टीकरहरू टाँसिएका हुन्छन् । भित्रपट्टि केबिनमा पनि विभिन्न सजावटका सामग्री राखिएको पाइन्छ । सवारी चलाउँदा चालकहरूले अगाडि सडकका गतिविधि राम्ररी देखुन् भनी प्राविधिकहरूले विन्डसिल्डको साइज डिजाइन गरेका हुन्छन् । तर विन्डसिल्डको धेरै भाग ढाकिनाले र केबिनभित्र राखिएका सजावटका सामग्रीले गर्दा चालकले अगाडि राम्ररी देख्न नसकी दुर्घटना हुन्छ । स्टीकर टाँस्न र सजावटका सामग्रीहरू पूर्णरूपमा बन्देज गर्नुपर्छ ।

३. सडक मर्मत–सम्भार र व्यवस्थापन : सडक दुर्घटना हुनुमा सडकको दुरावस्था पनि एक प्रमुख कारण हो । सडकमा रहेका खाल्टाखुल्टी र अव्यवस्थित मेनहोल, सडकमा त्यसै परिरहेका अवरोध र छरपस्ट निर्माण सामग्रीहरू, अपर्याप्त सूचना र ट्राफिक संकेतहरू, सडक र फुटपाथलाई खुल्ला व्यापार गर्ने थलो बनाउनुले दुर्घटना बढाइरहेको छ । यसमा नियमनकारी निकायले समयमा नै ध्यान दिएमा सडक दुर्घटना कम हुन्छ । सडक दुर्घटना दिनमा भन्दा रातमा करिब ५० प्रतिशतले बढी हुन्छ । तसर्थ सडकको विषम प्वाइन्टहरूमा लाइट रिफ्लेक्टिङ स्टीकर, क्रेस वेरियर, रम्बल स्ट्रीप, कन्फिडेन्स ब्लकहरू नभएमा राख्ने र भइरहेकालाई राम्ररी मर्मत–सम्भार गर्नुपर्छ ।

४. डबल रियर भिउ मिरर : बस तथा ट्रकहरूजस्ता ठूला सवारीको एक साइडमा प्राय:गरी एउटैमात्र रियर भिउ मिरर जडान गरिएको हुन्छ । यसरी एकमात्र रियर भिउ मिरर हुँदा चालकले साधनको पछाडि देख्न नसक्ने भागहरू अर्थात् ‘ब्लाइन्ड स्पटहरू’ धेरै भइरहने हुन्छन् । ब्लाइन्ड स्पटहरू बढ्नाले दुर्घटनाका सम्भावना पनि बढ्छ । तसर्थ ट्रक, बसजस्ता साधनहरूको प्रत्येक साइडमा कम्तीमा पनि दुई प्रकारका रियर भिउ मिरर जडान गर्नु वेश हुन्छ ।

५. सडकको परीक्षण : हाल सबै जिल्लामा स्थानीय तहहरूले ठूलो संख्यामा प्राय:जसो इन्जिनियरिङ डिजाइन विना नै सडकहरू निर्माण गरेका छन् । यसरी निर्माण भएका सडकहरूमा केही समयपश्चात् नै जिप, पिकअप र बसहरू सञ्चालन हुने गरेको पाइन्छ । इन्जिनियरिङ डिजाइन विना नै निर्मित यस प्रकारका सडकहरूमा यातायातका साधनहरू सञ्चालन हुँदा दुर्घटनाका सम्भावना एकदमै बढी हुन्छ ।

जिल्लाहरूमा निर्मित सडकहरूमा सवारी सञ्चालन व्यवस्थापन गर्न सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ९ मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ५ सदस्यीय यातायात व्यवस्थापन समितिको गठन गर्नुपर्ने व्यवस्था छ । यस्तो समितिमा जिल्लास्थित सडक विभागको इन्जिनियरलाई पनि समावेश गर्नु उचित हुन्छ ।

