ख्याक, राजनीति र क्रान्ति

अभि सुवेदी

नेपालमा अहिले इतिहासको व्याख्या गर्ने र बोध गर्ने अनौठो तरिका निस्केको छ । यहाँ इतिहासको अध्ययन विषयमा खासै गतिला बहस हुँदैनन् । विषयका विद्वानहरूले लेखेका प्रकाशित कैयौं किताब हेरेर भन्नैपर्छ, ती कतिपय राम्रा छन् ।

तर जुनबेला इतिहास चक्रवातजस्तो भएर वर्तमानका दरबाजा हल्लाउन थाल्यो, नेपालमा त्यो इतिहासको व्याख्या गर्ने कर्म गर्ने जिम्मा पाएकाहरू, इतिहास विश्लेषकहरू अगाडि देखिएनन् । उनीहरूले इतिहासलाई अत्यन्तै भावुकतावश व्याख्या गरे । त्यो मूलतः राजनीतिक बहुल विचारका संस्कृतिले प्रभावित नभएर केही प्रमुख दलका इतिहास र व्यक्तिका ‘न्यारेटिभ’हरू लिएर व्याख्या गरियो ।

राजनीतिमा धेरै कालसम्म दलहरू बनाम नारायणहिटी वा राजा भनेर व्याख्या गरियो । राजा वा राजदरबार नभनेर ‘माथि’ भन्ने लक्षणा वा भाषाशास्त्रमा भनिने ‘मेटोनिमी’को प्रयोगद्वारा व्याख्या गरियो । शक्तिको केन्द्र थियो, त्यो ‘माथि’ । त्यसबाट नै बोलीचालीमा प्रयोग हुने मूल भाष्य र भाषिका निस्के । त्यो ‘माथि’ भनिने यस्तो लक्षणा भयो कि त्यसको व्याख्या गर्नेभन्दा त्यसलाई रहस्यमय बनाउँदा बढी तरङ्ग जन्मिने बुझाइ निस्के ।

यसो आँखाको इसारा गरेर नारायणहिटीतिर संकेत गर्दै ‘माथि’ भन्ने मनुवाहरूका रोमकुपहरूमा संवेदना दौडिएको अनुमान गर्न सकिन्थ्यो । राजनीतिक दलहरूले आफ्ना ठूला दर्शन, सामाजिक सिद्धान्तहरूलाई अघि सारे पनि आखिर त्यो ‘माथि’लाई छाडेनन् । केही गडबडी भए भने ‘माथि’ सक्रिय छ, यसमा ‘माथि’को हात छ भन्ने भाषिका भरमार प्रयोग हुन्थे ।

व्यापारी र विदेशतिर धन, स्वर्ण अनि अवैध कारबारमा ‘माथि’को हात छ भन्ने भाषिकाहरू जताततै सुनिन्थ्यो । राजाको व्यक्तित्व र ‘मुड’ विषयमा अनेकौं अनुमान लगाइन्थे । हुँदाहुँदा माओवादी युद्धका बेला प्रचण्ड भनेकै राजा वीरेन्द्र हुन् भन्नेसम्मका भाषिकाहरू जन्मे । राजदरबार भनेको राजाका भाइभारदार र बडा कर्मचारी अनि एकाध सैनिक अधिकृतहरूको संयुक्त नाम हो भन्नेतिर कसैको ध्यान थिएन ।

त्यो माथिको वृत्त परिवेशभित्र खेल्न कुशल राजा महेन्द्रले त्यो बेलाका राजनीतिक दलका वीर–वीर नेताहरूलाई पनि पञ्चायतमा ल्याएको कुरा सबैलाई थाहा छ । त्यो बेलाको निकै शक्तिशाली मानिएको कमिनिष्ट पार्टीका केशरजंग रायमाझीदेखि शैलेन्द्रकुमार उपाध्याय र त्यही तहका अनेकौं कमिनिष्ट नेताहरू, कांग्रेसका परशुनारायण चौधरी लगायत महेन्द्रको पञ्चायत दर्शनका व्याख्याता मात्र भएनन्, शासन गर्नेसम्मका काममा ती सामेल भए ।

