३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अपरिचित रहँदाका अनुभूति

अजय दीक्षित

नयाँ स्थानमा बस्दाको एउटा फाइदा अपरिचित रहन पाउनु रहेछ । कसैले चिन्दैनन् । स्कुलको जीवनपछि पहिलोपल्ट ‘हाफ प्यान्ट’ लगाएर मर्निङवाकमा निस्कन थालेको छु, नयाँदिल्ली छेउको सहरमा । पानी पर्ने समय हो, निकास पर्याप्त नहुँदा केही बेरको वर्षाले सडक जलमग्न हुने गर्थ्यो, खोलासरह केही दिन अघिसम्म ।

अपरिचित रहँदाका अनुभूति

यस वर्ष बाढीले भारत र नेपालमा विपद् ल्यायो । नियमित त्रासदी हो– बाढी, उद्धारका कथा छन्, तर उपयुक्त व्यवस्थापनको सम्भावना हराए सरह छ । पीडाका कथा दोहोरिन्छन्, सहर, गाउँ दुवैतिर ।


केही दिनयता तापक्रम ३४ डिग्री पुगेको छ, तर गर्मी ४२ डिग्री पुगेको जस्तो अनुभव हुन्छ । फ्ल्याटमा एसी छ, चिसो पार्छ । एसीको चिसो पार्ने पदार्थ आफैं हरितगृह ग्यास हो, एसीले तातो फाल्छ बाहिर । बिजुलीको खर्च माथि लान्छ । काठमाडौंमा पनि दिउँसो एकदम गर्मी हुनथालेको छ, फोनमा खबर पाउँछु । बढ्दो वायुमण्डलीय वाफ र तापक्रमसित अनुकूल रहनु ठूलो चुनौती हुनेछ ।

बढ्दो तापक्रमको कारण मानवीय क्रियाकलापले वायुमण्डलमा कार्बनडाइ अक्साइड बढाएकोेले हो ।


ढोकाभित्र बनेका आकाश छुने सरहका घरहरू छन् । फ्ल्याटहरूमा व्यक्ति, परिवारहरू छन्, तर समुदायको अनुभूति भएको छैन । सहरी जीवनको पर्याय, सबै आआफ्ना धुनमा मग्न छन् । भित्र–बाहिर आउने–जाने कार्य पहरेदारको नियमनमा छ । फाटक छेउको पहरेदार हाँस्दै सलाम बजार्छ, किन ? त्यै जानोस् । ऊसित केही आत्मीयता बढेको छ । बताउँछ, ‘सबै गाउँतिरबाट आएका हुन् ।’ हाम्रा सिमानातिरका छन् र हाम्रैतिरका पनि ।


छेउमा टांगिएको सूचना पाटीमा लेखिएको छ, ‘घरपालुवा कुकुरलाई पटी (दिसा) गराउन निषेध गरिएको छ ।’ केही अगाडि डोरीमा बाँधिएका दुई ल्याब्राडोर हिँड्दैछन्, घरायसी सहयोगीसित । अमेरिकामा घर धनी नै प्लास्टिकको थैला लिएर पटी सोहर्दै हिँड्थे, यता जिम्मेवारी प्रत्यायोजन गरिएको छ । हाम्रोतिर बाटोमा पटी नगराउने संस्कार अझै आएको छैन ।


अगाडिको राजमार्गमा गाडी, ट्याक्सी, टेम्पो, मोटरसाइकल र रिक्सा दगुरेको दगुर्‍यै छन्, तर साइकल त्यति देखिँदैनन् । ट्याँट्याँ, टुँटुँटुँटुँ कस्तो हल्ला । काठमाडौंमा हर्न बज्न कम भएको त्यस्तै बानी परेछ । राजमार्गका बीचमा हेमानका यामानका कंक्रिटका थामा छन्, त्यसमाथि हेमानका यामानका बिम, स्ल्याब र माथि रेलका पटरी । हरेक दुई/दुई मिनेटमा मेट्रोरेल घुरर–घुरर यताउता गरिरहन्छ, झन्डै ६० प्रतिशत सोलार प्लान्टले उत्पादन गरेको बिजुली प्रयोग गर्दै ।


दिमाग काठमाडौं पुग्छ, प्रस्तावित मेट्रोरेल, मोनोरेल अनि सहरी तार बाटोका संकथनतिर पुग्छु, रेलका गफगाफ सम्झन्छु । लौ, चीनको फलानो गाउँसम्म रेल आइपुग्ने भयो, अब हिमालय यताको पालो, चिनियाँले गरिदिहाल्छन् । गत मेमा बेइजिङमा चाइनिज एकेडेमी अफ सोसल साइन्सका प्राज्ञहरूलाई सोधेको थिएँ, ‘हाम्रोतिर चीनले नेपालमा सबैथोक गरिदिन्छ भन्छन् नि, के हो ?’

