नेपाल भाषाका विशिष्ट पक्ष

डा. हीराकाजी मानन्धर, सुभद्रा मानन्धर

काठमाडौँ — नेपाल भाषा नेवार समुदायको मातृभाषा हो । यो भाषाको उत्पत्ति भारतीय विद्वान सुनीतिकुमार चटर्जीका अनुसार १९०० वर्ष पहिले भएको मानिन्छ (प्रा. माणिकलाल श्रेष्ठ, मूल्याङ्कन, १ भदौ, २०७२) । प्रा. श्रेष्ठले आफ्नो लेखमा नेपाल भाषाको दमन र उपेक्षा कसरी र कहिलेदेखि भयो भन्नेबारे सविस्तार वर्णन गरेका छन् ।

नेपाल भाषा जुन काल र परिस्थितिमा बन्यो र प्रयोगमा आयो, त्यसले प्राचीन नेपालको मौलिकता र विशिष्टतालाई जनाउँछ । अहिले यो भाषा संकटमा छ । नेवार युवा पुस्ताले नेपाल भाषा क्रमिक रूपमा बोल्न छाडेका छन् । हामी भाषाविज्ञ होइनौं, नेपाल भाषाको त झनै होइनौं । तथापि हामी दुबैजना घरमा नेपाल भाषा नै बोल्छौं । यो लेख नेपाल भाषाबारे अध्ययन, विश्लेषणका लागि होइन, यस भाषाका केही विशिष्टताबारे गैरनेवार र नेपाल भाषाबारे थाहा नहुनेलाई अवगत गराउनमा लक्षित छ । यसमा प्रयोग गरिएका भाषा काठमाडौंमा बोलिने लवजमा आधारित छ । यसमा प्रस्तुत कुनै शब्द र व्याकरण अशुद्घ लेखिएको हुनसक्छ । त्यसका लागि क्षमाप्रार्थी छौं ।

वस्त्र पहिरन
वस्त्र पहिरन मानव सभ्यता र विकासको अभिन्न अंग हो । पृथ्वीमा भएका अरु जीवहरूले वस्त्रको प्रयोग गर्दैनन् । त्यसैले होला, नेपाल भाषामा वस्त्र पहिरनलाई विशिष्ट स्थान दिइएको छ । शरीरको भाग– घाँटीदेखि माथि टाउको, घाँटीभन्दा मुनि कम्मरसम्म र कम्मरभन्दा मुनि पाउसम्मको भाग अनुसार तिनका पहिरनका लागि छुट्टाछुट्टै क्रियापदहरू प्रयोग हुन्छन् । यसमा तलमाथि भयो भने हाँसोको पात्र होइन्छ । नेपाली भाषामा सामान्यतया शिरदेखि पाउसम्मका कुनै पनि वस्त्र अर्थात टोपीदेखि जुत्तालाई ‘लगाउने/लाउने’ भनिन्छ । जस्तै– टोपी लाउनु, जुत्ता लाउनु । अंग्रेजीमा पनि सबै वस्त्रलाई ‘पुट अन’ वा ‘ओयर’ भनिन्छ ।

नेपाल भाषामा शिरमा लाउने ‘तपुली/त्वःपुलि’ (टोपी) लाई ‘पुइगु’ (त्वःपु भनेको माथिबाट छोप्ने), चस्मालाई ‘तयगु’, टाउकोमा फूल सिउरिनेलाई ‘छुइगु’, जिउमा लाउने ‘लं’ (लुगा), ‘प्वाकलं’ (भोटो), ‘पुतुलं’ (चोलो), ‘तपालं’ (दौरा), कमिज, गन्जी आदिलाई ‘फिइगु’ र कम्मरदेखि तल लाउनेलाई ‘न्ह्यायगु’ वा ‘सिनिगु’ भनिन्छ । ‘न्ह्यायगु’ र ‘सिनिगु’को प्रयोगमा पनि फरक छ । कम्मरदेखि तल लुगा लगाउँदा खुट्टा वा हातखुट्टाका औंलाहरूको आकार अनुसार बनेका वस्त्रहरू जस्तै– सुरुवाः (सुरुवाल), पाइन्ट, कट्टु, ‘लाकां’ (जुत्ता), मोजा, पञ्जा आदिलाई ‘न्ह्यायगु’ भनिन्छ । त्यस्तै कम्मरमुनिको भागलाई एकमुष्ट ढाक्ने जस्तै– ‘पर्सी/पटासी’ (फरिया), पेटीकोट, लुंगीलाई ‘सिनिगु’ भनिन्छ । अरु विशेष पहिरन र ओढ्ने जस्तै– ‘जनी’ (पटुका) लाई चिइगु, ‘गा’ (खास्तो) र दोलाइँलाई ‘नेयगु’, ‘सिल’ (सिरक) लाई फायगु भनिन्छ । ओढ्ने (खास्तो, दोलाइँ, सिरक) लाई सुत्दाखेरि ‘फायगु’ र अरु बेला ‘नेयगु’ हुन्छ । अहिले दोलाइँ हरायो । पहिले–पहिले जाडोमा खास्टोभन्दा अलि चाक्लो र बाक्लो, अनि सिरकभन्दा सानो र पातलोलाई दोलाइँ भनिन्थ्यो र हिउँदमा बाहिर हिँड्दा पनि दोलाइँ ओढ्ने चलन थियो ।