मलाई आश्चर्य लाग्ने एकाध अरु कुरा छन् । ‘विस्तृत शान्ति सम्झौता, २०६३’ पछिको नेपाली राजनीतिमा युगान्तकारी परिवर्तन आए । अनि १५ जेठ २०६५ को दिन राजतन्त्र समाप्त भयो । नेपालको संविधान २०७२ पनि लागू भयो । यी परिवर्तन अभूतपूर्व हुन् ।

यस्तो स्थितिमा पनि पहिलेका र अहिलेका कमिनिष्टहरू बीचमा भएका छलफलमा मैले केशरजंग रायमाझीको नजिक र पुष्पलालको नजिक भएका हामी कमिनिष्ट भन्ने नेताहरूका भाषण सुनेँ । राजाको नजिक रहेका रायमाझी पन्थी प्रचण्डहरू अनि पुष्पलालको नजिक रहेका हामी बाबुराम भट्टराई समूह भनेर हाम्री एक मित्र र विद्वान नेतृले आदित्य अधिकारीले लेखेको बुलेटबाट ब्यालेटमा परिवर्तन शीर्षक किताबको २०७१ को हिउँदमा भएको एक विमोचनमा भनेपछि चिन्तनशील भएँ । मलाई लाग्यो, नेपालका राजाहरू जाक डेरिडाले भनेजस्तो नेपाली राजनीतिमा भूत वा अमूक ख्याकको रूपमा जीवित रहनु अनौठो छ ।

कमिनिष्ट र कांग्रेसका नेताहरूले निकालेका भूतपूर्व राजा ज्ञानेन्द्र फेरि सक्रिय हुँदैछन् र एउटा अमूक समूह यसमा शक्ति हत्याउन लागिपरेको छ भन्ने भाषिकाहरू सुनिँदै आएका छन् । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली समेतले पनि संसदमा यो कुरा भने । त्यति मात्र होइन, यस विषयमा उनले सर्वदलीय बैठक बोलाएर यस विषयमा सबै दलका नेताहरूलाई सचेत गराए । यसको अन्तर्यमा के छ भन्न सकिँंदैन ।

म न त भुपु राजा ज्ञानेन्द्रको समर्थक हुँ, न तिनले फेरि अहिलेको व्यवस्थालाई हल्लाएर उत्पात मच्चाएर वा सुटुक्क शक्ति हात पार्नेछन् भन्नेमा विश्वास गर्छु । ती कसको माध्यमबाट आँधी भएर आउँदैछन् त ? के राप्रपा त्यस्तो चुनामी हुने सम्भावना बढेको उनीहरूले देखेका छन् त ? भनिदिनुपर्‍यो, यत्रो उथल–पुथलको सम्भावना । म त यस कुरालाई वृथा काल्पनिकी र राजनेताहरूले गर्ने, नाम जुराउने हो भने, ‘समय नष्ट विलासिका’ भन्छु ।

यति धेरै क्रान्ति र परिवर्तनको इतिहास छ, यति धेरै मानिस प्रजातन्त्रको निम्ति बलिदान भइसकेका छन्, अब यो व्यवस्था बाहेक अरु कुनै पनि व्यवस्था आए तिनै जनताले प्रतिवाद गर्छन् । स्वतन्त्र मिडिया छ, बलियो छ, त्यसले प्रतिवाद गर्छ । त्यही कारणले मिडियाको महत्त्व मान्नुपर्ने हो ।

भूपू राजा ज्ञानेन्द्रले के गर्दैछन्, त्यो एउटा रहस्य कसरी भयो, आजको मुक्त नेपालमा ? आजका सचेत मिडिया, हामी सबैलाई केही पनि थाहा नहुने यो कस्तो खेल हुँदैछ त ? दलहरूको नेतृत्व वर्गभित्रको यो काल्पनिकीको स्रोत के हो ? केही अनुमान गर्न सकिन्छ । लाग्छ, कमिनिष्ट पार्टी र कांग्रेस पार्टी आफ्नो दलको, आफ्नै घरको स्थिति वा कुन नेता माथि र कुन नेता तल भन्ने ‘अर्डर’ मिलाउन नसकेर, कुनै ‘बुगी’को कल्पना गर्दै ध्यान उतातिर मोड्न चाहन्छन् । अर्कोतिर कश्मीरमा भारतले धारा ३७० खारेज गरेर उठ्ने तरङ्गले अहिले नै यहाँ केही उथल–पुथल ल्याउने र राजनीतिक चिन्तन र नीतिमा असर पार्ने छैन भन्ने सबैलाई थाहा छ ।