नयाँ निर्माण भएका सडकहरूमा सार्वजनिक यातायात सञ्चालनका लागि इजाजत पत्र प्रदान गर्नुअघि यस्तो समितिले ऐनको दफा १५५ मा उल्लेख भएका कामका साथै सडक सुरक्षा परीक्षण सम्बन्धी आधारभूत कुरा, जस्तै– सडकको ग्रेडियन्ट, टर्निङ रेडियस, पासिङ स्पेस, सुपर एलिभेसन, सडकको स्पीड लिमिट, ट्राफिक चिन्हहरू, सडकमा पर्ने पानीको व्यवस्थापनलाई समेत ख्याल गर्नुपर्छ ।

६. चालकलाई तालिम : नेपालमा ड्राइभिङ तालिम लिनु भनेको मूलत: ड्राइभिङ लाइसेन्स प्राप्त गर्नलाई मात्र देखिन्छ । यसो हुँदा चालकले जान्नुपर्ने धेरै कुरा अधुरै हुन्छ । तसर्थ लाइसेन्स प्राप्तिपश्चात् सार्वजनिक साधन चलाउने चालकहरूलाई ड्राइभिङ सेफ्टी, मर्मत–सम्भारका कार्य, यात्रुसँग व्यवहार गर्ने तरिका आदिलाई समेत सम्बोधन गर्नेगरी तालिमको प्रावधान अनिवार्य गर्नुपर्छ ।

७. ट्राफिकलाई पनि ड्राइभिङ तालिम : जुनसुकै कामको पनि गुणस्तर कायम गर्न अनुगमनकर्ताहरूको सो सम्बन्धी ज्ञान भएमा अनुगमन कार्य बढी प्रभावकारी हुन्छ । ट्राफिक प्रहरीहरूलाई नियमित तालिमको साथै ड्राइभिङ तालिम पनि दिने व्यवस्था भएमा ट्राफिक व्यवस्थापन कार्य थप प्रभावकारी हुन्छ ।

८. सीसी टिभी जडान : सार्वजनिक यातायात साधन दुर्घटना हुने धेरै कारणमध्ये ‘ओभरलोड’ एउटा मुख्य कारण हो । दुर्गमका सडकहरूमा प्रहरी चौकी आउँदा यात्रु ओराल्ने र प्रहरी चौकी कटेपछि यात्रुहरूलाई फेरि चढाउने परिपाटी नै बसिसकेको छ । तसर्थ दुर्गममा सञ्चालन हुने सार्वजनिक साधनहरूमा सीसी टिभी क्यामेरा जडान गरिएमा अनुगमनकर्ताहरूले सवारी साधनको लोड सजिलै थाहा पाउन सक्छन् ।

९. चालकको शिक्षा र उमेर तोक्ने : सार्वजनिक यातायातका चालकलाई शिक्षाको मुख्य आवश्यकता भनेको सवारी साधनको मेनुवल पढ्न र बुझ्न सहजताका लागि हो । यसका लागि एसईईसम्मको शिक्षाको आवश्यकता पर्ने देखिन्छ । उमेरको हकमा २५ वर्ष राखिएमा यसबेलासम्म चालक अनुभवी र परिपक्व भई दुर्घटना न्यूनीकरणमा टेवा पुग्छ ।

१०. तालिमको प्रमाणपत्र अनिवार्य : हलुका गाडिको लाइसेन्स प्राप्त गर्न ड्राइभिङ सेन्टरको तालिमको प्रमाणपत्र अनिवार्य छ । तर बस, ट्रकजस्ता ठूला साधनहरूको लाइसेन्स प्राप्त गर्न तालिमको प्रमाणपत्र आवश्यक पर्दैन । मात्र २१ वर्ष उमेर पुगेको र हलुका गाडीको लाइसेन्स २ वर्ष पुगेको हुनुपर्छ । यसो भएपछि हलुका गाडी लाइसेन्सवालाहरूले बस तथा ट्रकको लाइसेन्स प्राप्त गर्न ड्राइभिङ सेन्टर जानुपर्ने बाध्यता भएन । यिनीहरूले बस तथा ट्रक चलाउनेबारे दक्षता हासिल गर्न तिनै साधनमा परिचालकको काम गरी गुरुहरूलाई रिझाएर उपयुक्त समयमा ती साधन चलाउँछन् । यस्ता क्रियाकलापबाट दुर्घटनाका सम्भावना धेरै बढ्छ ।