गहना पहिरन
गहना (तिसा) लाई समग्रमा ‘तिसा तिइगु’ भनिन्छ । तर गहनाको प्रकार अनुसार क्रियापद फरक छन् । अंग छेडेर लाउने गहनालाई ‘तिइगु’ नै भनिन्छ, जस्तै– कानमा लाउने टप– ‘टप तिइगु’ । एउटा अपवाद, ‘सिन्ह’ (टीका) तिइगु हुन्छ, अंग नछेडिने भए पनि । ‘सिखः’ (सिक्री), ‘माः’ (माला) ‘कोखायेगु’ हुन्छ । चुरा, ‘अंगु’ (औंठी) र कल्लीचाहिँ माथि कम्मरमुनिको भागमा झैं ‘न्ह्यायगु’ नै हुन्छ । शरीरको स्वरुप अनुसार चुरा लगाउने नाडी र औंठी लगाउने औंलाहरू कम्मरमुनिकै भाग हुन् । त्यसर्थ यो माथि वस्त्र परिहनसँग पनि मिल्छ ।

खाना पकाउने/बनाउने
खाना पकाउनेमा पनि क्रिया पदहरू फरक–फरक छन् । ‘जा’ (भात) थुइगु, ‘कें’ (दाल) खुनेगु, तरकारी, ‘ला’ (मासु), अचार दयकेगु हुन्छ । ‘तरकारी थुइगु’ वा ‘जा खुनेगु’ गल्तीले पनि भनिँदैन । बिहानको नास्तालाई ‘कौला’ बिहानको खानालाई ‘ज्योंना’, दिउँसोको खाजालाई ‘बजी’ (बजी भनेको खासमा चिउरा हो), बेलुकीको खानालाई ‘बेली’ भनिन्छ । पाहुना आउँदा मुख्य खाना
ख्वाउनुअघि हल्का नास्ता गराउनेलाई पनि ‘कौला/तुच्चा’ (जलपान) भनिन्छ ।

काट्ने/टुक्राउने
चुलेसी, चक्कुको प्रयोग गरी (जसमा सामान्यतया दुबै हात प्रयोग हुन्छ) खानेकुरा काट्नेलाई ‘तायगु’ जस्तै– तरकारी, ‘ला’ (मासु) तायगु, खुकुरी प्रयोग गरी काट्ने जस्तै– ‘ला’ (मासु), ‘क्वयं’ (हड्डी) ‘पालेगु’, बञ्चरो वा खुकरी प्रयोग गरी काठ चिर्ने जस्तै– ‘सिं’ (काठ/दाउरा) फायगु’ ‘कापः’ (कपडा), ‘भों’ (कागज) चायगु’ ‘सं’ (कपाल), दाह्री खायगु, ‘लुसी’ (नङ) धेनेगु हुन्छ । सामान्यतया काटेर फाल्नेलाई धेनेगु/खायगु भनिन्छ । बोटबाट फलफूल टिप्नेलाई पनि खायगु भनिन्छ । गल्तीले पनि ‘सा, दाह्री, ग्वाय् (जुंगा) धेनेगु’ भनिन्न । बरु ‘लुसी, सं, दार्‍ही, ग्वाय् चायगु’ भनिन्छ ।