प्राज्ञहरूले हाँस्दै कूटनीतिक भाषामा जवाफ दिएका थिए, ‘गर्ने त तपाईंहरूले हो, आफ्नै मिहिनेतले, हाम्रो सहयोग रहनेछ ।’


गुजरातमा पानी व्यवस्थापन अध्ययन गर्ने क्रममा त्यहाँका सहकर्मी मित्रले भनेका थिए, ‘अजय भाइ केही वर्षपछि अहमदावाद र मुम्बै बुलेट ट्रेनले जोडिन्छ ।’ मेरो जवाफ थियो, ‘गज्जव, आउनेछु यात्रा गर्न, टिकट तपाईं किनिदिनुहोला ।’ सन् १९७० को दशकको तुलनामा भारतको रेलसेवा व्यवस्थापन स्तरीय छ ।


यताका ट्राफिक पनि त्यति व्यवस्थित छैन, तर हाम्रोतिरको स्तर योभन्दा तलै हुनुपर्छ । एकतर्फी, जथाभावी दाहिने मोड्न प्रतिबन्ध, लेन ड्राइभिङ र ट्राफिक लाइटले काठमाडौंको यातायात केही व्यवस्थित हुन्थ्यो । तर खोइ के हो, खालि रुख काट्ने, सडक विस्तार गर्ने प्रस्तावमात्रै गरिन्छ, राज्यको तर्फबाट ।


काठमाडौंमा त्यसो हुन नदिऊँ भन्दै युवा पुस्ताको सानो टोली लागिपरेको छ । सन् १९७० मा गढवालमा ग्रामीण महिलाहरूले रुख र जङ्गल बचाउन रुखमा टाँसिएर चिप्को आन्दोलन सुरु गरेका थिए । नेपाली युवा पुस्ताले त्यस्तै आन्दोलन सुरु गर्ने भन्दैछन् । आशा गरौं, यो प्रयास सेल्फी खिच्नमा सीमित हुने छैन ।


हरियो/परियो मास्नेमात्रै होइन, तिनका ठाउँमा कंक्रिटका फलफूल, रुख, गाई इत्यादि बनाउने हुटहुटी चलेको छ, हाम्रो नेपालमा । कंक्रिटका गाई बनाउने मनस्थितिको परिणति होला, भिरबाट जिउँदा गाईलाई धस्काइदिएका । जे गरे पनि भइहाल्छ । कसले के गर्छ भन्ने आवरणमा गैरजिम्मेवारीपनको पराकाष्ठा । एकदिन कंक्रिटका नदी निर्माण गरिएको हेर्न तयार बसेको छु ।


अन्तर्राष्ट्रिय विकास बैंकले ऋण दिइहाल्छन्, कसैले डिजाइन तयार गर्ने छ, अनि निर्माण गर्ने ठेकेदार भइहाल्छन् । छापाहरूमा चट्ट परेका तस्बिर आइहाल्छन् । लौ, विकास भइहाल्यो । पुर्खाले वर्षौं अघि सिर्जना गरेका सम्पदा अझै जिउँदैछन्, तर हिजोआज गरिएका कंक्रिटका निर्माण एकजुनी पनि टिक्ने छैनन्, नत कुनै विदेशी पर्यटक हेर्न आउनेछन् । पुर्खा कलाकारका परिकल्पना र सीप सम्झँदा आदर र श्रद्धाले शिर निहुरिन्छ ।