११. जरिवाना रकम परिमार्जन गर्ने : सडक दुर्घटना धेरै हुनु ट्राफिक नियम उल्लंघन गर्नाले पनि हो । ट्राफिक नियम उल्लंघन गरे बापत हालको जरिवाना ५ सयदेखि १ हजार ५ सयसम्म छ । जरिवाना न्यून हुँदा ट्राफिक नियम उल्लंघन गर्ने सम्भावना बढ्नगई दुर्घटनाका सम्भावना पनि बढेको छ । जरिवाना रकम १ हजारदेखि ३ हजारसम्म गरिए चालकहरू ट्राफिक नियम उल्लंघनमा सतर्क हुनेछन् । र दुर्घटना पनि कम हुन्छ ।

१२. ट्रयाक्टर चलाउन लिखित परीक्षा : यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० (संशोधित) अनुसार ट्रयाक्टर चालकले लाइसेन्स लिनलाई ट्रायलमात्र पास भए हुने व्यवस्था छ । लिखित परीक्षा पास गर्नु नपर्ने भएपछि चालकहरूलाई ट्राफिक नियम कानुनबारे ज्ञान कमी भई सडक दुर्घटनाका सम्भावना बढ्छ । तसर्थ ट्रयाक्टर चालक लाइसेन्स लिन पनि लिखित परीक्षा अनिवार्य गरिनुपर्छ ।

१३. ब्रेक तथा स्टेरिङ मर्मत–सम्भार : दुर्घटनाका कारणमध्ये ब्रेक फेल र स्टेरिङ फेल हुनु पनि हो । यस्ता संवेदनशील उपकरणहरूको मर्मत–सम्भार हामी समस्या आएपछि मात्र गर्छौं । तसर्थ सार्वजनिक यातायातका साधनहरूले ३ महिनामा १ पटक ब्रेक र स्टेरिङ सिस्टमको चेकजाँच अनिवार्य गराउने र रेकर्डसमेत राख्ने व्यवस्था गर्नुपर्छ ।

१४. साधन सम्पन्न ट्राफिक प्रहरी : सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको अहम् भूमिका हुन्छ । तर कतिपय अवस्थामा समयमा नै ट्राफिक प्रहरीको पहुँच हुन नसकी दुर्घटना हुने गरेको पाइन्छ । ट्राफिक प्रहरीलाई फास्ट स्पीडका भेहिकलका साथै हेलिकप्टरसमेत व्यवस्था भएमा जहाँ पनि जहिले पनि ट्राफिक प्रहरी पुग्नेछन् ।

ट्राफिक चिन्हहरू, सार्वजनिक सवारी साधनहरूको अनधिकृत पार्किङ, सार्वजनिक सडकमा सवारी चलाउन सिक्ने जस्ता गतिविधिले पनि सडक दुर्घटनासँग प्रत्यक्ष सरोकार राख्छ । यसतर्फ पनि ट्राफिक प्रहरीले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।

१५. जाँचबुझ समिति गठन : वाई दुर्घटनामा एक व्यक्ति हताहत हुँदा पनि सरकारले दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गर्छ । तर बस दुर्घटनामा परी ठूलो संख्यामा यात्रुहरू हताहत भए पनि यदाकदामात्रै समिति गठन भएको पाइन्छ । यसरी राज्यले आफ्नो नागरिकप्रति बेग्लाबेग्लै व्यवहार गरेको देखिन्छ । तसर्थ बस, ट्रकहरू दुर्घटना हुँदा पनि यस्ता जाँचबुझ समिति गठन गर्नुपर्छ ।

दुई दशक सडक विभागमा काम गरिसकेका गुरुङ मेकानिकल इन्जिनियर हुन् ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?