सर्वनाम पद
सर्वनाम पद सामान्यतः ‘छ’ (तिमी), ‘छि’ (तपाईं), ‘व’ (ऊ/उनी), ‘वय्क’ (उहाँ) मात्र छन्, ‘ता’ जनाउने छुट्टै छैन । बरु ‘वसपोल’ छ, जसले खासगरी देवीदेवतालाई जनाउँछ । यो शब्द राजारानी र पुरोहितलाई सम्बोधन गर्दा प्रयोग हुन्छन् । वसपोलको तहमा प्रयोग हुने क्रियापदहरू हुन्, ‘बिज्यात’ (आउनुभयो, दरबारीया भाषामा आइबक्स्यो), ‘बिज्याहुं’ (बस्नुस्, दरबारीया भाषामा बसिबक्स्योस्) ।
शब्द एक, अर्थ अनेक
नेपाल भाषामा केही शब्दहरू जस्तै– ‘व’, ‘वा’, ‘सा’, ‘प्वा’, ‘स्या’, ‘गा’ आदि छन्, जसले भिन्न–भिन्न अवस्थामा फरक–फरक अर्थ बुझाउँछन् । जस्तै– ‘व’ को अर्थ– ऊ/उनी, बारा । व वल– ऊ आयो, माय् व– मासको बारा । त्यस्तै ‘वा’ को अर्थ– आउ, दाँत, धान, वर्षा, साता आदि । थन वा – यहाा आउ, वा स्यात – दाात दुख्यो, वा सल – धान फल्यो, वा वल – पानी पर्‍यो, छ वा – एक साता । ‘सा’ले मिठो, साल, मल, गाई जनाउँछ । कें सा– दाल मिठो छ, चिकं सा– तेलको साल, सा मगात– मल पुगेन, सा वल– गाई आयो । ‘प्वाः’ भनेको पेट पनि हो र प्वाल पनि । प्वाः स्यात– पेट दुख्यो, प्वाः गन– प्वाल पर्‍यो । ‘स्या’ले दुख्छ र मार भन्ने जनाउँछ । जं स्या– कम्मर दुख्छ, कि स्या– किरा मार । ‘गा’को अर्थ– खास्टो, खाल्टो, पुग्छ । गा हिं– खास्तो ल्याउ, गा ग – खाल्टो पर्‍यो, गा त– पुग्यो । ‘पुसा’ भनेको बिर्को र बिउ हो । वा पुसा– धानको बीउ, पुसा ति– बिर्को राख ।

दुइटा दुर्लभ शब्दहरू
नेपाल भाषामा ‘माकु’ एउटा यस्तो शब्द हो, सायद त्यो अरु कुनै भाषामा छैन । जस्तै– स्वाद जनाउने ‘चाकु’ (गुलियो), ‘पाउँ’ (अमिलो), ‘पालु’ (पिरो), ‘फाकु’ (टर्रो), ‘सा’ (मिठो/स्वादिलो) भन्दा फरक तर गुलियो, मिठो र स्वादिलोको विशिष्ट समिश्रण जनाउने शब्द हो– ‘माकु’ । जस्तै– काजु, खुवाको स्वादलाई कसरी वर्णन गर्ने ? यसलाई स्वादिलो वा मिठो भन्ने बाहेक अरु शब्द छैन ।

नेपाल भाषाको ‘माकु’ (माकुसे चों) ले यही विशिष्ट स्वादलाई जनाउँछ । ‘इस्सु’ एउटा अर्को शब्द हो, जसले शरीर खासगरी खुट्टाको नलीभागमा आउने एक प्रकारको असजिलो र गलेको अवस्था (दुख्ने वा झम्झमाउने, निदाउने होइन) लाई व्यक्त गर्छ– ‘तुति (खुट्टो) इस्सुसे च्वन’ ।

नेपाल भाषामा नभएका तर अत्यधिक प्रयोग हुने शब्द
दैनिक प्रयोगमा आउने सरसामान, भाँडाकुँडा, खानेकुरा, वनस्पति, फूल, पशुपन्छी, जलचर, शरीरका अंग–प्रत्यंग आदि–इत्यादि तथा मानिसले गर्ने क्रियाकर्म, प्रकट गर्ने र भावभंगी जनाउने शब्दहरू नेपाल भाषामा आफ्नैछन् । अत्यधिक दैनिक प्रयोगमा आउने केही वस्तु–
विशेषको चाहिँ नेपाल भाषामा आफ्नै शब्द सायद छैनन् । जस्तै– खानेकुरामा तरकारी, अचार, आलु, प्याज, केरा आदि । प्याज जातिकै लसुनलाई ‘लाभा’ र छ्यापीलाई ‘छा’ भनिन्छ । सायद प्याजपछि भित्रिएको होला । आलु र मकै नेपालमा पछि भित्रिएका हुन्, तापनि मकैलाई‘कःनि’ भनिन्छ ।