अरुणदेव अलिक माथि आइपुगिसकेका छन् । फ्ल्याटमा फर्कन्छु । केही बेरपछि ल्यापटप खोल्छु, मेल हेर्छु र ट्विटरमा पुग्छु । आक्कल–झुक्कल ट्विट गर्छु, सार्वजनिक चासोका विषयमा । लाइक गर्छु, रिट्विट पनि । हल्लामा हराए सरह हुन्छु । मनले भन्छ– भँडास छताछुल्ल पार, तर दिमाग रोक्छ । भँडास नपोख, कसैको हित हुँदैन ।


लामो सास लिन्छु र आफैंलाई भन्छु, सूचनाको स्रोत हो, तत्अनुरुप प्रयोग गर्नु उचित । युट्युबतिर पुग्छु, अचम्म पर्नुदेखि केही रहन्न, कति हल्ला छन् त्यहाँ । आफ्नै मुलुकमा लठ्ठीले कुटी–कुटी कुकुर मारेको हृदयविदारक दृश्य हेर्न पुगियो । कसैले ‘फेक’ हो भनिदेओ न, प्लिज । कस्ता हिंस्रक प्रवृत्ति रहेछन्, हाम्राकोमा ।


ल्यापटप बन्द गर्दै साइबर विश्वबाट निस्केर मस्तिष्कलाई ब्रह्माण्डको अनन्त यात्रामा छाडिदिन्छु । टेक्सास राज्यको सहर एलपासोमा रोकिन्छ, मस्तिष्क । त्यस सहरमा एउटा बन्दुकधारीले अन्धाधुन्द गोली चलाएर २२ जनाको ज्यान लियो । भोलिपल्ट ओहायो राज्यमा अर्को सन्काहाले गोली चलाएर १० जना निर्दोषको ज्यान लियो । संयुक्त राज्य अमेरिकाको ‘बन्दुक राजनीति’ बुझिनसक्नु । हामी संवेदना प्रकट गरौं, नहोस्, नदोहोरियोस् भन्ने कामनासहित ।


निदानको जिम्मा अमेरिकीहरू र तिनका चुनिएका प्रतिनिधिहरूको हो । सन् २००२ मा एलपासो सहरको सिमानाको अनुभव सम्झँदा अहिले डर लाग्छ । पारी मेक्सिकोको ह्वारेज सहरबाट एलपासो फर्कने क्रममा अमेरिकी सिमाना अध्यागमनले निकै बेर केरकार गरेको थियो, मल्टी एन्ट्री भिसा भए पनि । सातोपुत्लो गएको अवस्था थियो ।


दक्षिण एसियामा सिमाना स्पष्ट थिए, अब झन् घनिभूत पारिएको छ : जम्मु–कश्मीर र लद्दाख । विवादित छ, निर्णय । विवादमा भूगोल, इतिहास, उपनिवेश, स्वतन्त्रता, धर्म/आस्था, भूराजनीति, सुरक्षा, संविधानवाद, प्रजातन्त्र, सूचनाको हक, मानव अधिकार, विस्थापन, राष्ट्रवाद सबै समेटिएको छ–स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा । अगाडिको यात्रा कस्तो होला ?


सन् २००५ को भूकम्पपछि इस्लामावादबाट झेलम नदीको किनार हुँदै मुजफ्फरवाद पुगेको थिएँ । विश्वको सबैभन्दा बढी सैनिकीकरण भएको क्षेत्र । भारत र पाकिस्तान दुवैपट्टि अस्त्रशस्त्र लैस सैनिक दस्ता छन् । भारतका दस्तामा नेपाली युवा पनि । युद्ध विभीषिकाको कल्पनाले थररी भएको थिएँ ।


भूकम्पले केही समय विपद्सित जुध्ने मानवीय सिर्जना र सहकार्यको बाटो खोलेको पनि थियो । पश्चिमी हिमालयमा ठूलो भूकम्प जानेछ, विज्ञहरू भन्छन् । यस्तो घटना भए मृत्यु नहोस्, विपद् निदानमा सहकार्य होस् भन्ने कामना गर्छु । वार्ता र छलफलले विवाद सुल्टने क्रम सुरु होस् । हिंसा, वेदना र पीडाका साहित्य लेख्न नपरोस् ।