मलाई यस्तो पनि लाग्छ, पहिलेको ‘माथि’ भन्ने ख्याकले अहिले पनि सत्तामा बस्ने शक्ति र राजनीतिक चिन्तालाई छाडेको छैन । राजतन्त्र गइसके पनि त्यसको ख्याक वा भूत उजागर गरेर ल्याउने इतिहासभित्रको अवचेतनले अहिले पनि काम गर्दैछ, सायद । इतिहासमा यो प्रेत सिद्धान्तबाट इतिहास व्याख्या गर्नेमा मैले धेरै पढेका र केही पढाएका पनि एक दार्शनिक छन् ।

तिनको नाम हो, फ्रान्सेली जाक डेरिडा (१९३०–२००४) । तिनले लेखेका धेरै दर्शन र साहित्य समीक्षामा मलाई हल्लाएको विषय भनेको मार्क्सका भूतहरू अथवा ‘स्पेक्टरस् अफ मार्क्स’ (१९९४) हो । डेरिडाले यो पछि किताबको रूप लिएको बहस सोभियत संघको १९८९ तिर अन्त्य भएपछि अनि पूर्वी युरोपका कमिनिष्ट देशहरू भकाभक स्वतन्त्र हुँदै गरेको अवस्थाले जन्माएका थिए ।

के मार्क्सको मृत्यु नै भइसक्यो त ? के अब फ्रान्सिस फुकुयामाले इतिहासको अन्त्यमा भनेजस्तै त्यो अवस्थाको इतिहास सकियो त ? सोझै भन्दा मार्क्स मरेकै हुन् त ? भन्नेजस्ता विषयमाथि डेरिडाले यो पुनरावृत्ति हुने प्रेत सिद्धान्तको प्रयोग गरे । अनि भने, मार्क्सलाई अनेकौं अवतारमा आउने र प्रभाव पार्ने भूत वा ‘स्पिरिट’को रूपमा हेर्नुपर्छ । उनले भने, फुकुयामाले भनेको समयभन्दा अघि नै सन् पचासतिरै कमिनिष्ट ह्रासोन्मुख हुँदै गएको थियो । यसमा उनले पूर्वी युरोप र प्रागमा रूसी ट्याङ्कहरू कुदेको उदाहरण दिएका छन् ।

डेरिडाले भने, यस्तो इतिहासको ख्याकको कुनै स्थिर पहिचान हुँदैन । तर यसले अगोचर नै सही, तर्साइरहन्छ । यो अस्पृश्य छ, विदेह छ । तर यसमाथि अरुको देहको पनि कल्पना गरिन्छ । त्यो आउँछ, तर अरु कसैको रूपमा पनि आउँछ । उनी भन्छन्, त्यो को हो भनेर हामी त्यसको पहिचान वा व्यक्तित्व वा चेतना इत्यादिलाई खुट्याउन हतार गर्दैनौं (पृष्ठ १३) । राणातन्त्र होस् या राजतन्त्र होस् या सामन्ती तन्त्र होस्, त्यसको ख्याकको पहिचान गर्न नसक्नु कमजोरी हो ।

त्यो कमजोरीले गर्दा हामी तिनका प्रेतहरूका, तिनका ख्याकहरूका कल्पना गर्न थाल्छौं । अहिले त्यो कालिक चेतबाट वा हिजोको ख्याकबाट हामी मुक्त भएका छैनौं कि त ? ‘शमी’ साहित्यिक पत्रिकाको प्रवेशाङ्कको आत्मस्वीकृत मूलक निबन्धमा पूर्व माओवादी नेता सांसद दीनानाथ शर्माले लेखेका यी हरप वाचाल छन्, ‘युग फेरियो, आदत फेरिएन । सामन्त ढल्यो, कुशासन ढलेन । नयाँ कानुन बन्यो, संस्कार बदलिएन । चालक फेरियो, थोत्रो गाडी फेरिएन’ (४०) । त्यसैले राजनेताहरू जसमा मित्रहरू र विद्यार्थीहरू पनि छन्, मेरो भनाइ के छ भने समस्याको निराकरण गर्न रहस्यवादी नहुनुहोस् ।