‘त’ र ‘ट’को उच्चारण हामी नेवारको अक्सर छुटिन्न । यो हाम्रो विशेषता हो । त्यसलाई लिएर मजाक पनि गर्छन् । अहिले नेपाल भाषा हराउँदै गएपछि यो पनि हराउँदै गएको छ ।

नेपाल भाषामा एउटा यस्तो शब्द छ, जुन फ्रेन्च भाषासँग मिल्छ । यसबारे मदनकृष्ण र हरिवंशको एउटा प्रस्तुति छ, त्यो उहाँहरूको अनुमतिबिनै यहाँ संक्षिप्तमा प्रस्तुत गर्ने अनुमति चाह्यौं । उहाँहरू फ्रान्स जाँदा एउटा पसलमा गएछन्, साबुन किन्न । पसलेलाई ‘सोप’ भनेर अंग्रेजीमा मागेछन्, तर पसलेले ज्यान गए बुझेनन् । झोंक चलेर ‘छिम्माया छ्यों, साबुं’ (तिम्रो आमाको टाउको, साबुं) भनेछ । पसलेले ‘एस्–एस्’ भनेर साबुन ल्याएर दिएछन् । नेपाल भाषा र फ्रेन्च भाषा दुबैमा साबुनलाई साबुं भन्छन् ।

अन्त्यमा, हाम्रो परिवारमा नेपाल भाषामा स्वस्थानी कथाको १२१ वर्ष पुरानो हस्तलिखित पुस्तक छ, जुन हाम्रो बा (सुभद्राको ससुरा) को हजुरबाले नेपाल मण्डल (अहिलेको काठमाडौं उपत्यका) को झोछें टोलका गुरुज्यूबाट लेखाउनुभएको थियो । त्यसमा लेखिएका केही शब्दहरू, जुन दैनिक बोलीचालीमा प्रयोग भएका पाइन्नन्, तिनलाई यहाँ राख्न चाहेँ । ती हुन्– छलपोल (तपाईं), ननानं (अविलम्ब), समधाल (सल्लाह), संभोक (दण्डवत), माथनं (प्रकारले), मोचकाव (मार्ने) आदि ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली किताबको बिगबिगी

डेभिड स्ट्रेटफेल्ड

विख्यात लेखक जर्ज अर्वेलले लेखेका ‘१९८४’ अंग्रेजी साहित्यको अद्वितीय किताबलाई धेरैपटक पुनर्लेखन गरिएको छ र हरेकपटक त्यसको भाषा चलाइएको छ । त्यो सुन्दर कृतिको भाषा अकल्पनीय रूपमा ध्वस्त बनाइएको छ ।

अहिले केही लेखकका आफ्नै शब्द पनि विश्वको सबैभन्दा ठूलो ‘भर्चुअल’ किताब पसल एम्याजोनमा भेटिने नक्कली किताबमा जथाभावी चलाउन थालिएको भेटिन्छ । त्यो स्थानमा सर्वाधिकार कानुनको खासै महत्त्व छैन जस्तै देखिन्छ । अर्वेलको इज्जत त सुरक्षित होला, तर उनका वाक्य असुरक्षित छन् ।

केही सातायता मैले एम्याजोनबाट अर्वेलका केही दर्जन नक्कली तथा अवैधानिक किताबहरू किनेंँ । त्यसमध्ये केही भारतमा प्रकाशित थिए । लेखकले भारतमा बसेर लेखेको किताब अमेरिकामा बेचिंँदै थियो, जहाँ लेखक सर्वाधिकार सम्पन्न छ । अन्य केही भने सम्पूर्ण रूपमा नक्कली थिए । जस्तो कि उनको आत्मकथा ‘डाउन एन्ड आउट इन पेरिस एन्ड लन्डन’ । यो किताब उच्च माध्यमिक तहका विद्यार्थीका लागि सम्पादन गरिएको थियो । उनका किताब रेखदेख गर्ने सम्पूर्ण जिम्मेवारी पाएको संस्थाले यसबारे कुनै जानकारी नभएको र त्यसो गर्न अनुमति नदिइएको बतायो । किताब भने एम्याजोनकै भगिनी संस्थाले प्रकाशित गरेको हो । केही नक्कली किताब प्रकाशकहरू त अर्वेलको ‘क्लासिक’लाई आफ्नै सम्पत्ति भन्दै सर्वाधिकार पनि आफ्नै नाममा रहेको दाबी गर्छन् ।