आफ्नै मुलुकमा हिंसा चलेको कालखण्डमा सो नहोस् भन्ने लाखौंमध्ये म पनि थिएँ । भारत–पाकिस्तान बटवारा हुँदा भएका हिंसाका हृदयविदारक घटनालाई कथामा उतारेका मन्टोका केही कथा नेपालीमा अनुवाद गरेको पनि हुँ । एउटा सार्वजनिक विन्तीपत्र थियो त्यो, तर हिंसा रोकिएन । सन्तुष्टि लाग्छ, नहोस् भन्नेमध्ये परेकोमा । नेपालीले लेखेका हिंसा नहोस् भन्ने मन पोल्ने कथा छन्, भविष्यमा पनि लेखिनेछन् ।


केहीपछि शान्ति आयो । हिंसाको क्रम फेरि केही समय चल्यो । हिंसाको कुरा गर्छन्, एकथरी । दुई वर्षअघि वासिङ्टनमा आयोजित द्वन्द्व र विकास सम्बन्धी एउटा सम्मेलनमा पहिलोपल्ट भाग लिने मौका मिलेको थियो । नेपाल फेरि हिंस्रक द्वन्द्वको चपेटामा फँस्ने हो भने समृद्धि, विकास र मध्य आम्दानीवाला मुलुक बन्ने सपना बिर्से भयो । त्यस्तै बुझेको थिएँ, सम्मेलनपछि । सबै नेपाली हार्नेछन्, कसैको पनि जित हुने छैन ।


सिमानाभित्र हामी सबै जडसूत्रमा रुंगिएका छौं । विद्वान सर्वत्र पुज्यते भनिन्थ्यो, ज्ञान सर्वमान्य हुनछाडेको अनुभूति हुन्छ । कसको ज्ञान, केका आधारमा ? ज्ञानको राजनीति पहिले पनि हुन्थ्यो, सामाजिक सञ्जालको कालखण्डमा सो नहुने कुरै भएन । गुटबाजीमा विवेक धुजाधुजा परेको छ । कित्तामा खण्डित विवेक एवं विधि र तौरतरिकाको ह्रास सामुहिक विचलनको संकेत हो ।


विश्व उथल–पुथलमा छ । कार्बन उत्सर्जन र जलवायु परिवर्तन, आणविक युद्धको त्रास, बढ्दो आर्थिक असमानता, सामाजिक सञ्जालको ब्यापकता, असहिष्णु बन्दै गरेका राज्य व्यवस्था । सन् १९५० पछि स्थापित विश्व संस्थागत व्यवस्थाहरू ह्रासोन्मुख र अनिश्चितताको घेरामा छन् । कस्ता बाटा रोजिएला ? विगतबाट कस्ता पाठ सिकिएला ? शासन पद्धतिको गन्तव्य के होला ? स्पष्ट जवाफ छैनन् ।


वास्तविकता के हो भने प्रत्येक सिमानाभित्रका पृथ्वीका सबै बासिन्दा जलवायु परिवर्तनको जोखिम र जैविक विविधता ह्रासले ल्याउने चपेटामा परिसकेका छौँ । कार्बनडाइ अक्साइडको मात्रा झन्डै ४१५ पीपीएम पुगेको छ । उत्सर्जन तत्काल कम हुने बाटो देखिँदैन । बढ्दो क्रमको परिणाम के होला ? विवेक पुर्‍याउन नसके मानवजाति नै मासिन सक्छ, तर सम्भावना सम्झनु जरुरी मानेका छैनौं, बालुवामा टाउको लुकाएको सुतुरमुर्ग सरह छौं । ‘मैले देखेको छैन, समस्या भए पनि गैहाल्छ ।’


अल्पविकसित मुलुकबासी एक अध्येताको सीमित परिधि बुझेको छु । तथापि चेतनाको दीयो बाल्ने यज्ञमा चरु होम्न नछोड्न स्वर्गिय कवि सिद्धिचरण प्रेरणा दिइरहन्छन् ।


सागरको बीच आइसकेपछि भयले अब हट्न हुँदैन,

आँधी आई कुर्ले कुर्लोस्, अब हिम्मत हार्न हुँदैन ।

डुब्ला, मर्ला अरू के होला, यत्ति न हो त्रास तँलाई,

लाखाँ मर्छन्, लाखाँ डुब्छन्, जगको रीत चलाउनलाई ।

प्रकाशित : भाद्र २१, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?