यथार्थ के छ, त्यो भन्नोस् । देश निकै अप्ठ्यारोमा पुगिसक्यो, त्यसलाई बचाउनुहोस् । स्वतन्त्र चेतनाका सम्वाहक संस्था विश्वविद्यालयहरूलाई बर्बाद नगर्नोस् । बर्बाद गर्नु भनेको ख्याकबाट मुक्त हुनसक्ने चेतना गुमाउन सहज बनाउनु हो ।

विश्वेश्वरप्रसाद कोइराला, पुष्पलाल, मनमोहन अधिकारीसँग त्यो चेतना थियो । पढेका छौं, सम्झेका छौं । विश्वेश्वरप्रसाद कोइरालाले अदालतमा दिएको बयानमा भनेको यो कुरा मनन गर्ने काम अमूक दललाई जिम्मा नलगाउनुहोस् ।

बीपी इतिहासको ख्याकबाट यो कारणले मुक्त व्यक्ति थिए । उनले भने, ‘समाजको कुपमण्डुकता, अन्धविश्वास, बौद्धिक दासता, रुढीवाद, सामन्ती मनोवृत्ति, दरिद्रता र त्यसबाट उत्पन्न हुने तमाम अवाञ्छनीय दुर्गुणहरूको अन्त्य हुनुपर्छ... । राजनीतिक क्रान्तिले यही समग्र सामयिक क्रान्तिका लागि उपयुक्त पृष्ठभ्मृि तयार पार्छ । म यस प्रकारको विचार र सिद्धान्तलाई मान्ने भएकोले पनि आफूलाई क्रान्तिवादी भन्छु ।’

मेरो विश्वास छ, सबैले ‘सच्चा क्रान्तिकारी’ भएर काम गर्नुहुनेछ ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

मदन दाइको शताब्दी यात्रा

अभि सुवेदी

काठमाडौँ — एक शताब्दीमा झन्डै ८० वर्ष सक्रिय भएर जीवन र जगत भोग्ने मदनमणि दीक्षित/माडसा’प उर्फ मदन दाइ (१९७९ फागुन ६–२०७६ साउन ३०) को कथा सबै दीर्घजीवीको जस्तै हो । जीवनको विडम्बना र जीवन र मृत्युको विषयमा अनेकौं समाचार र छोटा विचार पढेँं । मलाई एउटा ट्विटको भाष्यले समात्यो ।

साहित्यकार खगेन्द्र संग्रौलाले लेखेको ट्विटमा जीवन, लेखन र कालको त्रिवणी भेटेँं । उनले लेखेका छन्, ‘मेरा प्रिय रिपु डीपी भण्डारीले लेखेर र बोलेर भनेका थिए– म मृगस्थलीमा हिँड्दाहिँड्दै हृदयाघातले मर्छु ।

दुर्भाग्यवश, आफू आफैंसँग नरहनेगरी विस्मरणले उनलाई बितायो । सौभाग्यवश, मदनमणि माड्सा’पको लेख्दालेख्दै मर्न पाऊँ भन्ने इच्छा पूरा भयो । न जन्म आफ्नो बशमा छ न मृत्यु । हैट् जिन्दगी ।’ यो ट्विट पढेपछि आफूले डीपी भण्डारीमाथि लेखेको लामो लेख र एकाध महिनाअघि मदन दाइलाई भेटेको सम्झना भयो । मदन दाइ त्यो बेला एक सक्रिय लेखकजस्तै कुरा गर्दै थिए । मेरो एउटा सानो संस्मरण राखेर त्यसपछि उनको बारेमा केही कुरा लेख्न चाहन्छु ।
मदन दाइ भनेर आफूले सधैं सम्बोधन गर्ने यी व्यक्तिको यात्रा अलिक भिन्न थियो । ती यथार्थ र मिथक, भविताको काल्पनिकी, आफ्नो समाजको परिवर्तन गर्ने विचार र कर्मले गर्दा आफ्नो युगका धेरै मानिसभन्दा भिन्न थिए । यो सामन्ती युगबाट जुर्मुराएर उठ्न संघर्ष गरिरहेको समाज, हिजोदेखिका सांसारिक र अधिभौतिक ज्ञानका परम्परा अनि जर्मन दार्शनिक कार्ल मार्क्सले समाज बदल्ने भनेर प्रतिपादन गरेका दर्शन मदन दाइको जीवनमा भिडका यात्रीहरू जस्तो कुम ठोकेर सँगसँगै हिंँडेको कथा हो यो ।

