कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कक्षाकोठामा विज्ञान 

गोविन्द पौडेल

स य वर्षअघि प्रख्यात अमेरिकी शिक्षाविद जोन डिबेले तत्कालीन विज्ञान शिक्षामाथि टिप्पणी गर्दै भने, ‘विज्ञान शिक्षा सोच्ने, अनुसन्धान गर्ने र विचारलाई रूपान्तरण गर्नेभन्दा बनिबनाउ विषय मस्तिष्कमा कोच्ने कुरामा उद्यत छ ।’ पछिल्लो सय वर्षमा पश्चिमा देशले शिक्षामा आमूल सुधार गरी विज्ञान–प्रविधिको अभूतपूर्व विकास गरे । हामी डिवेकै टिप्पणीमा रोकिएका छौँ ।

कक्षाकोठामा विज्ञान 

स्कुल/कलेजको कक्षामा ४०/५० जना विद्यार्थी कोचेर शिक्षकले अणु/परमाणु, धातु/अधातु, रासायनिक क्रिया/प्रतिक्रियाबारे बेजोड व्याख्या गर्छन् । न्युटन, आर्किमिडिज, डाल्टन, मेन्डेलिभ र मेन्डलका सिद्धान्तबारे विशद चर्चा गर्छन् । ‘ग्यालेक्सी’ र ‘ब्ल्याक होल’को वरिपरि विद्यार्थीलाई उडाउँछन् । विद्यार्थीलाई एकादेशको कथाजस्तो लाग्छ । यी सिद्धान्तबारे प्रत्यक्ष हेर्न र अनुभूत गर्न पाइन्न । सुन्यो, सबै वैज्ञानिक विदेशका । शिक्षण संस्थासँग परमाणु हेर्न मिल्ने ‘इलेक्ट्रोन माइक्रोस्कोप’ छैन । ग्यालेक्सी, ग्रह, पुच्छ्रेतारा प्रस्ट हेर्न मिल्ने टेलिस्कोप पनि छैन । ‘यो भनेको यस्तो हो, यस्तो भएपछि यस्तो हुन्छ’ भन्ने कोरा कल्पनामा विज्ञान कक्षा अलमलिएको छ ।


सन् १९५० मा विज्ञान र प्रविधिको गुणात्मक र परिमाणात्मक विकासका लागि अमेरिकामा ‘नेसनल साइन्स फाउन्डेसन’ को स्थापना भयो । यसले गणित, इन्जिनियरिङ, औषधि, जीव र भौतिक विज्ञान लगायतका क्षेत्रमा आधारभूत वैज्ञानिक अनुसन्धानलाई अघि बढायो ।


मानव इतिहासमा पहिलोपटक सन् १९५७ मा सोभियत संघले ‘स्पुतनिक–१’ भू–उपग्रह प्रक्षेपण गरेपछि संसारभर हल्लीखल्ली मच्चियो । दोस्रो विश्वयद्धले सबैभन्दा शक्तिशाली बनाएको अमेरिकालाई यो घटनाले नराम्रोसँग झस्काइदियो । एक वर्षमै १९५८ मा अमेरिकी स्कुलमा विज्ञान र प्रविधिको शिक्षालाई समयानुकूल विकास गर्नेगरी अमेरिकी कङ्ग्रेसले ‘नेसनल डिफेन्स एक्ट’ पास गर्‍यो । स्कुलको विज्ञान र प्रविधिको शिक्षामा ठूलो लगानीको घोषणाले देशमा विज्ञान प्रविधिको विकासमा बलियो जग निर्माण गर्‍यो ।


विज्ञानको अवैज्ञानिक पढाइ

हाम्रा विज्ञानका पाठ्य–पुस्तक लामा परिभाषा र सिद्धान्तको सङ्ग्रह बनेका छन् । त्यसैले अधिकांश विद्यार्थीर्ले यसलाई बोझको रूपमा लिन्छन् । उन्नति गरेका देशका पाठ्य–पुस्तक हेर्दा परिभाषा खास देखिन्नन् । हाम्रो परीक्षामा परिभाषा र सिद्धान्त घोकेको छ या छैन, जाँच्ने खालका प्रश्न सोधिन्छ । स्कुलदेखि विश्वविद्यालयसम्म विज्ञान पढ्नुको अर्थ शब्द घोक्नु भन्ने छ । विज्ञान जस्तो विषयमा घोकाइले केही अर्थ राख्दैन । विज्ञानको अर्थ अनुसन्धान हो, सोच हो, चिन्तन हो, आविष्कार हो । हाम्रो विज्ञान पढाइ आविष्कार, चिन्तन र अनुसन्धान विरुद्ध खडा छ ।


