टोल उत्सव

विमल निभा

काठमाडौँ — [१]ध नमायाको कुखुराको भाले बिहान–बिहानै कराउने गर्थ्यो ।आज धनमाया नै पहिले बिउँझेर यताउता फर्‍याकफुरुक गरिरहेकी छन् ।हंसमान दाइ बारीमा ठिङ्ग उभिएर कतै हेरिरहेका छन् ।बल्ल कुखुराको भाले कराउँछ– कुखुरी काँ.....।

[२]
खरेलनी बजैको प्रभात भजनको नियमितता चालु छ ।
भजनको सुर र ताल भने केही बेग्लै महसुस गर्न
सकिन्छ आज ।
एउटा लयात्मक रफ्तारमा उक्लेर खरेलनी बजैको भक्तिभाव टुप्पोमा अडेको छ ।
र अचम्मको कुरो के छ भने यसमा भूतपूर्व कमरेड श्रीमान खरेल पनि आफ्नो कट्टर नास्तिकतासहित सामेल छन् ।
[३]
टोलको नामुद जुवाडे काजी घरको बरन्डामा देखापरेको छ ।
रात–रातभरि जागेर कौडा हान्ने जीवात्मा यसरी बिहानै देखिनु कुनै चमत्कारभन्दा
कम छैन ।
अर्को अचम्म के भने काजीको मुखारविन्द उज्यालो देखिएको छ । त्यहाँ अलिकति पनि रात्रि जाग्रामको थकान छैन । के हिजो राति काजीले दाउमा ठूलै जित हासिल गरेको हो त ? अथवा.....।
घरबाट तल बाटोमा हिँंड्नेलाई काजीले ‘गुडमर्निङ’ गरेको सुनिन्छ ।
[४]
टोलका भुसिया कुकुरहरू पनि त्यतिसारो भुकिरहेका छैनन् ।
एक–दुई अति उत्साहित कुकुरको छाउरालाई टोलका केटाहरूले मार्सल आर्ट स्टाइलमा लात्ती हानेर चुप गराएका छन् ।
श्वान बोलीको अभावमा टोल नै अर्को लागिरहेको छ आज ।
अनि सबै टोले कुकुरहरू परम सिद्ध महात्माझैं देखिएका छन् ।
[५]
सुब्बा–सुब्बेनीको नित्य झगडाको आवाज सुनेर टोल जाग्ने गर्छ ।
वास्तवमा कुरो के हो भने एक चौथाइ टोलबासीले दुवै जोइपोइका बाझाबाझको चर्को ध्वनि श्रवण गरेर
बिछ्यौनाबाट उठ्ने बानी बसालेका छन् ।
आजको ताजा बिहान भने सुब्बा–सुब्बेनीको झैझगडा बिना नै सहसा जागृत
भएको छ ।
‘सुब्बा निवास’ बिग्रिएको साउन्ड बक्सझैं विलकुलै शान्त एवं शब्दहीन ।
र सुब्बा–सुब्बेनी हँसिलो मुद्रामा घरको आँगनमा
उभिएका छन् ।
[६]
गुरजु स्वयम्भूनाथको दर्शन गरेर ब्रह्ममुहूर्तमै घर फर्की
पनि सक्छन् ।
टोलको केही परको स्वयम्भूसम्मको बाटो उनको नेवारी बोलीको भजनगानले गुञ्जने गर्छ ।
यही आशरत्न गुरजुको नित्यकर्मको आरम्भ हो । कुनै–कुनै दिन भने क्रम टुट्ने गर्छ । जस्तो, आज सत्तरी वर्ष नाघिसकेका ज्येष्ठ नागरिक गुरजु ‘हे भगवान द्य......’ भनेर
आफ्नो घर वरिपरि नै परिक्रमा गरिरहेका देखिन्छन् ।
[७]
टोलको उरन्ठेउली ग्वार्चा बेसुर तालमा सिनेमाको गीत गाइरहेको छ ।
यो गीत सुनेर आज कोही पनि उसलाई हप्काउने
मुडमा छैन ।
यसले ग्वार्चाको बेसुरपन चरममा पुगेको छ ।
लौ सुन्नोस्, यो टोलको ग्वार्चा संगीत ! (शब्द बुझ्न गाह्रो) ।
[८]
बिहानको उज्यालोमा पनि रातका आवारा लामखुट्टेहरू भुनभुन गरिरहेका छन् ।
एक लामखुट्टे– आज टोलमा के हो पार्टनर ?
अर्को लामखुट्टे– तिमीलाई थाहा छैन, आज टोलको सरकारी धारोमा पानी आउने दिन हो ।
तेस्रो लामखुट्टे– हो र पार्टनर ?
एक लामखुट्टे– हरेक पन्ध्र दिनमा नियमानुसार टोलमा पानी आउने गर्छ ।
अर्को लामखुट्टे– आजै त्यो दिन हो त पार्टनर ?
चौथो लामखुट्टे– हो, आज बिहानको ४ बजेदेखि ५ बजेसम्म घर–घरको धारोमा एक घन्टा पानी आउनेछ ।
[९]
टोलको समय घडीमा ४ बज्छ । त्यसपछि ५ बज्छ ।
अनि ६ बज्छ ।
र ७ बज्छ ।
८ पनि बज्छ ।
अब ९ बजिसकेको छ ।
हो, १० बज्यो । (५ मिनेट भइसकेको छ) ।
टोलको सरकारी धारोमा
पानी आउने कुनै लक्षण देखापरेको छैन ।

प्रकाशित : भाद्र १४, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

बिचौलिया

सिउँडी
विमल निभा

काठमाडौँ — यतातिर पार्टी र सरकारको कुरा मिलिरहेको छैन भन्ने कुरा बाहिर आएको छ । यो कुरा बाहिर आइसकेपछि मैले झट्ट समातेर एक पार्टीको कमरेडसँग सोधेंँ, ‘के तपाईंहरूका सरकारसँग कुरा मिलिरहेको छैन कमरेड ?’ ‘कुन सरकार ?’ उनले पनि मसँग झट्ट सोधे ।

‘तपाईंहरूकै सरकार, अरु कुन सरकार ?’