मदन दाइले लामो जीवन यात्रामा यथार्थ जीवनलाई आफ्नो मूल आधार माने पनि जीवनलाई सार्थक गराउन साहित्य, वैदिक दर्शन र समाजवादी चिन्तनको संयोग हुनुपर्छ भन्ने मान्यता राखे । यही धारणाले गर्दा उनले विविध विषयमाथि रचना गरे । उनको जीवन र काममाथि समालोचक र अध्येताहरूले धेरै काम गरिसकेका छन् । ती आलेख वा शोधप्रबन्धहरूमा छरिएका छन् । त्यसैले यो छोटो लेखमा म केवल आफूले जानेका र बुझेका मदन दाइको विषयमा केही लेख्ने जमर्को गर्छु ।

जेठ ३१, २०७६ को दिन भाटभटेनीको अमूक पार्टीप्यालेसमा मेरो मदन दाइसँग पछिल्लो भेटघाट भएको थियो । लेखक दम्पती द्वारिका श्रेष्ठ र जलेश्वरी श्रेष्ठले स्थापना गरेको पुरस्कार वितरणको कार्यक्रम थियो । मैले मदन दाइलाई त्यहाँ भेटेको थिएँ ।

मदन दाइसँगको मेरो त्यो भेटघाट र संक्षिप्त कुराकानीबाट उनी चेतनशील अनि साहित्य र कलाका मर्मज्ञ थिए भन्ने प्रस्टै बुझिन्थ्यो । पुरस्कारद्वारा सम्मानित तीनजना मदनमणि दीक्षित, मदन रेग्मी र किरण मानन्धरका कृति र रचनामाथि समीक्षात्मक परिचय दिने कर्म मलाई दिएका थिए, द्वारिका श्रेष्ठले ।

यो एउटा चाखलाग्दो चुनौती थियो । एक दार्शनिक र उपन्यासकार, एक आधुनिक कवि र एक आधुनिक पेन्टरको परिचय एकैपटक एउटै मञ्चमा दिनुको सन्दर्भलाई मैले अन्तरकलाको विषय बनाएर प्रस्तुत गर्ने अवसर पाएँ । मदनमणि दीक्षित र मदन रेग्मीका कविताको आधुनिक चित्रकलासँग के साम्य छन्, खोज्न सजिलो थिएन । तर प्रयास गरेंँ ।

आधुनिक कवितासँग आधुनिक चित्रकलाको सम्बन्धबारे बोल्न अपेक्षाकृत सजिलो हुन्छ । मैले किरण मानन्धरका चित्रकलाको भाष्यको अमूर्त अभिमुख रचना र मदन रेग्मी दाइका कविताको त्यस्तै जटिल रचनाबारे आफ्ना कुरा राखेंँ । तर मदन दीक्षितका रचनाको विषयमा भन्न त्यही मापदण्डले काम दिने थिएन । तर एउटा साझा कुरा त्यसमा थियो ।

मदन दाइका रचनाको कलेवर सरल र ज्यामितीय छैन, मैले भनेँ । यस अर्थमा मदन दाइले चित्रण गरेको समाजका विविध चित्र उनका रचनामा भेटिन्छन् । तिनले जीवनका झन्डै ८० वर्षसम्म जुन विषयका यात्रा गरे, त्यो एउटा महायात्रा हो र त्यो एउटा परिभाषाभित्र पर्दैन । मदन दाइको यात्रा मूलतः वैचारिक, आस्थाजनिन र समाज सुधार उन्मुख छ । उनी वैदिक युगका शास्त्र र विचारका ज्ञाता हुन् ।

संस्कृतका एक विद्वान हुन् । एक दार्शनिक हुन् । उनको लेखन द्वन्द्वको सम्वादबाट अघि बढ्छ । त्यस अर्थमा मदन दाइको लेखन एक निकै जटिल र अर्को अर्थमा किरणको आधुनिक चित्रकला जस्तो छ । एउटा मदन दाइको भनाइ मैले कमल रेग्मीको स्मृतिका छालहरू ( २०७५, पृष्ठ १०२) बाट उद्धरण गरेंँ, मदन दाइ भन्छन् :