सेतो बोर्डमा कालो मार्करको भरमा देशभर विज्ञानको पढाइ चलिरहेको छ । कोर्स सक्ने हतारोमा शिक्षण सीमित भएपछि विद्यार्थीको कल्पनाशीलता, उत्सुकता, जिज्ञासा र सक्रियता दमित भएका छन् । रटानको बानी र स्कुलले खोज्ने ग्रेडले विद्यार्थीको सिर्जनात्मक दिमाग निचोरिएको छ । प्रश्नको गर्भबाट आविष्कार जन्मिने हो । बनिबनाउ उत्तर रटानको व्यस्तताले, प्रश्नमा घोत्लिने विद्यार्थीको समय ध्वस्त पारेको छ ।


नाम मात्रका प्रयोगशाला

स्कुलको विज्ञान पढाइ प्रयोगबाट टाढा छ । म धेरै स्कुल/कलेज घुमेको छु । म आफै विज्ञानको विद्यार्थी र शिक्षक हुँ । अधिकांश स्कुलमा भन्नलायक प्रयोगशाला भेटिन्न । विज्ञान पढाउने कलेजहरूमा पनि सामान्य खालको प्रयोगशाला छ । ‘प्राक्टिकल’ झारातिराइ खालको छ । विद्यार्थी नयाँ खोज, आविष्कारका लागि डुबेर ‘प्राक्टिकल’ गर्दै छैनन्, ‘प्राक्टिकल’ परीक्षामा त्यही गरेर देखाउन सक्ने हुनका लागि ‘प्राक्टिकल’ गर्दैछन् । यसकारण विश्वविद्यालय अन्तर्गतका प्रयोगात्मक कक्षासमेत गन्तव्यविहीन छन् ।


१९७५ सालमा त्रिचन्द्र कलेजको स्थापना भएपछि विज्ञान शिक्षा पठन–पाठन आरम्भ भएको हो । सय वर्ष बितिसक्दा पनि हामीले विज्ञान प्रविधिको प्रयोगलाई हाम्रो विकाससँग तालमेल गराउनसकेका छैनौँ । विज्ञानको अध्ययन/अध्यापनलाई अनुसन्धानसँग नजोड्ने हो भने अर्को सय वर्ष पनि हामीले गुमाउनेछौँ । प्रविधिका स–साना सामान पनि हामी उत्पादन गर्न असमर्थ छौँ । विदेशबाट ल्याइएका गाडीका पाटपुर्जा यहाँ ल्याएर जोडेपछि ‘मेड इन नेपाल’ भनेर लेख्नुपरेको छ ।


पाठ्य–पुस्तक

विज्ञानका पाठ्य–पुस्तकमा कोही नेपाली वैज्ञानिकको नाम छैन । नेपाल भित्रको विज्ञान पनि छैन । हुन त वैज्ञानिक कुनै देश विशेषको हुन्न, तर प्रश्न नेपालमा किन प्रभावशाली वैज्ञानिक जन्मिएनन् भन्ने हो । संसारै हल्लाउनेगरी नभए पनि केही नेपालीले विज्ञानको क्षेत्रमा योगदान नदिएका होइनन् । स्व. अमृतप्रसाद प्रधान, स्व. दयानन्द बज्राचार्य, उदयराज खनाल, लुजेन्द्र ओझा, सुदर्शन कार्की, सुरेन्द्र अधिकारी जस्ता वैज्ञानिकहरू मुलुकले नजन्माएको होइन । तर नयाँ पुस्ताका विद्यार्थीलाई यिनका खोज, अनुसन्धानबारे पढाइँदैन । विज्ञान किताब नेपाली माटो र हावापानीबाट अलग छ । विद्यार्थीलाई पढ्दा दिक्क लाग्नु स्वाभाविक हो । पेरियोडिक टेबल, रासायनिक प्रतिक्रिया, प्रोपेन, ब्युटेन, इथर, डार्बिनिजम, मेन्डेलिजम अनेक अनौठा तथ्यले पाठ्य–पुस्तक भरिएका छन् । यिनीहरूको नेपाली प्रयोग खोइ ? कक्षामा सुन्यो, घरमा घोक्यो, परीक्षामा लेख्यो, त्यसछि बिर्सियो ।


स्वदेशको भू–गर्भ, हावापानी, जडिबुटी, ऊर्जा, वन, कृषि, प्रविधि र उद्योगसँग जोडिनेगरी विज्ञान शिक्षालाई अनुसन्धानमूलक र प्रयोगात्मक बनाइनुपर्ने थियो ।