यी र यस्ता सबै किताब बीचको समानता के हो भने– यी कुनैले पनि लेखकलाई एक सुको दिँदैनन् । यसै कारण उनीहरू अर्वेलको सक्कली प्रकाशनभन्दा निकै कम मूल्यमा उपलब्ध हुन्छन् । आखिर ‘एनिमल फार्म’ वा ‘१९८४’ विद्यालयका लागि चाहियो भने कसले प्रकाशन गर्‍यो भनेर कसले पो सोच्छ ? किनभने ‘१९८४’ को सबै संस्करणहरू एकै त हुन्, हैन र ? सधैं त्यस्तो नहुन सक्छ । एम्याजोनमा त त्यस्तो हुँदैन ।

एकजना पाठक ‘१९८४’ को आफ्नो नयाँ किताब पढेर अचम्ममा परे । त्यसका केही खण्डहरू फरक थिए । अर्कोले तस्बिर नै खिचेर प्रमाण पेस गरिन्— किताब पूरा अस्पष्ट थियो । तेस्रोले भन्यो— मेरो किताबमा त ‘फेसेस’ (अनुहारहरू) भन्ने शब्दलाई ‘फिसिस’ (आची) शब्दले प्रतिस्थापित गरिएको छ । अर्विलको किताब किन्दा केही पेज नहुनु भनेको सामान्य नै भइसक्यो ।

केहीमा त शीर्षक नै परिवर्तन गरिएको हुन्छ । ‘एनिमल फार्म : ए फेरी स्टोरी’को एउटा संस्करणको ब्याक कभरमा लेखिएको थियो, ‘एनिमल्स फार्म : ए फेयर स्टोरी’ । भूमिकाले अर्वेलको अर्को चर्चित किताब ‘होमेज टु क्याट्यालोनिया’लाई ‘होमपेज टु क्याट्यालोनिया’ उल्लेख गरिएको छ ।

नक्कली किताबको बढ्दो संख्याका बारे केही लेखेपछि मैले एम्याजोनमा अर्वेलका कति किताब छन् भनेर खोज्न थालेँं । नक्कली किताबको बिगबिगी बढेपछि एम्याजोनले प्रकाशकहरूलाई सक्कली किताबको विज्ञापन गर्न प्रोत्साहित गरेको पाएँ । कम्पनीको एक ब्लग पोस्टमा नक्कली सामग्रीलाई प्रतिबन्ध गरिएको र नक्कली सामग्रीलाई रोक्न व्यक्तिगत र प्राविधिक रूपमा पनि धेरै मिहेनत गरेको उल्लेख थियो ।

तर केही साता अगाडि एम्याजोनले विज्ञप्ति प्रकाशित गर्दै हरेक देशमा हरेक किताबको सर्वाधिकारको स्थिति वा स्रोत परीक्षण गर्न नसकिने हुँदा प्रकाशक र लेखकलाई नै साइटमा हेरेर रिपोर्ट गर्न भनेको थियो । ‘यो सबै खुद्रा व्यापारीका लागि गाह्रो विषय हो,’ विज्ञप्तिमा भनिएको थियो । कम्पनीका अनुसार यस सन्दर्भमा ‘मेसिन लर्निङ’ तथा प्रविधिको प्रयोग निष्प्रभावी देखिएको छ । किनभने सत्य के हो भनेर केलाई आधार मान्ने भन्ने स्रोत नै छैन ।
किताब बेच्नु भनेको एतिहासिक र जटिल पेसा हो । र नक्कली सामग्री कुनै पनि बेला आफ्नो दराजमा देखिन सक्छ । तर एम्याजोन भनेको विश्वकै सबैभन्दा ठूलो किताब पसल हो र त्यसले राखेको मानकले सबैलाई असर गर्छ ।
एम्याजोनले विशेष गरेर अर्वेलका किताबलाई कसरी व्यवहार गर्छ भन्ने धेरै हदसम्म अर्थ राख्छ । सन् २००९ मा एम्याजोनले ‘१९८४’ र ‘एनिमल फार्म’को सम्पूर्ण नक्कली संस्करण ग्राहकहरूको किन्डलबाट हटाइदियो । जसका कारण पाठकहरूलाई आफ्नो अनलाइन पाठशाला आफ्नो नियन्त्रणमा नभएको पहिलोपटक भान लाग्यो ।