‘म आफैं सरकारमा छु ।’ उनको निधार खुम्चियो, ‘मेरो मसँग कुरो किन मिल्दैन ?’
कमरेड भर्खरै मन्त्री बनेकाले मसँग यस्तो चुक हुनगयो । तर मन्त्री पनि पार्टीकै हुन् नि ! अनि पार्टीसँग कुरो किन मिलिरहेको छैन त ? त्यसैले मैले म अघि उभिएका मन्त्रीसँग भनेंँ, ‘तपाईहरूका पार्टीसँग कुरो मिल्दैन मन्त्रीज्यू ?’
‘के कुरा गर्नुभएको ?’ उनले मेरो कुराको आशय बुझ्न खोजे ।

‘मेरो कुरा स्पष्टै छ नि, सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन ?’
‘वास्तवमा कुरो के हो भने हामीले यो कुरा बुझ्नसकेको छैन, पार्टीको कुरो के हो ?’ उनले गम्भीर भएर भने, जब कुरा नै बुझिँदैन भने कुरो कसरी मिल्छ ?’

‘त्यसो भए, पार्टीको कुरो कसरी बुझ्ने त मन्त्रीज्यू ?’
यसको जवाफमा सरकारका तर्फबाट सरकारी मन्त्रीले म सम्मुख जे–जे कुरा गरे, त्यो कुरा मैले बुझ्न सकिन । त्यसउसले कुरा बुझ्नैपर्‍यो भनेर मैले एक वरिष्ठ पार्टी कमरेडसँगकुरा गरेँं, ‘आखिर कुरो केहो कमरेड ?’
‘के कुरा ?’ उनले उल्टै मसँग नै सोधे ।
‘पार्टी र सरकारको कुरो के हो ?’
‘के पार्टी र सरकारको कुरा ?’

‘सरकार र पार्टीको कुरो किन मिलिरहेको छैन कमरेड ?’ मैले कुरा स्पष्ट पार्न खोजेँं, ‘कुरो के हो ?’
‘यसमा कुरो नै यही हो कि सरकारसँग हाम्रो कुरो मिलिरहेको छैन, अरु कुरो के छ ?’
‘तर सरकारका मानिसहरू भनिरहेका छन्, पार्टीको कुरो नै बुझिएको छैन, कुरोके हो ?’

‘जब सरकार हाम्रो कुरा नै बुझ्दैन भने अरु कुरा के गर्ने र ?’ वरिष्ठ पार्टी कमरेडले एउटा लामो सास फेरेर भने, ‘असलमा कुरो यही हो ।’

मलाई पार्टी र सरकारको कुरा गजब लाग्यो । सरकार एउटा कुरा गर्छ र यसको जवाफमा पार्टी अर्को कुरा । जब दुवैका कुरा नै बेग्लाबेग्लै छ भने त्यो कुरा कसरी मिल्छ त ? यो कुरा मिलाउन पार्टी र सरकारले एउटै कुरा गर्नुपर्‍यो, अनि कुरा त्यसै मिल्नेछ । यसमा गाह्रो कुरा के छ ? अब सरकार र पार्टीले दुई थरीका कुरा गरेर मिलेन भन्न मिल्छ त ? त्यो कुरा त मिल्दैमिल्दैन नि ! अँ, एउटा कुरा, असलमा कुरो के हो भने मैले भेटेको वरिष्ठ पार्टी कमरेडको पनि मन्त्री बन्ने कुरा चलिरहेको छ । यस्तो हुने हो भने त सरकारसँग कसो कुरा नमिल्ला ? तर यो पनि आंशिक समाधान हो ।
ठूला–ठूला सरकारी ठेक्का लिने ठेकेदार र सरकारको कुरा मिलाउने एक बिचौलियासँग मेरो भेट भयो । अचेल उनी पार्टी र सरकारको कुरा मिलाउन लागिरहेका छन् । मलाई पनि पार्टी र सरकारमा दिलचस्पी लिएको देखेर उनी मुस्कुराए, ‘तपाईं कुरै बुझ्नुहुन्न ।’

‘के कुरा बुझिन मैले ?’ साँच्चिकै कुरा नबुझेरभनेंँ मैले ।
‘यो अरुका कुरामा नचाहिँंदो इन्ट्रेस्ट लिने व्यंग्यकार–स्यंग्यकारले बुझ्ने कुरै होइन ।’
‘के कुरा ?’
‘मैले सरकारसँग कत्रो–कत्रो ठेक्काको कुरा मिलाइसकेँं भने यो के कुरा हो र ?’ उनको स्वरमा आत्मविश्वास थियो, ‘म भोलि नै बालुवाटारजाँदैछु ।’

‘सम्माननीय प्रधानमन्त्रीज्यू पार्टीका अध्यक्ष पनि होइनन् र ?’ मलाई चुपचाप टोलाइरहेको पाएर उनले थपे, ‘तपाईंहरू कुरै बुझ्नुहुन्न ।’

‘के कुरा ?’ मेरो बकफुट्यो ।
‘हेर्नोस्, पार्टी अध्यक्ष रहेका सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुरा मिले सबै कुरा मिलेन त ?’ उनले हाँसेर भने, ‘पार्टी र सरकारको कुरा जरुर मिल्नेछ ।’

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्