‘मानव समाजलाई कुनै एउटा समाधानले या भूमण्डलमा कहिल्यै पनि कहीँ पनि चित्त बुझाउन सक्दैन, सकेको छैन र सकेको थिएन । समाजमा परिवर्तनको द्वन्द्वात्मक प्रक्रिया कुनै एउटा समाधानमा अडेर गतिहीन तथा अवरुद्ध अवस्थामा बस्नु पनि हुँदैन, आध्यात्मिक, मनोगत र हास्यमय अदृश्य शक्तिबारे सबै किसिमका अनुमान सत्य हुन जत्तिको सम्भव छ, असत्य हुन पनि त्यत्तिकै सम्भव छ, अतः वेद, पुराण, उपनिषद्, महाकाव्य र जातकका उल्लिखित सबै व्यक्तित्व र घटना निराधार कल्पना, कोरा दन्त्यकथा र गफमात्र हुन सक्दैनन्, वैज्ञानिक शोधद्वारा ती अतिरञ्चना, प्रतीक र मिथकका पत्रहरूलाई उघारेर हामी आफ्ना सांस्कृतिक–आध्यात्मिक जीवनका प्राचीनतम मूल जराहरूसित परिचित हुन सक्नुपर्छ ।’

यही मूल जरासम्म पुग्ने धारणा नै मदन दाइको सम्पूर्ण जीवन दर्शनको आधार हो । उनले त्यही अर्थमा वैदिक पात्रहरूलाई जीवन्त बनाउन चाहे । माधवी उपन्यासमा वर खोजिदिन सहयोग गरी हिंँडेको गुरुपुत्र गालवको उनीतिरै तानिने जीवन शक्तिको खेल, मेरी नीलिमा, विदुषी गार्गी, त्रिदेवी आदि नारी पात्रहरूको त्यो वैदिक ज्ञानलाई यथार्थमा अवतरण गराउने रोमानी सामर्थ्यलाई मदन दाइले आफ्नो साहित्य, त्यसमा पनि औपन्यासिक र फिकसन लेखनको विषय बनाए ।

म भन्दै गएँ, यसरी जीवनसँग मिथक र वैदिक ज्ञानको आधुनिक समयमा प्रयोग गर्ने मदन दाइ सर्वथा मौलिक र नेपालीमा अद्वितीय लेखक हुन् । अथवा यसरी लेख्ने अर्को लेखक भेटिएको छैन । उनले माधवी उपन्यासमा उत्तर भारतको पञ्जावदेखि बंगालसम्म फैलिएको दसौं शताब्दीको समाजको चित्रण गरेको कुरा आफैं भनेका छन् । तर त्यो चित्रण पौराणिक मात्र नभएर आजका मानव सम्बन्धका विषयलाई सम्बोधन गर्न लेखिएको छ ।
मैले मदन दाइका रचनाहरूको विस्तृत छलफल गरिन । तर उनका २०१८ सालदेखि प्रकाशित रचनाहरूका केही सार निकाल्न प्रयास गरेको थिएँ । उनका कथा संग्रह कसले जित्यो कसले हार्‍यो (२०२२) अनि मेरी आमाको प्रश्नलाई अझै जवाफ चाहिएको छ (२०२९), लाखौं शिशुहरू लिफ्ट मागिरहेछन् मा राखिएका यथार्थवादी र समाज सुधारका धारणाले लेखेका निबन्ध अनि त्यो युग (२०४७) मा वैदिक विषयमाथि लेखेका निबन्ध र माधवी (२०३९) उपन्यासका सम्बन्ध र प्रकृतिमाथि छलफल गर्दै भनेँ, मदन दाइ निबन्धलाई विचार सोझै राखेर छलफल गर्ने माध्यम मान्छन् ।

अनि यी तीनवटा निबन्धमा उठाइएका विषय फरक–फरक भए पनि तिनको एउटा साझा चरित्र छ । त्यो हो, निबन्ध निजात्मक अनुभूतिको अभिव्यक्तिको माध्यममात्र नभएर विचार लेखिने गद्यात्मक माध्यम हो । अनि उपन्यासले जीवनको बृहत्तर चित्र दिएको छ ।

त्यसो त मदन दाइका निबन्ध र अरु फुटकर लेखहरूमा नेपालभित्र, त्यसमा पनि परिवार, बाबुबाजे, मणि दीक्षित काकाहरू, तिनका लेखन अनि बनारसतिरका व्यक्ति र विषयहरू ठेलमठेल गर्दै आउँछन् । उनको लेखनीको शैली वार्तामूलक र सरल हुन्छ । उनले धर्म र आफूले ३० वर्ष काम गरेको कमिनिष्ट पार्टीको प्रोपगन्डा वा धर्म अनुशीलनमा आग्रह गर्दै लेखिएको त्यति भेटिंँदैन ।