मैले अनलाइनमा फेला पारेका अर्वेलका किताबहरूमा धेरै त्रुटि छन् । एम्याजोनले उनका ११ वटा किताब नयाँ भनेर बेचिरहेको छ र ती सबै एम्याजोनको गोदामबाट नै वितरण गरिएका छन् । तेस्रो पक्षले बिक्री गरिरहेको एउटा किताबको मूल्य ३ डलरदेखि २३ डलरसम्म पर्छ ।

नक्कली त्यसमा पनि आयातित किताबको मूल्य निकै न्यून हुन्छ । र त्यो खरिद गर्ने मान्छेलाई दोष दिनु पनि बेकार छ । ७.९९ डलर पर्ने ‘१९८४’ को वैधानिक संस्करण एम्याजोनमा ७२ नम्बरमा पर्छ । र भारतबाट आयात गरिएको फर्जी किताब भने ९७० नम्बरमा पर्छ । यसले नक्कली भए पनि किताब बिक्री भइरहेको छ भन्ने देखाउँछ ।

प्राय: नक्कली किताबमा शब्दहरू बेवास्ताका कारण बिग्रिएका हुन्छन्, तर विरोधाभाष के भने उनीहरूले सकेसम्म अर्वेलका किताबलाई सुदृढ बनाउन खोज्छन् । उनको १९३३ को आत्मकथाको ‘उच्च माध्यमिक संस्करण’ त्यस्तै छ । त्यसको सम्पादकका रूपमा मोइरा प्रोप्रियटको नाम उल्लेख छ । तर उनी वास्तविक हुन् कि काल्पनिक पत्ता लगाउनै कठिन छ ।

अर्वेलको भाषामा प्रोप्रियटले आफूले आफैंलाई सम्पादक घोषणा गरेर मिठास भर्न खोजेकी छिन् । तर त्यो निकै ध्वस्त छ । उदाहरणका लागि चार्ली भन्ने बलात्कारी पात्रले एक युवतीलाई आफ्नो चङ्गुलमा पार्नका लागि भन्छ–
‘कम हेयर माई चिकेन,’ आई कल्ड हर ।

(‘यता आऊ मेरी प्यारी,’ मैले उसलाई भनें ।)
प्रोप्रियटको संस्करण :
‘कम हेयर,’ आई कल्ड हर ।
(‘यता आऊ,’ मैले उसलाई भनेँ ।)
अंग्रेजी वाक्य गठनमा महारथ हासिल गरेका अर्वेललाई यस्तो सम्पादन सायदै पच्थ्यो होला । यस्तै किताबमा सबै फ्रेन्च शब्दलाई ठूलो अक्षर बनाइएको छ । जसको अर्थ लेखक पाठकलाई चिच्याइ–चिच्याइ सुनाइरहेका छन् भन्ने लाग्छ । त्यो पनि सही होइन ।
अहिलेसम्म अर्वेलका कृतिहरूको सुदृढीकरणका लागि राम्रो व्यापारिक योजना थिएन । तर एम्याजोनले त्यो बन्द ढोका अगाडि बारुद नै पड्काइदियो । अब बजार निर्धारणको निर्णय गर्ने अधिकार प्रकाशक, किताब पसले वा समीक्षकहरूको हातबाट गुमिसकेको छ । अब त ठिकठाकका किताब पनि सबैका लागि सबैतिर उपलब्ध हुन्छन् ।
एम्याजोनले ढोका भत्काइदिएसँगै कस्तो गुणस्तरको किताब बेच्ने भन्ने सरोकार नै नभएकाहरूका लागि सहज भएको छ ।