डा. लिम सिआओले सन् १९९३ मा ‘डिएक्सएन’ कम्पनीको स्थापना गर्नुपूर्व गानोडर्मा अर्थात् रातो च्याउमाथि गहिरो अनुसन्धान गरे । उक्त च्याउमा अनेकौँ औषधीय गुण फेला परेपछि आफ्नो कम्पनीको उत्पादनमा यही च्याउलाई प्रयोग गरिरहेका छन् ।


हाम्रा वरिपरिका जडिबुटीमाथि कमैमात्र अध्ययन भएको छ । जति अध्ययन भएको छ, विदेशीले गरिदिएका छन् । तितेपाती, घोडताप्रे, यार्सागुम्बा, तुलसी, सिस्नो, कुरिलो लगायत सयौँ प्रकारका वनस्पतिमा महत्त्वपूर्ण औषधीय गुण छ भन्ने थाहा पाइएको छ । तर पर्याप्त अनुसन्धानका लागि जीव र चिकित्सा विज्ञान पढ्ने विद्यार्थीलाई लगाउन सकिएको छैन ।


यस्ता बहुमूल्य वनस्पतिको महत्त्वबारे विद्यालय तहदेखि नै विद्यार्थीलाई जानकारी दिने र थप उत्सुक गराउने काममा विज्ञान कक्षा चुकेको छ ।


नेपाली जमिनभित्रका धातु, मणि, रत्न तथा पेट्रोलियम खोज, अध्ययन र उत्खननका लागि चिनियाँ/जापानिज विज्ञ नै बोलाउनुपर्ने अवस्था छ भने आजसम्मको विज्ञान पढाइको औचित्य के ? अहिलेको पढाइले देशलाई यो हदसम्म परजीवी बनाएको छ ।


जिज्ञासुहरूको विदेश पलायन

विश्वविद्यालयबाट विज्ञानमा ‘मास्टर्स’ सकेर निस्कँदै गर्दा युवासँग दुई विकल्प बाँकी रहन्छन् । विज्ञानको मास्टर भएर बस्ने वा विदेश जाने । विज्ञान पढेका उर्वर मस्तिष्कलाई योजनाबद्ध रूपमा स्वदेशमै अनुसन्धानमा लगाउने कुनै योजना छैन । विश्वविद्यालय, मन्त्रालय र नाष्ट निदाएका छन् ।

विज्ञान पढेका व्यक्तिको राम्रो मूल्य छ, विदेशमा । अमेरिकाले अरु विषयभन्दा विज्ञान पढेकालाई धेरै भिसा यत्तिकै दिएको होइन । अरु देश तीक्ष्ण मस्तिष्कलाई खोजी–खोजी भित्र्याउँछन् । हामी भने बाहिर लखेट्छौँ । फरक यत्ति हो ।


हामी सानो छँदा अग्रजहरूबाट सुन्ने गर्थ्यौं, ‘हाम्रा वेद, महाभारत, रामायण जस्ता ग्रन्थ पश्चिमा देशले लगेर अनुसन्धान गरे र विज्ञान प्रविधिको विकास गरे ।’ राइट दाजुभाइले जहाजको आविष्कार गर्नुअघि रामायणको पुष्पक विमानको अध्ययन गरे वा गरेनन्, थाहा भएन । ओटो हानले परमाणु बमको निर्माण गर्नुअघि अग्नि, वरुण, गाण्डिव र ब्रह्मास्त्रको नालीवेली समेटिएको महाभारतको अध्ययन गरे वा गरेनन्, त्यो पनि थाहा छैन । गम्भीर रोगका औषधिका आविष्कार गर्दा वैज्ञानिकले हाम्रो अथर्व वेदको अध्ययन गरे वा गरेनन्, उनीहरू नै जानुन् । तर यी धार्मिक ग्रन्थभित्रको विज्ञानमाथिको अनुसन्धान गर्न विश्वविद्यालयको पढाइले हामीलाई प्रेरित नगर्नु आश्चर्यलाग्दो छ ।


हाम्रा विविध संस्कृति, ग्रन्थ र प्रचलनमाथि समेत गहिरो वैज्ञानिक अनुसन्धान आवश्यक छ । देशको कृषि, ऊर्जा, उद्योग, वातावरण, प्रविधि तथा भौगर्भिक अनुसन्धानमा हाम्रो देश प्रवेश नै गरेको छैन । यसका लागि विज्ञानका विद्यार्थीलाई आर्थिक र भौतिक वातावरण उपलब्ध गराइदिनुपर्थ्यो । पाठ्य–पुस्तकलाई देशसँग जोड्नुपर्थ्यो । अनुसन्धानका लागि प्रेरित नगर्ने शिक्षा तर्जुमा गरेर देशलाई विकसित बनाउँछौँ भन्नु बालुवाको महल ठड्याउने गफमात्र हो ।

[email protected]


प्रकाशित : भाद्र १४, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?