उनले जसरी वैदिक दर्शनलाई अहिले हामीले भोगेको जीवन दर्शनको नजिक ल्याएर देखाउन खोजे, उनको कमिनिष्ट विचारधारालाई पनि उनले २०१६ साल चैत ३० गते सुरु गरेको समीक्षा साप्ताहिकमा सुधांशु, मदनमणि नामबाट अनि सामयिक चर्चाबाट लेखिएका लेखहरूद्वारा व्यक्त गरे । उनको कमिनिष्ट सिद्धान्त उनका सामयिक समस्याका समाधान, समाज सुधारका विषयलाई लिएर लेखिएका लेखहरूमा देखियो ।

मैले समीक्षा २०१८ सालदेखि विराटनगर आदर्श पुस्तकालयमा सधैं पढेंँ । त्योसँगै भारतका वामपन्थी विचारका विख्यात पत्रकार आर.के. करन्जियाको द ब्लिज साप्ताहिक पनि पढ्थेंँ । मदन दाइलाई करन्जियाको यो पत्रिका, यसको शैली, यसको वामपन्थतिर झुकेको विचारको ठाडै प्रभाव थियो भन्ने कुरा म अहिले पनि भन्न सक्छु ।

मदन दाइले नेपालमा आफ्नो चेतनालाई आन्दोलन र प्रतिरोधको रूपमा प्रस्तुत गरे, जीवनभर । त्यो आन्दोलन उनले आख्यान, निबन्ध अनि ‘समीक्षा’को माध्यमबाट प्रस्तुत गरे । एकजना नेपाली मानवले जीवनमा यसरी विचारका कुरा लेख्ने मात्रै होइन, त्यसको माध्यमको पनि रचना गर्नु भनेको चानचुने कुरा थिएन । उनले लेख्नुलाई जीवन माने अनि माध्यम पनि ।

उनले राज्यबाट हिजोआज जस्तो गुटमिलाएर लिने खासै च्वाँक नियुक्तिहरू पाएको मलाई जानकारी छैन । उनले पाएको ठूलो नियुक्ति भनेको नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति (२०५१ देखि २०५६ सम्म) हो, जुन कालमा घुमाउनेहरूको चक्करमा परेर मैले खासै काम गर्न सकिन भनेर मदन दाइले मलाई भनेको सम्झना छ ।

मदन दाइको विषयमा जानकारी राख्ने अच्युतरमण अधिकारीले निकालेको उन्नयन पत्रिकाको मदनमणि विशेषाङ्क (२०५१ माघ–चैत) लाई मैले उपयुक्त प्रकाशन मानेको छु । कमलराज रेग्मीको माथि उल्लेखित किताबका दुई अध्याय अत्यन्त पठनीय छन् । उनले लेखेका कृतिहरूका परिचय विष्णु प्रभातले सम्पादन गरको एकेडेमीको साहित्यकार–कलाकार परिचय कोश (२०७०) मा राखिएको छ ।

कार्यक्रम सकिएपछि म मदन दाइको छेउमा गएँ । उनले मलाई जे भने त्यसले म अहिलेसम्म तरङ्गित छु । अस्ति जेठको कुरा हो । मदन दाइले भने, ‘तपाईंले कला र साहित्यलाई एक ठाउँमा राखेर जुन प्रस्तुति गर्नुभो, त्यो अत्यन्त राम्रो र आवश्यक कुरा हो । मेरो माधवीको आजको युगको सापेक्षतामा व्याख्या गर्नुभएको धेरै राम्रो लाग्यो ।’

यी शब्दहरू अहिले मेरो मनमासङ्गीत भएका छन् । मैले आफ्नो साहित्य र कला हेर्ने पद्धतिलाई मदन दाइले दिएको समर्थन मेरोनिम्ति धेरै ठूलो शक्ति हो । उनी खगेन्द्र भाइले भनेजस्तै लेख्दै अनि साहित्यलाई जीवनका अनुरागले भरेर बुझ्दै र बुझाउँदै गए । श्रद्धाञ्जी, मदन दाइ ।

प्रकाशित : श्रावण ३२, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्