‘हप्तैपिच्छे एउटा नक्कली किताब भेटिन्छ,’ अर्वेल इस्टेटका एजेन्ट बिल ह्यामिल्टनले भने, ‘कहिले एम्याजोनजस्तो ठूलो कम्पनीले यसको जिम्मा लिएर आफैंले वितरण गरिरहेको वस्तु सही छ या गलत भनेर ध्यान दिने ?’
यदि एम्याजोनले आफूकहाँ सूचीकृत हरेक किताब पल्टाएर हेर्न थाल्ने हो भने त्यसका लागि सयौं जनशक्ति आवश्यक पर्छ । त्यसले मूल्य बढाउँछ र नाफा घटाउँछ । मैले आफ्नो एम्याजोन एकाउन्ट खोलेर उनीहरूले मलाई नक्कली किताब बेचिरहेको बताउँदा त्यहाँबाट ‘रिपोर्ट गर्नुहोस्’ भन्ने सन्देश जवाफमा आयो ।

लेखकहरूको सञ्जालका अनुसार दुई वर्षयता नक्कली किताबहरूलाई लिएर उनीहरूको कानुनी विभागमा उजुरी दिनेको संख्या दस गुणाले बढेको छ । नक्कली संस्करण किताबका लेखक वा प्रकाशकका लागि ठूलो धक्का हो र साथै यसले गलत सूचना प्रवाहलाई पनि बढावा दिन्छ ।

मैले खरिद गरेको ग्रेपभाइन इन्डियाद्वारा प्रकाशित भनिएको अर्वेलको ‘एनिमल फार्म’को सर्वाधिकार उल्लेख भएको पृष्ठमा लेखिएको छ, ‘लेखक सबै व्यक्ति, संस्था र समुदायको आदर गर्छन् र यो उपन्यासको माध्यमबाट कुनै पनि व्यक्ति, संस्था वा समुदायको भावनामा चोट पुर्‍याउन चाहँदैनन् ।’

अर्वेलले त्यस्ता केही पनि कुरा कहिल्यै उल्लेख नगरेको उनको संस्थाले स्पष्ट पारेको छ । १९४५ मा लेखिएको उपन्यासमा २०१९ को भावना घुसाइयो भन्ने यसैबाट स्पष्ट हुन्छ । तर एनिमल फार्मको यो संस्करणमा लेखक र उनको इतिहासको कुनै उपस्थिति नै छैन । त्यहाँ १९४५ को कुनै कुरा उल्लेखै छैन ।

‘पोलिटिक्स एन्ड इङ्लिस ल्याङ्वेज’मा अर्वेलले लेखेका छन्, ‘हाम्रो भाषाको भद्रगोलताले हामीलाई बेकारको कुरा सोच्न सजिलो बनाएको छ ।’ उनको यो अभिव्यक्ति ‘एनिमल फार्म’को अर्को संस्करण प्रकाशन गर्ने भारतीय संस्था आदर्श बुकले सही ठहर्‍याउँछ । एउटा परिचयात्मक खण्डमा यस्तो लेखिएको छ— ‘जब जनावरहरू, जो उपन्यासका पात्र पनि हुन्, उनीहरूले शब्दहरू विभिन्न तरिकाले पढ्न खोज्छन्, त्यसले पाठकलाई अनायासै खुसी तुल्याइदिन्छ ।’

ग्रेपभाइन र आदर्शले यी किताब भारतमा त प्रकाशित गर्न पाउलान् । तर के ती अमेरिकामा पनि बेच्न पाइन्छ भनेर मैले एम्याजोनलाई सोधेंँ । उनीहरूले अमेरिकामा बेच्न नमिल्ने बनाए । उनीहरूले मैले उल्लेख गरेका अन्य नक्कली किताब पनि हटाए ।

अहिले पुन: ठूला प्रकाशकहरू एम्याजोनको इ–रिडिङ विरुद्ध जाग्न थालेका छन् । उनीहरूको आवाजले स्थान पनि पाउन थालेको छ । उनीहरूको संस्था अमेरिकी प्रकाशक एसोसियसनले संघीय व्यापार आयोगमा निकै धेरै अनुसन्धान गरेर तयार पारेको खोजमूलक विश्लेषण बुझाएको छ । किताबहरू परिवर्तन हुँदैछन् । र पाठकहरू पनि जाग्दैछन् ।

स्ट्रेफेल्डले प्रविधि र त्यसले २० वर्षसम्म पार्ने असर सम्बन्धी विषयमा लेखेका छन् ।
उनी २०१३ को पुलिट्जर पुरस्कार प्राप्त गर्ने समूहका एक सदस्य हुन् ।
(द न्युयोर्क टाइम्सबाट अनुदित)

प्रकाशित : भाद्र १४, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्